आज म कोरोना संक्रमणमुक्त भएको एक साता पुगेको छ। हाल म घरमै स्वास्थ्यलाभ गरिरहेको छु।
तर दिनदिनै बढ्दै गएको कोरोना संक्रमण दर हेर्दा आफू संक्रमित हुँदाका अनुभवबारे केही लेख्न उचित ठानेँ।
करिब २५ दिन अगाडिसम्म म आफूलाई पूर्ण स्वस्थ ठान्थेँ। आफूले थाहा पाउने भएपछि एक रात पनि अस्पतालमा काटेको मलाई सम्झना छैन। अझ सानैदेखि फुटबल लगायत खेल खेल्ने भएर पनि होला, मेरो शरीर फुर्तिलो नै थियो।
देशमा सुरूमा चैतबाट गरिएको लकडाउन बीचमा खुकुलो भएको थियो। यसैक्रममा सरकारी कर्मचारी भएकाले कार्यालयको काममा असर नपर्ने गरी कार्यालय जाने गरेको थिएँ। मलाई आफूलाई यो कोरोना संक्रमणले केही होला भन्ने कहिल्यै लागेको थिएन। तर आफ्ना कारणले जोखिम वर्गमा रहने अन्यलाई केही होला कि भन्ने बुझाइ रहेकाले हिँडडुल गर्दा स्वास्थ्य सावधानी अपनाउँथेँ।
भदौ अन्त्यतिरको एक साँझ मलाई अलि चिसोले समाएको जस्तो अनुभव भयो। विस्तारै शरीर दुख्न थाल्यो। मलाई लाग्यो- मौसम परिवर्तनको समय अनि काठमाडौंमा चिसो बढिरहेको असर होला।
तर अलि असहज भएको केही घण्टामै मलाई ज्वरोले च्याप्यो। शरीरको दुखाइ सहन गाह्रो हुने खालको थियो। मलाई कोरोनाका लक्षणबारे थाहा त थियो तर अझै संक्रमित नै भएँ भन्ने कत्ति विश्वास थिएन।
त्यो रात मलाई धेरै निद्रा लागेन र अर्को दिन बिहान पनि ज्वरो आइरहेको थियो। यसै क्रममा सिटामोल खाएर आराम गर्न थालेँ। तर ज्वरोसँगै खोकी र रुघा समेत देखिन थाल्यो। यसै गरी दुई दिनसम्म औषधि खाँदा शरीरको दुखाइ कम भए पनि ज्वरो आउन रोकिएन।
मलाई लक्षण देखिएको चौथो दिन बिहान आफैं कोरोना परीक्षण गर्न गएँ। परीक्षण गर्ने दिन बिहान मलाई अलि राहत महशुस भयो। नतिजा नेगेटिभ आउनेमा ढुक्कजस्तै थिएँ। तर त्यही साँझ मलाई कोरोना संक्रमण पुष्टि भयो।
नतिजा आउनुभन्दा आधा घण्टा अगाडि मात्र मैले परिवारका अन्य सदस्यसँगै बसेर खाना खाएको थिएँ। घरमा एकै शौचालय प्रयोग गर्ने भएकाले नतिजा आएपछि कतै अरूलाई पनि मेरो कारण संक्रमण भयो कि भनेर मनमा चिसो पस्यो।
सामान्य लक्षण देखिनेबित्तिकै अन्य व्यक्तिको सम्पर्कमा किन गएँ म भन्ने प्रश्नले जरो गाड्यो। त्यसपछि मेरा मनमा एकदम मन्द लक्षण देखिएका समयमा भेट भएको घरकी बुढी हजुरआमा र जोखिम वर्गमा रहेका अन्यको याद आयो।
म कोरोना संक्रमित भएपछि पनि आफूलाई केही हुन्न भन्नेमा म ढुक्क जस्तै थिएँ। तर आफूबाट अरूलाई संक्रमण सरेको हुनसक्ने त्रासले सताउन थाल्यो।
म संक्रमित भएको तीन दिनपछि परिवारका अरू सदस्यको के.एम.सी. अस्पतालमा परीक्षण भयो। त्यसको रिपोर्ट २४ घण्टामा मोबाइलमा एसएमएसबाट आउनुपर्ने भनिए पनि आएन। यसअघि संक्रमण देखिएका व्यक्तिको रिपोर्ट समयमा नआउने सुनेको र पढेको थिएँ। कतै आफ्नै परिवारमा त्यस्तै भयो कि भन्ने डर भयो।
रिपोर्ट समयमा नआएपछि अस्पतालमा फोन गरेँ। करिब डेढ घण्टाको रस्साकस्सी (रिपोर्ट पत्ता लगाउन अस्पतालको असहज व्यवहारले गाह्रो भएकाले) पछि रिपोर्ट नेगेटिभ आएको थाहा भयो। तर के.एम.सी. अस्पतालबाट आउनुपर्ने सन्देश अझै आएको छैन। अस्पतालहरूको लापरबाहीले गर्दा यस्ता अन्य कति मान्छेले दुःख पाएका होलान्?
