हामी यस्तो मुलुकमा बस्छौं, जहाँका अधिकांश नागरिकहरू आफ्नो देश छोडेको दिन, सबभन्दा ठूलो उपलब्धि हासिल गरेको ठान्दछन्! त्यस्ता घरहरू बिरलै होलान्, जहाँ कम्तिमा एक जना परिवारको सदस्य विदेशिएको नहोस्।
अहिले समाजमा विदेश जानुलाई सामाजिक प्रतिष्ठाको रूपमा हेर्ने गरिन्छ।
आफ्नो स्कुले जीवनमा 'नेपाल आमा' शीर्षकको निबन्ध प्रतियोगितामा प्रथम भएका मेधावी छात्रलाई आज अमेरिकाको भिसा लागेछ। खुसीले गदगद हुँदै, लड्डु लिएर मेरो घरमा आए। मैले सोधें' किन जान लाग्यौ त अमेरिका?'
उनले सजिलै उत्तर दिए , 'यहाँ बसेर के गर्नु, भविष्य नै छैन'। उनले आफ्ना भविष्यका योजना सुनाउँदै गए, म सुनिरहें।
अन्तमा: जाने बेलामा उनले भने - ' बुझ्नुभो नि अंकल! म किन देश छोडेर जान लाग्या, साँच्चै भन्ने हो भने- नेपाल 'कन्ट्री' नै होइन के'।
उनका कुरा सुनेर म दंग हुँदै एकोहोरो उनलाई मात्र हेरिरहें।
सामाजिक सञ्जालको लतबाट म पनि अछुतो रहन सकेन। बिहान उठ्ने बित्तिकै एक पटक फेसबुकको दर्शन गर्न पाइएन भने, ठूलै कुरा गुमाएँजस्तो भान हुन्छ।
आज सबेरै फेसबुकमा हाम्रा दामोदर अंकलले आफ्नी छोरी र ज्वाइँको फोटो पोस्ट गर्नु भएको रहेछ। समुन्द्री किनारमा अर्ध नग्न अवस्थामा खिचिएको उक्त तस्वीरको क्याप्सनमा लेखिएको थियो- अस्ट्रेलियाको पिआर पाउन सफल भएकोमा छोरी-ज्वाइँलाई बधाई छ।'
करिब चालिस वर्ष जति निजामती सेवामा रहनुभएका हाम्रा अंकल, नेपाल सरकारको विभिन्न मन्त्रालयमा सचिवको समेत जिम्मवारी पूरा गरी भर्खंरै अवकाश प्राप्त गर्नु भएको थियो।
छोरीलाई सरकारी छात्रवृत्ति कोटामा एमबिबिएस पढाएर डाक्टर बनाउन सफल अंकलले आफ्नो एक्लो सन्तान अर्काको देशमा स्थायी बासिन्दा हुन लाग्दा किन यति धेरै खुसी हुनुभयो? मलाई अचम्म लाग्यो। एकपटक फोन गरेरै सोध्ने निधो गरे।
फोन उठ्ने बित्तिकै मैले भनें, 'बधाई छ अंकल ', मेरो कुरा नटुंगिँदै, अंकलले हतार-हतार भन्नुभयो, ' हेरन बाबु, हिजो बल्ल-बल्ल पिआरको कागजपत्र मिलेछ। अब ढुक्क भयो।'
मैले प्रश्न गरें, 'के अब दिदी नेपाल आउनुहुन्न ?' अंकल गम्भीर हुँदै भन्नुभयो ,' के गर्ने यहाँ आएर ? पढेलेखेकाहरूको यहाँ काम नै छैन।
यो देशमा त भ्रष्टाचारी र उनीहरूका आसेपासेहरू मात्र बस्न सक्छन्। नेपाल त 'कन्ट्री' नै होइन नि।' उहाँका शब्दहरू सुनेर म स्तब्ध भएँ।
जीवनको करिब चार दशक सरकारी सेवामा समर्पित गरी, देश - विदेश राम्रोसँग चारेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनुमा पक्कै पनि कहीँ कतै समस्या भएकै हुनुपर्दछ जस्तो लाग्यो।
