अक्सर जब हामी एक्लै बसिरहन्छौँ, उहीबेला मस्तिष्कमा पनि अनेकौँ कुराहरू खेल्न थाल्छन्। तीमध्ये बढी मात्रामा ती प्रश्नहरू नै उब्जन्छन् जसका पछि कहीँ कतै केही उत्तरहरू मात्रै हामीलाई थाहा हुन्छ।
अन्जान प्रश्नहरूले निम्त्याएका बेतोडका समयमा मन आफैसँग भित्रभित्रै गुन्गुनाउन थाल्छ। थाकेको मन र तनले नै जीवनमा धेरै पाठ सिकाउँछ र बिना कलमले बिना कापीका पानामा कोरेका ती जिन्दगीका अक्षरहरू आफैमा मूल्यवान हुन्छन्।
एक महिना, एक वर्ष,अनि फेरि उही कयौं महिना र वर्षका सिंढीहरू चढिरहँदा २२ औं सिँढीसम्म आइसकिएछ तर जीवनको अन्तिम सिँढी कहाँ अनि कति औँ सिँढीसम्म पुगेर रोकिन्छ भन्ने कुरामा हामी अनविज्ञ नै छौं, चाहे ऊ एक भविष्य बताउने ज्योतिष नै किन नहोस्।
कहिले रोइरहँदा आफैले धिकारेको जिन्दगी र कहिले हाँसिरहँदा आफैले फुर्काएको जिन्दगी र यी बीचका हामी सबैले नियालिरहेका हुन्छौं।
एक्लै बसिरहँदा नटोलाउने र केही न केही नसोच्ने सायद हामी कम नै हुन्छौं होला, यसो वर्तमान समयलाई नियालिरहँदा हामी पहिलेको तुलनामा झनै बढी सोच्ने त भएका छैनौं? कतै आफूलाई उमेर मात्रै बढिरहेको तर उपलब्धि केही नभएको जस्तो त लागिरहेको छैन?
सबै क्षेत्रमा संलग्न सम्पूर्णलाई उही पक्कै पनि आफ्नै विषयवस्तुको पिर छ। ठूला-ठूला व्यापारी, साना-साना मजदूर, विद्यार्थीमा पनि अझै बढी कलेज पढ्ने विद्यार्थीहरू, गृहिणी, ६०/७० वर्ष काटिसकेका हातमा लौरोको साहरा लिनु परेका सबै वृद्धाहरूदेखि लिएर बल खेल्न पाइनँ भन्दै रुने केटाकेटीसम्मलाई आफ्नै पिरलो छ।
बजारमा भीडभाड उत्तिकै छ, हस्पिटलमा पनि भीडभाड उत्तिकै छ, कतै घुम्न जाउँ त नि भन्यो त्यता पनि भीडभाड उत्तिकै छ, अनि लकडाउन? उही स्कुल र कलेजलाई मात्रै लकडाउन देखियो नि, के तिनै स्कुल वा कलेजमा पढ्ने विद्यार्थी बाहिर सुरक्षित छन्? के उनीहरूले आफूलाई एउटै ठाउँमा लक गरेर राखेका छन्? मानौं शरीरलाई लक नै राखेका छन् तर मस्तिष्कलाई नि?
जब साथीहरूसँग कुराकानी हुन्छ तब उनीहरू बताउँछन्- 'घरमा बस्दा बस्दै दिक्क लागिसक्यो, कहिले खुल्छ होला अब यो कलेज पनि, कस्तो कलेज ड्रेस लगाएर कहिले कलेज जाउँ जस्तो भएको छ। एउटा सेमेस्टरको परीक्षा दिएर अर्को सेमेस्टर सुरू हुने बेला हो, आशा छ अब हाम्रो कलेज तिहार पछि पक्कै हुन्छ होला है।'
घर बसेको पनि ७ महिना भइसकेको रहेछ, कलेजको बाटो हिँड्दा कलेजको गेटतर्फ एकछिनसम्म रोकिएर हेरे आफ्नो कलेज हो माया लाग्छ नि! तर गेटमा लेखिएको थियो एउटा ब्यानरमा- 'कलेजभित्र अन्धकार छ।' अनि सोचें, कतै हाम्रो भविष्य पनि यही ब्यानरमा लेखे जस्तै अन्धकार त हुने हैन।' हो, कयौं समयपछि साथीहरूसँग कुराकानी गर्दा फरक फरक विचारहरू पाएँ।
हालको समयमा शरीर फुर्सदिलो तर मस्तिष्क निकै व्यस्त भएको छ। भनिन्छ नि, खाली दिमाग सैतानका घर। यहाँ त आवश्यकभन्दा अनावश्यक विचारहरूले मस्तिष्कलाई भरिदिएको छ।
हामीले धेरैजसो के पाउँछौं भने, लगभग धेरैको जीवनयापन गर्ने शैली वा दैनिकी उस्तै हुन्छ। आज पनि उही र भोलि पनि उही। जब कुनै एक व्यक्ति दिनँहु एउटै काम मात्रै गरिरहन्छ भने ऊ त्यो दैनिकी देखेर पक्कै झ्याउ मानेको हुन्छ। यदि हाम्रो घरमा लगातार एक हप्तासम्म घिरौलाको तरकारी बनाउने हो भने हामी ८ औं दिनदेखि नाक खुम्च्याउन थाल्छौं। अझैँ कसैलाई त त्यही ७ दिन पार गराउन पनि बडो मुस्किल पर्ला। हामी पनि त केही नयाँ र फरकपन होस् भन्ने चाहन्छौँ।
तर जब आमालाई किचनमा काम गरिरहेको देख्छु तब लाग्छ मेरी आमाको आधा जिन्दगी त आज तरकारी के पकाउने होला भन्दै गएझैं लाग्छ। किनकी मेरी आमालाई आफूलाई खानको पिर छैन। तर ठिक टाइममा अफिस पुग्नु पर्ने दाइलाई कतै ढिलो हुन्छ कि, बेलैमा औषधि लिनु पर्ने बाबालाई ढिलो हुन्छ कि, बुढी हुनुभएकी हजुरआमालाई भोक लागिहाल्छ कि!
