हरिया तरकारी र फल मानिसलाई स्वस्थ रहन प्रकृतिले दिएका श्रेष्ठतम् उपहार हुन्। तरकारीमा हाम्रो शरीरलाई चाहिने भिटामिन, खनिज, क्याल्सियम जस्ता तत्व लगायत पाचनलाई चाहिने रेशा प्रशस्त मात्रामा हुन्छ।
यसको दैनिक प्रयोगले शरीर सफा हुन्छ। शरीरमा फोहोर जम्मा हुन पाउँदैन। तरकारी जति मात्रा मिलाएर खाइयो, उति हामी स्वस्थ रहन सक्छौं। यसको कमीले कब्जियत हुन्छ र स्वास्थ्य समस्या आउँछ। हाल संसारमा जति पनि स्वास्थ्य समस्या आएका छन् ती अधिकांश त भान्छामा हरिया तरकारी र फल कमीले आएका छन्।
अचेल खानेकुरामा हरिया सागसब्जी प्रयोग धेरै कम हुँदै गएको छ। प्रयोग भइहाले पनि तारेर, भुटेर, मरमसला राखेर मात्र खाने चलन बढेको छ। जुनसुकै तरकारी पनि गलत तरिकाले पकाएर चिल्लो र मसला बढी राखेर खाएमा त्यसमा भएको प्राकृतिक लवण नष्ट हुन्छ र स्वास्थ्यका लागि हानिकारक बन्छ।
अहिले जसरी हामी तरकारी बनाउँछौं, के त्यो स्वास्थ्यका लागि ठीक छ त? के हामी साँच्चै तरकारी बनाउन जान्दछौं त?
यी कुरा बुझ्नु जरुरी छ। तरकारी कसरी बनाउने भन्ने कुरा बुझ्नु अगाडि तरकारी के हो र हामीलाई चाहिने तरकारी के-के हुन् भन्ने बुझ्न जरुरी छ।
के हुन् सब्जी तरकारी?
अहिले हाम्रो समाजमा अधिकांशतः तरकारी भन्नेबित्तिकै माछा, मासु, आलु आदि बुझ्ने चलन छ। तर हामीलाई स्वस्थ रहन चाहिने तरकारी सम्पूर्ण वनस्पति श्रोतबाट प्राप्त चिज हुन् जसलाई पात भएका र पात नभएका गरी दुई थरीमा विभाजन गरी बुझ्न सकिन्छ।
यी तरकारी काँचै या पकाएर खान मिल्ने दुवै प्रकारका हुन्छन्। तरकारीमा पानी, कार्बोहाइड्रेट, प्रोटिन, खनिज लवण, भिटामिनका साथै चिल्लो समेत हुन्छ। हामीले प्रयोग गर्ने तरकारीका कुनैका पात मात्र खान सकिन्छ, कुनैका डाँठ भने कुनैका फलमात्र। यसको आधारमा तरकारीलाई ५ भागमा विभाजन गरी बुझ्न सकिन्छ।
१. सागपात वर्ग– हरिया ठूल्ठूला पात भएका तरकारी सागपात वर्गमा पर्छन्। जस्तै रायो, चम्सुर, पालुंगो, तोरी आदि।
२. डाँठ वर्ग– जुन तरकारीका डाँठ खान मिल्छ ती डाँठ वर्गमा पर्छन्। काउली, ब्रोकाउली, फर्सीको मुन्टा, कुरिलो आदि।
३. कन्दमुल वर्ग– जुन जमिन मुनि फल्छ त्यसलाई कन्दमुल भनिन्छ। यसमा आलु, पिँडालु, सखरखण्ड, गाजर, मूला, सलगम, प्याज, लसुन आदि।
४. गेडागुडी वर्ग– कोसा खान मिल्नेलाई कोसे वर्ग भनिन्छ र यी सुकेपछि गेडागुडी वर्गमा पर्छन्। हरियो केराउ, हरियो भटमास, सिमी, बोडी, हरियो बकुल्ला आदि।
५. फल वर्ग–तरकारीको डाँठमा फल्नेलाई तरकारीका फल वर्ग भनिन्छ। यसमा फर्सी, लौका, घिरौंला, भान्टा, इस्कुस, रामतोरिया, गोलभेडा, काँक्रा, भेडेखुर्सानी आदि।
