धार्मिक सहिष्णुता, संस्कृतिको धनी, आत्मीयता र आतिथ्यताको खानी, सहयोगी मन र भावना भएका निडर वीर गोर्खालीको उपनामले चिनिने हामी नेपाली संसारकै संस्कारी जनतामा पर्दछौँ।
त्यति मात्र होइन, प्रकृतिको सुन्दरतासँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको शान र गौरव, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मभूमि नेपाल हो। हामी नेपाली हुनुमा गर्व गर्दछौँ। हाम्रो छुट्टै पहिचान रहेको छ। हाम्रो छुट्टै विशेषता छ।
तर बिडम्बना, आजभोलि दिनहुँजसो भइरहेका केही घटनाक्रमले हामी आफूले पाएको माथि उल्लेखित उपाधिहरूको खिल्ली उडाइरहेको आभास हुन्छ। यतिबेला हामीमा मानवता हराएको छ।
दैनिक बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म विभिन्न छापा, रेडियो, टेलिभिजन र अनलाइनमा पढ्ने र सुन्ने गरिएका निकै क्रुर र अमानवीय समाचारका शीर्षकहरूले मन र मस्तिष्कमा ठूलो आघात पुगेको छ।
मानवले मानव प्रति गर्ने व्यवहार, सोच, दया, माया, सद्भाव, कर्तव्य र धर्म भुलिसकेको प्रष्ट देखिन्छ। आजभोलि दैनिक अझ भनौं घण्टा घण्टामा हुनेगरेका विभिन्न खाले अमानवीय क्रियाकलापहरुले हामीलाई कता तिर लगिरहेको छ?
हाम्रो सोच र नैतिकता किन पतन हुँदै गरेको छ? किन हामीमा विवेक शून्य छ? हामीले पाएको र सिकेको संस्कार के हो? हामी हाम्रो समाजलाई कता तिर लैजाँदै छौँ? भविष्यका कर्णधारहरूलाई के सिकाइ रहेका छौँ?
किन हामीमा विवेक शून्य छ? हाम्रो यस पवित्र भूमिमा कहिलेसम्म हुने हो यस्तो हर्कत? किन हरायो मानवता?
बाबुद्वारा छोरी बलात्कृत, १२ वर्षकी किशोरीलाई सामूहिक बलात्कार, आमाले गरिन् छोराको हत्या, श्रीमानद्वारा श्रीमतिको हत्या, गाउँले मिलेर लखेटी-लखेटी हत्या, बोक्सीको आरोपमा कुटपिट गरी गाउँ निकाला, प्रेमीले प्रेमिकाको हत्या, ज्वाइले ससुराको हत्या, दाजुले भाइको हत्या, कतै जातको नाममा हत्या, कतै धर्मको नाममा हत्या, कतै लेनदेनको नाममा हत्या, कतै मदिरा सेवन गरी हत्या।
यस्तै-यस्तै समाचारका शीर्षकहरूले हामी प्रत्येक दिन निकै विक्षिप्त भएका छौँ। बलात्कार र हत्या निकै विवश तरिकाले हुने गरेको देखिन्छ जुन सुन्न त के कल्पना समेत गर्न सकिँदैन। के मानव समाजको पहिचान क्रूरता नै हो त? आज कोही कसैसँग कतै पनि सुरक्षित छैन। चाहे ऊ घरमा होस्, आफ्नो कार्यक्षेत्रमा होस्, सार्वजनिक स्थानमा होस् वा अन्यत्र।
बिहान घरबाट निस्केपछि बेलुकी घरमा सकुशल फर्कन सकिने हो कि होइन थाहा छैन। कतै श्रीमती पीडित, कतै श्रीमान् पीडित, कतै छोरी पीडित, कतै बुहारी पीडित, कतै दिदी बहिनी पीडित।
आज परिवारको आड र भरोसा अनि आफ्ना सन्ततिको सुन्दर भविष्यको भाग्यरेखा कोर्न पर्ने बाबुले नरपिचासको रूप धारण गर्छ अनि आफ्नै छोरी, बुहारी केही नभनी बलात्कार गर्छ। त्यतिले मात्र नभएर हत्यासम्म गर्न पछि पर्दैन। आफ्नो सन्तानलाई सुन्दर संसार देखाउन अनेक दुःख, कष्ट, पिर र व्यथा भुलेकी आमा आफ्नै छोराको हातबाट मर्नु परेको छ।
दिनदिनै यी यस्ता क्रुर तथा अमानवीय घटनाहरु बढिरहनुमा आखिर हामी कसको दोष? कहिले पलाउँछ हामीमा मानवता? यो समाज सुधार्ने कसले? निच र पतित सोचाइहरुलाई परिवर्तन गर्ने कसले? समाजमा यी यस्ता घटनाहरु घट्दै गर्दा हामी किन चुप भइ बसेका छौँ?