मेरो बुवा र आमाको नतिजा नेगेटिभ आएपछि र मेरो सम्पर्कमा रहेका अन्यमा स्वास्थ्य समस्या नदेखिएको भन्ने सुनेर मेरो त्रास क्रमशः कम हुँदै गएको थियो।
कोरोनासँग जुध्न उच्च आत्मबल चाहिन्छ भन्ने सुनेको थिएँ। तर आफू एक बन्द कोठा भित्र बस्दा, आफ्ना नजिकका व्यक्तिमा संक्रमण देखिएमा के गर्ने? आफैंलाई गाह्रो भए के गर्ने? भन्ने जस्ता धेरै प्रश्नको उत्तर खोज्ने प्रयास हुँदोरहेछ।
यसले सामान्य व्यक्तिलाई कमजोर बनाउन सक्ने भान मलाई आइसोलेसनमा बस्दा भयो। तर समय बित्दै जाँदा गम्भीर स्वास्थ्य समस्या देखिएन। लक्षण पनि कम हुँदै गएका थिए। यसबीच डाक्टरको सल्लाह बमोजिम औषधि खाँदा धेरै ट्याबलेट खाइसकेको थिएँ। अहिले संक्रमणमुक्त भएर औषधिका खाली पाता देख्दा मन खिन्न हुन्छ।
मलाई लक्षण देखिन सुरू भएको पन्ध्र दिनपछि मैले फेरि कोरोना परीक्षण गराएँ र रिपोर्ट नेगेटिभ आयो। ठूलो युद्ध जितेजस्तो भयो। दोश्रो पटक परीक्षणका लागि आफ्नो स्वाब दिएर नतिजा नआउन्जेल एकदम छटपटी भयो।
म संक्रमित हुनुअगाडि दह्रो आत्मबलका साथ अगाडि बढिरहेको थिएँ। तर एक बन्द कोठामा करिब दुई हप्ता बसिसकेपछि अब पनि रिपोर्ट पोजिटिभ नै आए के गर्ने भन्ने प्रश्नले सताइरह्यो। आफ्नो घरमै बसी कोरोना संक्रमण मुक्त भएकामा, आफूलाई गम्भीर स्वास्थ्य समस्या नआएकोमा र आफ्ना कारणबाट अन्यमा समस्या नदेखिएकोमा भने म खुसी थिएँ।
तर मलाई संक्रमणमुक्त भएपछि पनि समस्याले छाडेन। म आफूलाई तन्दुरुस्त सम्झिन्थेँ, विगतमा कुनै स्वास्थ्य समस्या थिएन। यही कुराले गर्दा संक्रमणमुक्त भनी पुष्टि भएको तेश्रो दिनबाट मैले आफ्ना दैनिकी यसअघि जस्तै अगाडि बढाउन खोजेँ।
तर त्यसो गर्दा मलाई कमजोर अनुभव भयो, खोकी अझै लागिरहन्छ, छाती चिसो भएझैं हुन्छ, अलि धपेडी जस्तो भयो भने टाउको दुख्छ, शरीर थकित हुन्छ। मलाई अझै केही समय आराम चाहिने अनुभव गरेको छु।
मलाई सामान्य लक्षण देखिएको २५ दिन पुग्न थालिसक्दा, परीक्षणमा संक्रमणमुक्त भनिसक्दा, आफू आइसोलेसनमा बस्दा कुनै गम्भीर समस्या अनुभव नगर्दा समेत कोरोनाले मलाई गलाएको छ। यो सामान्य रुघा खोकी होइन रहेछ भन्ने भान भएको छ। म जस्तो तीस वर्ष नपुगेको, कहिल्यै अस्पतालमा रात नकाटेको, खेलकुदमा संलग्न व्यक्तिलाई त यसले गलाएको छ भने जोखिम वर्गमा पर्नेको हालत के होला?
मलाई काठमाडौं बाहेक अन्य क्षेत्रको हालको अनुभव थाहा छैन। तर काठमाडौंमा भीडभाड बढेको छ, स्वास्थ्य सावधानी अपनाउने क्रम घटेको छ, संक्रमित दिनानुदिन बढ्दै छन्। साथै परीक्षण महँगो र असहज भएकाले धेरै व्यक्ति परीक्षणको दायरा बाहिर रहेको अनुमान लगाउन सकिन्छ।
सरकारले कुनै व्यक्तिमा संक्रमण देखिएको १४ दिनमा परीक्षणबिनै संक्रमणमुक्त भनी तथ्यांक अद्यावधिक गर्छ। यसले गर्दा पनि सक्रिय संक्रमित संख्या कम भएको हुन सक्छ। काठमाडौं बाहिर परीक्षण गर्न कठिन हुनु, समयमा रिपोर्ट नआउनु, कन्ट्याक्ट ट्रेसिङ उचित रुपमा नहुनुले पनि नेपालमा भयावह स्थिति आउन सक्ने देखिन्छ।
फेरि कोरोना जाडो याममा बढी हुन सक्ने र अब ठन्डी सुरु हुन लागेको र बढी भीडभाड हुने हाम्रा चाडपर्वको समय भएकाले अझ उच्च सावधानी आवश्यक पर्ने देखिन्छ।
हाम्रो स्वास्थ्य क्षेत्रको तयारी एकदम फितलो छ। कोरोनाजस्ता महामारीसँग जुध्ने क्षमता गौण छ। त्यसैले सबै व्यक्तिमा उच्च स्वास्थ्य सतर्कता अपनाउन र आफूसँगै अरुलाई बचाउन आग्रह गर्छु।