लकडाउनको अघिल्लो दिन म मेरो अफिस (एनआइसी एसिया बैंक) मै थिएँ।
अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले बैंकका शाखा अनवरत सञ्चालन गर्नुपर्छ। कर्मचारी र ग्राहकको स्वास्थ्य सुरक्षाका लागि कम्तिमा ज्वरो नाप्ने 'थर्मल गन' सबै शाखामा अनिवार्य रूपमा राख्नुपर्छ भनेर हामीले किन्ने प्रयास गर्यौं। तर धेरै ठाउँमा खोज्दा पनि पाइएन।
एउटा निकायले 'वीर अस्पताललाई जिम्मा लगाएका छौं, त्यहीँ सोध्नू' भन्यो।
त्यहाँ सोध्दा 'हामीसँगै पर्याप्त छैन, सरी' भन्ने जवाफ आयो।
यही सिलसिलामा मैले एक जना डाक्टरसँग कुरा गरेँ। उनी भन्दै थिए, 'हामीसँग बिरामी जाँच्दा लगाउने सुरक्षा सामग्री नै पुग्दो छैन, जिन्दगी भगवान भरोसामा राखेर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने छ।'
डाक्टरको यस्तो कुरा सुन्दा मलाई डर लागेर आयो।
आखिरमा हाम्रो बैंकले बल्लतल्ल केही थर्मल गन किन्न पायो र लकडाउनमा खुलेका शाखाहरूमा राख्यो।
यसबीच इटाली, स्पेन लगायत युराेपेली मुलुक र अमेरिकामा कोभिड-१९ को महामारीले डरलाग्दो रूप लिएका समाचार आइरहेका थिए। हामीकहाँ पनि लकडाउन त सुरू भइसकेको थियो, तर डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई बिरामी उपचार गर्दा लगाउनुपर्ने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) पर्याप्त छैन भन्ने सुनिरहेका थियौं। त्यही स्थिति अहिलेसम्म छ। महामारीको बढी जोखिम रहेको सुदूरपश्चिमका कतिपय स्वास्थ्य केन्द्रमा प्लास्टिकको पिपिई बनाएर प्रयोग गरिएको समाचार आएको छ।
कुनै पनि अवस्थामा बिरामी र स्वास्थ्यकर्मीको जीवन रक्षा गर्नु सरकारको दायित्व हो। महामारीजस्तो असाधारण अवस्थामा त सरकारले अझ धेरै सावधानी अपनाउनुपर्थ्यो। सम्बन्धित निकायहरू बेलैमा सक्रिय नहुँदा हाम्रो तयारीमा केही न केही कमी र ढिलाइ हुन गएको छ।
म आफू करिब एक वर्ष अस्पतालमा बिताएको अनुभवले हुन सक्छ, सेतो कोट लगाएर घाँटीमा स्टेथेस्कोप झुन्ड्याएर हिँड्ने डाक्टर भगवानको रूपझैं लाग्छ। अस्पतालमा बिरामीको जिन्दगी बचाउने कोही छ भने, तिनै डाक्टर छन्। हरेक बिहान डाक्टरको मुस्कानले मेरा ओठ मुस्कुराउँथे। जीवनमा बेग्लै ऊर्जा भरिन्थ्यो।
तिनै डाक्टरलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा पढेको एउटा भनाइले मेरो मन छोएको छ- मन्दिरहरू बन्द छन्, किनकि भगवान सेतो कोट लगाएर अस्पतालमा छन्।
म अर्को कारणले पनि डाक्टरी पेसासँग नजिक छु। हाम्रो छोरा अंकित पोखरेल र बुहारी मेरिना दुवै डाक्टर छन्। दिल्लीमा चिकित्सकका रूपमा काम गर्छन्। उनीहरूसँग हरेकदिन कुरा हुन्छ।
छोरा डाक्टर भए पनि आमालाई बच्चाजस्तै लाग्ने। एकदिन अलिक धेरै डर लागेर भनेँ, 'कि छुट्टी लिएर आउँछौ बाबु।'
उसले भन्यो, 'होइन, यतिखेर मैले बिदा लिन हुँदैन मामु।'
उसको ड्याडीले पनि 'कहाँ अहिले बोलाको' भनेर मलाई जिस्काउनुभयो।
हुन पनि डाक्टरको पहिलो कर्तव्य बिरामीको सेवा गर्नु हो, चाहे उनीहरू जुनसुकै मुलुकमा किन नहोस्। तर, आमाको पहिलो कर्तव्य पनि त छोराछोरीलाई दु:खकष्ट नपरोस् भनेर ख्याल राख्नु हो नि, चाहे उनीहरू जुनसुकै मुलुकमा किन नहोस्!