बाल अधिकारको नारा कसलाई? मानव अधिकार कसलाई? संस्कार सहितको शिक्षा कसलाई? राज्य कसलाई? राज्यको नियम र कानुन कसलाई? खै, कता गए समाजका अगुवा भनौदाहरू? खै, कता गए बुद्धिजीवीहरू?
खै, कता गए सिंहदरबारलाई गाउँमा पुरयाएर राज गरिदिएका राजनेताहरू? आज हामी सबैको औचित्यमाथि एउटा प्रश्नवाचक चिन्ह खडा भएको छ। हामीले भन्ने गरेको विधिको शासनको योभन्दा अर्को ठूलो उपहास के नै छ होला र? कहिलेसम्म हो अन्याय र अत्याचार सहेर बस्नु पर्ने?
आज कसैमा दयाको भाव देखिँदैन। सबैको गिद्धे नजर र 'कु'विचार मात्र देखिन्छ। अब हामीले यसको जड पहिल्याउनु अत्यावश्यक छ। अमानवीय कार्य गर्नेहरुलाई राज्यले नै संरक्षण दिएको देखिन्छ। धेरैजसो घटना र परिघटनाहरूमा राजनैतिक गन्ध देखिन्छ।
राजनीतिज्ञहरूको आड र पहुँचको कारण यी यस्ता घटनाहरु दिनानुदिन बढ्दै गइरहेको छ। अपराधिक क्रियाकलापमा संलग्न हुनेहरुलाई राज्यलेनै संरक्षण दिनु निकै बिडम्बनाको कुरा हो। चुनावको बेलामा हेलिकप्टरमा सवार भएर घाँटीभरी माला लगाएर भोट माग्नेहरु आज कता गए? गाउँमा खसी काटेर भोजभतेर गर्नेहरु कता गए? किन सबै मौन छन्? हामीले समाज र राष्ट्रको लागि माखो नमार्नेहरुलाई सधैं अनावश्क रुपमा स्थान दिइरहेका छौँ।
आज समाजमा यी यस्ता घटनाहरु हुँदै गर्दा कलिला बाल मस्तिष्कमा कस्तो असर पर्ला? समाजमा भएका भविष्यका कर्णधारहरूले के बुझ्लान् र सिक्लान्? उनीहरूको भविष्यको जिम्मा कसले लिन्छ? आज हामीले जुन संस्कार दिएका छौँ, त्यसैले हाम्रो समाजलाई अबको दिनमा कता लैजान्छ? यस कुरामा हामी सबैको चिन्ता र चासो हुनु अत्यावश्यक छ।
आजको समाज यस अवस्थामा पुग्नुमा हामीहरु हुर्कने, बढ्ने क्रममा र शिक्षा लिने क्रममा भएका त्रुटि र कमी कमजोरीहरुको कारणले पो हो की? हामीले कस्तो शिक्षा दिन्छौँ र लिन्छौँ? कस्तो संस्कार सिकाउँछौ, त्यो महत्वपूर्ण हुन्छ। मानव, मानव नभएर दानवको स्वभाव देखाउनमा पक्कै पनि यस समाज दोषी देखिन्छ। हामीले दिने संस्कार, सिकाउने अनुशासन र गर्ने व्यवहार एक कारक तत्व हो।
आज हामी सबै एक भएर यस्तो बेथिति र विसंगति विरुद्धमा आवाज उठाउनु अपरिहार्य छ। कानुनलाई कागजमा मात्र सीमित नगरी व्यवहारमा लागू गर्न सके पक्कै पनि यस समाजमा हामीले खुसी र आनन्दको सास फेर्न सक्छौँ।
कसैको आड र संरक्षणमा मानवता विरोधीहरू र अपराधिक घटनाहरूमा संलग्न हुनेहरूलाई उन्मुक्ति दिनु हुँदैन। यसो गर्न सके दिनहुँ बढ्दै गएको अमानवीय क्रियाकलापहरूमा पक्कै पनि कमी हुँदै जान्छ। कुनैपनि अमानवीय कार्य गर्नेहरूलाई कानुनको कठघरामा उभ्याउने गरौँ। असल समाज निर्माणको अभियानमा हातेमालो गरौँ र मानवता देखाऔँ।