केही मानिस यस्ता पितुर्केहरु छन् जसलाई जति राम्रो काम गरे पनि चित्त बुझ्दैन। घर भित्र आरामले ओछ्यानमा पल्टेर फेसबुक र टुइटरबाट नै देश परिवर्तन हुन्छ जस्तो गर्छन्। मानौँ उसको एक टुईटले देश कायपलट हुन्छ।
हल्ला नै गरेको भरमा अरुलाई उचाल्ने, पछार्ने, नकरात्मक सन्देश फैलाउने, कसैले गरेको राम्रो कामको पनि विरोध गर्ने धेरैको दैनिकी बनेको छ। जनताको औकात अनुसारको नेता देशले पाउछ भनेको ठिक उस्तै भएको छ।
जनता नै जनता जस्ता छैनन्। राम राज्यको जनताले आफ्नो गुनासो सिधा राख्न सक्थे, सत्य कुरा बोल्थे। अहिलेका जनता आश नै आशमा जतिसुकै नराम्रो भए पनि थोरै मूल्यमा बिक्छन्। उति बेला जनताको अनुहार देखेर जनताको समस्या बुझ्थे अहिले सडकमा उफ्रिदा चिच्याँउदा पनि सुन्दैनन्। सरकारलाई मर्यादित बनाउन जनताको पनि उत्तिकै भूमिका रहन्छ। जनता जनार्दन! अनि आफू रैति बनेर रामराज्य खोजेर हुन्छ त?
सञ्जालमा रोइलो गर्ने धेरै न्यायधिसहरु महिना पुगेपछि पनि समयमा रासनको पैसा बुझाउदैनन्। अनि घरबेटीको गुनासो गरेर बस्छन्। घरबेटीले निकाल्यो भनेर भन्छन्। हल्ला बढी गर्ने, मस्ति गर्दै हिँड्ने तर कोठा भाडा नतिर्नेहरु कयौँ छन्। हो, यस्ता दरिद्र स्वभाव भएकोलाई हो घरबेटीले घरबाट खेदाउन पर्ने।
ती दरिद्रहरुको सोच सर्वाधिक नेपाली जनताले मन पराएका अन्धकारलाई चिरेर उज्यालोमा राख्न सफल भएका कुलमान घिसिङ जस्ता इमान्दार कर्मनिष्ट देशभक्तहरुको पनि विरोध गर्छन्। मानौँ, उनीहरुको जन्म नै विरोधको लागि भएको हो।
उनीहरु जसको घरमा बसेका छन्, उसैलाई भाडामा बसाएको जस्तो व्यवहार गर्छन्। केही घरबेटीहरुले आफू बस्ने घरलाई समेत क्वारिनटाइन बनाउन दिने। सरकारलाई सहयोग गर्ने कोरोना नियन्त्रण नहुँदासम्म निशुल्क दिने प्रण गरिरहनु भएको छ। यो राम्रो खबर होइन र? यहाँभन्दा एउटा घरबेटीले के भन्नु पर्ने? आफू भाडामा रहेर पनि विपदको समयमा सहयोग गर्ने आश्वसन दिनु भएको छ, बाँकी काम सरकारले लिने/नलिने उसको कुरा तर मनकारी घरबेटीहरु पनि त रहेछन् नि।
राम्रा कुरालाई खासै ध्यान नदिने प्रचारप्रसार नगर्ने। अनि गलत कुरा मात्र खोजेर अनलाइन युट्यूबहरुले केही ठाउँका फाटफुट घटना बाहिर ल्याएर घरबेटीहरुको मानमर्दन गरिरहेका छन्।
हातको पाँच औला त बराबर छैन, मानिसहरु कसरी उस्तै मेजासिलो सालिन हुन्छन त? केही घरबेटीहरुले विशेष त कोभिड-१९ नियन्त्रण गर्न फ्रन्ट लाइनमा खटेका डाक्टर नर्सहरुलाइ घरबाट निकालिएको खबरले भने चित्त दुखेको छ। यदि सबै राम्रा-राम्रा हुने हो भने यसरी मूल्यांकनै हुँदैन्थ्यो। केहीले गल्ती गरे त ती गल्ती गर्नेलाई पो भन्ने हो त!
एउटा आलु कुहिने बितिक्कै कुहिएको आलुलाई फाल्ने हो ! राम्रो बोरा नै हुर्याउनु त भएन नि!
