बलिउडले विश्वव्यापी फिल्म उद्योगमा ठूलै हिस्सा ओगटेको छ। संख्या हिसाबमा बलिउडले हलिउडभन्दा तीन गुणा बढी फिल्म बनाउने आकडा छ। भारतमा बनेका फिल्म संसारका कयौं देशमा लोकप्रिय छन्। नेपाली समुदायमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेकै छन्।
गत फेब्रुअरीमा रिलिज भएको 'थप्पड' ले महिलावादी फिल्मका रूपमा निकै चर्चा कमायो। यही चर्चाका कारण कोरोना महामारीको विश्वव्यापी त्रासको संघारमा पनि 'थप्पड' ले मलाई हलसम्म तान्न सक्यो र छोरीहरूसहित कुमारी हलमा गएर हेरेँ।
मलाई भने यो फिल्मले उठाएको महिलावाद विषय निकै भ्रामक लाग्यो। असाध्यै महिलाद्वेषी फिल्म निर्माणको इतिहासमा कथाको मूल पात्र नै महिला राखेर 'थप्पड' जस्ता फिल्म बन्नु सुखद पक्ष हो। यसले पुरुषलाई मात्र नायक मान्ने र महिलालाई मनोरन्जनका वस्तुका रूपमा प्रस्तुत गर्ने निरन्तरताको क्रमभंग गरेको छ।
तर यो लेखमा मैले 'थप्पड' लाई आलोचनात्मक दृष्टिले विश्लेषण गरेकी छु। यसले महिलावादलाई कसरी भ्रमित बनाएको छ, त्यसैको सेरोफेरोमा रहेर चर्चा गर्ने प्रयास गरेकी छु।
घरेलु महिला र कामकाजी महिलाका कथालाई समानान्तर रूपमा देखाउन प्रयास गरे पनि 'थप्पड'ले घरेलु महिलाको कथा नै केन्द्रमा राखेको छ। आफ्नै रोजाइमा गृहिणी हुन रोजेकी अमृता (तपसी पन्नु) आफूलाई अब्बल गृहिणी बनाउने मिसनमा छन्। उनका श्रीमान विक्रम (पाभेल गुलाटी) कर्पोरेट दुनियाँको अब्बल कार्यकारी बन्ने प्रतिष्पर्धामा छन्।
अमृतासँग बिहे र जीवनका बारेमा आफ्नै विश्वास र मान्यता छन्। वैवाहिक सम्बन्धलाई उच्च महत्व दिने अमृताले असल गृहिणी बन्न आफ्नो व्यक्तिगत सपनालाई खुसीखुसी तिलान्जली दिएको प्रसंग छ। यसले महिलाहरूमा अत्यधिक समर्पण भाव हुन्छ भन्ने परम्परागत भनाइ थप पुष्टि गरेको आभाष दिलाउँछ।
मूल कथामा सामानान्तर अरू कथा पनि छन्। श्रीमानको एकै थप्पडमा स्वर मच्चाउने घरेलु कामदार सुनिता, एकल महिला शिवानी र एक्लो अभिभावकत्वमा हुर्किँदै गरेकी सानिया, बिहेको तयारीमा रहेका करन र स्वाती, अधिवक्ताभन्दा बढी अभियन्ताको पहिचान बनाएकी चित्रा, फिल्मका सशक्त पात्र हुन्। तर यी सबै कथा बिहे र परिवारको महत्वलाई अझ शसक्त बनाउनै लक्षित छन्।
अमृताको हरेक दिनको हतास र निरश समयतालिका केबल विक्रम र उसकी आमाको जीवन चलायमान बनाउन समर्पित छ। तर उसमा चिडचिडाहट, नैराश्य, पश्चाताप जस्ता मानवीय संवेदना झल्किँदैनन्।
