सामान्यतः युवा जीवनको एउटा त्यस्तो समय हो जतिबेला रगत तातो हुन्छ, आक्रोश नशा-नशामा हुन्छ र क्रान्ति हरेकको मस्तिष्कमा। युवावस्था केही नयाँ, केही पृथक, परिवर्तनशील र रोमाञ्चक जीवन जिउँने हुट्हुटी आउने समय हो।
पुरातन शैली र पुराना कुरा चित्त नबुझ्ने, आधुनिक र गतिशील जीवनयापन गर्ने मानसिकताले भरिपूर्ण समय हो युवावस्था। मैले सधैँ सम्झने र बोल्ने वा लेख्ने कुरा ‘आज बिग्रिनुमा आजका नेतृत्व दोषी हुन्छन् भने भोलि बिग्रिनुमा आजका युवा दोषी देखिन्छन्’। आजको भविष्य र भोलिको वर्तमान सफल र सुदृढ बनाउने सबैको जिम्मेवारी बोक्ने साहस एक युवामा हुनुपर्छ।
त्यस्तो युवा जसले गलत अभ्यास र गलत थितिको विरुद्ध घरमै क्रान्ति थालोस्, जसले समाज रूपान्तरणमा आफ्नो हिस्सेदारी खोजोस् भने राष्ट्र निर्माणका निम्ति एक कदम अघि सरोस्। हरेक क्षेत्र, भूगोल, समुदाय, जाति र वर्ग सबैतिर परिवर्तनको आवश्यकता छ, नविनतम सुरुआतको खाँचो छ। सँगै सभ्य र शिष्ट एवम् मर्यादित परिवार, समाज र राष्ट्र बनाउन एकदमै जरूरी छ।
हामी सबैको आफ्नै रीतिरिवाज छ, आफ्नै चलनचल्ती र आफ्नै किसिमको हरेकको बेग्लै जीवन जिउने पध्दति छ। हामीमा भएको चेतना, सोचाई, बुझाई, पढाई र भोगाई आफ्नै किसिमको छ, बेग्लै छ र केही भिन्नतासँगै आफ्नै मौलिकता छ। हामी हरेकलाई खुशी हुने मात्र हैन, दुखी हुने पीडा दिने समेत बेग्लै सन्दर्भ र कुराहरु छन्। तर, हरेक चिज फरक हुँदै गर्दा हरेक कुरामा मतभिन्नता समेत पाउदै गर्दा, हामीलाई जोड्ने एउटै कुरा छ- भोलिको सुनौलो भविष्य।
हामी कोही कतै न झापा न दार्चुला बस्ने, न ब्राह्मणको छोरो न दलितको छोरी, न गोरो दाजु न काली दिदी, न बृद्ध भएका माइला हजुरबा न भर्खर बोल्न थालेकी मेरी भतिजी, कोही भोलिको अन्धकार भविष्यको परिकल्पना गर्न चाहदैनौँ। हामी सबैको एउटै चाह छ, सभ्य र सुदृढ समाज, सालिन व्यक्तित्व, अध्ययनशील र प्रगतिशील बानी व्यवहार अनि सुनौलो भविष्य, सुखी जीवन र समृद्ध जिन्दगी। यी सब चाहना पूरा गर्ने जिम्मेवारी एक युवामा हुन्छ र त्यो जिम्मेवारी जसरी मात्र नभई कर्तव्य समझ्न जरूरी छ। हो। भोलिको परिवर्तन र सुनौलो भविष्यको सम्भाहक आजका युवा हुन्।
आजको दिनमा धेरैलाई दुःखी बनाउने, मन दुख्ने, क्रोधित पार्ने र चिन्तित बनाउने एक प्रमुख कारण राजनीति बनीहरेको छ, यसको दोषसमेत म युवालाई नै दिन्छु। त्यस्ता युवा जो कसैको झोला बोक्न सजिलो सोच्छन् न कि अध्ययन र खोज गर्न। त्यस्ता युवा जो कसैको पुच्छर बन्न सजिलो सोच्छन् न कि आफ्नै बेग्लै चिनारी दिन। बिगतका थुप्रै राजनीतिक परिवर्तन र छलाङ्ग मार्न युवाकै जोस, जाँगर, रीस र परिवर्तनको भोक एउटा कारक बन्यो।
