म सानो हुँदाको दशैँ र म जीवनको पैतीसौँ वसन्त पार गर्दैगर्दाको दशैँमा आकाश र जमिनको फरक भईसकेको छ। त्यो बेलाको पलहरू निकै रोचक अनि रमाइला थिए। एक वर्षमा एक चोटि मासु र चिउरा लुड्याउने वर्षभरिको इच्छाले भित्रभित्रै मनलाई निकै गद्गद् बनाईरहेको हुन्थ्यो।
गाउँघरबाट सहर पसेका दाजुदिदीहरू दशैँको लागी भनेर गाउँघर फर्कँदा देउराली डाँडोमा देखिने लस्करले गाउँ र बस्ती नै रंगीनमय हुन्थ्यो। सायद अब यी दिनहरू मेरो जीवनमा मात्र हैन, अब कसैको जीवनमा पनि आउला भन्ने कल्पना नै छैन।
दशैँ आउनुभन्दा केही महिना अगाडिदेखि नै म हातका औँलाहरू भाचेर दशैँ आउने दिनको कल्पनामा हुन्थेँ। मेरो बा सरकारी जागिरे हुनु हुन्थ्यो। जसोतसो गरेर भए नि दशैँमा एक सरो लुगा हाल्ने बाको योजना त बन्थ्यो तर बाले नयाँ लुगा भनेर किनीदिने भनेको सधैँको दशैँमा त्यही सरकारी स्कुलको ड्रेस- निलो पाइन्ट अनि आकाशे रङको सर्ट। त्यो पनि मेरो लागि सयौँ तोला बराबरको सुन जस्तो हुन्थ्यो।
किनेर ल्याएपछि घटस्थापनाको दिनदेखि फूलपातीसम्म गाउँको सूचीकार दिदी माइली परियारको घरमा धर्ना नबसी लगाउन पाउने अवसर नै आउँदैन थियो। अनि त्यो लुगा लगाएर गाउँभरि हिँड्ने ठूलो धोको रहन्थ्यो। वा वा! त्यो पो दशैँ !
गाउँभरि सहर पसेका दाजुदिदीहरूको भीड विस्तारै बढ्दै जान्थ्यो। म पनि मेरो सहर बसेका दाजु अनि दिदीहरूको बाटो हेरेर बसेको हुन्थेँ। जब साँझ पर्छ, पारिपट्टिको देउराली डाँडामा लाइट बलेको देखेपछि त्यो हाम्रो दाइ होला भनेर घरको सबै परिवार आँगनको डिलमा बसेर त्यस्ता धेरै लाइटको पछाडि आँखा गाडेर बस्थ्यौँ।
जब त्यो लाइट आफ्नो घरको कर्सा तिर नभै अर्को तिर अगाडि बढ्थ्यो अनि मन खिन्न हुन्थ्यो। हेर्दा हेर्दै आँखा थाकीसकेका हुन्थे र पनि देउराली डाँडामा रातको दश बजेसम्म वा मध्य रातमा बिउँझदा पनि दुई/चार मिनेट भने नि हेरीरहन मन हुन्थ्यो।
लामो समयको प्रतिक्षापछि जब दाइ-दिदीको आगमन हुन्थ्यो। त्यसपछि बल्ल दशैँ आएको महशुस हुन्थ्यो। राति सबैजना भेला भएपछि पूरा रात गफमै जान्थ्यो। गफ गर्ने क्रममा ध्यान भने दाइदिदीको झोलामा जान्थ्यो। दाइले दशैँका लागि भनेर ल्याइदिएको जुत्ता, घडी, स्कुल जाँदा बोक्ने झोला अनि दशैँभरि खान भनेर मिठो मिठो तरकारीहरू काउली, बन्दा, गोलभेँडा, दाल, चिउरा, चिनीले मेरो ध्यान लिन्थ्यो। वा वा! त्यो पो दशैँ!
अब आमा र भाउजूहरूलाई छुट्टै चटारो, घटस्थापनाको दिनदेखि नै वनबाट घाँस र दाउरा ओसार्ने र रातो माटो खोज्ने। १०/२० भारी घाँस गोठमा थुपारेर दशैँभरि सबै जनासँग घरमा बसेर रमाइलो गर्ने रहर मनभरि पालेर डाँडापारि दौडनु हुन्थ्यो, अनि दश दिनको लागी उहाँहरूलाई बल्ल छुट्टी मिल्थ्यो।
सहर पसेका सबैजना दाजुदिदीहरूको गाउँमा भीड हुन्थ्यो। पँधेरोमा नुहाउन जाँदा निकै बेर लाइनमा बस्नु पर्थ्यो। सबैजनाले सोध्नु हुन्थ्यो। बाबु तिमी त कति ठूलो भएछौ त? कतिमा पढ्छौ?
