सहरको परिवेश। हामी कुल तीन जना थियौं। यसो चिसो हावा खान भनेर निस्किएका। दुई पात्र मभन्दा उमेरमा ठूला, गाउँमा हुर्किएका। बेलाबेला मात्र सहर आउजाउ गर्ने। म ठीक विपरीत।
सामान्य कुराकानी चल्दै थियो। कुनबेला कुरा कताबाट कता बाउँडियो भनि अड्कल लगाउन म उनीहरूका वार्तालापमा गौण थिएँ। मलाई एउटा प्रश्न फुत्त फालिएपछि मात्र वर्तमान अवस्थामा फर्किन बाध्य भएँ।
'त्यो रुख के को हो थाहा छ?' एउटा अग्लो पातलो रुख अगाडिपट्टी थियो। त्यसबेला मैले चिन्ने भनेको 'वान एन्ड ओन्ली' केराको बोट!
तर पनि सोधिदिएँ 'कुन चाहिँ?'
दुवै पात्रका चोर औंला एकै दिशामा तेर्सिए।
थाहा छैन भन्नुको विकल्प थिएन, भन्दिएँ, 'थाहा छैन।'
'गाउँका मान्छेलाई पाखे भन्छन्, वास्तवमा सहर बस्ने मान्छे चाहिँ पाखे हुन्। केही थाहा हुँदैन यिनीहरूलाई,' उताबाट ठाडो प्रतिक्रिया आयो। रुखको नाम भने आएन।
बचनले कष्ट दिइसकेपछि म पनि किन नाम सोध्ने कष्ट गरिराख्थेँ? चुपै बसेँ।
अलि वर्षपछि फेसबुकको न्युज फिड स्क्रोल गर्दा एउटा पोस्टले फेरि त्यही रुख वाला घटनामा पुर्यायो। हातमा किम्बुका दाना देखाएर क्याप्सन लेखिएको थियो 'यसको नाम नजान्ने त पाखे हो।'
पाखोमा बस्ने पाखे भनेर सिकेको भर्खर अस्ति हुँदै थियो।
'पाखोमा बस्नेले त झन् बोटबिरुवा, रूख त के पूरा जंगल नै निल्नुपर्ने। जाबो किम्बु थाहा नहोला त पाखेलाई?'
फेरि सोचेँ, 'एउटै शब्दको धेरै अर्थ हुन्छन्। अनेकार्थी शब्द पनि त सिकेकै हो। ही इज गे माने 'ऊ समलिंगी हो' मात्र नभएर 'ऊ खुसी छ' पनि हुन सक्छ। शब्दको आफ्नै हिसाबले अर्थ लगाउनु व्यर्थ देखेपछि मैले ब्रह्मास्त्रको प्रयोग गर्ने भएँ- हाम्रो नेपाली शब्दकोश!
पाखे लेखिएको पानासम्म पुगेँ। पाखे भनेको त असभ्य र ग्वाँज पनि रहेछ।
म असभ्य र ग्वाँज त पक्का थिइनँ। लाग्यो पाखेको अर्थ परिमार्जन भएछ। किम्बु त चिनेकी थिएँ र त्यसपालि चाहिँ परिमार्जित पाखे हुनबाट बचेँ। तर धेरै कुरा थिए जसले फेरिफेरि मलाई पाखेको उपनाम दिन सक्थ्यो।
बोटबिरुवा, घाँसदाउरा, जोताइ, रोपाइँ, कुलो, चुलो, कुटो, कोदालो, सलेदो, फलेदो, बाबियो, खलियो, भुङ्ग्रो, मुङ्ग्रो, काम्लो, नाम्लो, दाम्लो...खै अरू के-के हो के-के नजान्दा धेरै ठाउँ लाजले रातो पिरो भएका झलकहरू आँखा अगाडि बुत्रुकबुत्रुक उफ्रिन थाले। भ्रष्टाचारीले जस्तो लाज पचाइराख्ने खुबी विकास भएकै थिएन। पाखे हुनबाट बच्न मैले जसरी पनि गाउँ बुझ्नैपर्ने भयो।
अनि के थियो र? गाउँमा आफ्नै घर छ, मलाई केको डर छ भन्दै चल्दिएँ म पनि पूर्वी तराई।
पुगेको भोलिपल्टको कुरा हो। माथ्लो घरका दाइ खुर्पा माग्न आँगनमा आएका थिए। सबै घरका काममा अस्तव्यस्त, फलैंचाको शीतलमा मस्त भैरव अर्याललाई पढेर खित्खिताउँदै बस्ने मै एक थिएँ।
