म धेरै पटक मेरो घरमा हुर्किदै गरेका भतिजीहरु र छिमेकी भाउजूको छोरो, साइनोमा मेरो भतिज हेरेर टोलाएको छु। न कुनै चिन्ता, न केही अभिलाषा, न कुनै आशा वा भरोसा। केबल तत्काल जिउने र रमाउने चाहना बाहेक केही भेट्दिनँ। बिहान छिट्टै उठ्छन्। आमाहरुकै पछि लाग्छन्, हजुरबुवासँग गाई दुहुन जान्छन् अनि कुच्चो भेटीहाले बडार्छन्।
छिमेकी भतिज भने बिहान अध्यारै आमा रक्सी पार्न उठेदेखि बेलुका सुंगुरलाई खोले दिँदासम्म सँगै हुन्छ। कोरोना र लकडाउन समेत एउटा अवसर बनेको छ यिनीहरुलाई घर बुझ्न, घरमा गरिने गतिविधि हेर्न र स्वयम सहभागी हुन।
घर भित्रै मात्र होइन, म जहाँजहाँ जान्छु यदि छन् भने मलाई केटाकेटीको मनले छेउमा बोलाउछ र म मुखले बोलाउदै आफू उनीहरुसँग दोस्ती गर्छु। कुरा गर्छु र योभन्दा धेरै म उनीहरुलाई दैनिकी सोध्छु। उनीहरुबाटै पारिवारिक कुरा सुन्छु, भात पकाउन को जान्छदेखि गोबर सोर्ने कसले हो हुँदै बुवा-आमाबीच हुने भनाभन र तिमी कस्तो प्रतिक्रिया दिन्छौ भनि सोध्छु र सुन्छु।
मलाई धेरै पटक बालबालिकाले धेरै कुरा सिकाएका छन् भने धेरैले निशब्द मात्रै बनाएनन्, कतिले भावविहल समेत पारिदिए। बुवा गनाउने पानी पिएर आएको बेला आमाले गर्ने प्रतिक्रिया उनले शब्द-शब्द कण्ठस्थ राखिकी छिन्, उनले कस्तो मुखराकृति बनाउने समेत आमाको प्रतिक्रिया हेरेर दुरुस्तै टिपेकी छिन्।
उनी गर्दिनन् तर आज यतै बसौ है नानीभन्दा 'हुँदैन, नुनु (हजुरआमा) लाई गोबर सोर्न, पराल हाल्न सघाउनु पर्छ नि' भन्न कति मज्जाले जानेकी छिन्। माछा मार्न घरको झुल चोरेर लिएर आएस है बाबुभन्दा त्यो गलत काम हो भनेर सम्झाउन सक्ने छ।
ममीले पिट्नु हुन्छ भनेर तर्किन उसले जानेको छ। यस्ता भगवानरूपी, छलकपट विहीन स्वच्छ र सहृदयी भाव सायदै जिवनको यही समयमा देखिने गर्छ। कौतुहलता र प्रश्नको संगालो बोकेका यो उमेरका केटाकेटी राम्रो होस् या भनिने गरेको नराम्रो जस्तोसुकै क्रिया प्रतिक्रिया र हाम्रो व्यवहार मज्जाले टिप्छन्।
दुई दशक बढी धुलाबारीमा राखिने ठेला पसलमा चाउमिन म:म: बेच्दै आउनु भएको हलुवाई बुवाका त्यस्तै ९/१० वर्षे नातिले प्लेट टिपेर बाटामा हालेको दृश्यले मलाई छोयो। लकडाउन थोरै खुकुलो भएदेखि बुवासँगै उ पनि पसल चलाउन आउने रहेछ। निक्कै तेजिलो र मिझासीलो बाबुसँग कुरा गर्दै जाँदा थाहा भयो, उ अंग्रेजी माध्यमको विद्यालय पनि पढ्ने रहेछ।
कुरै कुरामा उसले बुवा आमाले गर्ने काम र उसको दैनिकीको बेलिबिस्तार लगायो। म झन नजिक हुँदै गएँ, सोधिरहेँ उसले मलाई म:म: र चाउमिन बनाउने विधि मज्जाले खुसी हुँदै भन्यो।
उसको प्रस्तूतिले म कायल भएँ। बडाबाको छोरो घरमै बसेर पढिरहँदा सानो नाति पसलमा काम गरेको चित्त बुझेको रहेनछ हलुवाई बालाई। मैले कुरै कुरामा सोचेँ, के यस्तो जीवन उपयोगी व्यापारिक ज्ञान उसले कुन कक्षाको कुन पुस्तकमा पाउने थियो होला?