स्वस्थ रहन हाम्रो जीवनमा यी तरकारीको दैनिक आवश्यकता पर्छ। यी सबै तरकारीमा भिन्नाभिन्नै पौष्टिक तत्व हुन्छन्। त्यसैले हामीले ऋतुअनुसार पात भएका र पात नभएका गरी मिलाएर दुईथरी तरकारी लिनुपर्छ। सम्भव भएसम्म यी तरकारी फेरीफेरी खानु उपयुक्त हुन्छ।
फेरीफेरी खाँदा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्व पुग्छ। काँचै खान मिल्ने तरकारीलाई काँचै खानुपर्छ भने पकाएर खानुपर्नेलाई ठीक तरिकाले पकाएर।
तर आजकल जुनसुकै तरकारी चिल्लोमा तारेर, भुटेर र धेरै पकाएर खाने गरिन्छ। यसरी खाँदा तरकारीमा रहेको सुपाच्य गुण नष्ट हुन्छ। यसो विचार गरेर हेर्दा सृष्टिका सबै जिवजन्तु प्रकृतिले जस्तो रुपमा दिएको छ त्यस्तै रुपमा खान्छन् र मानिसभन्दा स्वस्थ हुन्छन्। तर मान्छे मात्र यस्तो प्राणी हो जसले प्रकृतिले दिएको खाद्यवस्तु पकाएर त्यसमा रहेको जीवन्त प्राण नष्ट गरेर मृत बनाएर स्वादका लागि तेल-मरमसला हालेर मिठो मानी खान्छन्।
हामी मानिसलाई मात्रै सधैं पकाएरै खानुपर्ने किन?
प्रसिद्ध अमेरिकी वैज्ञानिकले भनेका छन्– यदि मानिस पूर्णरुपले अपक्वाहार अर्थात् नपकाइएका खाना खाने, भोक लागेपछि मात्र खाने र खाँदा चपाईचपाई दाँतको प्रयोग राम्रोसँग गरेर खाने हो भने मानिस कहिल्यै रोगी हुँदैन।
अमेरिकी वैज्ञानिकले भनेझैं हाम्रो शरीर तरकारी-फलफूल काँचै खान सक्ने क्षमताको हो। उहिल्यै हाम्रा पुर्खा काँचो खानेकुरा कन्दमुल मात्र खाएर बाँच्थे। आगोको आविष्कार भएसँगै खाना पकाएर खाने चलन आयो। त्यसैगरी स्वादका लागि विभिन्नथरी मरमसला प्रयोगमा आए।
विकासक्रमसँगै खानामा पनि परिमार्जित हुँदै आयो। विस्तारै खानामा काँचो खानेकुरा कम हुँदै गयो र पकाइएका बढी। वास्तवमा पकाइएका खानेकुरा भन्दा प्रकृतिकै चुल्होमा पाकेका काँचो खानेकुरा हाम्रो शरीरले सजिलै पचाउँछ।
काँचो खाद्यवस्तुमा शरीरलाई चाहिने पर्याप्त पोषण हुन्छ। यी शितल गुणका हुन्छन् जसमा प्राकृतिक स्वाद र रस प्रशस्त हुन्छ र प्यास कम गर्छ। काँचो खानेकुरामा पाचनलाई अगाडि बढाउन चाहिने रेशा, छोक्राबोक्रा प्रशस्त हुन्छ जसले पेट सफा राख्न मद्धत गर्छ र कब्जियत हुँदैन। फलस्वरुप मोटोपन घटाउन मद्धत गर्छ। त्यसैगरी यसको प्रयोगले शरीर हल्का हुने र ऊर्जा बढाउँछ साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
त्यसैले काँचो खानु स्वास्थ्यका लागि उपयुक्त छ तर वर्षौंदेखि पकाएर खाने बानी भएका हामीलाई अहिले सबै काँचै खानु सम्भव हुँदैन। हालको अवस्थामा काँचै खान मिल्ने तरकारीलाई सकेसम्म काँचै खाने र पकाएर खानुपर्नेलाई हल्का पकाएर खाने गर्दा हामी स्वस्थ रहन सक्छौं।
काँचै खान मिल्ने तरकारी– गाजर, बन्दा, काँक्रा, गोलभेडा, रामतोरीया, प्याज आदि। यी खाद्यवस्तुलाई खानापछि सलादका रूपमा खाँदा स्वास्थ्यलाई धेरै फाइदा गर्छ।
तरकारी पकाउने कसरी?
