एउटा साथीले मजाग गर्दै लेखी- चुरोट, खैनी, पराग, रक्सी नखाने केटाहरू केटा हैनन्, राजा नभएको देशको राजा हुन् राजा।
म यो पढेर एकछिन मख्ख परे। नखानेको पनि दिन आउँदो रहेछ।
एकाथरि यति पोजेटिभ छन् अर्काथरि ठीक विपरीत
सत्यलाई सत्य नमान्ने जबरजस्त असत्य सावित गर्नेहरूको समूह नै छ। अमृता दिदीले लेख्नु हुन्थ्यो केही लेख्नु अगाडि तीन पुस्ता सोच्नुपर्छ। वाइनको कुरा नै जोडौं एकाथरिले नपिउनेलाई जाति मान्छ अर्काथरिले पिउनेलाई जाति मान्छ।
खैर मलाई मेरो साथीले झ्याप भएर कमन बेबी भन्दै कल गरेको थिई। साथीको त्यो अवस्था देखेर चकित परे।
भोलिपल्ट सम्झाएको सरी मलाई केही थाहा भएन भनेर झारो टारी।
त्यो सम्झेर पनि खासै मुखबाट पानी आउँदैन।
कहिले पनि त्यस्तो डियर कमन बेबी नबोल्नेले बोलेको देखेर म ट्वाँ परिराँ।
प्र्याङ्क गरेजस्तो तर प्र्याङ्क नभई यथार्थ त्यही वाइन भोड्काकै कमाल थियो त्यो।
धेरै पहिले अंकलकी छोरी माग्न आउँदा केटाले जाँड रक्सी चुरोट विडी खान्छ/खान्न, जुवातास खेल्छ-खेल्दैन लगायतमा तमाम प्रश्न सोधेर हैरानी पारेको भर्खर जस्तो लाग्यो।
अब अहिले त्यो सब प्रश्न छाडेर मोबाइलमा कतिको झुम्मिन्छ? पब्जी खेल्छ/खेल्दैन? यति सोधे काफी हुन्छ।
अर्कीले माथिको प्रसंगको जवाफ फर्काइ माथि उल्लेख गरेको आइटम नखाने केटा त केटा नै हैनन्। माथि मख्ख परेथें अब जवाफविहीन भए
माथिको लाई शालिन केटी र यो लेख्नेलाई उत्ताउली सम्झिनु बाहेक केही भन्न सकिएन।
खिस्स हाँसेर हाहा रियाक्ट गरेर टार्ने पनि फेसन भयो अचेल।
तर्कको कुतर्क गरिहाल्छन्। अलिकति आक्रमक जवाफ दिए जिउँदै श्रद्धाञ्जली दिन भ्याउछन्।
अनि तर्क गरेर साध्य छ त? मौनता रहनु नै बलियो अस्त्र बनेको छ।
स्कुल पढ्दा सानैदेखि चन्चले स्वभावकी थिई केटाहरू भुतुक्कै हुन्थे उसको नाम लिएर थाक्दैनथे। दशक बढी भयो नदेख्या!
सामाजिक सञ्जालमा न्याउरो अनुहार ठम्याउन गाह्रो भयो मुश्किलले चिनें।
पढाइमा निकै कमजोरी थिई। साथीहरूको संगतले धेरै जसो पिरियड छाडेर जान्थी।
बिहे भयो भन्ने हल्ला सुनेको थिएँ। बिहे भएर पनि डिभोर्स भएछ अहिले त डिभोर्स पनि फेसन जस्तै बन्यो।
डिभोर्स गर्नेहरूको खुसियाली पनि यत्रतत्र देखिन्छ। खुब तामझाम इन्टरटेन आहा! बाहिरबाट हेर्नेलाई क्याँ बबाल जिन्दगी लाग्छ तर त्यो पीडा छुट्नेहरूबाहेक कसले महशुस गर्न सक्ला र!
अहिले विदेश पुगिछे अनुहार नियाउरो चमक हराएको अनि वाइनको फ्लेभरहरू सेयर गरेको देखें- माई फेभ भन्या रहेछ।
चन्चले बानी कायम रहेछ। एक्लो हुँदा पनि मानिस वाइनको सहारा लिएर रमाउँदा रहेछन्।
अफिस टाइम सकिन लागेको थियो अफिसको चाइनिज केटीले गुनासो पोखी!