त्रिफला राष्ट्रिय पुस्तकालयमा भेट हुँदा मेरो साथी प्रज्ञाको १२ वर्षको भाइले निकै उत्साही र अनुभवी ढंगले कम्प्युटर चलाएको कुरा मलाई मनपर्यो। हामी गफिरहँदा उ कम्प्युटरमा अनलाइन गेम खोजिरहेको म हेरीरहेको थिएँ। मलाई सानो भाइ बेग्लै उर्जा र बेलगाम सिक्ने भावनाका साथ प्रविधिमैत्री भएको कुराले मज्जाको अनुभव दिइरहेको थियो।
उसँग घरमा व्यक्तिगत झै एउटा ल्यापटप रहेछ, बाल्यकालको सिकाईमा सामग्रीको उपलब्धता र पहुँचको ठुलो प्रभाव हुने रहेछ। गफमा रमाइरहेको हामीलाई उ नजिक आएर चार्जएबल डिजिटल स्पीकर चलाई एफएम बजाउदा झसंग बनायो। यो चन्चले स्वभाव, चलाउने, बजाउने, बिगार्ने र सिकेको भान नगराई सिकाउने किसिमको व्यवहार के हाम्रो पाठशालाहरुमा मान्य हुन्छ?
यसरी चुलबुल गर्दै देखेको भेटेको सबै कुरा छुने अनुमति पाइन्छ? उसको दिदीको मोबाइलमा वाइफाईको पासवर्ड मैले लगाईदिदा उसले कर्के नजरमा के रहेछ त पासवर्ड भन्ने भावमा जसरी मलाई थाहा नदिइ हेर्यो, त्यहाँ म चतुर्याईको सिकाई देख्छु, अरूले गरेको, लेखेको हेरेर सिक्न के हाम्रो कक्षा कोठामा पाइन्छ?
मेरो आत्मीय गाँउले दाजु दलसिङ राजवंशीको वर्षेनीका चार छोराछोरी मध्ये १० वर्षिय जेठो छोरो बुवाको ई-रिक्सा मज्जाले चलाउने रहेछ। फुटबल खेलेर फर्किदा बाउलाई पछाडि राखेर उसले हैन्डल समाएर कुदाएको दृश्य मेरा लागि ठूलो सिकाई हो। हाम्रो झापामा ई-रिक्साको कमाईमा निर्भर उसको जस्तो परिवार थुप्रै छन्। यो किसिमको आय आर्जनको बाटो हुने सीप कुन तहको कक्षामा सिकाइन्छ होला?
यी सब माथिका अनुभवले मलाई घर, परिवार नै जीवनको पहिलो र आवश्यक विद्यालय हो भनेर समेत सिकाएको छ। म हेर्दै छु पारिवारिक गतिविधिले कुनै बालबालिकामा कस्तो प्रभाव पार्दो रहेछ। मलाई खुसी लाग्छ यी साना भाइबहिनीहरुमा अद्भुत अद्वितीय क्षमता देख्दा। न कसैले सिक भनेको हुन्छ न कुनै परीक्षाको तयारीमा जुटेको हुन्छन् तर आफ्नै मर्जीले आफ्नै आनन्दको लागि धेरै कुरा आफ्नै वरिपरि भएका गतिविधि र कामलाई बडो माया र सद्भावका साथ सिक्छन्।
गर्न र कसैको अघि देखाउन समेत कुनै कसर बाँकी राख्दैनन्। मलाई लाग्छ त्यति खुसी हुँदै बुवा-आमा, दिदी-भाइ, काका-काकी, परिवारमा अनेकौ कुरा देख्दै सिक्दै आएका केटाकेटीलाई तनाव मोन्टेसरी सुरु भएदेखि हुन्छ। मोन्टेसरी जान थालेपछि स्वस्थ देखिने बच्चाहरु, खुसी देखिने नानीहरु गलेको, थाकेको र बोधोसँगै दुब्लाएको भेटेको छु। के नव धनाढ्यका छोराछोरीले कुनै स्तरको मोन्टेसरी भेटेपनि गरिबका छोराछोरीले सरकारी बालविकास कक्षा समेत देख्न पाएका छन्?
