कोमल उराँव
सधैँ जस्तै त्यो रात पनि सुनसरीकी कोमल उराँव रातिको खाना खाइवरी दुई छोरीलाई काखीमा च्यापेर सुतिन्। कोरोनाको कारण देशमा लकडाउन सुरु भएको १० दिन भइसकेको थियो। कोरोनाको त्रास त मनमा थियो नै, दैनिक ज्याला मजदुरी गर्न समेत नपाएकोले छाक कसरी टार्ने चिन्ता मनमा थियो।
त्योभन्दा पनि बढी चिन्ता थियो श्रीमानको। बिहानै रिसाएर घरबाट हिँडेका श्रीमान् अबेर रातिसम्म घर नआएकोले उनी चिन्तित पनि थिइन्। कोमलका श्रीमान् सियाराम, डकर्मीको काम गर्छन्। ८ वर्ष पहिले सियारामले कोमललाई इनरुवाको डेरामा भित्र्याएका थिए। दुई सन्तानको दायित्व थपिदा पनि आम्दानी भने बढेन। त्यसमाथि रक्सीको लत परिसकेको थियो। डेराको भाडा तिर्न समेत समस्या भएपछि केही समय पहिलेदेखि कोमल श्रीमान सहित रामधुनी नगरपालिकामा बस्दै आएकी थिइन्।
लकडाउन सुरु भए यता सियारामले पनि काम गर्न बाहिर निस्कन पाएका थिएनन्। रक्सीको लत परिसकेका उनले बिहानै कोमलसँग पैसा मागेर झगडा गरेका थिए। त्यो दिन साँझ बुढा बुवा र छोरीहरुलाई खाना खुवाए पनि कोमललाई भने खान मन लागिरहेको थिएन।
बिहानै झगडा गरि घरबाट निस्केका श्रीमानले दिनभरी के गरे होलान्? कोरोनाको त्रास भएको बेला कहाँ गएर बस्यो होला? दिनभरि भोकै होला, रक्सीले मातेर कतै लडेको पो छ कि? कसैले कुटपिट पो गर्यो की? छोराछोरीको मायाले साँझ त घर आउनु पर्ने।
यस्तै कुरा खेल्दै थिए कोमलको मनमा। बिहान श्रीमानसँग झगडा भएपनि नाम जस्तै कोमल मन भएकी उनलाई श्रीमानको माया र चिन्ता दुवै लाग्न थाल्यो। यस्तै कुरा सोच्दा सोच्दै दुई छोरीसहित कोमल कुन बेला निदाइन् उनले पत्तै पाइनन्।
अचानक छोरीहरु कराएको सुनेर कोमल निद्राबाट बिउँझिन्। आँखा खोल्दा दुवै छोरीको मात्र नभए कोमलको आफनै शरीरमा पनि आगो सल्किएको रहेछ। शरीरमा आगो लगेर आत्तिएका तीनै जना आमाछोरीहरुलाई बाहिर निस्किन समस्या पर्यो। उनीहरुले गुहार माग्न थाले। आपत आइपरेको समयमा कोमलले फेरि श्रीमानलाई नै सम्झिन्। उ घरमा भएको भए आफू र छोरीहरुलाई बचाउथ्यो भनेर सोचिन्।
आफ्नो शरीरमा आगो सल्किसकेकोले चाहेर पनि जलिरहेको छोरीलाई उनी आफैले बचाउन सक्ने अवस्था थिएन। आगोबाट बाहिर निस्कन उनीहरुले बाटो खोजे। तर घरमा आगो दन्किसकेकोले बाहिर निस्कन सकेनन्। ग्वालीमा सुतेका बुढा बुवाले पनि छोरी र नातिनीको चित्कार सुन्न सकेन छन्।
आधा रातमा उनीहरुको गुहार सुनेर छिमेकीहरुले आगो निभाएछन्। अचेत अवस्थामा रहेको तीनै आमा छोरीलाई इनरुवा अस्पतालमा लगियो। शरीरमा आगोले बढीनै पोलिसकेको हुँदा विराटनगरको कोशी अस्पताल पुर्याएपछि मात्र कोमललाई होस आयो। यो घटनामा कान्छी छोरी सामान्य घाइते भए पनि जेठी छोरी गम्भीर घाइते भइन्। कोमलको आफ्नै अनुहार र शरीर पनि नराम्रोसँग डढेको छ।
समयमा छिमेकीले अस्पताल पुर्याएकाले शरिर पोलिए पनि तीनै जनाको ज्यान जोगियो। होसमा आएपछि आफ्नो र छोरीहरुको स्वास्थ्यको साथै नजिक नदेखिएको श्रीमानको चिन्ताले कोमललाई सतायो। उनले अस्पतालमा आएका आफन्तहरुलाई सियारामको बारेमा सोधिन्। तर सुरुमा कसैले केही बताएनन्।
उनी झनै आत्तिएर उसको खोजी गर्न आग्रह गरिरहेको बेला कोमलकी बहिनीले हकार्दै भनिन्- ‘जसले आगो लगायो, उसैको चिन्ता।’
बहिनीको कुराले कोमल छाँगाबाट खसे जस्तै भइन्। आपतमा जसलाई उनले सम्झिएकी थिइन्, त्यो आपतको कारक नै उही सियाराम रहेछ। बिहान रक्सी खान पैसा नपाएको झोकमा रिसाएर निस्केका सियाराम राति रक्सीले मातेर घरमा पुगि आगो लगाएको रहेछन्। उसले कोमल सहित छोरीहरुलाई समेत जिउँदै जलाएर मार्ने योजना बनाइ सुतेपछि घरमा आगो लगाएर भागेको रहेछ।
अहिले सियाराम पुर्पक्षको लागि कारागार चलान भएका छन्। उमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धा प्रहरीले चलाएको छ। पोलिएको शरीर त अब पहिला जस्तो नहोला तर सियारामले आफनो अपराधको सजाय पाए पोलिएको मनलाई राहत पुग्ने कोमल भन्छिन्।
कोमललाई अहिले आफूले विगतमा भोगेको हिंसा झल्झली याद आउँछ। आगोमा सात फेरा लिएर बिहे गरेको श्रीमान भनेर उसले वर्षौदेखि गरेको हिंसालाई सहँदै आएकी थिइन् कोमल। कुटपिट गाली बेइज्जती उनको लागि सामान्य भइसकेको थियो। श्रीमानले गर्ने ज्यादती विरुद्ध बेलाबेला कदम उठाउने सोच नआएको पनि होइन कोमललाई। तर खोइ किन, उनी हरेक पटक रोकिइन्।
अहिले भने कोमललाई सियारामलाई सजाय भएको हेर्न मन छ। बेलैमा हिंसाको प्रतिवाद गरेको भए आजको दिन देख्नु पर्दैन्थ्यो भनेर उनी पछुतो मान्छिन्। तर पनि दुई छोरीको लागि आफूले संघर्ष गर्ने अठोट भने कोमलले गरिसकेकी छिन्। शिक्षा र हातमा सिप नभए पनि उनले आँट गरेकी छिन्।
उनको मनभित्र लागेको आगोले उनीमा उर्जा पनि थपेको छ। हेरौँ उनले गरेको आँट कसरी सफल हुन्छ।