हाम्रा पुर्खाहरू तरकारीलाई थोरै पानी राखेर उसिनेर पाकेपछि तेल र मसला राखेर खाने गर्थे। तर अहिले तेलमा तारेर-भुटेर खाने बानी छ। यसरी तारेर वा भुटेर पकाउँदा तरकारीमा भएको प्राकृतिक गुण कम हुन्छ। धेरै पकाएपछि तरकारीमा रहेका पाचन तत्व घट्छ र पाचन शक्तिमा कमी भई कब्जियत हुन्छ।
त्यसैले तरकारीलाई पकाउँदा आवश्यकता अनुसार थोरै पानीमा राखेर या पानी आवश्यकता नभए पानी नराखी बफाएर पकाउनु स्वास्थ्यका हिसाबले उपयुक्त हुन्छ। बुझ्नुपर्ने कुरा तरकारीलाई कराईमा राखेर तार्नुभन्दा प्रेसर कुकुरमा पकाउनु स्वास्थ्यवर्द्धक हुन्छ। कराइमा तारेर पकाउँदा तरकारीमा रहेको प्राकृति लवण नष्ट हुन्छ। त्यसैले सम्भव भएसम्म तरकारीलाई प्राकृतिक रुपमै खाने र पकाएर खानु परेमा उसिनेर खाने। तेल राख्नै परेमा थोरै तेल राखेर छोपेर पकाउने गर्दा तरकारीमा भएको पौष्टिक लवण कायम राख्न सकिन्छ।
तरकारीमा नुन
हामी सबैलाई मिठो लाग्ने र अति आवश्यक चिज हो नुन। सायद नुन बिनाको तरकारी कल्पनासम्म गर्न सकिँदैन। सबैलाई नुनको लत छ। नुन उचित मात्रामा प्रयोग गर्न जानेमा यसले शरीलाई लाभ हुन्छ तर यसको प्रयोग बढी भए धेरै स्वास्थ्य समस्या आउँछन्। जस्तै शरीरमा पानीको कमी हुने, बढी प्यास लाग्नु, आन्तरिक गर्मी हुनु, अनिद्रा, प्रेसर बढ्नु।
नुन बढी खाएमा भित्र चाँडै खाना गल्ने र कुहिने हुन्छ। साथै नुनको बढी प्रयोगले हाम्रो मिर्गौला कमजोर हुँदै जान्छ।
हामीले खाने सबैजसो खानेकुरामा र हरिया सागपात तरकारीमा प्राकृतिक रुपमै नुन पर्याप्त हुन्छ। हामीले अतिरिक्त नुन राखेर पकाएमा शरीरलाई त्यो आवश्यकता भन्दा बढी हुन जान्छ र रोगको कारण बन्छ। तर अहिले नुन यति धेरै उपयोग भएको छ कि हाम्रो जिब्रो नुन बिना केही खान नसक्ने अवस्थामा पुगेको छ।
त्यसैले तरकारीमा सकेसम्म नुन नराख्ने, राख्नै परेमा कम भन्दा कम राख्ने। स्वस्थ रहन हप्ताको एक दिन नुन नराखी खाँदा पेटलाई आराम मिल्छ।
अतिरिक्त चिल्लो
अहिले हाम्रो भान्छामा तरकारी बनाउन तेल र घ्यूको प्रयोग हुन्छ। तेल सामान्यतः वनस्पति श्रोत तोरी, भटमास, बदाम, तिल आदिबाट पेलेर निकालिन्छ भने घ्यू जन्तुश्रोतको दूधबाट। जसरी हाम्रो खानामा प्राकृतिक रुपमा नुनको मात्रा हुन्छ त्यसैगरी प्राकृतिक रुपमै चिल्लोको मात्रा पनि हुन्छ, थप चिल्लो राखेर पकाउनु जरुरी छैन।
सबैलाई थाहा भएको कुरा हो घ्यू, तेल अरू भन्दा चाँडै तात्ने हुन्छ। यी तेलहनको तापक्रम अरूको भन्दा तेब्बर गुणा बढी हुन्छ। हाम्रो स्वास्थ्यका लागि जति बढी तापक्रमा खाना पकायो त्यति हानिकारक हुन्छ।
अचेल तरकारीलाई तेल वा घ्यूमा तारेर वा भुटेर बनाइन्छ। यसरी तरकारीमा धेरै कृतिम चिल्लो राख्दा रगतमा कोलस्टेरोल बढ्ने, अनावश्यक रुपमा बोसो बढेर मोटोपन आउने गर्छ। त्यसैले अतिरिक्त चिल्लो प्रयोग नगर्नु स्वास्थ्यको हिसाबले ठीक हुन्छ। ध्यान दिनु पर्ने कुरा एकपटक तताइसकेको तेल फेरि तताउने वा प्रयोग गर्नु हुँदैन। तेललाई बारम्बार तताउने गर्नाले तेलमा अम्लिता बढी विषालु हुन्छ।
मसलाः खान जाने औषधी, नजाने विष
