हाम्रो भोर्लेटार आसपासका छिमेकी गाउँहरु लामसोती, काउरे र गुम्बा यो सालको बर्खा याममा नराम्ररी ग्रसित भए। मान्छेले उख्खुमै मिहिनेत गरेर बनाएका पक्की घर भित्रै खहरेले बगाएर ल्याएको पहिरो छिर्यो। हामी सानो हुँदा पौडी खेल्ने पिस्ति खोला हुरुक्कै बढेर आयो।
झोलुङ्गे पुलमा गएर हेर्दा त मन नै सिरिङ्ग भयो। कतिका कच्ची घर बगाए कतिका बाख्रा, भैंसी र गोठ नै बगाए। बेघर भएकाहरु र जोखिमयुक्त स्थलमा रहेकाहरु ईशानेश्वर विद्यालयमा बास बस्न आईपुगे। यो दुःखद घटनाको साँची भएर प्रत्यक्ष हेरिराख्दाँ मेरो मनमा भने कोरोनाको डरले सीमा काटिसकेको थियो।
बत्तीका पोलहरु बगाए, गाडीका पुलहरु जोखिम युक्त भए, पानीका ट्याङ्कीमा पहिरो खस्यो अनि पाइपहरु बगाए। यसरी भोर्लेटारमा ३-४ दिन जति बत्ती र पानी बिनै बाँच्नु पर्ने बाध्यताहरु आइपरे। घरायसी कार्यहरु गर्न त हामीले आकाशको पानी नै संगालेर राख्यौं तर पिउने पानीका निम्ति चिलाउने पँधेरो धाउन बाध्य भयौँ।
पिस्ति खोलापारि झोलुङ्गे पुल तरेरै लगभग आधा घण्टाको दूरीमा रहेको चिलाउने पानी पँधेरोमा मानिसहरुको बाक्लै भीड थियो। भर्खर धान रोपेका खेतका आलीमा टेकेर लड्दै र पड्दै गाग्री नै लिएर हामी दिनहुँ पँधेरो धाउथ्यौं। पिस्ति खोलाले बगाएर ल्याएका दाउराहरु बटुल्न मानिसहरु किनारमा अभ्यस्त देखिन्थे। खोला खेतहरुमा बाढी पसेर सत्यनास पारेको थियो।
बिहे गरेर ल्याएको दुई चार दिनमै विधवा भएकी आइमाई जस्तै देखिन्थे खोला खेतमा रोपेका धानका बीउहरु। कहिल्यै उठ्न नसक्ने गरि सुतेका थिए। खोलाले बालुवाहरु खेतमा थुपारेर गएको थियो। खोलाका किनारमा रहेका पखेराहरु बाढीले कटान गरेको थियो।
धमिलो न धमिलो पानीमा माछा मार्न तम्सिनेहरु पनि पिस्ति खोलामा थिए। तर सधैं जसो गाई, भैंसी, बाख्रा चराउन खोला तिर ओरालो लाग्ने स-साना केटाकेटीहरु भने खोलामा थिएनन्। हातमा लठ्ठी लिएर गोठालो हिड्ने दाइहरु पनि खोलामा थिएनन्।
चिलाउने पानी पँधेरोको पानी असाध्यै चिसो थियो। डोकामा कोकाकोलाका ठूला-ठूला बोतलहरु लिएर लर्को लाएर आइमाईहरु पँधेरो धाइरेहको थिए। साथै स-साना फुच्चीहरु काखीमा ग्यालिन च्यापेरै आएका थिए। तर लोग्नेमान्छेहरु खासै पँधेरो धाएको भने मैले देखिनँ। सायद साउन लाईसकेको हुनाले मैजारो गर्न मै व्यस्त थिए होलान्।
जंगलको कुनामा बोटहरुबाट रसाएर आएको चिलाउने पँधेरोको पानी जति खाए पनि धित मर्दैन्थ्यो। ट्यांकीमा रिजर्भ गरेर घरघरै आउने पानीभन्दा यसमा छुट्टै मिठास थियो। चिलाउनेको बोट अहिले त्यहाँ नरहे पनि यस बोटबाटै यस्को चिनारी हुनु र पानीको हाहाकार हुँदा भोर्लेटारका अधिकांश मानिसलाई पानी खुवाउन सक्नु नै यस पँधेरोको पहिचान बनेको रहेछ।