एक/दुई नमुना बाहेकका सरकारी विद्यालयको पठनपाठन विधि र चालचलनको विषयमा सबै जानकार छौँ, चिन्तित नै छौँ। जस्तो होस् दुःखसुख चलेकै छन्। मलाई विरक्त लाग्ने धेरै सिकाउन महंगो शुल्क तिरेर पढाउने ती अभिवावक र अवोध बालबालिकाको हो। कति हो कति सिकेका, धेरै नियालेका, मजबुत, काँचो र तेज मस्तिष्कले भरिएका यस्ता बालबालिकालाई सधै कपुरी नै रहिरहने क र कहिले खसी नभएर सधै खरायो हुने ख घोटाएको दिनदेखि बोधो बनाउने प्रक्रिया सुरु हुन्छ।
कापीको एक पानाको माथि 'मेरो नाम रिसब आचार्य हो' लेखीदिएर त्यही वाक्य दसौँ पटक लेखी पाना भरेको दिनबाट सृजनशक्ति माँसिदै जान्छ। हातले पेन्सिल मज्जाले समाउनै नजानेको बेला अक्षर राम्रो नभएको निहुँमा पिटाई खान सुरु गरेको दिनदेखि आत्मबल र आत्मविश्वास घटेर जान्छ।
कक्षामा साथीसँग बोलेको निहुँमा पिटाई खाएकोले बोल्ने बानी नै ठिक होइन कि भन्ने लाग्न थाल्छ। सर/मिसले लेखेको उत्तर नै सही हुने थितिले आफै लेख्ने र सोच्ने क्षमता विकास हुनै दिदैन। मार्क्स र सर/मिसलाई लागेको भरमा कोही जान्ने र कोही ल्वाठ मानिने, एक अर्का साथी बीचमा उनीहरुको अगाडि नै गरिने तुलनाले नजानेको विषय साथीसँग सोध्न लाज लागेर आउछ।
प्रश्न गर्न रोक्ने र आफ्नो कुरा भन्न नदिने परम्पराले मनको कुरा अभिव्यक्त गर्न रोक्छ, आफै भित्रै गुम्सिन्छ। अंग्रेजी नबोल्दा पैसा तिर्नु पर्ने नियमले अंग्रेजी भाषा प्रतिनै नकारात्मक सोच ल्याईदिन्छ। आफ्नो मातृभाषा नेपाली वा अरु कुनै अंग्रेजी बाहेकको भाषा बोलेको निहुँमा पिटाई खाएको दिनदेखि अंग्रेजी भाषा जबरजस्तीको भाषाको रुपमा अबोध बाल मनोविज्ञानमा चित्रित हुन थाल्छ।
तीन किलोको ब्याग, रंगीचंगी धेरै पुस्तकका भारीले विद्यालय जाने काम झन्झटको काम हुँदैछ। एउटै विधि एउटै पुस्तक एउटै पठनपाठन शैली र एकैनाशको शिक्षाले भिन्न-भिन्न क्षमता र रुचि राख्ने बालबालिकालाई सम्बोधन गर्नै सक्दैन। नेपाली विषयको कक्षामा समेत अंग्रेजी बोल्न बाध्य गराउने पापी विद्यालयहरु र अंग्रेजी भाषाका दलालहरुले कसरी आवश्यकता बुझी रुचि अनुसार सिकाउन सक्छन्?
जिन्दगीमा मतलब नै नहुने नचाहिदो फोगटको हजारौ परिभाषा रटाउने, अनेकौ साध्य र हिसाब घोटाएर पढाई र सिकाई प्रति कुनै मज्जा भेटिदैनन्। नपढे कुट्ने, नबुझेको कुरा सोधेर उल्टै दिमाग तताउने, दुई औला बीच पेन्सिल राखेर घुमाउने, आएन घुडा टेकाउने, कुखुरा बनाउने, बोल्न नदिने, सोध्न नपाउने, बाध्यकारी गृहकार्य हुने, कपालमा अनुशासन देख्ने जस्ता क्रियाकलापले म जस्ता थुप्रै विद्यार्थीलाई शिक्षक र विद्यालय प्रति नकारात्मक भाव बढेको पाइन्छ।
विद्यार्थीको इच्छा नबुझ्ने, रुचि नबुझ्ने, सामिप्यता नजगाउने, मनोबल गिराउने र तिमीहरु केही जान्दैनौ मैले सिकाउछु भनेर हरदिन सुनाउने, तर्साउने र थर्काउने गरे कसरी सृजनात्मक र रचनात्मक कार्यमा साना विद्यार्थीहरु सहभागी हुन्छन्? विचराहरु बिहान ६ बजेदेखि सुरु हुने कोचिङ क्लास र राति अबेरसम्मको ट्यूसन अनि चाङ लाग्ने गृहकार्यले मध्यराति मात्र फुर्सद पाउछन्।
मज्जा नआउने पुस्तक, देख्दै रिस उठ्ने शिक्षक-शिक्षिका र रातभरी गरेर, रटेर नसकिने गृहकार्य जस्ता कुराले शिक्षा र विद्यालय प्रति नै नकारात्मक भवना बढेर आएको देखिन्छ। कहिले कुन जमानामा कुन मान्छेले हो भनेको, लेखाएको, प्रमाणित गरेको अनेकौ परिभाषा, सुत्र, साध्य सिक्न नसकेरै तनाव हुँदा मैले आफ्नो तौर तरिका, मेरो परिभाषा, मेरो शैली कसरी विकास गर्न सक्छु र?