'भित्रबाट खुर्पा झिकेर दे त' भनेको आवाज सुनेँ। अनि सातोपुत्लो उड्यो। खुर्पा, खुर्पा, खुर्पा तीन चोटिसम्म शब्द दोहोर्याउँदा पनि खुर्पाको चित्र दिमागमा कसैगरी कोरिएन। खुर्पा कस्तो हुन्छ भनेर सोध्न मबाट कुनै पनि ध्वनि उच्चारण हुन मानिरहेका थिएनन्।
कन्चटमा हात राखेँ, कन्पारो तात्यो।
'क ख सिकाउँदा 'ख खरायो'को साटो 'ख खुर्पा' नलेखिदिएर हेर त आज मेरो कस्तो हालत! रसायन, गणित र व्याकरणका सूत्र जानेको त कुनै मतलब नै भएन नि,' समयको अभावमा सोचाइलाई त्यहीँ बिट नमारी भएन।
मेरो भागमा सोधे गाली, नसोधे पनि गाली नै थियो, मैले सोधेरै गाली खाने विकल्प रोजेँ।
खुर्पा चिनेर मगन भएको मेरो मनलाई अर्कोपल्ट खुर्पा माग्न आउनेको ठूलो प्रतीक्षा थियो। जानेको कुरा त कसले मागिदिन्थ्यो र? अर्कोपल्ट खन्ती पो ल्याउन अह्राइयो। मुटु चलेको टड्कारो सुनिन थाल्यो। अनि एड्रिनालिन र कोर्टिसोलले पनि बकाइदा आफ्नो धर्म निभाए। अह्राइएको मान्छेलाई चोरका खन्ती बाहेक दोस्रो खन्ती पनि यो लोकमा छ भन्ने नै थाहा छैन! यो कुरा अह्राउने मान्छेलाई के थाहा!
उही दिन साँझको कुरो, गाई दुहेको हेर्दा गाउँलाई तै बुझिन्छ कि भनेर काकाको पछिपछि लागेँ। दुहुने भाँडो बोकेको सम्म त बुझेँ तर कचौरामा घ्यू पनि सँगसँगै बोकेको देख्दा अलमलमै परेँ।
फ्याट्टै सोधि पनि हालेँ, 'किन चैँ बोक्नुभएको त घ्यू?'
बोलिसकेपछि थाहा भयो बोल्न नहुने कुरा बोलिएछ। त्यतै पो अर्को रमिता खडा भयो। सुन्ने जति सबै गलल्ल हाँसे।
'यी सहरमा हुर्किनेसँग पनि नसकिने रहेछ।'
एकदिन जाँतोमा दाल पिस्दै गरेको देखेँ। चिनेको चिज देखेकी, भनिहालेँ, 'ओहो जाँतो!'
एकातिरबाट 'यसलाई पनि थाहा रहेछ है!'
अर्कातिरबाट 'जाँतो चाहिँ चिन्दी रहिछे, धन्न!'
अर्को आवाज, 'त्यति पनि नचिने त के गर्नु हौ!',
फेरि अर्को, 'ठप्पै पनि त हुनु भएन नि!'
म अक्क न बक्क छक्क परेँ। गाउँका विषयमा मुख खोल्यो कि पोल्यो। जानेका विषयमा बकाइदा बोल्दा काइदा होला भनेको त केही फाइदा भएन। आइन्दा बोल्ती नै बन्द गर्नु उचित ठानेँ। अनि तैं चुप् मै चुप्!
गाउँको 'ग' नजान्ने भएपछि एकदिन मलाई ढिकी कुटेको देखाउन भनी तल्तिरकी गायत्री आमैकामा लगियो। मभन्दा ५-६ वर्ष कान्छी बहिनीले 'ल हेर्नू दिदी' भनेर मलाई ढिकी कुट्दै गरेकी आमै अगाडि उभ्याई। लाटाले पापा हेरे जसरी हेरिरहेको देखेपछि ढिकी कुट्ने आमैले मन थाम्न सकिनन्।
सोधिहालिन्, 'होइन के हेरेका त्यसरी?'
बहिनीले मुख फोरेपछि आमैले भनिन्, 'हाम्री नातिनीले पनि केही चिन्दिन। अस्ट्रेलियामा बस्छे। आएकी थिई दोडा महिना जति अगाडि। झर्कै लाग्ने गरी गीत सुन्थी, उसको काम नै त्यही हो अरे। हाम्रा कुरा उनीहरू बुझ्दैनन्, उनीहरूका कुरा हामीले बुझ्दैनौं बा... बस, बस। ऊ त्यता छन् सुकुल।'
ढिकी हेरेर फर्किँदै गर्दा बहिनी कराउँदै थिई, 'तपाईंले ढिकी च्याऊँ देख्नुभएको छ? यस्तै हुन्छ नि!'