शिक्षित युवती अमृताको जीवनको 'यू-टर्न' हो विक्रमसँगको बिहे र गृहिणी पेशाको रोजाइ। तर आधुनिक युवती अमृताको आफ्नै रोजाइमा बन्न चाहेको असल गृहिणीमा उही परम्परागत आदर्श श्रीमती वा सहनशील बुहारीकै झल्को आउँछ। अमृताले अत्यधिक जब्बर र स्थिर पितृसत्ताको प्रतीक विक्रमको गृहिणी भएर बस्दा उसबाट पाएको निष्पक्ष माया र सम्मानको लगातार वकालत गरिरहनु निकै बनावटी लाग्छ।
आमाबुवाले खोजेको केटासँग बिहे गर्न महिलावादी पिताबाट दीक्षित अमृताले घरेलु महिला बन्ने सर्त किन आफ्नो व्यक्तिगत छनौट बनाइन भन्ने कथाको अन्त्यसम्म पनि बुझ्न सकिँदैन। असल गृहिणी बन्ने लक्ष्य राखेकी अमृताको कथालाई मूल कथा मानेको फिल्मले गृहिणीको भूमिकामा अलिकति पनि न्याय दिन सकेको छैन।
घरभित्रको कामको आर्थिक मूल्य स्थापनाका लागि महिला अधिकारकर्मीले गरेको लडाइँलाई यो कथाले थप चुनौती दिएको छ। 'थप्पड' को कथाले असमान लैंगिक भूमिकामा प्रश्न गर्ने ठाउँ रोकेको मात्र होइन, महिलाको परम्परागत भूमिकालाई धेरै ठाउँमा थप पुष्टि गर्ने प्रयास गरेको छ।
एक प्रसंगमा अमृताले 'म पनि कार चलाउन सिक्छु' भन्दा विक्रमले 'पहिला परौठा त बनाउन सिक' भन्छन्। जसमा अमृताको कुनै प्रतिक्रिया छैन। त्यस्तै अर्को प्रसंगमा आफूले गाडी अगाडि निकाल्न साइड नपाएको बहानामा विक्रमले महिला चालकलाई 'यो गाडी लिएर किन निस्कन्छे यार' भन्छन्। यो भनाइले महिलाको परम्परागत 'स्पेस' सम्झाउने प्रयास गरेको महशुस गराउँछ।
हेर्दै गर्दा यस्ता संवादले भरिएको फिल्म कसरी महिलावादी हुनसक्छ भन्ने प्रश्न एक ठाउँमा होइन, धेरै ठाउँमा उठ्छ।
श्रीमान श्रीमतीको सम्बन्ध त्यो बेलासम्म ठिकठाक चल्छ जबसम्म विक्रमको लक्ष्यमा कुनै रोकावट आउँदैन। जब कर्पोरेट राजनीतिका कारण विक्रमको क्षमतामाथि उठेको प्रश्नले उसको स्वाभिमानमा धक्का लाग्छ, उसको पुरुष 'इगो' श्रीमतीमाथि थप्पडका रूपमा निस्कन्छ। अनि कथाले नयाँ मोड लिन्छ।
विवाह, माया, सम्बन्ध, जीवनप्रतिको अमृताको विश्वास श्रीमानको एक थप्पडले डगमगाउँछ र अन्तत सम्बन्ध विच्छेदको निर्णयमा पुर्याउँछ। फिल्मको कथावस्तु विस्तारै कानुनी उल्झन र घरेलु हिंसातर्फ मोडिन्छ। सम्बन्ध विच्छेदका लागि दुवै पक्षलाई गरिएका कानुनी परामर्श समेत महिलाको स्वायत्तता र सम्मान स्थापनाका लागिभन्दा सम्बन्ध निरन्तरताका लागि लक्षित देखिन्छ।
श्रीमानले एक-दुई थप्पड हान्दैमा हरेक श्रीमती बाबुआमाको घर फर्कने हो भने आधाजसो घर बरवाद हुने थियो भन्ने विक्रमको भनाइ र महिलाका लागि कानुनी बाटो सहज भएको भए आधाभन्दा बढी विवाह भत्किसक्ने थियो भन्ने महिला अधिवक्ताको भनाइले घरेलु हिंसाको व्यापकताका बावजुद परिवार जोगाउन महिलाले साँधेको मौनता प्रस्ट्याएको छ।
श्रीमानले आफूमाथि लगाएको थप्पडको विरुद्ध निकै पेचिलो रूपमा उठेकी अमृताले सम्बन्ध विच्छेदको निर्णयमा पिताको सहमति खोजेको कथा पनि अनौठो लाग्छ।
