'डाक्टरसाब नजिकै आएर मेरो हात समातिदिनोस् न, मलाई सन्चो हुन्छ' कोभिड आइसियुको कान्छो बिरामी ऊ। उमेर ३२। घरीघरी यस्तै भनिरहन्छ ड्युटीमा बसेकालाई ऊ।
'यो बिरामी धेरै आत्तिन्छ है? जवान मान्छे यसरी नआत्तिनु नि,' म सिस्टरलाई भन्छु।
'हुन त हो। तर जसलाई पर्छ। उसलाई मात्रै थाहा हुन्छ डक्टर,' सिरिन्जमा औषधी लोड गर्दै सिस्टर बोल्नुहुन्छ।
'है, ठीकै हो। त्यही बेडमा सुत्नुपर्यो भने हामी कति आत्तिन्छौं होला,' डराउँदै-डराउँदै म पनि सिस्टरको कुरामा सहमति जनाउँछु।
कोभिड आइसियु मोनिटरका टाँटा र टुँटु आवाजले बिरक्त लाग्दो बनेको छ। कुन बिरामीले सास फेर्न प्रति मिनेटमा कति लिटर अक्सिजन प्रयोग गर्छरु मानौं जिन्दगीको रेस चलिरहेको छ। एउटा यस्तो प्रतियोगिता जहाँ सास फेर्न बिर्सनु हुँदैन।
गाढा निलो रङको पिपिई लगाएर दुई जना सिस्टर र एक जना डाक्टर ड्युटी सम्हालिरहेका छन्। पिपिईले बाफिएर शरीर लगभग उसिनेको आलुजस्तै भएको छ। उसिनेको आलु सेलाएपछि बोक्रा जसरी कक्रक्क चाउरी पर्छ, जीउको छाला झन्डै झन्डै त्यही अवस्थामा छ।
पसिनाले बाफिएर हरेक अंगप्रत्यंग चिप-चिप गर्न थालेका छन्। एकछिन त लाग्छ पिपिई ठाउँको ठाउँ फाल्दिऊँ। मास्क अड्याउन नाकको डाँडीमाथि टाँसेको पेपर टेप बिस्तारै उप्किँदै छ। टेप जति जति उप्कियो, त्यति त्यति आफैंले फेरेको सासको तुवाँलो 'फेस शिल्ड' मा बढ्दै गएको छ। फेस शिल्डमा लागेको हुस्सुले मलाई एकैछिन नगरकोट र भेडेटार पुर्याउँछ।
'डक्टर! फेरि उसले बोलायो,' सिस्टरको कुराले नगरकोट र भेडेटारको हुस्सुमा हराइरहेको म पुनः कोभिड आइसियुमा ल्यान्ड गर्छु। ३२ वर्षे ठिटो हातले इशारा गर्दै मलाई बोलाइरहेको थियो। पिपिईभित्र लगाएको आर्मी कलरको गमबुट बजार्दै म उसको बेड नजिक पुग्छु।
'भाइ, म यहीँ छु, भन,' म झट्पट् उसको बेडमाथि जोडेको मोनिटरमा उसका जीवन गतिविधि नियाल्छु। अक्सिजन मात्रा ठीक। मुटुको चाल ठीक। प्रेसर दुरुस्त।
'मलाई सास फेर्न गाह्रो भयो, म मर्छु जस्तो छ,' ऊ शिथिल बोली निकाल्छ।
'त्यस्तो नभन भाइ, हार नखाऊ यसरी,' म उसलाई ढाडस दिन्छु।
मोनिटरमा सबै राम्रो देखाइरहे पनि उसको स्वाँस्वाँ अघिभन्दा बढेको छ। ऊ बिहानैदेखि चिउँडोमुनि स्यानो ब्याग झुन्डिने अक्सिजन मास्कमा छ। यसले पनि धानेन भने बिरामी भेन्टिलेटरमा जाने सम्भावना बढ्छ। कोभिड संक्रमणमा बिरामी भेन्टिलेटरमा पुग्यो भने फिर्ता नआउने सम्भावना बढ्छ। नेपाली अनुभवले त्यही सिकाएको छ।