अहिले कोभिड -१९ को महामारीले विश्व नै आक्रान्त बनेको छ। यसको असर सबभन्दा बढी संयुक्त राज्य अमेरिकामा परेको समाचारहरू सुनिरहँदा, त्यहाँ बस्ने आफ्ना आफन्तको बारेमा चिन्ता लाग्ने नै भयो। विगत एक दशकदेखि अमेरिका बस्दै आउनुभएका भिनाजुलाई फोन गर्दै सोधें, 'सन्चै हुनुहुन्छ? कोरोनाले केही त असर गरेको छैन नि!' यति मात्र के सोधेको थिएँ।
उहाँले वेलिविस्तार लगाउन थाल्नु भयो, 'हामी ठिकै छौं, बरु तिमीहरू सावधानी अपनाएर बस्नु पर्छ। त्यहाँ धेरै जसो मानिसहरू असभ्य छन्। जथाभावी थुक्दै हिँड्छन्। मास्क लगाउन पनि जान्दैनन्। यो विषयमा गम्भीर छैनन्।
बिरामी भए सरकारले केही हेर्दैन, हस्पिटलहरू लुट्नमात्र जानेका छन्। नेपाल त 'कन्ट्री' नै होइन नि!' म चुप लागेर एकोहोरो सुनी मात्र रहे।
मेरो उद्देश्य उहाँको स्वास्थ्य अवस्था बुझ्नु मात्र थियो। तथापि, नेपालमै पुल्चोक क्याम्पसबाट इञ्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तिर्ण गरी पिएचडीका लागि अमेरिका जानुभएका भिनाजूको आफ्नो देशप्रतिको धारणा सुन्दा चित्त दुख्यो।
हिजोमात्र आमाले गाउँबाट फोन गर्दै पल्ला घरे कोलराज बुवाको दु:ख सुनाउँदै हुनुहुन्थ्यो।
उमेरले सत्तरीको दशक पार गर्नु भएका दुवै जना बुढाबुढी घरमा बिरामी भैरहन्छु रे। बुवालाई सन्चो नहुँदा आमाले हेर्नुहुन्छ, अनि आमा विसन्चो हुँदा बुवाले रेखदेख गर्नु हुन्छ रे।
भाग्य नै भनौं, दुवै जना एकैपटक बिरामी पर्नु भाको छैन रे। विभिन्न देवी-देवताको भाकल गर्दा - गर्दा बुढेसकालमा एक जना सन्तानको नाममा हरि दाइको जन्म भएको रहेछ।
उच्च शिक्षाको बहानामा विदेश पलाएन हुनु भएका दाइ, दश वर्ष भो रे घर नफर्कनु भाको।
एकदिन फेसबुक म्यासेन्जरमा हरिदाइलाई एक्टिभ देखें अनि छोटो म्यासेज पठाएँ - 'हरि दाइ सन्चै ? कता हुनुहुन्छ ?'
उताबाट तत्काल उत्तर आयो, " म सन्चै, अहिले अस्ट्रेलियामा छु'। कुरा गर्दै जाँदा थाहा भयो, हरि दाइ अस्ट्रेलियाको एउटा 'केयर टेकर' मा काम गर्नुहुँदो रहेछ। त्यहाँ वृद्धवृद्धाको हेरचाह गरेबापत मनग्य पैसा कमाउनु भाको पनि रहेछ। घर, गाडी, परिवार आदि सबैको बन्दोबस्त मिलाई सक्नु भएको रहेछ।
अन्तमा मैले प्रश्न गरें, 'घर कहिले आउनुहुन्छ ?' उहाँले निकै समय लगाएर एउटा लामो म्यासेज रिप्लाइ गर्नुभयो। जहाँ लेखिएको थियो - ' नेपाल आएर के गर्ने, बुढा बा - आमा मात्र छन्। केही फाइदा नै छैन। पूरै लाइफ ड्यामेज हुन्छ, त्यहाँ त! देश नै खत्तम छ के, अरू देशमा बुढाबुढीलाई सरकारले रेखदेख गर्छ। हाम्रोमा न बाल-बच्चाको सुरक्षा गर्न सक्यो, न युवाहरूको व्यस्थापन गर्यो , न बुढाबुढी हेर्न सक्यो। वास्तवमा नेपाल 'कन्ट्री' नै होइन के '।
यस्तो लेखेको देखेपछि म एकपटक कोलराज बुबाको घर सम्झें, आँखा रसाए, हात काँपे, केही लेख्ने हिम्मत गरेनन्।