त्यो बेला छोराबुहारीलाई घर डाक्दा मेरो आमाको मनले जितेको थियो। उनीहरूलाई डाक्टरको कर्तव्यले जित्यो, आएनन्।
यही बेला चीनमा कोरोना बिरामीको उपचार गर्दागर्दै आफैं संक्रमित भएर ज्यान गुमाएका डाक्टरप्रति नतमस्तक हुँदै हजारौं नागरिकले अगाध श्रद्धा र सम्मान देखाएको दृश्यले मेरो मन र मुटु द्रवित भए।
जोखिम टरेको छैन। लकडाउन जारी छ। अझै केही समय लम्बिन सक्छ। यसबीच सरकारले महामारी फैलिन नदिन पर्याप्त पिपिई, टेस्ट किट र सकिन्छ भने थप भेन्टिलेटर छिटोभन्दा छिटो ल्याउनुपर्यो। हामीले पनि जिम्मेवार नागरिकका हैसियतमा आ-आफ्नो क्षेत्रबाट जे-जस्ता सहयोग गर्न सकिन्छ गरौं।
कोरोना भाइरस सर्न नदिने एउटा अचूक औषधि एकअर्काको सम्पर्कमा नरहनु नै हो। यसलाई मनन् गर्यौं भने केही हदसम्म आफैं सुरक्षित हुन सक्छौं।
कंक्रिटको सहरमा बस्ने हामी २० दिनदेखि दौडधुपबाट अलग्गिएर बसेका छौं। वातावरण शून्य र शान्त छ। आँगनमा हेर्यो, स-साना भंगेरा चिरबिर गर्दै छन्। घरि फुरफुर गर्दै फूलको बोटमा पुग्छन्, एकैछिनमा गुलाबको कलिलो हांगामा जान्छन्। लाग्छ, के यिनीहरू लकडाउनअघि यस्तैगरी रमाउँथे?
माथि स्वच्छ, सफा र नीलो आकाश क्षितिजसम्म फैलिएको छ। आकाश यतिविधि निर्मल देखिन्छ भनेर त मैले कल्पना गर्नै छाडेको थिएँ।
सोच्छु, यो आकाशले भनिरहेको होला, तछाडमछाड गर्दै एयर ट्राफिकमा बसेका जहाज कता लुके?
सडकले भन्दो हो, हरेक दिन अफिस जान हतार गर्ने गाडीहरू कता गए?
यस्तो सन्नाटा देख्दा कहिलेकाहीँ मन भरंग हुन्छ। साँच्चै यो मानव सभ्यताको इतिहास नै मास्ने गरी आएको भाइरस त होइन?
तर मलाई विश्वास छ, वैज्ञानिकहरूले छिट्टै भाइरस मार्ने औषधि पत्ता लगाउने छन्। अन्तत: विज्ञानले जित्ने छ। लडाइँको अग्रपंक्तिमा रहेका संसारभरका स्वास्थ्यकर्मीहरूको अथक प्रयासले जित्नेछ।
र, संसार कोरोनामुक्त भएर हामी पहिलेकै अवस्थामा फर्किने छौं।