केही वर्ष पहिले गायक हेमन्त रानाको स्वरमा एउटा चर्चित गीत हाम्रो सांगितिक बजारमा निकै छाएको थियो। गीतको बोल थियो 'सुन साइली… साइली... परदेशबाट म आउँला, सुन साइली... साइली... चालिस कटेसी रमाउँला।'
हिमाल साउदको शब्द र कालीप्रसाद बास्कोटाको संगीत रहेको उक्त गीत चर्चामा आउदा म चालिस कटेको थिइनँ। चर्चित गायक अनि गीतकारले सृजना गरेको यो गीत सुनेपछि कता-कता मलाई पनि गीतले भनेका कुरा साच्चै होला जस्तो लाग्यो। त्यसपछि मलाई चालिस कटेसी आउने समयको बेग्र प्रतिक्षा रह्यो।
सामान्य रुपमा हर्दा मानिस चालिस वर्ष पुग्दासम्म मानवीय आवश्यकतासँग सम्बन्धित धेरै कुराको बन्दोबस्त मिलाइसकेको हुन्छ होला। शैक्षिक यात्रा लगभग टुङ्गिसकेको हुन्छ। जागिर खानेहरु, व्यवसाय गर्नेहरु, विदेश जानेहरू, राजनीति गर्नेहरु सबैले आ-आफ्नो बाटो समाइसकेका हुन्छन् र साथमा केही पुँजी पनि जम्मा भैसकेको हुन्छ।
बिहेवारी, बच्चा-बच्ची, घरबार आदि कुराको पनि लगभग टुङ्गो लागिसकेको हुन्छ। आफ्नो जीवनकालमा गर्नु पर्ने धेरैजसो महत्वपूर्ण कार्यहरुलाई समेटिसकेको हुन्छ होला। अब अरु के नै बाँकी रहन्छ होला र?
साँच्चि नै! यसपछिका दिनहरु त सबै रमाइलोमै बित्नेछन्। मिहेनत अनि परिश्रम त चालिस अगावै गर्नु पर्छ। यहि सोच अनि विश्वासका साथ अगाडि बढ्दै थिएँ। तथापि जब दिनहरु बित्दै गए, चालिस पार हुन लाग्यो, मलाई कता-कता शंका पो लाग्न थाल्यो। कतै हेमन्त रानाको गीतले व्यंग्य त गर्न खोजेको होइन?
केही समय पहिले काम विशेषले म लामो दूरीको यात्रामा सहभागी हुन पर्यो। बसको यात्रा अनि पहाडको कच्ची बाटो, हल्लिदै, पल्टदै अनि लड्दै गन्तव्य तर्फ अगाडि बढ्दै थिएँ। बीच-बीचमा करिब आधा घन्टाको फरकमा एक अधवैँशे मानिसले बस रोकाउदै झाडीतिर दगुर्दै गर्दथ्यो। यो देखेर बसका सहचालकले सोधेँ, 'हैन दाइ, सन्चो छैन कि क्या हो?'
अधवैंशे मानिसले छोटो जवाफ दिए 'चालिस काटेको शरीर हो भाइ।'
मैले उनको कुरा बुझिनँ। ती अधवैंशेले आफूसँगैको सिटमा बस्ने यात्रुलाई सुनाउन थाले 'हेर्नुस् भाइ, चालिस कटेसी मानिसका अंगहरुमा कसिएका नटहरु खुकुलो हुँदै जान्छन्, केही रोक्छु भनेर रोकिदैन।' यति भनेर उनी खित्का छोडेर हाँस्न थाले।
यत्तिकैमा पछाडिको सिटबाट एक जना महिलाको आवाज आयो 'हो दाइ, सही भन्नु भयो।'
मैले ती महिला तिर फर्केर हेरेँ, दायाँ-बायाँ दुई जना बच्चाहरु, एउटाले उनको कपाल लुछिरहेको, अर्कोले कपडा तानिरहेको, बल्ल-बल्ल आफूलाई सम्हालिरहेकी थिइन्। यसैबीच अचानक उनले म तिर पो फर्कदै भनिन्, 'ओहो भाइ, सन्चै छौ?'
