म स्वयम् आफैलाई प्रश्न गर्छु, के यही नै मेरो, तिम्रो, तपाईको अनि हाम्रो समाज हो र? हिजो र आजको समयको तुलना गर्ने हो भने आकाश जमिनको फरकपना छ। एकछिन त्यो फरकपना कसरी आयो? मैले निम्त्याएको हो? तिम्ले? या त फेरि यो सिङ्गो समाजले?
पूरै कथा त याद छैन तर जहिल्यै कथा सुनाउने बेला हजुरबाले एकादेशमा एउटा ठूलो जंगल थियो र त्यहाँ अनेकौँ डरलाग्दा जनावरहरू बस्छन्, त्यसैले जंगलमा जानु हुँदैन है भन्नु हुन्थ्यो। तर आज मलाई महशुस भएको झैँ लाग्छ की जंगल खुद चार खुट्टा टेकेर हाम्रो बस्तीमा आइसकेको छ। फरक यत्ति हो, बस्तीसम्म आएको जंगलमा मानिस स्वयम् जनावर भएका छन्।
त्यसैले मलाई हजुरबुवाको कथाको जंगल डर लाग्न छाडेर आफ्नै घर अघिको जंगल भित्रका पुच्छर विहीन जनावर देखेर डर लाग्छ। सायद यो डर म जस्ता हजारौँ मनहरूलाई लागीरहेको छ। म जस्ता हजारौँ चेलीहरूलाई लाग्दैछ। हो, आज मलाई वनको बाघसँगभन्दा आफ्नै मनको बाघसँग डर लागिरहेको छ।
कुनै एक महिलाले निकै नै स्यार संहार गरेर चार वटा कुनालाई एउटा घर बनाएकी हुन्छिन्। कुनै एक महिलाले कयौँ पीडा सहेर अर्को मानवलाई जन्म दिन्छिन्। भनिन्छ नि, स्त्री बिना संसारको सृष्टि पनि असम्भव छ। के एक सृष्टिकर्ताको शरीर स्वतन्त्र छ?
तीस वर्षकी महिलाले एक शिशुलाई जन्म दिएर तीन वर्षकी पनि बनाउन नपाउँदै बलात्कारको खबर सुन्नु पर्छ। जब त्यो खबर सुनिन्छ, तब शिरदेखि पैतालासम्म जीउ सिरिंग भएर आउँछ र किन यस धर्तीमा नारीहरू जन्म लिन्छन् झै लाग्छ। जब हजुरबुवाले नातिनीलाई र, बुवाले छोरीलाई, काकाले भदिनीलाई यस्तै थुप्रै खबरहरू जुन समाजमा उब्जिन नपर्ने हुन् तर बेसमारीको हुरी आएसरी यस्ता खबरहरू पनि हुर्रिरहेका छन्।
खबर यहाँ निर्मलाको मात्रै हैन, सम्झनाको मात्रै पनि हैन, यहाँ यस्ता हजारौँ खबर भित्रका पनि खबरहरू छन् जुन आफैमा गुपचुप छन्। समाज भित्रको तागत भनेको पैसा, पावर, अनि पोजिसन। सायद यिनै तीन कुराले यहाँ होलाई हैन र हैनलाई हो बनाएर मज्जाले ओल्टाई पोल्टाई गरिरहेका छन्।
एकाबिहानै आमा म कलेज गएँ है भनेर निस्किएकी छोरी अल्लि समय ढिला हुँदा परिवार आत्तिनु पर्छ- कतै केही त भएन, कतै कसैले त नराम्रो गरेन? यस्तो सोच उब्जनु स्वभाविक हो किनकी समाजले अहिले यस्तै वातावरण निम्त्याइरहेको छ। सामाजिक संजालमा बलात्कारका खबर, पत्रिकामा बलात्कारका खबर, खबर पछाडिको रियाक्सन के?