यहाँ राम्रो कामको भन्दा नराम्रो कामको बढी चर्चा हुन्छ। घरबेटीको आलोचना गरिरहनेहरुलाई म चुनौती दिएर भन्न चाहन्छु, राजधानीमा कोठा भाडा लिएर बसेको झण्डै दुई दशक भयो। दुई दशकमा विभिन्न कारणले गर्दा झण्डै दर्जनभन्दा बढी कोठा फेरियो होला तर मैले कहिले पनि अपमान भएको, घरबेटीले अन्याय गरेको महशुस गरिनँ। म यसलाई मेरो सौभाग्य ठान्छु। पैसा तिरेर बसेपछि विथ्थामा गाली खानु हुँदैन र त्यो गाली सह्य पनि हुन्न।
पहिलो पटक कोठा छाडेको झण्डै दशक भयो। अझै पनि घरबेटीहरु घरबेटी जस्तो लाग्दैनन्, आफ्नै सन्तान जस्तो। दाजुभाइ, दिदी, आन्टी जस्तो लाग्छ। र मैले आजसम्म भुल्न पनि सकेको छैन। अझै पनि घरबेटी दिदी, दिदीको छोराछोरी कन्ट्याकमा हुनुहुन्छ। त्यत्तिको असल मान्छे मैले आजसम्म भेटेको पनि छैन।
संगत गुणाको फल भने जस्तै आफू गुणा पनि मानिस पाइन्छ। सुरुआतको घरबेटीले केही भन्नु भएन। यदि बाहिर हल्ला भए जस्तो खराब भए अन्य ११ ठाउँमा किन छोरा, भाइ, भतिज जस्तै असल व्यवहार गर्नु भयो।
मलाई सुरुआतमा कोठा बसेको घर अहिले पनि याद आउछ। घरबेटी मा अर्थात आमा हुनुहुन्थ्यो जो सधै हाम्रो कोठामा गफ गर्न र टिभि हेर्न आउनु हुन्थ्यो। अहिले त उहाँले छाडेर जानु भइसक्यो। म टिभि हेर्न थाले भने उहाँलाई झलझल्ती सम्झिन्छु। बिहान आमाले जसरी बाबु कलेज जान उठ् भनेर उठाउन आउनु हुन्थ्यो। मलाई राम्ररी टाई बनाउन आउथेन। आमाले झै टाई बनाएर लगाई दिनु हुन्थ्यो। कुनै टर्चर, कुनै दवाबमा हैन, नचाहँदा नचाहँदै व्यक्तिगत कारण कोठा छाडेको हुँ।
मलाई अझै विश्वास छ, यदि म फेरि फर्केर कोठा बस्न गए भने पनि वचन हार्नु हुन्न। भगवान जस्तो घरबेटी हामी टाढाबाट आएकालाई विश्वासमा आफ्नो घर नै दिने घरबेटीहरुलाई त्यति धेरै नराम्रो पनि सोच्नु हुन्। यसको मतलब सबै राम्रा भन्न खोजेको हैन तर आफूमा पनि भर पर्छ, यो सत्य हो।
दोश्रो पटक कोठा फेरिए पछि पनि हामीले त्यस्तो कुनै अन्याय खेप्नु परेन। उल्टै घरबेटीले हामीलाई घर नै जिम्मा लगाएर समयमा भाडा उठाईदिनु भनेर जिम्मेवारी दिनु भयो।
घरबेटीको दुई वटा घर थियो। उहाँ हामी बस्ने घरमा महिनामा भाँडा लिन मात्र एक पटक आउनु हुन्थ्यो। कोहीले बदमासी गरे आएर झपार्नु हुन्थ्यो। तपाईहरु सबै घरबेटी हो। मैले घर नै जिम्मा लगाएको छु, आफ्नै घर सम्झिनु। साँच्चै कसैलाई पनि दवाब थिएन। र त्यहाँको वातावरण बहुत राम्रो थियो। कोठा बस्नेहरु पनि सब एक परिवार जस्तो लाग्थ्यो। केही वर्षपछि आफ्नै कारण हामीले कोठा छाड्यौँ। घरबेटीले हामी कोठा छाडी अन्यत्र जाँदा दुख मान्नु भयो।
तेस्रो पटक सरेको कोठाको घरबेटी चाहिँ अलि सन्का हुनुहुन्थ्यो। कोठालाई चाहिने खाधान्न सबै त्यही किन्नु पर्थ्यो। बाहिरबाट ल्याए उहाँ भन्न त केही भन्नु हुन्थेन तर साहुजीको गुण नै त्यही हो, साहुजीमा त्यति गुण भएन भने पसल गरेको भरमा कसरी घर ठडिन्छ। केही विषयहरुमा मनमुटाव भए पनि भाडाको विषयमा कहिले विवाद भएन।