हाम्रा पूर्खाहरु न कुनै इन्जिनियर थिए न त पूर्वधार विज्ञ तर पनि आवश्यकता अनसार उनीहरुले आविष्कार गरेका पँधेरो, पाटी पौठा, ठाँटी, काठे पुल, घर, मठ मन्दिर हेर्दा अचम्म हुन्छु।अभावमा मात्र सम्झिने अनि भुसुक्कै भुलिदिने हाम्रो नराम्रो बानीका कारण देशैभरी यस्ता प्राचीन धरोहरको संरक्षणमा लाग्न सकेका छैनौँ। यस्ता आपत-विपदहरुले हाम्रो घैंटोमा चाडैं घाम लाग्ने छ भन्ने आशा गरेको छु।
धेरै भयो भोर्लेटारका घरघरमा सोलारलाई विद्युतीय बत्तीहरुले विस्थापन गरे सँगै निरन्तर उज्यालो छाएको। तर पश्चिम लमजुङ विद्युत उपोभक्ता समिति अन्तर्गत जोडिएको यो लाइनको भर भने बर्खा लागेपछि त्यति हुँदैन। थोरै पानी पर्दा र हावाहुरी लाग्दा समेत बत्ती जाने समस्याका कारण यहाँका बासिन्दा प्रताडित छन्। लकडाउनमा यतै रहेकाले म पनि थोरबहुत समस्या भोग्ने व्यक्तिमा परेँ। लामै समय भइसकेकाले यो चोटी घरमा मोबाइल, चार्ज गर्ने बत्तीदेखि लिएर पावर व्यांकका ब्याट्री सबै डाउन थिए।
अन्धकारलाई चिर्न मैले गोठमा बिग्रिएर झुण्ड्याइएको जमानाको लालटिनको सदुप्रयोग गरेँ। मट्टीतेल घरमै थियो, सानो कपडाको दार बनाएँ र पुछपास गरेर बल्नेसम्म बनाएँ। लालटिनको छुट्टै इतिहास छ। हाम्रो उमेरको बालापनको पढाईलेखाई लालटिनले नै धानेको थियो। दिउँसो विद्यालयले दिएका गृहकार्यहरु गर्न राति लालटिन कै सहायता चाहिन्थ्यो।
अलिकति रात छिप्पिएपछि जबजब निद्राले हामीलाई छोप्थ्यो, बुवा पहरेदार जस्तै बस्नुहुन्थ्यो तर हामी झुपुझुपु हुन्थ्यौँ। हाम्री आमाले प्रौढ शिक्षा पनि लालटिन कै उज्यालोमा पढ्नु भएको थियो। बुवाको पालामा लालटिन सायद थिएन होला। बुवाका उमेरका बच्चाहरुलाई दिउँसो गुरुआमाले ठाँटीमा लगेर पढाउनु हुन्थ्यो रे। घरबाटै काठको पाटी, रातो माटो र खरि पनि लिएर जानु हुन्थ्यो रे। गुरु दक्षिणा स्वरुप अनदि र मसिनाको चामल दिनुहुन्थ्यो रे।
जनयुद्द ताका म सानो छदाँ लालटिन बोकेरै मोर्चाहरु निस्किन्थे। म झ्यालबाट चिहाएर हेर्थेँ। राति गोठमा भैंसी बियाउँदा समेत बुवा लालटिन बोकेरै हेर्न जानुहुन्थ्यो। आमाले अँगेनामा भात पकाउँदा होस् वा हामी सबैले खाना खाँदा होस् लालटिन भान्छा कोठामा झुण्डिरहेको हुन्थ्यो। असार साउन मासा खेतमा कुलो सोझाउन जाँदा समेत लालटिन नै बोकेर आउथे पल्लाघरे छिमेकीहरु।
केटाकेटीहरु लालटिन बोकेरै साँझपख बजार झर्थे। ज्योतिषीले राति लालटिन कै उज्यालोमा चिना हेर्थे। हजुरआमा लालटिन कै सहारामा पुजापाठ गर्नुहुन्थ्यो। हजुरबुवा लठ्ठी टेक्दै लालटिन नै हातमा झुण्ड्याएर चर्पी सम्म पुग्नुहुन्थ्यो। त्यतिबेला लालटिनको एक टुक्रा उज्यालोले धर्ती नै स्वर्ग समान बनाएको थियो। सबैका अन्धकार जीवनमा थोरबहुत प्रकाश छरेको थियो। अचेल जीवनको उज्यालो स्विचको अन अफमा निर्भर छ।