जुन खानेकुरा खाइसकेपछि पानी पिउने इच्छा हुन्छ, त्यो खाना प्राकृतिक होइन र हाम्रो स्वास्थ्यका लागि ठीक हुँदैन। तर आजकल स्वास्थ्यलाई भन्दा स्वादलाई जोड दिएर तरकारीमा नानाथरी मसला प्रयोग गरेर पकाइएको हुन्छ जुन एक गाँस खाने बित्तिकै पानी पिउने इच्छा हुन्छ। मसलाले उत्तेजना बढाउने काम गर्छ जसले गर्दा शरीरमा गर्मी बढ्छ र प्यास लाग्ने हुन्छ।
सामान्यत मसला दुई प्रकारका हुन्छन्ः खाने मसला र तरकारीमा प्रयोग गर्ने मसला।
१. खाने मसला– यसमा नरिवल, काजु, बदाम, पिस्ता, ओखर, छोगडा, किसमिस आदि पर्छन्। यी खानेकुरामा प्रोटिन र चिल्लो बढी हुन्छ।
२. तरकारीमा प्रयोग हुने मसला- तरकारीमा प्रयोग हुने मसला पनि दुई थरीका हुन्छन्। पहिलो दैनिक प्रयोग हुने मसला जस्तै लसुन, अदुवा, जिरा, प्याज, हरियो धनियाँ हुन् भने दोस्रो गरम मसलामा ज्वानो, ल्वाङ, सुकमेल, मेथी, हिङ आदि।
उहिल्यै हाम्रा पुर्खा यी मरमसलालाई ढुंगाको खलमा राखेर पिस्थे र तरकारी पाकेपछि मात्र हालेर खाने गरिन्थ्यो जुन ताजा हुन्थ्यो र स्वास्थ्यका लागि हितकर थियो। अचेल खलमा पिस्ने काम लुप्त हुँदै गयो र मसला पहिलेनै तेलमा भुट्ने चलन आयो।
सजिलोका लागि ताजा मसलाको सट्टा सिल प्याकवाला मसला प्रयोग बढेको छ। सिल प्याक भएका मसलामा प्राकृतिक लवण र औषधीय गुण हुँदैन। अहिले जति पनि प्याकेटवाला मसला प्रयोग हुन्छ ती रङ हालिएका हानिकारक हुन्छन्। त्यसैले तरकारीमा ताजा मसला जस्तै अदुवा, लसुन र जिरा थोरै मात्रामा पिसेर राख्नु बेस हुन्छ। यसका अलावा गरम मसला धनियाँ पत्ता, ज्वानो, पुदिना, टिमुर, अलैंची आदि धेरै कम मात्र प्रयोग गर्नुपर्छ।
यी गरम मसला दैनिक प्रयोग गर्नु आवश्यक छैन। धेरै मसलाको दैनिक प्रयोगले स्वास्थ्यलाई धेरै बेफाइदा गर्छ।
– शरीरमा अम्लियता बढाउँछ।
– शरीरमा गर्मी उत्पन्न गराउँछ।
– पेट पोल्ने, छाती तथा घाँटी पोल्ने, वाकवाक लाग्ने हुन्छ।
– कब्जियत भई टाउको दुख्ने आदि समस्या हुन्छ।
– खानामा अरूचि हुन्छ।
– अनिद्रा हुने, नकारात्मक विचार आउने, मन चन्चल हुने हुन्छ।
त्यसैले मसलालाई धेरै प्रयोग नगर्ने। यदि पेट पोल्ने, घाँटी पोल्ने, अमिलो डकार आउने, वाकवाक लाग्ने समस्या भए सबैखाले मसला पूर्णरूपमा बन्द गर्ने र सादा तरकारी खाने। तर आजभोलि मसलालाई जिब्रोको स्वाद र नाको सुगन्धलाई बढाउने रूपमा मात्र प्रयोग गरेको पाइन्छ।
वास्तवमा हाम्रो भान्छामा जति पनि मरमसला हामी प्रयोग गरिरहेका छौं। तिनलाई हामीले सही रूपमा बनाउन जाने, मिसाउन र पकाउन जाने तिनले औषधीको काम गर्छन्। यी मसलालाई सही रुपमा मिलाएर खाएमा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ।
– यसको उचित प्रयोगले खानालाई स्वादिष्ट बनाउँछ।
– शरीरको तापलाई सन्तुलित राख्न मद्दत गर्छ।
– शरीरको प्रतिरोध क्षमता बढाउँछ।
– खानेकुरामा पाइने तातो र चिसोको प्रकृतिबीच सन्तुलन कायम गर्छ।
हाल हाम्रो समाजमा मसलाको गलत प्रयोग भएको छ। हाम्रो भान्छामै छ औषधी। यसलाई औषधीका रुपमा प्रयोग गर्ने कि रोगका रुपमा, त्यो हाम्रै हातमा छ।
मसला र नुन कति बेला राख्ने? पहिला मसला किन राख्नु हुँदैन?