थोरै गुण अवगुण भए पनि जति ठाउँमा कोठा बसियो त्यहाँ एउटै परिवार जस्तो गरि बसियो। तर सुरुआतमा विद्यार्थी भनेपछि कोठा दिन आनाकानी गर्ने सत्य हो। विद्यार्थीहरुले भाँडा नै नतिरी सामान छाडेर भागेको धेरै घरबेटीहरुको अनुभव छ। केही विद्यार्थीहरु कलेजमा झगडा गरि आउने, उजुरीपछि प्रहरी घर खोज्दै आउने। घरबेटीनै साक्षी बसेर निकालिदिनु पर्ने दिक्क बनाएको कारण बुझेर मात्र कोठा दिने उहाँहरुको भनाई हुन्थ्यो।
अफिस/कलेज छुट्टी भएको बेला हामी घरबेटीहरुसँग बसेर खानेकुरा खान्थ्यौँ। आमाले छोरालाई सोधे जसरी घरबेटी आन्टीहरु चाउचाउ बनाईदिम् भन्नु हुन्थ्यो। अन्तिम पटक कोठा छाडेपछि नेपाल नै छाडियो। घरबेटी अंकलले टिका लगाई शुभयात्रा भन्नु भाथ्यो। बहुत सम्झेको छु। हामी जति ठाँउमा कोठा बस्यौँ, उहाँहरु प्रति मेरो कुनै गुनासो छैन। बरु उच्च सम्मान छ।
साथीको घरबेटी
मेरो साथी र मेरो कलेज पनि सँगै, अफिस पनि सँगै थियो। म मेरो दाइदिदीहरुसँग बस्थेँ। हामी घरमा हुँदा पनि साथी र म कहिले मेरो घरमा कहिले उसको घरमा बस्थ्यौँ।
काठमान्डौँ आएपछि पनि हामीले त्यो निरन्तरता दियौँ। मेरो कोठामा दाइदिदीहरु हुनुहुन्थ्यो। धित् मरुन्जेल गफ हुन्थेन। कलेज पढ्दाको टिनएजर गफ के हुन्छ? त्यो त भन्नै पर्दैन।
अनि म साथीको कोठामा जान्थे लखर-लखर, हिड्नु पर्थेन। साइकल लभर हो। उही जमानामा साइकल थियो। सरर दुई तिन मिनेटमा साथीको कोठा पुगिन्थ्यो। पछि कुन पापीले मेरो ब्राण्ड न्यू साइकल साथीको कोठाको बाहिरबाट नै गायब गरिदियो।
साथीको घरबेटीले मलाई पनि राम्ररी चिनेको थियो। हामी सँगै कलेज पढ्छौँ भन्ने कुरा पनि साथीको घरबेटीलाई राम्ररी थाहा थियो।
म कुकुर सँग असाध्यै डराउथेँ। यो कुरा घरबेटीलाई पनि थाहा थियो। कुकुरले टोकीहाल्थेन तर टोकुला झैँ गरि झम्टेर आउथ्यो। साथीको घरबेटीले सुरुसुरुमा म भेट्न जाँदा कुकुरलाई माथि छतमा लग्नु हुन्थ्यो, पछि-पछि म गएको देखेपछि छतको कुकुर तल ल्याउनु हुन्थ्यो।
खासमा घरबेटीलाई म त्यहाँ गएको मन नपर्दो रहेछ क्यारे। साथीले बहुत विनम्रताको साथ बुबा सम्बोधन गर्थ्यो। म अंकल भन्थेँ। बिना कारण साथीलाई कचकच गरिरहेको हुन्थ्यो।
एक दिन साथीलाई पारा छुटेछ, म अखिल क्रान्तिकारीको अध्यक्ष हुँ पख्नुस् भनेर गफ लाईदिएछ। खासमा अध्यक्ष हैन, स्कुलमा बाध्यताले सदस्यता चाहि लिएको थियो। त्यतिखेर बहुत संकटमा थियो ज्यान। सदस्यता नलिम यता डर, सदस्यता लिम कुन बेला आर्मी आएर भकुर्ने पत्तो हुन्थेन।
अनि आर्मी आए भनेपछि सदस्यता जमिनमा गाड्ने, अरु बेला फार्तिफुर्ती गर्ने यस्तै हुन्थ्यो। विद्यार्थीलाई त्यतीकै गोरु चुटाई चुट्ने सरहरुलाई पनि सदस्यता लिएपछि सुधार्न सफल भएका थियौँ। खैर उसले अति भएर फुर्ती लाईदिएछ। त्यस दिनदेखि घरबेटी अंकलले उसलाई माओवादी भन्न थाल्नु भयो।
