सन् २०१९ को अन्त्यतिर एक अनौठो भाइरस चीनमा देखापर्यो। जसलाई कोरोना भाइरस भनियो। तर विश्व स्वास्थ्य संगठनले यसको आधिकारिक नाम कोभिड-१९ राख्यो। कोरोनाभाइरसले विश्वका अधिकांश देशमा आक्रान्त पारिरहँदा म भने विश्वको स्थितिबारे जनतालाई सुसूचित गरिरहेको थिएँ। म अर्थात् पेसाले टेलिभिजन प्रस्तोता/सञ्चारकर्मी र मेरो दायित्व पनि यही नै थियो।
विस्तारै यो संक्रमण यसरी फैलियो कि विश्व स्वास्थ्य संगठनले यसलाई महामारीकै रूपमा दर्ज गर्यो। विश्वमा महामारीको रूप लिँदा नेपालमा भने यसको छाया पनि परेको थिएन। सबैलाई लाग्थ्यो यसबाट नेपाल जोगिनेछ। हामी सुरक्षित छौं। तर विस्तारै यसले यति भयावह रूप लियो कि नेपाल पनि यसबाट अछुतो हुन सकेन।
नेपालमा पहिलो पटक माघतिर एक जना संक्रमित देखिए जो चीनबाट आएका थिए। तर स्वास्थ्य मन्त्रालयले ती संक्रमित निको भएर घर फर्किसकेको जानकारी दियो।
अन्तत: नेपालमा पनि कोरोना संक्रमित भेटिए भन्ने खबर व्यापक रूपमा फैलियो। कतिले नकारात्मक सन्देश दिए त कतिले सकारात्मक। तर सरकार भने यसको लागि कुनै तयारीबिनै कानमा तेल हालेर बस्यो। अन्तर्राष्ट्रिय उडान, सीमा खुलमखुला थिए। कुनै रोकटोक थिएन।
जब दोस्रो पटक नेपालमा संक्रमित भेटियो त्यसपछि भने सरकार केही सशंकित हुन पुग्यो। त्यतिन्जेल छिमेकी मुलुक भारतमा दिनदिनै संक्रमण फैलिरहेको थियो। त्यसपछि भने सरकारले लकडाउनको घोषणा गर्यो राष्ट्रिय- अन्तर्राष्ट्रिय उडान स्थगित र सीमानाका बन्द गर्यो।
सरकारले घोषणा गरेको लकडाउन जारी छ।
लकडाउनको समयमा कार्यालय आउँदा पनि खासै डर भने छैन। किनकी सचेत अनि सजक छु। हामी सन्चारकर्मीको काम नै यस्तै हो आफू जोखिममा रहे पनि जनतालाई सुसूचित गर्नुपर्ने हाम्रो कर्तव्य हो। एक त म आफैं सकारात्मक सोच राख्छु अनि अर्को कुरा मेरो घर परिवार र आफन्तले दिने साथ, माया र हौसलाले थप ऊर्जा मिलेको छ।
समाचार वाचन गर्नको लागि दिनदिनै अफिस आउनु पर्छ। तर यो दौरान बाटामा देखिएका दृश्यले मन खिन्न हुन्छ। एक त सरकारले कोरोना संक्रमण नफैलियोस् भनेर लकडाउन जारी गरेको छ,विभिन्न जनचेतनामूलक सन्देश दिइरहेको छ। अर्कोतिर मान्छेहरू लकडाउनको धज्जी उडाइरहेको भान हुन्थ्यो।
लकडाउनका सुरू दिनमा बाटोमा हुलका हुल मानिस कुनै सावधानीबिना बेफिक्री बसिरहेका देखिन्थे। मानौं कोरोना उनीहरूको लागि भुसुना हो। कति ठाउँमा अफिसको गाडीबाट मैले भीड नगर्न, मास्क लगाउन र लकडाउनबारे बुझाउने कोशिस गरें मिडियाको गाडी भएको हुँदा मलाई सुन्नु हुन्थ्यो पनि। तर गाडी पर पुगिसक्दा फेरि जमघट उस्तै।
लकडाउनको सुरूका दिनमा कार्यालय जाँदा र आउँदा मेरो ड्युटी नै बन्यो- भीडभाड कम गर्नुस्, लकडाउनको पालना गर्नुस् तर सुरक्षाकर्मी तैनाथ हुँदा अटेरी गर्नेलाई मेरो भनाइ ‘काग कराउँदै जान्छ पिना सुक्दै जान्छ’ भन्ने भयो।
पक्कै पनि उहाँहरूलाई थाहा भयो होला अहिले हेलचक्य्राइँ गर्ने बेला होइन भनेर। हाल नेपालमा कोरोना संक्रमित थपिँदै गइरहेका छन्। स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सन्चारकर्मी गरी हालसम्म २ सय ७६ जना संक्रमित छन्। अहिलेको कहरमा फिल्डमै गएर खटिनुपर्ने हाम्रो बाध्यता भनौं या कर्तव्य। जोखिम छ तर सजग र संयम हुन पनि त्यतिकै आवश्यक।
आजकल मलाई पनि अलिअलि डर लाग्छ। संक्रमितको संख्या बढ्दै जाँदा आफ्नो ज्यानको भन्दा पनि मलाई संक्रमण भए, परिवारका सदस्य पो संक्रमित हुने हुन् कि भन्ने चिन्ता छ। तर म स्टुडियोमा बाहेक बाहिर खटिनु पर्दैन।जसले गर्दा संक्रमण हुनेमा सम्भावना कम छ। तर यसलाई नजरअन्दाज भने गर्नु हुँदैन, आफू हरदम सचेत अनि सजक रहन जरूरी छ।
अर्को तर्फ सरकारले लडकाउन अवधि लम्ब्याइरहँदा दैनिक मजदूरी गर्ने,भाडामा बस्ने मारमा परेका छन्।यहाँ स्थायी घर हुने त जसोतसो जीवन धानिरहेका छन्। तर ती मारमा परेका वर्गलाई केन्द्रीय सरकार भनौं या स्थानीय सरकार सबैले वेवास्ता गरेको देखिन्छ। सुरू दिनमा राहतको घोषणा गरे पनि सम्बन्धित वर्गमा भन्दा पहुँच वालाकोमा पुगेको समाचार आउँछन्।
यसैगरी मुलुकको अर्थतन्त्र पनि कोरोनाको चपेटामा परेको छ। लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेको छ र यसले केही वर्षसम्म प्रभाव पार्ने देखिन्छ।
पक्कै पनि लकडाउनमात्रै गरेर समस्याको समाधान हुँदैन। अर्थतन्त्र चलायमान बनाउनको लागि सरकारले ठोस कदम चाल्न जरूरी छ। सरकारले आर्थिक प्याकेज ल्याउन नसके यसको परिणाम भयावह हुने देखिएको छ। सरकार यस्ता कुरामा भन्दा सत्ताको कुरामा बिलाइरहेको छ। आम जनचासोको विषयलाई वेवास्ता गरिरहेको छ। आफ्नो सत्तालाई जोगाउन लागि परिरहेको छ।
त्यसैले सरकार सत्ताको लोभभन्दा सर्वसाधारणको भोकमा ध्यान देऊ!