सकेसम्म उसलाई भेन्टिलेटरमा राख्न नपरोस् भन्ने सोच छ तर उसको शरीरले साथ दिनुपर्यो।
'भाइ, ऊ हेर त वरिपरि,' म उसलाई अरू बेडका भेन्टिलेटरले सास धानिरहेका बिरामी देखाउँछु।
'उहाँहरूको भन्दा तिम्रो अवस्था राम्रो छ, त्यसैले हिम्मत नहार ल!' उसले सहमतिसूचक टाउको हल्लाउँछ।
कोभिड आइसियुमा अहिले १४ जना बिरामी छन्। तीमध्ये ५ जना भेन्टिलेटरमा र बाँकी आ-आफ्नो सास फेर्ने गति अनुसारको अक्सिजन मास्कमा।
बिहान करिब ३ बजे फेरि उसलाई गाह्रो भयो। यसपालि उसको शरीरको अक्सिजन मात्रा अलि घटेको देखिन्थ्यो। अब उसलाई 'हुड बाइप्याप' मा राख्नुपर्छ। हुड बाइप्याप भनेको बिरामीलाई सास फेर्न सहयोग गराउने अर्को 'जादुमयी' यन्त्र हो। बुझ्ने भाषामा भन्नुपर्दा यो मास्क र भेन्टिलेटरबीचको 'अन्तरिम व्यवस्था' हो।
घडीले बिहानको ५ बजायो। यो समय कोभिड आइसियुमा ड्युटी गर्ने सिस्टरहरू थप व्यस्त हुने समय हो। बिरामीलाई औषधी दिने, रगत तान्ने र अरू स्याहार सुसार गर्ने लगायत सबै काम पिपिईमा बाफिएर गर्दा निक्कै असहज भइरहेको प्रष्ट देखिन्छ।
म चाहिँ भेन्टिलेटरमा भएका बिरामीको रगतमा अक्सिजन र अरू तत्वको मात्रा के छ हेर्न गरिने 'एबिजी' भन्ने जाँचका लागि रगत तान्न थाल्छु। त्यसपछिको अर्को काम भनेको सबै बिरामीको स्वास्थ्य अवस्थाको दैनिक रिपोर्ट तयार पार्नु हो।
'यति दुःख गरेर ड्युटी गर्यो, स्याब्बासी र प्रोत्साहन त छैन छैन, अझ अस्पतालमा बिरामीको शवबाट आँखा, किड्नी निकाल्छ भनेर समाचार भाइरल हुन्छ! पढ्नुभयो,' काम सकेर नर्स स्टेसनको कुर्सीमा आएर टुसुक्क के बसेको थिएँ, एकजना सिस्टरले एकै सासमा सोध्नुभयो।
'त्यही त है, रूखमा फलेको फलजस्तो सोच्छन्। टप्प टिप्यो अनि सुपर ग्लु लगाएर ट्याप्प टाँस्यो। कति सजिलो छ मान्छेको शरीरबाट अंग निकाल्न, अंग जोड्न,' यसो भनिरहँदा मैले रूखबाट फल टिपेजस्तो नक्कल गरेँ।
'कमेडी' देखिएछ क्यार, सिस्टरहरू जोडले हाँस्नुभयो।
बिहानको सात बज्यो। अबको एक घन्टामा मेरो ड्युटी सकिन्छ। सबै १४ जना बिरामीको बेडसाइडमा पुगेर सर्सर्ती उनीहरूको अवस्था हेर्छु। सबैजना 'स्टेबल' छन्। आइसियुको बिरामी त्यो पनि कोभिड! 'गम्भीर तर स्टेबलु भन्नु ठीक हुन्छ।
कति बेला कसको अवस्था बिग्रन्छ भन्न सकिन्न। राति छट्पटिएको ठिटो अहिले आरामसाथ सुतिरहेको छ। उसले सास सजिलोसँग फेरिरहेको देखिन्छ। उसलाई सजिलो भएको देखेर खुसी लाग्छ।
करिब दस वर्षअघि बुढानीलकण्ठ मुहानपोखरीमा गएर विपश्यना ध्यान सिक्ने मौका मिलेको थियो। आजकल पनि ड्युटीबाट फुर्सद हुँदा ध्यान गर्ने प्रयास रहन्छ मेरो।