सुत्ने बेलामा नयाँ-नयाँ समाचार सुन्ने हुटहुटी जाग्यो। अनि लालटिन लिएरै सिरानतला उक्लिएँ अनि थोत्रो रेडियो खोजेँ। भेट्टाउन त भेट्टाएँ तर माकुराले जालो लाएको रहेछ, साङ्ले किराले गुड बनाएको रहेछ। सफा गरेँ, दुई वटा टाईगर ब्याट्री हालेँ अनि बजाउन थालेँ। जबसम्म टिभी र इन्टरनेट थिएन, यो रेडियो हाम्रो घरको साथी थियो।
बुवा सधैँ पौने नौ बजे बीबीसी सुन्दै ओछ्यानमा ढल्किनु हुन्थ्यो। आमा बिहान रेडियो नेपालको समाचार सुन्दै दैलो पोत्नु हुन्थ्यो। हामी शनिबारको दिन खोलामा नुहाई धुवाई गरेर आएपछि आँगनमा पुस मासाको घाम ताप्दै एक अर्काको जुम्रा हेर्दै साथीसँग मनका कुरा सुन्थ्यौं। बालकार्यक्रमहरुमा कथा, कविता, निबन्धहरु पनि खुबै सुन्थ्यौँ।
नारायण गोपाल र रामकृष्ण ढकालका गीतहरु पनि सुन्थ्यौँ। कुनै दिन ब्याट्री सिद्धिएर रेडियो नबज्दा घर नै बिरानो लाग्थ्यो। ब्याट्री घाममा सुकाए पछि एक दुई दिन त बज्थ्यो। तर पछि जति ठोके पनि बज्दैन्थ्यो अनि नयाँ हाल्न पर्थ्यो। आमा खेतबारीमा काम गर्दा समेत आँगनमा रेडियो बजाएर छोड्नु हुन्थ्यो। तीज आउँदा, दर खाँदा रेडियोमा तीजका भाका घन्किन्थे।
जनयुद्ध ताका रेडियोमा भूमिगत तत्कालीन माओवादी नेताहरुको अन्तर्वार्ता पनि बज्थे। चोक चोकमा चोतारीहरुमा सबै बुढापाकाहरु रेडियो बोकेरै आउथे। देश दुनियाँका अनेकौं खबरमा टिका टिप्पणी गर्थे। जे होस् त्यतिबेला रेडियो सँगै हुर्किंदै थियो हाम्रो बाल्यकाल।
यो रेडियो भित्र कस्तो मान्छे बस्छ होला भन्ने कौतोहल लागि राख्दा कहिले काही रेडियो फुटाएर हेरौँ जस्तो पनि लाग्थ्यो तर आँट गरिएन। त्यतिबेला गाविस अध्यक्षको नाम एकचोटी रेडियोको समाचारमा आउँदा एक महिनासम्म उनले फुई लाउँदै हिडेका थिए।
धर्मकर्ममा लागेका बुढापाकाहरुको हातमा पनि लौरो, छाता र रेडियो साथमा हुन्थ्यो। पछि मेरो उमेर बढ्दै गयो, संगतहरु बदलिदै गए र रेडियोसंगको सामिप्यता घट्दै गयो तर रेडियोबाट नै मैले एसएलसीमा उत्तीर्ण भएको खबर पाएको थिएँ। सहर पसेपछि बिस्तारै रेडियोसँग त सम्बन्ध विच्छेद नै भयो। आज भोलि अभावले सिर्जना गरेको परिस्थितिमा मात्र रेडियोको खोजी गर्ने गरेको छु।
केही दिनको अन्तरालपछि बत्ती, पानी आयो तर फेरि अवरोध हुने क्रम जारी रह्यो। टिभि हेर्यो अत्यास मात्र लागथ्यो। देशैभरी बाढी पहिरोका घटनाले मनमा चिन्ता मात्र बढ्थ्यो। खोइ कस्ले सुन्ने? कस्ले बुझ्ने?। गाँउघरमा बाटो पुर्याउने होडबाजी चलाए, डोजरको लावालस्कर लगाए। खेतियोग्य जमिन मासेर घडेरी बनाए। असारे विकासको नाममा जमेको माटो खल्बलाएर छोडे।
यही अव्यवस्थित नीतिका कारण अहिले संकट आइपर्या छ। हेलिकप्टरमा चढेर नेताहरु आउँछन्, दुःख हेर्छन् अनि जान्छन्। जनताको समस्या ज्युँ का त्युँ छ। पानी नपरे गरा पट्पटी फुटेर भोकमरी लाग्ने डर, पानी धेरै परे बाढी पहिरोको डर। डरैडरमा बाँच्न नेपालीहरुले सिक्नुपर्ने रैछ। कठै हामी!