मजाक वा हलुका कुरा हुन सक्छ तर के अल्बर्ट आइन्स्टाइन, सर आइज्याक निउटन, थोमस अल्बा एडिसन आदि जस्ता वैज्ञानिकलाई इन्टरनल मार्क्स, असाईगमेन्ट, होमवर्क, प्रोजेक्ट, थेसिस, एग्जाम जस्ता कुराले दिमाग खाएको भए अनेकौ खोज, अनुसन्धान र सृजना हुन्थ्यो होला?
गणितको दैनिक ४० ओटा हिसाब गर्नै पर्ने बाध्यता, इकोनोमिक्समा अल्फड़ मार्शलले भनेको परिभाषा रट्ने गृहकार्य वा सामान्य ज्ञानमा सबै देशको राजधानी भन्न सक्नु पर्ने जस्ता चटारो भएको भए के स्टेफन हकिङ्सले ब्ल्याक होल वा रेडिएशन सम्बन्धी कुनै खोज गर्ने थिए होला?
जिन्दगीको २२औँ वर्ष पढेर बितिसक्यो, मैले मेरो रुचि र मेरो लगाव बुझ्न सकेको छैन। मसँग ठोस कुन विषयको ज्ञान छ म दक्ष यस विषयमा छु भनेर भन्ने कुनै क्षेत्र छैन। तीन किलोको ब्यागबाट सुरु भएको मेरो शिक्षा आर्जनको यात्रा आज एउटै पुस्तक तिन किलोको हुने तहसम्म पुगिसक्दा म आफूलाई अझै कुनै विषयमा दक्ष वा सीप भएको पाउदिनँ।
इन्जिनीरिङ विषय अध्ययन गरिरहेको मलाई कहिले काही कापी मै गरिने ल्याब सम्झेर हाँसो उठ्छ। बत्ती बालेर देखाउनु पर्ने प्राक्टिकल, पानामा बत्तीको नक्सा बनाएर सकिन्छ। बुवाको पालादेखि परिमार्जन नभएको पाठ्यक्रम र हजुरबुवाको जवानीमा बनेका साधन र प्रविधि सिक्नै पर्ने बाध्यता गराइन्छ।
स्वअध्ययनसँगै खोज, अनुसन्धान, सोधमा व्यतित गरिनु पर्ने समय अझै त्यही १८औँ शताब्दीमा गरिएका आविष्कार, बनाइएका थ्योरी र तिनै आउटडेटेड प्रविधिका निर्माणको मिति र विधि, कार्य सिद्धान्त घोकेर बस्नु परेको छ।
उकुसमुकुस पार्ने शिक्षण विधि, मज्जा नआउने शिक्षा र वाइयात रुपमा दिइने वा लिइने तनावहरुले मलाई नयाँ कुरा खोज्न, सिक्न र अनुसन्धान गर्न रोकिरहेको छ। मलाई डर त यसको हो- हामीलाई डाक्टर, इन्जिनियर र पाइलट बन्न मात्र सिकाउने हाम्रो शिक्षाले कतै माथि मैले सम्झिएका साना भाइबहिनीहरुलाई सुस्त, लाचार र आफ्नो परिवार अनि अभिवावकको पेशा प्रति नैराश्यता त दिलाउदैन?