बच्चा स्वस्थ्य र खुसी जन्मिनका लागि आमा खुसी हुनु पर्छ भन्ने कथनलाई अझ सशक्त बनाउन आमाको काखमा सुतेर कथा सुनिरहेकी अमृता पिताको आगमनपछि आफ्नो निर्णय ठीक-बेठीक के हो भनेर पितालाई सोध्छिन्। तर आमालाई आफ्नो निर्णयमा संलग्न गर्ने जरूरी ठान्दिनन्। पिताको समर्थन नै छोरीले लिएको निर्णयका लागि अन्तिम र एक मात्र सर्तका रूपमा देखाइएको छ। र फिल्मको कथाले यसलाई महिलावादी पिताको मानक मानेको छ।
सम्बन्ध विच्छेदका लागि दौडधुप गर्दै गरेकी अमृतालाई जब आफू गर्भवती भएको थाहा हुन्छ, उनी विक्रमलाई भेट्न उसकै घर पुग्छिन्। आफू गर्भवती भएको समाचार आमाबाबुलाई समेत जानकारी नदिई विक्रमलाई नै पहिलो पटक सुनाउन जाने दृष्य साँच्चै अनौठो र असहज लाग्छ।
त्यति मात्र होइन, पेटको बच्चाको 'कस्टडी' संयुक्त नै हुनु पर्ने अमृताको वकालत, विक्रमको सम्पत्तिमाथि आफ्नो कुनै दावा नरहने जिकिर, छोराको वंश (नाति) बढ्ने खुसियालीमा सासूले लगाउन चाहेको कुल पूजामा अमृताको सहमति र उपस्थिति बढी नै नाटकीय लाग्छन्।
यो दृष्यमा समेत अमृताकी सासूले अमृतामाथि विक्रमले लगाएको थप्पडमा कसैको सहानुभूति नहुनुमा आमाहरू नै दोषी हुने जिकिर गर्न भ्याएकी छन्। अन्तमा फिल्म पारिवारिक अदालतमा सम्बन्ध विच्छेद गरेर टुंगिन्छ। सम्बन्ध विच्छेदमा हस्ताक्षर गर्नुअगाडि विक्रमले अमृतासँग वास्तविक रूपमा माफी मागेको देखाइएको छ।
तर विक्रमको महशुस र चेतमा महिलाको व्यक्तिगत स्वायत्ततामाथिको सम्मान पटक्कै झल्किँदैन। विक्रमलाई त महिला पुरुषको 'घर' रहेछन्, परिवारभन्दा जागिर, कमाइ, पेशागत सफलता ठूलो होइन रहेछ भन्ने चेत खुलेको पो देखाइएको छ।
आमाहरू पितृसत्तालाई निरन्तरता दिने वाहक हुन भन्ने कथन प्रमाणित गर्न फरक प्रसंगमा विभिन्न कथा जोडिएका छन्। यसले छोरालाई श्रीमतीमाथि एक-दुई थप्पड हान्नु त मायाकै अभिव्यक्ति हो र छोरीलाई आफ्नो व्यक्तिगत सपनाभन्दा परिवारको व्यवस्थापन महिलाको प्राथमिकता हो भन्ने कुरा सिकाउनमा पिताहरूको कुनै दोष छैन भन्ने कुरा कलात्मक शैलीमा प्रस्तुत गरेको छ।
अर्कोतर्फ अमृताका पितालाई महिलावादी पिताका रूपमा देखाउने प्रयास गरिएको छ। तर फिल्मको कथा महिलावादी पिता हुनु भनेको पुरुष भावनात्मक हुनु हो भन्नेमा नै हराएको छ। छोरीको मनपर्ने रङ र खानाको परिकारमा पिता जानकार भएको 'प्यारेन्टिङ' का सामान्य तथ्यमार्फत पितालाई महिलावादी बनाउन खोजिएको छ। छोरीलाई असहज अवस्थाबाट बाहिर निकाल्न सहयोग गर्नुको सट्टा छोरीले थप्पड खाएको प्रसंगले पिता आफैं बिरामी पर्ने पक्ष हाँस्यास्पद लाग्छ।