आमैले केही तिखो भनिनन्, म त्यसैमा सन्तुष्टि मनाउँदै थिएँ।
मैले १० वर्षको उमेरमा पहिलोचोटि गाउँ टेकेकी। गएको भोलिपल्ट बिहानै केटाकेटीहरू गुटुटु धूलो उडाउँदै खेल्न कुदेको देखेँ। बरन्डाबाट त्यी केटाकेटीलाई देख्दा त्यतै छक्क परेकी थिएँ।
त्यी सबैले मिलेका चट्ट परेका पाइन्ट र सर्ट लगाएका थिए। गाउँमा पाइन्ट र सर्ट कसरी आइपुग्यो?
सोचेँ, म जस्तै बिदामा सहरबाट गाउँ आएका होलान्। मोटरहरू पनि मज्जाले गुड्दै थिए। मान्छेको हुलिया र हाउभाउ पनि सबै सहरकै मान्छेका जस्ता। स्कुलमा चित्रकलाको कक्षामा 'भिलेज सिन' बनाउँदाको भिलेज कतैबाट पनि त्यस्तो थिएन।
माटाले लिपेको घर, पँधेरो, खोला, साँघुरो बाटो र धोती चोलो नभए कुर्ता लगाएकी महिलाले डोको बोकेको। यस्तैयस्तै चित्र ५ देखि १० चोटिसम्म त पक्का बनाइसकेकी थिएँ। मैले बनाउने गरेको गाउँको चित्र र मैले प्रत्यक्ष देखिरहेको गाउँको चित्रमा आकाश-पाताल फरक थियो। त्यसबेला बुझ्न अलि उमेर पुगेनछ क्यारे, मैले बनाउने गरेको चित्र अर्कै कुनै गाउँको रहेछ।
गाउँ चिन्नका लागि गाउँमै बस्नुपर्ने रहेछ। पर्यटकीय घुमाइले आज देखेको भोगटेको बोटलाई भोलि सुन्तलाको बोट बनाइदिन बेर लगाउँदैन। सानैदेखि गाउँ बसियो भने ठीकै छ। अलि उमेर भएपछि सिक्न जाऊँ न त भनौं भने 'म एकछिन खिसिट्युरी गर्छु अनि मात्र सिकाउँछु ल' भन्नेहरूको ओहिरो लाग्ने रहेछ।
'नो पेन नो गेन' भन्छन् नि, ज्ञान लिन परेपछि यति संघर्ष नगरेर भो त अब?
गाउँबाट सहर आउनेको पनि उही छ बेथा। कुनैबेला एसएलसी दिएर पहिलोचोटि गाउँबाट काठमाडौं आएको साथीले कम्प्युटर देख्दा हेरेका हेर्यै भएको थियो अरे। चलाउन नजान्दा हप्काइ पनि खायो रे। उसको पीडा म थोरबहुत बुझ्छु।
मलाई पनि गाउँ लगेर हलो जोताइयोस् त, त्यहाँ मेरो हालत उसकै हुन कति बेर लाग्ला र?
आजकल केही दम्पतीहरूले छोराछोरीलाई कहाँ हुर्काउने भन्ने विषयमा कुरा गर्ने गरेको पनि देख्छु। धेरै छलफलपछि गाउँ जाने निर्णय गर्नेहरूलाई पनि हेर्छु। अनि उही दम्पतीले जन्मेको केही महिनामै छोरा/छोरीलाई मोबाइल र टिभी देखाउँदै लिटो खुवाएको देख्छु।
गाई/भैंसी पाल्नको झन्झटले डेरीबाट दूध ल्याएर खुवाएको पनि देखिएपछि हेर्नैपर्यो। घरका अन्य सदस्यबाट टाढा बसेर गाउँमा छोराछोरी हुर्काउन हिँड्नेलाई पनि बेलामौकामा देख्नुपर्छ। भोलि आफ्नै हजुरबा-हजुरआमा चिन्दैनन् त्यी छोराछोरीले। चिने पनि राम्ररी बोल्दैनन्। अनि कालान्तरमा 'आफन्तसँग बोल्नै जान्दैनन्' भनेको पनि सुनिदिनै पर्यो।
सहर पसिसकेको गाउँमा छोराछोरी हुर्काउन त्यति सजिलो कहाँ छ र? सहरमा भने गाउँ होइन गाउँले धेरै पस्छन्। त्यसैले पनि भोगटेबाट सुन्तला, गहुँबाट धानका बाला, बोडीबाट सिमी, गुन्द्रुकबाट सिन्की छुट्याउन सहर एक्लैले सिकाउन नसकेको हो कि!
अस्ति मात्र एउटी १२-१३ वर्षकी बच्चीले चरिरहेको बाख्रोलाई देखाउँदै भनी, 'ममी, दसैंमा हाम्रो घरमा पनि ऊ त्यस्तै खसी काट्नुपर्छ ल!'