म अचम्म परेँ, केही बोल्न सकिनँ। फेरी उनले भनिन्, 'चिनेनौ कि क्या हो! म तिम्रै गाँउको बबिता दिदी हो।'
मैले हतार-हतार भनेँ 'हजुर! चिनेँ चिनेँ।' त्यसपछि झन् म तीनछक परेँ। एक समय यस्तो थियो, जतिबेला बबिता नाम हाम्रो गाँउमा मात्र होइन, वरिपरि दश गाँउका युवाहरुको मुखमा झुल्लिने गर्थ्यो। उनको रूपरंग, जीउडाल देखेर सबैले नेपालकी ऐश्वर्य राय भन्दथे।
आज उनी चिन्न पनि नसकिने अवस्थामा पुगिछन्। खै उनको अनुहारको चमक, खै त्यो रुपरंग? कसैसँग नबोल्ने घमण्डी पाराकी उनी, यतिसम्म परिवर्तन हुन्छिन् भन्ने मैले सपनामा पनि सोचेको थिइनँ।
यति नै बेला खाना खाने बेला भएछ, बस रोकियो। सबै यात्रुहरु बसबाट ओर्लिन थाले। यसैबीच कसैले मलाई परबाट बोलाएको आवाज सुनेँ, फर्केर हेर्दा एक जना टाउकोमा टोपी अनि आखाँमा चस्मा लगाएको पुरुष म नजिक आएर भन्यो, 'चिनेनौ? म तिमीसँगै कलेज पढेको साथी रबि।'
मैले उसलाई आवाजबाट चिने र विगतका कलेजका दिनहरु सम्झेँ। हाम्रो समूहमा सबैभन्दा हेन्डसम केटा थियो रबि। उसको हेयर स्टाइल देखेर धेरै युवतीहरु फिदा हुने गर्दथे।
मैले भनेँ 'टोपी लगाएको भएर नचिनेको नि तिमीलाई।' यति मात्र के भनेको थिएँ, उनले आफ्नो टोपी निकालिदिए। पूरै मैदान साफ भाको रहेछ। त्यो देखेर म स्तब्ध भएँ। साँच्चि नै चालिस कटेसी मानिसहरुमा नसोचेको परिवर्तन ल्याउने रहेछ भन्ने कुरामा मलाई विश्वास लाग्न थाल्यो।
उमेरले मानिसको सोच्ने, बोल्ने शैलीमा व्यापक परिवर्तन आउने रहेछ। उबेला बेलाबखत हुने साथीभाइहरुसँगको जमघट अनि एकअर्काबीच हुने वाक युद्ध कति रमाइलो हुन्थ्यो। अहिले पनि जमघट हुन्छ, गफगाफ हुन्छ तर साथीभाइहरुका बोली, आनीबानीहरुमा भने व्यापक परिवर्तन भएका छन्।
बिहान नौ बजेसम्म विस्तारामा लडिरहने साथी, आजभोलि सबेरै पाँच बजे नै मर्निङ वाकमा जान्छु भन्छन्। हिजोका दिनमा हलिउड, बलिउड, कलिउडका हिरो-हेरोइनका गफ गर्ने साथीहरु आज रामदेवका योग र यसको महत्वको बारे चर्चा गर्दैछन्।
फुटबल, क्रिकेटका स्टारहरुको नाम कण्ठ भएका मित्रले आजभोलि गफ गर्दा औषधीका नामहरुको मात्र उच्चारण गरेको सुनिन्छ। टाउको दुख्दा,पेट दुख्दा, खुट्टा दुख्दा के औषधी खाने, सबै कण्ठ छ उनलाई। कहीँ कतै पार्टी, भोज-भतेरमा जाँदा इज्जत नै फाल्ने गरी खाने अनि पिउने साथीहरु आजभोलि शाकाहारी हुँदै गएछन्। साँच्चि नै! चालिस कटेसी रमाउने क्षेत्रहरु सीमित हुँदै जाँदा रहेछन्।
मेरो आमाले भन्नु हुन्छ, म सानैमा साइकल चलाउन पाउदा, टिभीमा कार्टुन हेर्न पाउदा, साथीहरुसँग लुकामारी खेल्दा खुब रमाउथेँ रे! उमेर बढ्दै जाँदा मलाई क्रिकेट हेर्न पाउदा, फुटबल खेल्न जाँदा, साथीभाइसँग घुम्दा, सिनेमा हेर्न जाँदा, गफगाफ गर्दा ज्यादै रमाइलो लाग्थ्यो।
कुनै बेला टेस्ट क्रिकेट पनि नछुटाइ हेर्थेँ, रातभर फुटबलका क्लब म्याचहरु हेरिन्थ्यो। नयाँ चलचित्र रिलिज हुनासाथ हलमा पुगी सकिन्थ्यो। अहिले पनि टेलिभिजनमा क्रिकेट आउछ, फुटबल आउछ, चलचित्रहरु आउछन् तर पहिले जस्तो गरी रमाउदै हेर्न सकिदैन।