'थप्पड' फिल्मलाई आलोचनात्मक दृष्टिले विश्लेषण गर्दा मूल पात्र महिला हुँदैमा फिल्म महिलावादी हुँदैन भन्ने प्रष्ट हुन्छ। 'थप्पड' ले पितृसत्ताको निरन्तरतामा आमाको भूमिका अहम रहन्छ भन्ने कथन पुनःप्रमाणित गरेको छ। महिला पात्र नै प्रयोग गरेर पुरुषले चाहेको महिलावाद पुनःपरिभाषित पनि गरिदिएको छ।
यो फिल्मले दिएको बलियो सन्देश भनेकै श्रीमतीलाई थप्पड हान्नु हुँदैन भन्ने हो, जुन महिलावादभन्दा घरेलु हिंसा ऐनबाट निर्देशित देखिन्छ। घरेलु हिंसाको कानुन प्रयोग गर्दा महिलाहरूले परिवारको इज्जत, सम्बन्धको मूल्य, अंश र वंशमा श्रीमानको हक जस्ता पक्ष ध्यानमा राखून् भन्न नै फिल्मको आधा कथा लक्षित छ। बाँकि आधा कथा पितृसत्ता संरक्षण गर्ने मनसायबाट निर्देशित छ।
लैंगिकतामा आधारित श्रम विभाजन, असमान शक्ति संरचनालाई संस्थागत गर्ने सबभन्दा आधारभूत मार्ग हो। यसको प्रभाव पितृसत्तामा मात्र होइन पुँजीवादले स्थापना गरेको कर्पोरेट जगतमा पनि उत्तिकै छ। घरभित्रको काममा महिलाको एकल संलग्नता यसको ज्वलन्त उदाहरण हो। तर फिल्मले निकै सावधानीसाथ गृहिणी बन्नु अमृताको व्यक्तिगत छनौट बनाइदिएको छ।
यो प्रसंगले लैंगिकताका आधारमा हुने असमान कार्य विभाजनका बहसमा उठेका प्रश्न नै रोकिदिएको छ। अर्को पक्ष, गृहिणी पेसालाई शिक्षित र पढे-लेखेकी महिलाको रोजाइ बनाएपछि घरभित्रको काम सम्मानित बनाउन र यसको सामाजिक तथा आर्थिक मूल्य स्थापना गर्न सक्ने अवसरबाट पनि फिल्म चुकेको छ।
सम्पत्तिमाथि श्रीमतीको अधिकारमा श्रीमानको अंश नलिने पनि महिलाकै चाहनाका रूपमा प्रस्तुत गरेको कथा वस्तु र विवाह 'डिल' होइन भन्ने प्रसंगले श्रीमानश्रीमतीको सम्बन्ध, प्रेम, सम्मानका बारेमा दिन खोजेको सन्देश बढी नै अमूर्त र पक्षपाती लाग्छ।
मेरो शरीर, मेरो अधिकार त धेरै परको कुरा, यो फिल्मले त सम्बन्ध विच्छेद गर्न लागेकी श्रीमतीलाई गर्भवती छु भन्ने थाहा पाएपछि श्रीमानको घर, परम्पराप्रति झन उदार पो बनाएको छ। मेरो गर्भाशय, मेरो निर्णयको बहस त यो फिल्मको कथाले परिकल्पना नै गरेको छैन। यसले महिला पात्रमार्फत नै 'तिम्रो विर्य तिम्रो वंशको' भन्ने सन्देश दिएको छ।
समग्रमा 'थप्पड' सुधारिएको पितृसत्ताको पुरुष आँखाले हेर्न चाहेको 'फेमिनिस्ट' को कथा हो। फिल्म पितृसत्तालाई संरक्षण गर्ने मनसायबाट नै निर्देशित छ, महिला पात्रको प्रयोग गरेर फरक बाटोबाट पितृसत्ताका चरित्रको पक्षपोषण फिल्मले राम्रोसँग गरेको देखिन्छ। यसको कथावस्तुले पितृसत्ताको आधारभूत मान्यतामा असर नपर्ने गरी र पुरुषको कथित स्वाभिमानमा आँच नआउने गरी महिलावादी आन्दोलन अगाडि बढोस् भन्ने अपेक्षा राखेको छ।