तरकारी बनाउँदा पहिले नै मसलालाई तेलमा तार्ने, भुट्ने र पकाउने गर्नाले मसलामा हुने प्रतिरोध क्षमता घट्छ। साथै पहिल्यै मसला राखेर पकाएमा तरकारीमा अम्लियपन बढ्छ। फलस्वरुप ग्यास बढ्ने, ढ्याउढ्याउ आउने, खानामा अरूचि हुने जस्ता समस्या आउँछन्। त्यसैले मसला पहिल्यै राख्नु हुँदैन। तरकारीमा मरमसला र नुन पाकेपछि मात्र राख्नु उपयुक्त हुन्छ। यसरी पाकेपछि मसला राख्दा मसलाको औषधीय गुण नष्ट हुँदैन।
के तरकारी तताउँदै खान मिल्छ ?
अहिले व्यस्तताका कारण तरकारी एकैचोटी बनाउने र तताउँदै खाने प्रवृत्ति बढेको छ। के तपाईंको पनि तरकारी तताउँदै खाने बानी छ ?
छ भने आजैबाट बन्द गर्नुस्। किनभने पाकिसकेको तरकारी बारम्बार तताएर खानाले धेरै स्वास्थ्य समस्या आउँछन्। बारम्बार तताएर खाँदा तरकारीमा अम्लियपन बढ्ने मात्र होइन यसले पेट देखि टाउको सम्मका समस्या आउँछन्। जस्तै ग्यास बढ्ने, पेट फुल्ने, डुम्म हुने।
तर यसको मतलब बिहान वा बेलुकी बाँकी भएको तरकारी फाल्नु भनेको होइन। तरकारी उब्रेमा त्यसलाई नतताइकन त्यसमा उम्लेको पानी राखेर खान सकिन्छ। यसरी खाँदा स्वास्थ्यलाई हानी हुँदैन।
तारेको, भुटेको खाना किन ठीक छैन?
अहिले तरकारीलाई चिल्लोमा तारेर वा भुटेर खाने चलन छ। त्यसमाथि पनि मसलालाई पहिल्यै तेलमा भुटेर खाने गरिन्छ। यसरी पहिल्यै तरकारीमा मसला राखेर भुट्दा तरकारीमा रहेको क्षारीय गुण अम्लकारी बन्छ, तरकारीको कब्जियत हटाउने गुण पनि नष्ट हुन्छ। साथै यस्ता खानेकुरा गरिष्ठ हुन्छ र प्यास बढाउने हुन्छ। शरीरमा गर्मी र पित्त बढाउनुका साथै पेटका समस्या आउँछन्। त्यसैले तारको वा भुटेको तरकारी अस्वस्थकर हुन्छ।
पिरो
मसलासंगै प्रयोग हुने अर्को लोकप्रिय चिज हो खुर्सानी। धेरैलाई मपर्छ खुर्सानीको पिरो। यो सुकेको र हरियो गरी दुईथरी हुन्छ। खुर्सानीले खानालाई चटपटे स्वादयुक्त बनाउँछ। अचेल मसलामा खुर्सानी धेरै प्रयोग भएको पाइन्छ। खुर्सानी धेरै खाँदा पनि शरीरमा गर्मी बढ्छ। डाहा हुन्छ। टाउको दुख्ने समस्या आउँछ। त्यसैले खुर्सानी धेरै प्रयोग गर्नु हुँदैन।
आलु
धेरै थरीका परिकार बनाएर खाने सबैको प्यारो चिज हो आलु। आलु यस्तो चिज हो जसलाई जुनसुकै तरकारी बनाउँदा पनि मिसाउने चलन छ। वास्तवमा यसमा पनि भातमा जस्तै कार्बेहाइड्रेट हुन्छ। तरकारीमा आलुको मात्रा बढी प्रयोग भएको छ भने भात कम गर्नुपर्छ। भात र आलु तरकारी भयो कार्बोहाइड्रेट बढी भई मोटोपन बढ्छ। त्यसैले आलुलाई तरकारीका रुपमा कम प्रयोग गर्नुपर्छ। मोटोपन भएकाले भने अझ कम खानुपर्छ। तर भातको सट्टा आलु र सागसब्जी खान सकिन्छ।
तरकारी कति खाने ?