आफ्नो खस्न लागेको पुरानो हापपेन्ट समात्दै उत्तर दिँदा दिँदा हैरान हुन्थेँ। लाज मान्थेँ उत्तर दिनलाई। गाउँमा आएका सबैजना घरमा बा र आमालाई भेट्न आउनु हुन्थ्यो। कान्छो बा सन्चै? कान्छी आमा सन्चै? अनि बा पनि सबैलाई भेट्न घर-घरमा जानु हुन्थ्यो। आहा! कति रमाइलो त्यो दशैँ।
अब फूलपाती आएपछि गाउँका सबै दाजु दिदीहरूको मन्दिर जाने लस्कर हुन्थ्यो अनि त्यो लस्करको भीडमा पनि लुसुक्क छिरेर बोकालाई घिचौँदै डाँडाको भैरवी मन्दिरमा पुग्थेँ। दाइले रिल वाला क्यामराबाट खिचिक्क फोटो खिचिदिनु हुन्थ्यो। म लुते जानी नजानी पोज दिन्थेँ। अनि दाइलाई धेरै फोटो खिचिदिन भन्थेँ तर दाइको नि त्यही नै हो बाध्यता, रिल सकिन्छ मोरा। टिकाको दिनसम्मका लागि पुग्दैन भनेर हपारेपछि चुप लागेर बस्थेँ। वा वा! त्यो पो दशैँ!
दिनभरि मासु लुछ्यो, चिउरा टन्न खायो। मोही खायो, गाउँ डुल्यो, दाइको पछिपछि लाग्यो। सबैले गालामा चिमोटी दिन्थे। आफूलाई यस्तो रमाइलो हुँदा बाले फेरि 'पढेको छ कि छैन ल, ल बाबु भाइलाई सोध!' भनेर दाइलाई भनेपछि मेरो मनमा पीडाको आगो बल्थ्यो। दाइले गाली गरेर हैरान पर्दै गर्दा आफ्नो मनमा भने दशैँको रमझमको दृश्यले पिरोल्थ्यो र घरिघरि लाग्थ्यो, बरू दशैँ नआएको भए हुन्थ्यो।
मलाई ठूलीआमाले निकै माया गर्नु हुन्थ्यो। अनि भन्नुहुन्थ्यो 'भो! भो! वर्ष दिनको चाडमा पनि केको गाली गरिराको?' अनि बल्ल मेरो मनमा खुसी पलाउन थाल्थ्यो र खुसीको कुनै सीमा नै हुन्नथ्यो, बल्लतल्ल छुट पाउँदा।
टिकाको दिन नजिकिँदै गर्दा पारि तिरको बस्तीमा सुँगुर कराउन थाल्थे। ऊ सुँगुर काट्ने बेला भो, हेर्न जाऊँ भनेर बारीको पाटोबाटै फाल हान्दै सुँगुर काटेको हेर्न जाँदको मज्जा निकै थियो। वा वा! त्यो पो दशैँ!