दस दिनको ध्यान शिविरमा बस्दा मेरा गुरु भन्नुहुन्थ्यो, 'मान्छेका लागि सबैभन्दा महत्वपूर्ण कुरा उसको सास हो। तिम्रो जीवनको पहिलो अनि अन्तिम सत्य सास हो। सासलाई हेर्न सिक, जीवन बुझ्नेछौ।'
अचेल आ-आफ्नो सासको गति कायम राख्न संघर्ष गरिरहेका कोभिड बिरामीको वरिपरि ड्युटी गरिरहँदा ती लाइनहरू याद आइरहन्छन्।
बिहानको आठ बज्यो। म ६ घन्टे कोभिड आइसियु ड्युटीबाट 'अफ' हुन्छु। पिपिई लगाउनभन्दा फुकाल्न बढी ध्यान दिनुपर्छ। हतार र हेलचेक्रर्याइँ गर्यो भने तिनमा लागेका भाइरस शरीरमा टिपिन सक्छ। टिपिएको भाइरसले आफू, साथीभाइ र परिवारलाई दुःख दिन सक्छ।
कतै पढेथेँ– द्वन्द्वकालका सुरक्षाकर्मी र कोरोनाकालका स्वास्थ्यकर्मी उस्तै हुन् , त्रास नै त्रास।
लाग्छ- द्वन्द्वकालका सुरक्षाकर्मीले गोली, बारुद, बन्दुक, बम बिसाएर बासस्थान जान पाउँथे होला। कोरोनाकालका हामी स्वास्थ्यकर्मीलाई त्यो सुविधा छैन। आफ्नै शरीर भाइरस बोक्ने 'भाँडो' बनेको हुन सक्छ।
'कस्तो भयो ड्युटी?' पिपिई फेरेर बाहिर हात धुँदै गर्दा मेरो एकजना सिनियर मलाई सोध्नुहुन्छ।
'ठीकै भयो दाइ सबैले अहिलेसम्म सास फेरेका छन् जे होस्। कसैले सास फेर्न बिर्सेनन्, सबैभन्दा राम्रो कुरा त्यही हो।'
मेरो कुरा सुनेर दाइका आँखा चिम्सिन्छन्। सायद मास्कभित्र मुस्कुराउनुभयो।
'ल ठीक छ उसो भए, तिमी फ्रेस होउ, खाजा खाऊ,' यसो भन्दै दाइ निक्लन्छन्।
पिपिईबाट मुक्ति पाएर म हल्काहल्का महशुस गर्दै थिएँ। भोक लागेको छ। भोकभन्दा बढी प्यास लागेको छ। किनकी पिपिईमा शरीरबाट पसिना बढी जान्छ। ब्यागमा राखेको बोतलबाट घटघट आवाज आउने गरी पानी पिउँछु र अस्पतालसगै टाँसिएको क्यान्टिनतिर लाग्छु।
बिहानीको खाजा मगाउँछु र एक राउन्ड सर्सती आइसियुका बिरामी सम्झन्छु। अब टेबलमा बाफ उड्दै गरेको तातो चिया आइपुगेको छ। चिया सुरुप्प पार्दै गर्दा देख्छु, काउन्टरबाट क्यान्टिन साहुजी मलाई 'सलाम' गर्दै हात उठाउँदैछन्।
म साहुजीलाई 'सलाम' फर्काउछु र मुस्कुराउँछु। साहुजीको हातको आइफोनबाट बजेको मधुर गाना मसम्म आइपुग्छ।
९० दशकको सुपरहिट हिन्दी सिनेमा 'आशिकी' को गाना हो त्यो। गायक कुमार सानु।
गीतले भन्दै थियो, 'सासों की जरुरत है जैसे, सासों की जरुरत है जैसे, जिन्दगी के लिए। बस इक शनम चाहिए आशिकी के लिए!'
एकफेर सबैजना लिनुस् गहिरो सास। र फाल्नुस्, गहिरो सास!
ब्रीद इन! ब्रीद आउट!
(डा. आयास लुइँटेल पाटन अस्पतालका आवासीय चिकित्सक हुन्।)