अवश्य दिलाउछ, 'व्हाट डज योर फादर डु?' भनेर आउने प्रश्नहरुको उत्तर उ आज भएको जस्तै आवाजमा उत्तर दिन सक्दैन। आज मज्जा मानेर सुंगुरलाई खोले दिने मेरो छिमेकी भतिज, ठेला पसलमा प्लेट टिप्ने जैसवाल बाको नाति होस् या ई-रिक्सा चलाउने दलसिंह दाजुको छोरा, ठूलो हुँदै जाँदा आफ्नो परिवार र बुवाको पेशामा लज्जित हुन्छ।
यो डाक्टर, इन्जिनयर र पाइलटमात्र बन्नुपर्छ भनेर सिकाउने अपराधी शिक्षाले मेरो ठेला पसल, मेरो सुंगुरको खोर वा मेरो बुवाको रिक्सा भनेर चिनाउने, देखाउने साहस वा त्यही काममा मिठास पाउन नसक्ने बनाएर छोड्छ।
कुनै समय फुर्सद नदिने, रातदिन किताब कापीमा घोटिन लगाउने, गाली र सजायको भय पैदा गराउने र कुनै किसिमको जीवन उपयोगी शिक्षा वा खोजमूलक कार्यमा जोड नदिने हाम्रो औपचारिक शिक्षा र शिक्षण विधि बालबालिकाको उत्साह, सृजनात्मक र रचनात्मक कार्यमा सहभागिता बढाउने जोश, जाँगर र इच्छाशक्तिका निम्ति घातक बनिरहेको छ।
सर्टिफिकेट भएका बेरोजगार वा सुँगा जन्माउने थलोको रुपमा शिक्षण संस्थाहरु विकास हुँदै छन्। प्राविधिक शिक्षा नभएका होइनन् तर प्रविधि र समयानुकूल अपडेटेड भने छैनन्। घोडालाई रुख चढ्न लगाउने, सचिन तेन्दुलकरलाई निबन्ध लेखाउने र रोनाल्डोको सम्भावना बोकेकालाई गणितको साध्य पढाएर परीक्षण गरि फेल गराउने अनैतिक, अमर्यादित र असान्दर्भिक आउटडेटेड शिक्षा र शिक्षण विधिले थुप्रै ज्याक अफ अल, मास्टर अफ नन खालको पुस्ता तयार गर्दैछ।
लक्ष्यहीन, सीप बिहीन र अदक्ष सर्टिफिकेट धारी गवारहरु उत्पादन गर्ने विषयले व्यक्तिगत रुपमा आफूलाई, परिवारलाई र समग्रमा देशलाई नै ठूलो क्षति पुर्याउने निश्चित छ।
आज कोभीड-१९ ले आक्रान्त पारेको समयमा विद्यार्थी साथीहरु पब-जी, टिकटक र सामाजिक संजालमा मस्त छन्। कतिपय विद्यालयहरु पहुँच र उपलब्धताको आंकलन नगरी अनलाइन शिक्षा दिन आतुर छन। यो समय ठप्प रहेको हाम्रो शैक्षिक क्षेत्रले समेत आजको हाम्रो शिक्षण शैली र पद्धति फेलियर भएको प्रमाणित गर्छ।
बन्द रहेको शैक्षिक क्षेत्र, पदाधिकारी बिहीन विश्वविद्यालय, दूरदर्शिता नरहेको विद्यालयहरु र सबैको जिम्मा लिएको शिक्षा मन्त्रालय अझै बढी चिन्तित र क्रियाशील रहन आवश्यक देखिएको छ।
कुनै बालबालिकाको सृजनशक्ति, मौलिकता, ज्ञान, सीप, उत्सुकता र बाल मनोविज्ञानमाथि खेलबाड गर्ने शैक्षिक क्षेत्र बाल दुर्व्यवहारको अखडा बनिरहेको छ। यो समय अझै बढी जिम्मेवार बनि भावी सन्तति र भविष्यका निम्ति दक्ष, सीपयुक्त, सृजनशील, प्रविधि मैत्री र समयानुकूल खोजमूलक शिक्षाका निम्ति नीति-निर्माण तहमा समेत प्रभाव पार्ने किसिमले हरेक शैक्षिक संस्था, बुद्धिजीवी र जिम्मेवार व्यक्तिहरु अग्रसर रहनुपर्छ।
यो समय आउटडेटेड भएर फेलियर उन्मुख रहेको हाम्रो शिक्षा, शिक्षण पद्धति र शैलीलाई २१औ शताब्दीको समयानुकूल परिस्कृत र परिमार्जित गर्दै सबै क्षेत्रमा सुधार गर्नुपर्ने अवश्यकता रहेको देखिन्छ।