हो, यसरी नै के बनाउने र कसरी ठिक टाइममा खुवाउने भन्ने पिर लिने मेरी आमाले आफूले कहिल्यै टाइममा खाना खाएको देखिनँ र कहिल्यै घर छाडेर आज म यो ठाउँमा घुम्न जान्छु भनेको पनि सुनिनँ।
करिब १ हप्ता अघि एउटा साथीको मेसेज आयो जसमा लेखिएको थियो, 'ओइ म त क्वारेन्टिइनमा छु'। त्यो एक वाक्यको मेसेजले मलाई कयौं पटक सोच्न बाध्य बनायो, एकछिनसम्म उही एउटै शब्द क्वारेन्टिन मात्रै घुमिरह्यो।
र फेरि उताबाट मेसेज आयो- 'हैन कता हराइस्?' उसको पछिल्लो मेसेजको टोनले म झस्किएँ र फेरि सोचें 'कस्तो बुधु मान्छे म, विचरा उसलाई अत्यार लागेर होला। म भने के के सोच्दै टोलाउन लागेछु।' हत्तपत्त उसलाई फोन गरेँ र अहिले के कस्तो छ सबै बुझेँ।
सुनाउँदै थियो- 'साह्रै दिक्क लाग्छ भन्या, यही एउटा कोठाभित्र घाम झुल्कनु अघिदेखि लिएर अस्ताउनुपछिसम्म पनि यही कोठामा। जिन्दगीमा सायद पहिलो पटक म यसरी बसेको छु। आत्तिएर झन् के गरौं र कसो गरौं मात्रै हुने रहेछ। २ वटा नोबल पनि पढिसक्या भन्या। कहिल्यै यसरी पढ्छु भनेर नपढ्ने मान्छे म कसरी दुइटा नोबल पढेर सकेँ, आफै छक्क परेछु।
एक दिन त यति धेरै अल्छी लागेर झ्याल बाहिरबाट हेर्दै बाटोमा कति वटा सवारी साधनहरू गुड्दा रहेछन् पनि गनेर सकेपछि फेरि सोचेँ, म जस्तो मान्छे जो अरू बेला डुलेको डुल्यइ मात्रै गर्छ, आज यो समयमा यसरी बस्न सक्नु ठूलो कुरा हो नि। ल म त जोतसो मन बलियो बनाएर बसेको छु आत्तिए पनि।
घरको याद आए पनि, साथीहरूसँग घुमेको सम्झिए पनि आफू बलियो त हुनुपर्यो नि नत्र हामीभन्दा झन् कमजोर व्यक्तिहरू त्यसै आत्तिन्छन् नि हैन र?'
सोचेँ केटो निकै बुझ्नि भएछ, सबैले हावा भन्थे केटो त हावाबाट दावा भएछ भनी जिस्काएँ। ऊ पनि हाँस्यो र भन्यो- 'ल अहिले राख्छु है, यति बोलेर आज मन साह्रै हलुका भयो। अहिले एकछिनपछि फोन गर्छु फेरी।'
निकै बेरसम्म सैलेशले भनेका कुराहरू सम्झिएँ। लाग्यो समय र परिस्थितिले साँच्चै नै मानिसलाई परिपक्क बनाउने रहेछ। उसले एकछिनमा फोन गर्छु भनेको थियो, नभन्दै उसको फोन आयो र भन्न थाल्यो 'अघि मैले किन फोन राखेको थाहा छ?'
मैले 'नाइँ किन र?' भनी प्रश्न गरें।
उसले भन्न थाल्यो 'जीवन साँच्चै नै कति छोटो रहेछ, विचरा भर्खर एउटा शव मेरै आँखा अघिबाट लिएर गए। न त केही गर्न नै सकेँ न त केही बोल्न नै।'
मैले फेरि प्रश्न गरें- 'कतिको उमेरको नि?'
उसले भावुक हुँदै भन्यो- 'बल्ल २६ वर्ष रे।'
मलाई पनि एकदम नराम्रो लाग्यो अनि सैलेशलाई भनें 'हामीले जीवनमा के-के गरौंला भनेर सोचेका हुन्छौं तर जीवन के नै रहेछ र है सैलेश? आधा जिन्दगी पनि भोग्न नपाउँदै त्यसरी संसारबाट बिदा हुनुपर्ला भनेर कसले सोचेको थियो होला र है?'
'हो नि, म आज यहाँ बसेको १५ दिन भइसक्यो र यी दिनहरूमा मैले हरेक नयाँ दिनमा नौलो ज्ञान पाएको छु जसले मलाई वास्तवमा जीवन के हो र के रहेछ, हामीले कसरी भोगिरहेका छौ र कसरी भोग्नुपर्ने रहेछ, सबै बुझिसकेको छु। यति कुरा कहिल्यै नभुल्नु, जीवन सोचे जस्तो सजिलो पनि रहेनछ र सोचे जस्तो गाह्रो पनि रहेनछ।'
जीवन हो, साना-तिना खुड्किलाहरू त आइहाल्छन् नि तर हामीले हिम्मत नहारी सजिलै पार गर्नुपर्छ। जीवन आफैमा मूल्यवान बन्छ। यता मेरो फोनको पनि चार्ज सकिन लाग्यो, उता सैलेशले लिएको भ्वाइस प्याक पनि र यसरी हामीबीचको संवाद यही टुंगिन्छ।