ए, विचरा, कठ्ठै… यिनै मात्रै हुन् र? हिजो भर्खरको पत्रिकामा लेखिएको थियो, संसादहरू भनाइ व्यक्त गर्दै थिए कसैले- मृत्युदण्को व्यवस्था गर्नुपर्छ र कसैले नपुसंक हुने गरी नियम कानुन बनाउनु पर्छ। यस्ता भनाइहरू व्यक्त गर्दै थिए।
के हाम्रो समाज फेरि त्यही पुगेको हो जहाँ मानिसमा कुनै नैतिकता थिएन, कुनै मानवता भन्ने थिएन? के समाज १, २ हुँदै २१ औँ शताब्दीसम्म पुगेको, मात्रै अंकमा मात्रै हो र? के मैले कल्पना गरेको समाज त्यही अँध्यारो कुनामा फर्किएको हो र? समाजलाई के अब साँच्चीकै पूर्णरूपमा माझ्नु पर्ने बेला आएकै हो त? पक्कै पनि समाज एक नराम्रोसँग डढेको कराइ जस्तै भएको छ जसलाई खरानी राखेर हुन्छकी कसरी हुन्छ रगटेर सफा गर्नु पर्ने स्थिति आएको छ।
अपराध भन्ने बित्तिकै सजाए पनि आउँछ। कस्तो अपराध गर्नेलाई कस्तो खालको सजाए दिने भनेर र हरेक देशमा आफ्नै नीति अनि नियमहरू हुन्छन्। फरक यत्ति हो, कार्यान्वयनमा छन् या छैनन्। नेपालको कानुन अनुसार यदि कसैले १४ वर्षभन्दा कम उमेरको व्यक्तिलाई बलात्कार गर्छ भने त्यस्तो अपराधीलाई ६ देखि १० वर्षको जेल सजाय र यदि १४ वर्षभन्दा माथि उमेर भएका छन् भने उनीहरू माथि त्यस्तो अमानवीय व्यवहार गर्नेलाई ५ वर्षसम्मको सजाय भनेर तोकिएको छ।
यदि कसैले वेश्यालयका महिलासँग अमानवीय व्यवहार गर्छ भने त्यस्तो व्यक्तिलाई? ५०० र एक वर्षको जेल सजाय हुनेछ र कसैले पनि कसैको मन्जुरी बिना जबरजस्ति गर्छ भने त्यसलाई नै बलात्कार भनिन्छ। सोही कार्य गर्न खोज्ने तर केही कारणले पूर्ण गर्न नसकेको खण्डमा पनि उसले पूर्ण सजायको ठ्याक्कै आधा सजाय पाउँछ। यसरी कसले कति, कसरी, के गरेर कुनै निजलाई कस्तो व्यवहार गरेर अपराधीले कस्तो र कतिसम्मको जरिवाना भोगत्नु पर्छ भन्ने जानकारीहरु नेपालको मुलुकी अपराध संहितामा र सजाय निर्धारण तथा कार्यवयन ऐनमा खुलस्त पारिएको छ।
राष्ट्र्रको मुलुकी ऐनमा त सबै नियम कानुन बारे छापिएको छ तर के कागजमा छापिएका कानुनले व्यवहारमा पनि उत्रिएर केही गरेका छन् त? समाज भनेको एक मात्रै नभइ अनेकौँ थरी रूप अनि रंगका मानिसहरू बस्ने गर्छन् र सबै एकै हुने त कुरै भएन। कोही कस्ता अनि कोही कस्ता, समाजलाई बिगार्ने भनेका कस्ताहरूबाट पनि सस्ता भएकाहरूले हो र धन्न कागजकै पान्नामा सही केही नीति नियमहरू छन् र त साँस फेर्न पाइएको छ।
नत्र भने साँच्नै कति दिनरात तड्पिएर बस्नु पर्थ्यो होला? अर्को पाटो भनेको देशमा नियम कानुन त छदै छ, तैपनि नभएको जसरी अमानवीय व्यवहारहरू दिनानुदिन घट्दै जानुको पछि के साँच्चीकै मानिसमा डर भन्ने हराएरै हो र? कि त्यसले त फलानोलाई त्यसरी मारेछ।
खै कसैले त्यसलाई समात्न सक्या छैनन् क्या रे, यदि समातिहाले मेरा फलानो त्यो पोस्टमा छन्, यस्सो पैसा खल्तितिर हाल्दिन पर्छ कुरो त्यही सेलाएर जान्छ, केको टेन्सन भन्ने भाव भएर होकी? के साँच्चै त्यति धेरै कमजोर छ र हाम्रो नीति नियम? के आफ्नोपना, मानवता, भन्ने शब्दहरू लोप हुनै लाग्या हुन् र?