ती युवा जसले सामन्तिसोच, शोषण, बेथिति, भ्रष्ट्रचार र निरङ्गकुशता विरुद्ध निरन्तर लडीरहे, लडिरहे र देशमा धमिरा झै बनेको राणा शासन, पंचायत, निरङ्गकुश राजतन्त्र जरैदेखि उखलेर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको स्थापित गरे, आज तिनै युवा नेतृत्वमा छन् तर उनिहरूमा विकास भएको शैली भने जसका विरुद्ध लडे उस्तै बनेर निस्किए।
तिनै हिजोका युवा आजका नेतृत्वले ल्याएको राजनैतिक र सामाजिक परिवर्तनलाई आत्मसाथ गर्दै अझै सघन रुपमा स्थापित गराउन र सुदृढ बनाउदै कार्यान्वनमा दिशामा चुस्त दुरुस्त परिपक्क बनाउन अब आजका युवाले पालो लिनु पर्छ, अवसर खोज्नु पर्छ र समाज र राष्ट्र बनाउन अघि सर्नुपर्छ। तर एक्लो वृहस्पति सधै झुटो हुन्छ भने जस्तो वा एक थुकि सुकी, सय थुकि नदी भने जस्तो हामी एकजुट हुन् जरूरी छ, युवा एकता आवश्यक छ र अपरिहार्य समेत छ।
हाम्रा भिन्न बानी व्यवहार, फरक सिद्धान्त र बेग्ला बेग्लै राजनीतिक आस्था रहीआएका होलान् तर आज प्रण गरेर छातीमा हात राखि हामी सचेत युवा बन्ने दिशामा अघि बढ्नुपर्छ, एकजुट हुनैपर्छ र सबैतिर देखिने अकर्मण्यता, ढिला-सुस्ती, लाचारीपन र मौलाएको भ्रष्ट्रचार र बेथिति विरुद्ध लडेर भोलिको दिन सुनौलो बनाउने जिम्मा आफूले लिनुपर्छ सुनिश्चित बनाउने अभिभारा समेत बोक्नुपर्छ। र, देखाउन पर्छ सबैलाई युवा जोस, युवा सोच र युवा एकता कुनै राजनीतिक आस्था, आग्रह र पूर्वाग्रह नबोकि केबल राष्ट्र र समाजको हित चाहन्छ।
यो समेत देखाउन बाँकी छ आजको युवा पुस्ता वरिष्ठहरूको हनुमान हुनुमा छोटो बाटो देख्छन् कि आफ्नो मौलिकतामा युवा चिनारी दिन? युवा हुनुको अर्थ पुरानो खेलमा नयाँ पात्र थपिने मात्र हो भने यी सस्ता फोटोकपीहरूले कुनै नयाँ निकास दिन सक्दैनन्।
पब्जी, टिकटक, फेसबुक, हलिवुड र बलियुडमा हराइरहेको युवालाई समेत आफ्नो गाँउ, आफ्नो ठाउँ, आफ्नो परिवेश र आफ्नो मौलकता चिनाउनु पर्छ। सामाजिक कुरीति, राजनीतिक खिच्चातानी, अन्धविश्वास र बेथिति विरुद्ध निरन्तर आवाज उठाउनु पर्छ, खबरदारी गर्नुपर्छ। हामी एकजुट भएर एकअर्काको कमजोरीमा पुरक बनेर लड्न जरूरी छ, सारथी बन्न जरूरी छ। त्यति मात्र नभएर एक स्वरमा आवाज बुलन्द बनाउदै गलत कुरा विरुद्ध बोल्न जरूरी छ एकत्रित हुनु जरूरी छ।
आजभोलि हामी युवाहरु भर्चुअल दुनियाँमा डिजिटल समाज बनाउने र कुनै किसिमको फेसबुक ग्रुप हुदै भर्चुअल पहिचान र चिनारी बनाउने एक किसिमको लहड चलीआएको छ र हामी निक्कै नै अभ्यस्त पनि बन्दै छौ। यस किसिमको दुनियाँमा रमाउदै पनि छौ, बेग्लै पहिचान बनाउने सोच र चर्चाको उत्कर्षमा पुग्न समेत हामी बिभिन्न कुराको जानकारी राख्दै हरबखत केही नयाँ खोज्ने, पढ्ने, लेख्ने गरिरहन्छौ। पोस्ट, स्टाटस लेख्ने र अरूकोमा कमेन्ट गर्न हामी सधै अग्रसर नै हुन्छौँ।