उनीहरुको सधै चर्काचर्की भईरहन्थ्यो। सम्बोधन गरेको बुबा भनेको साँच्चै बा-छोरा जस्तो झगडा गरिरहन्थे। हामी विस्तारै गफ गरे पनि साथीको घरबेटी सुराकी गर्दै आउथे अनि किन हल्ला गरेको भनेर झ्यालबाटै कराउथे।
अब म भोलिदेखि आउदिन भनेर साथीलाई भन्थेँ। फेरि बाटो त्यही पर्थ्यो, नबोली हिड्थेँ। घरबेटीले साथीलाई सोध्ने गर्थे अरे, किन तेरो साथी नभेटी गयो? रिसायो कि के हो? सायद म नजाँदा उसलाई पनि नियास्रो लाग्दो रहेछ। म गएपछि अंकल भनेर देखेपछि बोलाउँथे, जवाफ पनि राम्रो पाउथेँ।
मैले साथीको घरबेटीलाई पनि नराम्रो रुपमा लिइनँ, खासमा हल्ला गरेर अरुलाई डिस्टब गर्नुहुन्न भन्ने मेरो बानी थियो। त्यही कारण आजको दिनसम्म पनि म मोबाइल रिङटोनमा राखेर कसैलाई वाक्क बनाउदिनँ।
यदि घरबेटी खराब भए तेरो साथी किन रिसायो? किन भेट्न आएन? भनेर किन सोध्थे। स्वभावले मानिसको बानी पक्कै फरक हुन्छ, उसको त्यो असन्तोष बानी मात्र हो।
अर्को साथीको कोठा पनि नजिकै थियो। उसको घरबेटीहरु पनि असाध्यै बुझ्झकी, एउटै परिवार जस्तो थियो। म बस्ने घरको घरबेटी उहाँहरुको साथी हुनुहुँदो रहेछ। खुलेर कुरा गर्नु हुन्थ्यो।
एक दिन उहाँ खुब रिसाउनु भयो। घरबेटी किन रिसाएको भनेर साथीलाई सोधेँ। मन खल्लो भयो। कोठामा बस्ने तराईतिरको एउटा दाइलाई झपारी रहनु भएको देखेर मन डरायो। मनमनै सोचेँ, अब म आउदिन यहाँ पनि। पछि घरबेटीको छोरा सानै थियो। हामी भाइ भन्थ्यौँ।
नजिक बोलाएर सोध्यौँ, अति नै सालिन तिम्रो बुबा आज किन यसरी रिसाउनु भएको? भाइले प्रश्न फुत्किन नपाई जवाफ दियो। त्यो दाइले केटी लिएर आउछन् रे दैनिक, त्यही भएर बुबाले झपार्नु भएको। बाँकी मलाई नसोध्नु है भन्दै भाइ खेल्न गयो।
पछि घरबेटी हाम्रो कोठामा आउनु भयो। धेरै पटक सम्झाएँ, हाम्रा परिवार छन् भाइहरु यति असल हुनुहुन्छ। भोलि सबैले यस्तै अनैतिक हर्कत गर्दै जाने हो भने के हुन्छ? अब म उसलाई अन्तिम चेतावनी दिन्छु, यस्ता मानिसलाई आश्रय दियो भने बैइज्जत हुन्छ।
वास्तवमा उहाँको कुरा सही थियो। राति पनि अबेला आउने, ढोका डाङडुङ पार्ने, हल्ला गर्ने। हामीलाई त होहल्ला गरेर डिस्टर्व गरेको मन पर्दैन, घरबेटीलाई कसरी मन परोस्?
हामीले जसरी सतही टिप्पणी गरेर घरबेटीको अपमान गरेका छौँ, त्यो खेदजनक छ। यदि हामी असल बन्ने प्रयास गर्यौँ भने मानिस हुन केही गुण बैगुण हुन्छ तर त्यति सञ्जालमा हल्ला मञ्चाए जस्तो छैन। केही घरबेटीहरु कचकचे नै हुन्छन् र पनि बस्नेहरु धैर्यताको साथ बसिनै रहेका छन्।
अधिकांश राम्रा भए पनि केही मानवता नै नभए जस्तो पनि देखिएका छन्। कुनै विन्दुमा पुगेपछि अवश्य उनीहरुले पनि महशुस गर्ने छन्। डाक्टर नर्सहरु प्रति घरबेटीले गरेको व्यवहारको खुलेर विरोध गर्दछु तर सबैलाई एकमुस्ट मुछ्ने, मानमर्दन गर्ने, चरित्रहत्या गर्ने काम बन्द हुनुपर्छ।