खासमा मलाई त्यसको कुरा सुन्न झिंजो लाग्छ। जतिसुकै दिक्क लागे पनि होइन भन्न सकिन्न।
छिनमा रिसाए पनि अफिसको काम त्यहीसँग पर्छ। मनमा सोच्दैथें मान्छे टिठ लाग्दी भए पनि ब्यहोरा त गतिलो छैन।
यताको कुरा उता, उताको कुरा यता लगाउने नारदजीको भन्दा कम छैन उसको भूमिका।
कहिले त दुखकै कुरा गर्छे। आज भने उसको कुराले मन जित्यो।
अफिस अगाडि टक्क उभिएर थपी- आज ह्याङआउट भाछ। बोसले कचकच गरेर दिमाख खराब बनायो।
लकडाउन प्रभावले बजार तहसनहस पारेको छ। मालिकहरू पनि बौलाउन लाएका छन्। त्यसैत्यसै हान्ने राँगोजस्तो गर्छन् मेनेजमेन्ट टिममा बस्नेहरू।
घण्टी बजिसकेको थियो। उसको अन्डरमा काम गर्ने कामदारले स्क्यान गरेर लक खोल्यो।
देख्ने बित्तिकै उसलाई देखाउँदै भनि- यसले पनि दैनिक मलाई गाली खुवाउँछ। झ्याप भएर आउँछ काम गर्छ तर सबै बिगार्छ तनाव भइराछ
आई एम भेरी स्याड टुडे भन्न त उसले सबै कुरा अङ्ग्रेजीमा नै भनेकी थिई।
केटो छुट्टै फिल्डको भए पनि उसको दिनमा ड्युटी सिफ्ट भएपछि पन्ध्र मिनेट भेट भइरहन्छ।
खासमा पिउने उसले हो तर केटीको कुराले मलाई च्वांस्स घोच्यो। वास्तवमा विदेशीलाई हेर्ने मूल्याङ्कन गर्ने तरिका नै अलग्गै छ। तर केटाहरूको ब्यहोराले फेरि उनीहरूकै कुरा सत्य प्रमाणित गरिदिन्छन्।
मैले केटालाई देखाउँदै भने " दैनिक त पिउँदैन होला भनेर केटाको बचाव गर्दिएँ।
जवाफमा उसले भनि- दैनिक पिउँदा पनि केही हुन्न तर लिमिटमा पिउनु पर्छ। होस नै नहुने गरी पिउनु हुन्न। म पनि पिउछु टेन्सन भइरा हुन्छ। एक ग्लास पिएपछि मस्त निन्द्रा आउँछ अनि अचम्म माने झै गरें!
गएको वर्षको कम्पनीको डिनरमा संयोग आमन्ने सामन्ने परेका थियौं।
पिउन चाहिँ के पिई थाहा भएन। त्यसको ब्वाइफ्रेन्ड पनि छ उसले चाहिँ रोयलस्टेग गिलासमा खन्याएको देखेको थिएँ।
नोट त उति बेला नै गरेको थिएँ।
‘मलाई वाइन औधी मन पर्छ। तर मेरो ब्वाइफ्रेन्डले गन्ध आउने रक्सी पिउँछ मलाई त्यो गन्ध पटकै मन मर्दैन आई ड्रिङ्क एण्ड लभ वाइन वन्ली।’ केटी वाइन लभर रैछे।
म चाहिँ यो दारु र भारु भनेपछि बाह्र हात पर सर्छु। दारु खाएपछि सँगैका साथीहरूले जिउमा टाका लगाएको देखेर रसाएको मुख पनि सुख्खा हुन्छ।
भारुको कुरा गर्नै हो भने धेरै पहिले मसँग भारु पाँच सयको नोट हातमा परेको थियो त्यो भारुले गर्दा निकै ठाउँमा प्याक गरेको सामान पनि छाडेर भारु पाँच सयलाई सुमसुम्याउँदै निरास हुँदै सामान नलिई फर्केको घटनाले गर्दा अहिले पनि सम्झिँदा झट्का लाग्छ।
भारु सय रुप्पे ढुक्कले चल्थ्यो। त्यही सोचेर बजारबाट पाँच सय पनि उठाए तर त्यो मरिहत्य गर्दा पनि कसैले लिन नमानेपछि साढे पाँच समयमा नै बोतल कागज भन्दै आउनेलाई मुश्किलले भिराएको थिएँ। यस्तो सामान भिराउने आइडियामा म पहिलेदेखि नै खतरनाक थिएँ। काठमाडौं छाड्ने बेलामा
एउटा रंगीन टिभी थियो।
एलइडीको समयमा भद्दा टिभी कसले लग्ने?