अब टिकाको दिन आयो। दाइले सहरबाट लेराएको पटका पट्काउन थालेपछिको रमाइलोको त के कुरा गर्नु? आफू त कान्छो परियो, टिका लाउने पालो कुर्दाकुर्दै दिन जान लागीसक्थ्यो। अब पो सुरु भयो दशैँको मज्जा। दाइले बालाई ढोगेर दिने २/४ सय अनि मैले दाइलाई ढोगेर दिने ५/१० को नोट। कता-कता खिन्न लाग्थ्यो।
टिका र आशिर्वादमा भन्दानी हातमा बोकेको पैसामा हुन्थ्यो ध्यान हुन्थ्यो। टिका टालो सकिएपछि २०/२२ जनाको परिवार आँगनमा परालको गुन्द्री राखेर लस्करै खाना खान बस्दाको मज्जा जीवनभर भुल्न सकिदैन जस्तो लाग्छ। त्यसपछि सुरु भयो मामाघर जाने मेसो। पूरै दिन लाग्थ्यो हिँडेर जान उही त हो, त्यही बाले किन्देको सरकारी स्कुलको ड्रेस लगायो अनि हिँड्यो।
उकालो, ओरालो, भीर, पखेरो, जङ्गल पार गर्दै ममाघर पुगेपछिको रमाइलो कति कति! वा वा! त्यो पो दशैँ! सानिमा र ठूलीआमाका छोराछोरी सबै एकैचोटि मामाघर पुगेर मामाले बन्दोबस्त गरेको खाटमा बसेर, टिका लगाएर, मामाले देको पैसा आकाशे रङको सर्टको गोजीमा राखेर यसो लुसुक्क पिङतिर गएर पैसा गन्दाको मज्जा बेग्लै हुन्थ्यो।
त्यसो त मामा घर पुग्यो। फेरि फर्किने बेला हुन्थ्यो। अनि हजुरआमाले नाति-नातिनीहरूलाई बाटोमा भोक लाग्छ भनेर प्लास्टिकको झोलामा हालीदिएको घिउ र चिउरा मरक-मरक चपाएर बाटोमा खाँदै आउदाँको खुसीको कुनै सीमा नै हुन्न थियो।
अब पालो दिदी-भिनाजु आउने। दिदी-भिनाजुले नि टन्न खेताला नै लगाएर बोराभरि कोसेली बोकेर पहिलो दशैँको टिका लागाउन भनेर आउँदाको मज्जा कति कति। भिनाजु आउने भनेपछि घरमा निकै धेरै चहलपह हुने। भिनाजुलाई रातो माटोले पोतेको पिँढीमा हतार गरी गरी नयाँ गुन्द्री अनि राडी खोज्ने चटारो त्यस्तै हुन्थ्यो। तब दशैँको रौनक नै छुट्टै हुन्थ्यो।
विस्तारै विस्तारै दशैँ सकिँदैगएपछि दाजु, दिदी, भिनाजुहरू सहर फर्कने तर्खर गर्नु हुन्थ्यो अनि उहाँहरू गएपछि फेरि आँगनको डिलमा बसेर आँखाभरि आँसु बनाएर हेर्न मिलेसम्म हेरिन्थ्यो। र फेरि अर्को दशैँको पर्खाइमा बसिन्थ्यो। अहिलेको दशैँ त के दशैँ? त्यो पो दशैँ।
अहिले दशैँ चाहिनेभन्दा धेरै आधुनिक भैसकेको छ। आफन्त, नातागोता, छरछीमेक कसैलाई कसैले भेटघाट गर्ने, रमाइलो गर्ने, सुखःदुख एक आपसमा बाँड्ने कुरा एकादेशको कथा भइसकेको छ। देशमा भन्दा विदेशमा नै रमाइलो भएको छ अनि गाउँमा हुने चहलपहल लगभग शून्य नै छ।
घर गाउँको पँधेराहरू खाली नै छन्। पहिलेको जस्तो सामाजिक सद्भाव छैन। सबैजनालाई हतार नै छ। मामाघर, ससुराली, काकाको घर, अनि अरू आफन्तको घरमा गई यसो भेटघाट गर्ने फुर्सद नि छैन। हाम्रो परम्परा, धर्म र संस्कृतीभन्दा बाहिर गएर गरिने रमाइलोले दशैँको नाममा निकै नै धेरै विकृतिको सुरुआत हुन थालेको छ। हामीले यसलाई सुधार गनुपर्ने देखिन्छ।
यो वर्ष भने यस पर्वलाई पक्कै पनि निकै खुसीसाथ मनाउन सकिने अवस्था रहेको छैन। विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोनाको कारण यस वर्षको सुरुआतदेखि नै हामीले कुनै पनि पर्व र चाडबाड मनाउने अवसर पाएका छैनौँ। हामी स्वस्थ भयौँ भने पर्व र चाडबाड मनाउन आगामी वर्षहरूमा पनि पाइन्छ।
हामी आफू सुरक्षित भएर हाम्रो परिवार, आफन्त, इष्टमित्र, साथीभाइ सबैलाई सुरक्षित राख्नु हाम्रो सामूहिक दायित्व हो। कोरोना लागेकाहरूलाई उच्च मनोबल पार्न सहयोग गरौँ। कुनै पनि रोग लाग्नु पाप होइन। कसैलाई पनि ‘कु’ नजरले नहेरौँ मानवता देखाऔँ, बडादशैँको सबैमा हर्दिक मंगलमय शुभकामना।