यस समाजमा न त सबै महिला दोषी छन् न त सबै निर्दोष नै। त्यसैगरी न त सबै पुरूषहरू दोषी छन् न त सबै निर्दोष नै। हो, यहाँ एक पुरूष भएर महिलाको इज्जत लुट्नेदेखि लिएर महिलाको इज्जत ढाँक्ने पुरूषहरूसम्म पनि छन्। आज एक पुरूषले कुनै महिलालाई अमानवीय व्यवहार गर्दा कुनै अर्को पुरूषले त्यस्तो निच काम गर्नेलाई कडाभन्दा कडा सजाय दिनुपर्छ भनी नाराहरू पनि लगाइरहेका छन्।
विभिन्न सामाजिक संजालका मार्फत ‘ह्याङ दी रेपिस्ट’ कोटेसन पनि हामीले नियालिरहेका छौँ र त्यसैले म पुरूष भनेर सबैलाई एकै नजरले पनि हेर्दिनँ किनकी सबै उस्तै हुँदैनन्। तर जो समाजका विपरित मोडिरहेका छन्, तिनलाई कहिले ठिक ठाउँमा लिएर आउने? हामी एक हिन्दु राष्ट्रका नागरिक हौँ र राष्ट्र, संस्कार, संस्कृती, अन्य यी सबै कुरालाई नियालीरहँदा अझै पनि छोरी मान्छे भएर घर बाहिर धेरै हिड्डुल गर्नु हुँदैन, छोटा लुगा लगाउनु हुँदैन, साँझ पर्नु अघिसम्म घरमा आइपुग्नु।
हो, अझै पनि समाज भित्र यस्ता नियम कानुनहरू धेरैको घरमा चलिरहेका छन्। आफैले आफैलाई सजग बनाएर राख्नु पनि ठिक नै हो तर आफ्नै स्वतन्त्रतालाई गुम्साएर राख्नु नि? एक पाटो मात्रै नभएर समाजका अधिकांश पाटोलाई नियाल्ने हो भने कमी अनि कमजोरी भेटिएकै हुन्छ। डा. गोविन्द केसी, जो आफ्नोभन्दा बढी राष्ट्र र जनताका हक हितका लागि सदैव लागी परिरहन्छन् तर के उनले आफूले सोचे जस्तो केही सुधारमूलक कार्य ल्याउन एक पटक हैन, पटक-पटक अन्सन नै बस्नु पर्ने हो र?
देशका ठूला भनिने पदमा बसेका कोही गए विभिन्न गाउँ ठाउँमा केही गरौँ या केही गर्छु भनेर? तर डा. केसी जो एक महान् उद्देश्यका साथ, एक ज्वरो आएर रन्थनिएको बिरामीलाई एउटै ट्याबलेट सिटामोल मात्रै किन नहोस्, दिन पाए पनि केही हदसम्म राहत मिल्ने थियो भन्ने भाव बोकी गाउँगाउँमा पुगे। तर अहिले उनको अवस्था हेर्नुस् त। के राम्रो काम गर्ने व्यक्तिले, केही उद्देश्य बोकेर लम्किएका पाइलाहरूले, म मरेर पनि मेरो देशलाई बचाउँछु भन्ने भावना बोकेका ताता रगतहरूले केही स्थान पाउँदैनन् त यहाँ?
भनिन्छ नि, बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरूको घर पनि बनाउन दिँदैन। तर यहाँ आजका २१ औँ शताब्दीका बाँदरहरू त ठ्याक्कै उल्टा छन् जस्तो लाग्छ, जो आफ्नो घर त खुब मज्जाले नानाथरी श्रिंगार गरेर सजाउछन् तर अरूको भने एउटा इँट्टा पनि थपेको देख्न सक्दैनन्।
इतिहास हेर्दा अनि सुन्दा पुर्खाले देश प्रति गरेको माया, बलिदान साँच्ची नै त्यस्तो पनि थियो है हाम्रो देश जस्तो लाग्छ। अहिले इतिहास पढ्दा उहीँ हजुरबुवाले भन्नु भएको एकादेशको कथा झैँ लाग्छ। म जस्ता लाखौँ युवाहरू छन्, पक्कै पनि देश प्रति सबैलाई उत्तिकै माया छ र नहोस् पनि कसरी? यस्तो प्रकृतिको काखमा हुर्किन पाउनु सबैको भाग्यमा कहाँ मिल्छ र?
तर देशलाई नियन्त्रण गर्नेहरूले भने खै कसरी रिमोटलाई कता तिर मोड्दै, झन् असह्य जनतालाई केही हेउ नै छैन। आशा छ, आउदो दिनमा देशलाई नियन्त्रण गर्ने रिमोट सकरात्मक सोच, उत्कृष्ट ज्ञान र देश प्रति अथाह माया भएकै हातमा पुग्नेछ।