आफन्त, घरबेटी सबैलाई सोध्यौं कसैलाई चाहिँदैन भने पछि फेरि बोतल कागजवाले दाइलाई भिराउन खोजेको पैसा छैन आलुसँग साट्ने भए लग्छु भन्यो।
खिसिट्युरी गर्दागर्दै रंगीन टिभी राम्रै थियो, आलुसँग साटियो।
आलु बेलुका उसिनेर खाएको पूरै कोक्याउने भित्र हरियो पसेको रहेछ। यसपालि उसले कोक्याउने आलु भिरायो त्यो पनि रंगीन टिभीमा।
पाँच सयको भारू उसले पनि निकै बेर
उल्टाई सुल्टाई गरेर हेरि बल्ल लग्यो।
साढे तीन सय रुपैयाँ सिधै घाटामा परे। त्यति बेला साढे तीन सय रुपैयाँले तीन वटा शनिबार ढुक्कले घुम्न र फिलिम हेर्न पुग्थ्यो। त्यो दिनदेखि सयको भारु पनि लिन्नँ म!
अब यति भनेपछि म दारु खान्न भन्ने सबलाई थाहा भयो।
कतिले हाहा हिहि रियाक्ट गर्ने छन्। अब धेरैले अचम्म मान्ने छन्। न यहाँ पिउँदा सुख छ। न नपिउँदा जसो गरे पनि भन्नेले भन्न छाड्दैनन् तर मेरो केटाहरू मात्र हैन केटी साथी पनि वाइन लभर छन्।
विन्दास पारामा लोभ लाग्ने गरी खानाको परिकार सितन अनि भरेको सिसाको ग्लास मलाई त्यो देखेर पनि आनन्द आउँछ।
मरी लानु के छ र! सेल्फडिपेन्ड छन्, मिहिनेत गर्छन्। उनीहरूप्रति मेरो कुनै गुनासो छैन। म पिउँदिनँ भन्दैमा किन पिएको होलान् भन्ने प्रश्न मेरो मनमा कहिले आउँदैन।
बेलाबेला साथीहरूको फेसबुक, इन्स्टाग्राममा स्टोरी देख्न पाइन्छ ! मलाई उत्सुकता लाग्यो खासमा किन पिउँछन् लेडिजले वाइन? मलाई त्यति धेरै ब्राण्डको नाम पनि थाहा छैन। उही जीन, भोट्का, ब्ल्याकलेभल, रेड लेभल पाँच सात थरि मात्र थाहा छ।
मलाई उत्सुकता लाग्यो प्रश्न गरे लेडिजले खास किन पिउछन् वाइन ?
उसले भनि- ब्युटी बन्न पिउछन्।
फेरि सोधें- साँच्चै हो र ? उसले साँचो हो भनि।
पिउन त ब्ल्याकलेभल पनि पिएको छु तर गन्ध मन पर्दैन
वाइनले ब्युटी बन्ने भए हेन्सम चाहिँ के ले बन्छ? प्रश्न गरे उसले खिस्स हाँसेर उडाई सायद ब्युटी बन्ने मात्र हुँदोरहेछ।
अर्की वाइन लभरको कुरा लगभग तीस कटिसकी। बेलाबखत दु:खको कुरा गर्छे। ऊ पनि बहुत विन्दास छे। वाइन मात्र हैन उसको कोठामा अन्य धेरै ब्राण्डको बोतलहरू बेवारिसे बनिरहेका हुन्छन्।
धन्न स्मोकिङ चै गर्दिन। सायद अझ रक देखिन्थ्यो होला सोच्नेले त केटी विग्रिछे लागुऔषधमा नै फसिछे भन्दा हुन्।
उसको बाहिरको गतिविधि अलि रक्स जस्तो देखिन्छ। धेरै जना ऊसँग डराउँछन्। पिर पनि गर्छन् उसले केटा पाउँदिन भनेर दु:ख पनि पोख्छन्। तर उसलाई भने पटक्कै केटा नपाइएला भन्ने पिर छैन।
एउटा स्टाटस लेखी दुर्गेश थापाको बिच्च बिच्चमा राम्रै अभिनय होला तर साडी चोलीमा केटाहरू राम्री देखिए तर त्यो ब्लाउज कसिलो बनाउन निकै मिहिनेत गरेको देखियो यति के लेखेकी थिई केटाहरूले भटाभट तपाईंको साथी रैछे भनेर स्क्रिन सर्ट पठाउन भ्याए।
भित्रभित्र मेसेन्जरमा मीठा मीठा गफ दिनेहरू एउटा स्टाटसले चट्याङ लागे जस्तो भटकभटक गर्छन्।
अरे यार जे गरून् खुसी हुन अरुलाई के को पिर! आफैं मिहिनेत गरेर सेल्फडिपेन्ड भएर निर्धक्क बाँचेका छन्, अन्यलाई किन यत्रो पिर होला?