खानामा तरकारी कम र खाना बढी भएमा मोटाउने समस्या आउँछ। खाना बराबर हरिया तरकारी हुन जरुरी छ। हरिया पात भएका तरकारी एक कचौरा र पात नभएका हरिया तरकारी एक कचौरा गरी लगभग ३०० ग्राम खाना बराबर अनिवार्य हुनुपर्छ। त्यसैगरी काँचो सलाद र फलफूलको मात्रा पनि करिब १०० देखि १५० ग्राम हुनुपर्छ।
बढी तौल भएका र कब्जियत समस्या भएकाले हरियो सब्जी र फलको मात्रा बढाउने र अन्नको मात्रा २० देखि २५ प्रतिशत घटाउने। यसरी हरिया तरकारी र सलाद बढाई पेटभरी खाएमा हप्ताको एक किलो तौल सजिलै घटाउन सकिन्छ।
तरकारी बनाउँदा ध्यान दिनुपर्ने कुरा
केलाउने/ताछ्नेः आजकल तरकारी ताछेर बनाउने चलन छ। बोक्रा खानै नमिल्ने हो भने मात्र त्यसलाई पातलो बोक्रा मात्र जानेगरी ताछ्नु पर्छ। तरकारीका बोक्रामा हामीलाई चाहिने भिटामिन र खनिज हुन्छन्। त्यसैले मिलेसम्म तरकारीलाई ताछ्नु हुँदैन। भान्टा, परवल, घिरौंला, आलु जस्ताको बोक्रा ताछ्नु पर्दैन। सफा गरी केलाए पुग्छ।
पखाल्नेः सफासँग पखाल्ने। तर पखालेर धेरै बेर पानीमा भिजाएर राख्नु हुँदैन। तरकारी पखालिसकेपछि मात्र काट्ने। काटेर पखाल्दा तरकारीमा रहेको पौष्टिता पानीमा घुलेर नष्ट हुन्छ।
काट्नेः धेरै सानोसानो गरी काट्नु हुँदैन। ठूलो ठूलो टुक्रामा काट्नु पर्छ। सिंगै पकाउन मिल्ने तरकारी छ भने सिंगै पकाउने। काटेपछि धेरै बेरसम्म राख्नु हुँदैन, तत्काल पकाउनुपर्छ।
पात नफाल्नेः गाजर, मूला, चुकन्दर, काउली आदिको पात फाल्ने गरिन्छ। यसका पातमा धेरै खनिज लवण हुन्छन् र यो कब्ज निवारक पनि हुन्छ। त्यसैले फाल्नु हुँदैन। गाजरको पातमा अत्यधिक क्याल्सियम हुन्छ।
कसरी बनाउनेः तरकारी सकेसम्म पानीमा उसिनेर खानुपर्छ। नभए कम तेल राखेर पकाउने। तरकारी छोपेर ठिक्क पाक्ने गरी पकाउने। धेरै पकाउनु हुँदैन।
खाने तापक्रमः पाकेपछि धेरै समय नराखी खानुपर्छ। तर खाना धेरै तातो पनि खानु हुँदैन भने धेरै चिसो पनि हुनु हुँदैन। धेरै तातो खाँदा दाँतमा समस्या हुन्छ भने चिसो खाँदा पेटमा। त्यसैले सामान्यतः खाना पाकेको केहीबेरमा खान सकिन्छ।