सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार,
म अहिले कक्षा तीनको बार्षिक परीक्षा दिएर बसेको छु। सेतोपाटीले हामीजस्ता साना केटाकेटीका कुरा छाप्न थालेको रहेछ। आमाले मलाई पढ्न दिनुभयो। मलाई पनि लेख्न भन्नुभयो। मैले पनि लेख्न सक्छु जस्तो लागेर लेखेको छु।
हाम्रो विद्यालयको वार्षिक परीक्षा चैत ६ गते सकिने कुरा थियो। कोरोना संक्रमण डरले ४ गते नै सकियो। रिजल्ट १४ गते हुने कुरा थियो। नेपाल बन्दाबन्दीमा परेपछि रोकियो। रिजल्ट कहिले आउने थाहा छैन्। नयाँ किताब किन्न पाएको छैन्।
अहिले आमाबुबाको समेत छुट्टी छ। उहाँहरू सरकारी कर्मचारी हुनुहुन्छ। मेरी बहिनी चार वर्षकी भइन्। अहिले हामी सबै घरमा छौं। ठूलो बाबा, फुपूहरू, मामाहरू, ठूलीआमा सबैको बिदा भए पनि सानीमा र सानाबा हस्पिटलमा काम गर्नुहुन्छ। उहाँहरूको भने बिदा छैन।
पहिला–पहिला हामी छुट्टीमा आमाबुबाको अफिस जान्थ्याैं। अहिले उहाँहरू भन्नुहुन्छ, ‘यो छुट्टी खुसी मनाउन होइन। सुरक्षित हुन हो।’
मलाई वार्षिक परीक्षा पछिको बिदामा पोखरा, चितवन, चन्द्रागिरी, मनकामना र नेपालगन्ज जाने मन थियो। बाबाले पनि लैजाने भन्नुभएको थियो। कोरोनाको कारणले कतै जान पाइन। बाहिर गएर खान पनि हुदैँन रे। आमाले घरमै बनाएको मःमः खायौं। हामी सचेत भयौं भने यसबाट बच्न सकिन्छ। आफू पनि सचेत रहौं अरूलाई पनि सचेत बनाउँ माक्स, स्यानिटाइजर र पन्जाको प्रयोग गरौं। मैले यसबारेमा कविता लेखेर युट्युबमा पनि राखेको छु।
हामी घरमा सात परिवार बस्छौं। अहिले दुई परिवार घर जानुभएको छ। म बिदामा लेख्ने, पढ्ने, घाम ताप्ने, खेल्ने गर्दैछु। मोबाइलमा 'बाहुबली' र 'छक्कापञ्जा' फिल्म हेरेँ। हाम्रो टिभी बिग्रिएको र बनाउन लैजान नपाएकाले मोबाइलमा युट्युब हेर्ने गरेका छौं।
बाबा बिहान दूध लिन जाँदा माक्स, पन्जा लगाएर जानुहुन्छ। आएपछि हात खुट्टा र दूधको पकेट राम्ररी साबुनपानीले धुनुहुन्छ। नुहाएर पूजा गर्नुहुन्छ। बाबाले पूजा गर्दा बहिनी र म भजन गाउँछौं। नास्तामा अण्डा र दाल खाएर खेल्न थाल्छौं। विद्यालय जाँदा आठ बजे खाने खाना अहिले हामी एघार बजे खान्छौं। अहिले हामीलाई हतार छैन।
हाम्रो घरमा पानीको बोरिङ बिग्रियो। लकडाउनले गर्दा बनाउने मिस्त्री आउन पाउनुभएन। धन्न पानीको ट्यांकर चल्ने रहेछ र हामीले पानी ल्याउन पायौं। हजुरहरू नै भन्नुहोस् त! पानी बिनाको जीन्दगी कस्तो होला?
आमाबुबा रेडियोमा समाचार सुनिरहनुहुन्छ। विश्वलाई धेरै घाटा भयो रे कोरोनाले।
ठूलो बाबा र सानो मामाको घर नजिकै छ। तर उहाँहरूसँग नभेटेको धेरै भयो। सिद्धान्त दाइ पनि बाहिर निस्कन नपाएर आत्तियो होला। मेरो साथी आरोस, कुशल, सज्जन र सुप्रिमको घर पनि नजिकै छ। नजिक भए पनि फोनमा मात्र कुरा गर्न पाइने, भेट्न नपाइने। सची म्याम अष्ट्रेलिया जाने कुरा थियो। के गर्नुभयो होला है?
लकडाउनभन्दा त स्कुल नै रमाइलो। यो कोरोना भाइरस छिट्टै हराओस्। सबैलाई खुसी मिलोस्। छिटो विद्यालय खुलोस्। पढ्न, खेल्न रमाउन पाइयोस्। यति लेखिसक्न मलाई दुई–तीन दिन लाग्यो। हजुरहरूलाई मैले लेखेको कस्तो लाग्यो?
(सार्थक पौडेल काठमाडाैं बनस्थलीस्थितसौरदीप बोर्डिङ स्कुलमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)