सधैंभरि दिक्क लाग्छ, समय फेरियो नि मेरो आफ्नै कुरा गर्ने हो भने म मोबाइलविना एकछिन बस्न सक्दिनँ।
बरु हातमा भए नचलाई बस्न सकुँला तर मोबाइल कुनै कारणबस छुट्यो बिग्रियो भने संसार गुमाए जस्तो महशुस हुन्छ।
अन्दाज गरौं कति ठूलो दुर्व्यवसनमा फसेका छौं। अनि अरुको चियो चर्चा गरेर हुन्छ? हामी मोबाइल नभई एकछिन टिक्न सक्छौं त? अनि अरुले पिएको वियर-वाइनको बारेमा किन नचाहिँदो बहस गर्छौ?
बाहिर खुल्नेहरू देखेर यो समाज यति डराउँछ। उसको बारेमा बोल्न पनि डराउँछन्। उसको कुरा सुनेर मान्छे जिव्रो टोक्छन् तर यथार्थमा ऊ असाध्यै शालिन, बौद्धिक र भलाद्यमी लाग्छ।
भित्रभित्र कुण्ठा बोकेर बाँच्नेहरूलाई खुलस्त बोलेको मन पनि पर्दैन र पचाउन पनि सक्दैनन्।
चल्ने भनेको बाहिर भलाद्यमीपन र भित्रभित्र चार सय विस छलकपटहरूकै संसार हो यो।
चित्र र चरित्र अलग भने जस्तै कुनै पनि विषय चाहे विभिन्न विवादको विषय काण्ड किन नहोस् सुटुक्क हेर्न चाहन्छन् अरुले थाहा नपाउने गरी। कतिको कामुक छन् भन्ने चरित्र छर्लङ्ग हुन्छ। खुलेर माग्न सक्दैनन्। अनि प्रतिक्रिया पनि उस्तै गरी वानकी मिलाएर सर्प नि मर्ने लठ्ठी नि नभाच्चिने गरी दिन्छन्।
उसले पिएको वाइनले उसलाई फ्रेस बनाएको छ तर त्यो देख्ने र हेर्न नसक्नेहरूको टाउको ह्याङओभर भाछ। सबैले पिउँछन् तर देखाउँदैनन् बरु ऊ कम पिउँछे तर देखाउँछे।
उसले यो समाज बुझेर नै चिढ्याएकी हो तर बुझ्ने भलाद्यमी अंकल ठूला बा उमेरका बौद्धिकहरू पनि इज्जत जोगाउन भलाद्यमी रहिरहन टिप्पणी समेत गर्दैनन् मिल्यो भने कानैमा भन्छन् -केटी त राम्री छे तर ब्यहोरा नै बेठीक।
मूल्याङ्कन बाहिरबाट गरे पनि यथार्थमा ऊ फरक छे। वाइन पिउँछे। फ्रेस भएर स्वतन्त्र रूपमा बाँच्न चाहन्छे। हत्या हिंसा बलात्कारको घटनाले भयभित भएर केटाहरूसँग बोल्न पनि डर लाग्छ भन्थी देशको चिन्ताले विकृति विसंगतिले ह्याङआउट भएर पिउछु भन्छे चाइनिज जस्तो ब्युटी बन्न पिउने हैन रहेछ।
अनि हामी वियर वाइन केही दारु नपिउनेहरू पनि ढुक्क नभए हुन्छ। उनीहरु बरु एक गिलास वाइन पिएर भुसुक्क निदाउँछन्। नपिउनेहरू रातभरि पनि आआ र ओओ गर्दै जुरुक्क उठ्दै बल्ल मजा आयो भन्दै डिस्टर्व हुने गरी पब्जी खेलेर हैरान पार्छन्।
पब्जी लभरहरू ठहरै जान बेर छैन न खाने ठेगान छ न सुत्ने ठेगान छ। त्यो भन्दा त बरु वाइन र वियर लभर नै मनपर्छ हल्ला गरेर दिक्क त पार्दैनन् ......