कही-कतै घुम्न जाने योजना बनाए, साथीभाइहरु जुटाउन सकिदैन। यदि जुटियो भने पनि समय जुराउन सकिदैन। सबै कुरा साथमा हुँदाहुँदै पनि केही नभए जस्तो भान हुँदो रहेछ।
मानिसको उमेर सँगसँगै उसका इच्छा, चाहना, आवश्यकताहरु पनि परिवर्तन हुँदै जाने रहेछन्। सधैभरि एउटै वातावरणले मानिसहरुलाई खुसी तुल्याउन सकिन्छ भन्न सकिदैन रहेछ। हामी सानो छँदा चाडपर्वमा मामाघर जाँदा कति रमाइलो हुन्थ्यो।
एक दिन कक्षामा शिक्षक अनुपस्थित हुँदा, साथीहरुले प्रिन्सिपल सरको मिमिक्री गर्दा, स्कुलबाट भागेर फ्लिम हेर्न जाँदा, बुवाको कोटबाट पैसा निकालेर भ्यालेनटाइन-डे गिफ्ट किन्दा, कम्ता रमाइलो हुन्थ्यो! त्यो समय थियो, त्यो उमेर थियो। यस्ता क्रियाकलापहरुले अहिले कुनै महत्व राख्दैनन्। तसर्थ, समय अनुसार रमाइलोपनका क्षणहरु पनि परिवर्तन हुँदै जाने रहेछन्।
वास्तवमा उमेरले चार दशक पार गरेपछि मानिस जीवनकालको मध्यम बिन्दु निर पुग्ने रहेछ। जहाँ उसले आफ्नो परिवार भित्र मुख्यतया दुई वटा चुनौतीहरुको सामना गर्नु पर्ने रहेछ। एकातर्फ आफूभन्दा पछिल्लो पुस्ताहरु जस्तै: छोराछोरी, भाइ-भतिजा, भान्जाभान्जी आदि जो आधुनिक सोच अनि नयाँ प्रविधिमैत्री वातावरणमा हुर्केका हुन्छन्।
उनीहरुको इच्छा, चाहना र आवश्यकताहरुको सम्बोधन गर्न सक्नु पर्ने हुँदो रहेछ। अर्कोतर्फ आफूभन्दा अघिल्लो पुस्ताहरु जस्तै: हजुरबुवा-हजुरआमा, बुबा-आमा, दाइ-दिदी आदि जो परम्परागत सोच अनि आदिम प्रविधिमैत्री वातावरणमा हुर्केका थिए। उनीहरुको भावनाको पनि कदर गर्न सक्नु पर्ने हुन्छ।
यी चुनौतीहरुलाई उचित तवरले व्यवस्थापन गर्न सकिएन भने त्यसले निम्त्याउने नतिजाको सामना गर्ने धेरै गाह्रो पर्न सक्दछ। यसरी हेर्दा यो उमेरलाई 'दुई ढुंगा बीचको तरुल' सँग तुलना गर्दा फरक नपर्ला।
अर्थशास्त्रमा मैले पढेको थिएँ। मानिसका इच्छाहरु असीमित हुन्छन रे, एउटा इच्छा पूरा भएपछि स्वत: अर्को इच्छाको जन्म हुन्छ रे। तसर्थ, कुनै विशेष इच्छा अथवा आवश्यकताहरु पूरा भएपछि मात्र रमाउछु भन्नु मूर्खता हुने रहेछ। मानवीय जीवनको हरेक क्षण अनि उमेरमा हुने शारीरिक, मानसिक, सामाजिक, आर्थिक आदि पाटाहरु फरक-फरक हुने रहेछन्।
प्रत्येक क्षणबाट जति लाभ लिन सकिन्छ, जति रमाउन सकिन्छ, त्यो पूर्ण रुपमा लिन सक्नुलाई नै जिन्दगी जिउन जानेको मानिने रहेछ। बगेको खोलाको पानी सरि त्यो क्षण फेरि कहिले फर्केर आउदैन रहेछ।
हेमन्त रानाले आफ्नो गीतमा पूरै गल्ति नै भनेका भने होइन रहेछन् है! उमेरले चालिस कटेपछि मानिस रमाउनै नसक्ने भने होइन। रमाउने क्षेत्र, परिवेश, तरिका आदि परिवर्तन भएका हुन सक्दछन्। हिजोका दिनमा साथीभाइसँग मिलि हप्तौँसम्म घरबाट कतै टाढा गएर समय बिताउन सकिन्थ्यो भने आज ती पलहरु घरपरिवारसँग मिलेर बिताउदा नि रमाइलो हुने रहेछ।
साँझपख सडक चोकमा बसी बजाउने गितार, घरको कौशीमा बसेर बजाउदा नि आनन्द आउदो रहेछ। ह्विस्की पिएर बोतालमा गरिने नृत्यभन्दा छोरीले बजाएको राइम्समा नाच्दा झन् रमाइलो हुने रहेछ।