केही समय पहिले यही अनलाइनमा मेरो एउटा लेख प्रकाशित भयो। उक्त लेख पढेपछि क्यानडामा बस्ने मित्रले फोन गरेरै सोधे - ' हैन! तिमी अझै नेपालमै छौ ?' मैले यही छु भन्ने जवाफ दिएँ।
फेरि अचम्म मान्दै उनले भने , तिम्रो त पढाइ पनि राम्रै थियो। यता आको भए पिआर. भैसक्थ्यो, लाइफ सेट हुन्थ्यो'।
म केही बोलिनँ। उ भन्दै थियो - 'त्यो देशमा हाम्रो केही काम छैन के! लुट्ने, ढाँट्ने, छल्नेलाई मात्र ठिक छ। मेहेनत र इमान्दारिताको त्यहाँ कदर हुँदैन। खासमा भन्ने हो भने, अरू देशको अगाडि नेपाल 'कन्ट्री' नै होइन'।
उसको विचारमा मैले कुनै हस्तक्षेप गरिनँ। नेपालमा रहँदा राष्ट्रवाद, देश भक्तिका बखान गाएर नथाक्ने मान्छे, आज यतिसम्म परिवर्तन भएको देख्दा अचम्म लाग्यो।
आफ्नो घर, आफ्नो माटो, आफ्नो धर्ती, आफ्ना मान्छे आदि प्रति किन यति धेरै वितृष्णा ? के यो मुलुक बस्न लायक नै नभएको हो त? कसरी हामी यो अवस्थामा आइपुग्यौ ? के सरकारमात्र दोषी होला त ? यी प्रश्नहरूले मेरो मनलाई शान्त बस्न दिएन।
मुलुकका शासकहरू र उनीहरूले गरेका क्रियाकलापबाट त हामी जानकार नै छौं। सबैजसो संचार माध्यमहरूले उनीहरूका अभिव्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर प्रकाशित गरेको पाइन्छ।
यसको प्रतिक्रियामा जनताबाट धेरै आक्रोश र थोरैमात्र समर्थन देखिन्छ। यसले के पुष्टि गर्छ भने, शासकहरूले जनताका समस्याहरूलाई सम्बोधन गर्न सकेका छैनन्।
हाम्रो मुलुकमा एउटा असल शासकको आवश्यकता टड्कारो रूपमा परिरहेको कुरामा दुई मत नहोला।
अर्को सबभन्दा महत्वपूर्ण पक्ष, के हामी जनताले एउटा असल नागरिकले राज्यप्रति गर्नुपर्ने दायित्व पूरा गरेका छौं त ?
जब सरकारी छात्रवृत्तिबाट राज्यको लगानीमा बनेकाहरू डाक्टर आफ्नो देशका बिरामी छाडेर विदेशी डलरतिर तानिन्छन्।
इन्जिनियरहरू आफ्नो मुलुकका तुइनलाई बेवास्ता गरी विदेशमा फ्लाइओभर ब्रिजका नक्सा कोरिरहेका हुन्छन्।
जब समाजशास्त्री समाजलाई जात-जाति, धर्म, वर्ग आदिमा विभाजन गरी लाभ उठाउन खोज्छन्। जब राजनीतिशास्त्री राजनीतिलाई व्यापार-व्यवसायको रूपमा व्याख्या गर्दछन्।
जब अर्थशास्त्री सीमित वर्गको आर्थिक उन्नतिमा मात्र लाग्दछन्। अनि त्यो देशमा रोग, भोक र शोकमात्र बाँकी रहन्छ। यदि असल शासक चाहन्छौ भने, हामी असल नागरिक पनि बन्न सक्नु पर्दछ। आफ्नो घरको छाना चुहियो भनेर, सधैंभरि छिमेकीको घरमा ओत लगाएर हुन्छ र ?
विश्वका प्रमुख पर्यटकीय गन्तव्य मुलुकमा पर्न सफल, बुद्ध भूमि, सगरमाथाको देश, धार्मिक एवम् साँस्कृतिक सम्पदाहरूले भरिपूर्ण हाम्रो देश नेपाल 'कन्ट्री' मात्र होइन, एकदिन 'ब्युटीफुल कन्ट्री' हुनेमा कुनै आशंका छैन। मात्र प्रतिबद्धता र इमान्दारिताको खाँचो छ।