आजको डिजिटल समाज वा ग्रुप अनेकौ किसिमका भेटिन्छन्। धेरै नव युवक/युवती माझ डिजिटल ग्रुप एउटा सिक्ने थलो त बनिरहेकै छ, सँगैमा अर्का थरी त्यस्ता युवा छन् जसको ग्रुप र पहुँच काण्ड र विकृत मानसिकताले भरिपूर्ण छ। खिस्सी गर्न, कसैको चरित्र हत्या गर्नेदेखि अश्लील सामग्रीको भण्डारका रुपमा समेत विभिन्न ग्रुप र संजाल एउटा थलो बनिरहेको छ। आजको ठूलो चुनौती तिनै युवालाई पनि सँगै लिएर हिड्नु हो। त्यहाँ भएका अश्लीलता बाहेकको युवा संजाल, एकता र सीपलाई सही दिशा प्रदान गरेर समाजको हितमा प्रयोग गरिनुपर्छ। सामाजिक संजाल र डिजिटल दुनियाँ सिमित मनोरञ्जनको साधनको रुपमा मात्र हेरिने युवा मानसिकतामा परिवर्तनको खाँचो छ।
धेरै कुरामा सामाजिक जीवन र संजालले फाइदा गर्नेछ। केही सिकाउने र आफु गलत हुँदा सच्चिने मौका समेत प्रदान गर्ने रहेछ। सँगैमा, हामी उदार, लोकतान्त्रिक र अर्को बेग्लै आवाजको कदर र ग्रहण गर्न चुक्यौँ भने कहिलेकाहीँ केही भ्रम र गलत धारणा समेत बन्नसक्छ। आज हामी फेसबुकमा केही हदमा सक्रिय हुँदा हामीले कुनै किसिमको प्लेटफर्ममा सहभागी हुने मौका पाएको छौँ, अग्रजहरुको धारणा र बौद्धिक कुराहरु पढ्न पाएको छौँ, तर यतिमै हामी सिमित पनि हुन्हुन्न।
अध्ययन, खोज, व्यक्तित्व विकाससँगै लोकतन्त्रिक अभ्यास समेत प्रत्यक्ष सम्मलित भएर गर्न यस कसिमको प्लेटफर्म र हरेक क्षेत्रमा रहनु हुने बौद्धिक वर्गले नयाँ उदाउदो पुस्तालाई समेत ध्यानमा राखी एक किसिमको भर्चुअल ग्रुपसँगै प्रत्यक्ष भेटघाट र आफ्ना अनुभव र ज्ञान दिनलाई समेत जोड दिने कुरामा देशभरी नै हाम्रो हरेक गाँउ, सहर, टोलभरीका युवा सर्कललाई प्रभाव पार्ने गरि एक किसिमको अध्ययनशील, वैचारिक, खोजमूलक संस्था वा एउटा थलोको आवश्यकता रहेको महशुस हुन थालेको छ।
हामी युवाका विचार, कुण्ठा, मतभेद र हाम्रा अभिव्यक्ति अनि हाम्रा आपत्तिहरु केबल फेसबुकमा सिमित हुँदै छन्। मलाई यसैको चिन्ता लाग्छ, कुनै युवाले त्यही कुरा कुनै स्थानमा उभिएर बोल्दा कराउँदा जति प्रभाव पार्न सक्ने थियो, आज केबल फेसबुकमा लेखेर, कमेन्ट गरेर हामी त्यो गर्न सकिदैन जुन एउटा संस्थामा वा समूहमा रहेर गर्न सकिन्छ।
नेपोलियनको एउटा चर्चित भनाइ छ, ‘The world suffers a lot. Not because the violence of bad people. But because of the silence of the good people.’
त्यसैले आजैदेखि बोलौँ, सधै बोलौँ अनियमितता, भ्रष्टचार, लाचारीपन, ढिलासुस्ती, सामाजिक कुरीति, विभेद र अन्धविश्वास विरुद्ध एकजुट भएर खबरदारीमा उठौँ युवा, जागौँ युवा, जुटौँ युवा। अब देखाउँ सबैलाई, जगाऔँ सबैलाई र तताउँ जनजनलाई। सबैले एक स्वरमा भनौँ,
‘युवा एकता जिन्दावाद’
‘युवा एकता जिन्दावाद।’