प्रसंग १. एकजना उच्च पदकै सरकारी कर्मचारी महोदयले फेसबुकमा आफ्नो झुस्स परेको दाह्री सहितको फोटोको क्याप्सनमा स्टाटस लेख्नुभयो, हेर्नुस् त १५ दिनको कमाल, आफ्नो दाह्री बढेर उखुबारी जस्तै भइसक्यो। यो दाह्री काट्ने दिन पनि आएन, शैलुन कहिले खुल्छ थाहा छैन।
महोदयका अरू स्टाटस पनि निकै विरक्त लाग्दा देखिन्छन् ,उहाँका लकडाउनका कुनै पनि दिन उपलब्धीमूलक बन्न सकेनछन्। हरेक दिन उहाँका स्टाटस निकै फुर्सदिला देखिन्थे। कुनै काम नभएको, दिन काट्न निकै सकस भएको, कहिले अफिस जाउँला जस्तो भएको यस्तै यस्तै भावका .... । आफूले चिनेकै भएकोले ती महोदयकी श्रीमतीसँग पनि अघिल्लो साँझमा सामान्य कुराकानी भएको थियो।
श्रीमानको भनाइभन्दा ठीकविपरीत गुनासो थियो उनको।
अरू बेला बरु केटाकेटी स्कुल जान्थे, बुढा अफिस जान्थे, यो समयमा यो काम गर्छु भन्ने फिक्स हुन्थ्यो, यो १५ दिन आफ्ना लागि यति सकस भा छ कि के भन्नु र ? अझ कतिदिन यो सास्ती खेप्नुपर्छ भन्ने थाहा छैन।
हरेक दिन वल्लो घर पल्लोघरमा देवर जेठाजूका छोराछोरी आउजाउ गर्छन्, कहिले यता खाना खाने, कहिले उता खाने, कहिले यो खाने, कहिले त्यो खाने, अनेक परिकार बनाउँदा बनाउँदा हैरान।
त्यो पनि फेरि सजिलै किन्न पाइने भए त हुन्थ्यो नि! चाहना अनुसारका परिकार बनाउँदा, घर सफा गर्दा, यो र त्यो गर्दा ज्यान लखतरान हुन्छ आफ्नो तर श्रीमानलाई दिन बिताउन सकस भइराछ। धन्न यति इन्टरनेट काटिएको छैन र दिन बिताउन पाएका छन् बा।
श्रीमती त्यति धेरै फेसबुक चलाउने रहिनछिन्, यसो फुर्सद भएको बेलामा साँझ मात्रै हो, श्रीमानका स्टाटस देख्दा घरीघरी त पारो तात्छ तै केही भन्न मन लाग्दैन।
चियाको कप समेत उठाउन नसक्नेले दिन कटाउन नसकेको भन्दै फेसबुकमा दुनियाँलाई रोइलो किन काड्नु? खै त हामी सबै लकडाउनमा जस्तै त हो नि दिन बिताउन पट्यार लागेको छैन। दिन बितिराकै छन्, कहिल्यै फुर्सद हुँदैन।
काम नभएर होइन कि मेरा श्रीमान जस्ता कथित पुरूष कर्मचारीहरूले काम गर्न नचाहेर दिन पट्यार लागेको हो।
प्रसग २. सामाजिक संजालमा चारदिनदेखि केही खान नपाएको, भन्दै एकजना सानो उमेरका बालक रोएको दृष्यले निकै मन चिमोट्यो। हातमा लाख पर्ने आइफोन, घाँटीमा असी हजार तोला पर्ने चानचुन तीनतोलाका पहेँलपुर सिक्री, औलैपिच्छेका सुनका औंठी त्यही पनि खान नपाएका, दैनिक ज्यालादारीका श्रम गर्दै आएका गरिबले पाउने सामान्य दाल चामल र एक पोका नुन तेलको राहतको लाइनमा उभिएका लखपति गरिब देखेर पनि निकै दया लाग्यो।
यति मात्रै होइन सामाजिक सजालमा निकै थरीथरीका परिकारका मिष्ठान्न भोजनहरूका तस्बिरहरू निकै देखिएका छन्। एकातिर नागरिक खान पाएका छैनन्, कसरी छाक टार्ने भन्ने समस्यामा छन्। अर्कातिर उही कित्ताका नागरिकहरू आजको परिकार यो, हिजोको यो भन्दै थरीथरीका परिकार पोष्ट गर्न भ्याउँछन्।
मानौं दसैं, तिहार जस्तै ठूलो चाडवाड आएको छ एकाथरीको लागि अर्काथरीको लागि भने भोकमरी भित्रिएको छ जसरी।
समाजमा खाने वर्गमात्रै छैनन् खान नपाउने वर्ग पनि छन्, आफूभन्दा तल्लो वर्गलाई होच्याउने गरी आफ्नो वाहवाह नकमाऔं। सक्छौं भने अरूलाई सहयोग गरौं विपतिमा सक्दो सेवा गरौं मानव भएको अर्थ बुझौं। सक्दैनौं भने अरूलाई गिज्याउने काम पनि नगरौं। हुने खानेको मात्रै होइन यो मुलुक हुँदा खानेहरूको पनि हो।
प्रसगं ३. लकडाउनको अवधिमा कतिवटा फिल्म हेर्ने ? कुनकुन हेर्ने ? कुन पुस्तक पढौं ? लौ न साथी हो यसो सुझाव दिन पर्ने भयो। घरमा बस्दा बस्दा बुढीले पनि दिक्क मान्न थालि क्यार ए बूढा कहिले अफिस बिदा हुन्छ भन्ने बुढीले एकाबिहानै अब कहिलेदेखि अफिस खुल्छ ए बूढा पो भन्न थाली।
चिनजानकै कर्मचारी महोदयले यो स्टाटस पोष्ट गर्नुभयो। उहाँलाई राम्रोसँग चिन्ने भएकोले केही भन्न लागेन। तर उहाँको स्टाटसमा आएका कमेन्टहरूहेर्दा लाग्थ्यो धेरै पुरूष कर्मचारीहरू कामै नपाएर, दिनै कटाउन नपाएर , अफिस जानै नपाएर, घरमा बुढीको कचकच सुन्दासुन्दा दिक्दारी भएका छन्। मेरो पनि त्यही हालत, उस्तै रहेछ यार.... यस्तै यस्तै कमेन्ट निकै ओइरिएका थिए।
काम नपाएर हैरान हुनुभएका पुरूष मित्रहरूलाई मेरो सुझाव छ, कृपया घरको काम महिलाको मात्रै हो भन्ने भ्रम हटाउनुहोस्।
घरको काममा महिलालाई पालो दिने हिम्मत गर्नुस्। महिलाको दिन कति चाँडै बित्छ हेर्नुस् त त्यसबाट केही कुरा सिक्नुस् त। धेरै पुरूषहरू महिलासँगै काममा सहभागी भएको देखिन्छ। त्यस्ता पुरूषबाट केही पाठ सिक्नुस्।
एकदिन एकछिन भए पनि भान्साको काम गर्नुस्, पटक पटक साबुन पानीले हात धुने मात्रै होइन हात धुँदा एक दुइटा लुगा धुनुस्, एक दुइटा भाँडा माज्नुस् हातलाई काम पनि हुन्छ, श्रीमतीलाई सहयोग पनि।
करेसाबारी छ भने यसो करेसाबारीमा जानुस, कम्तीमा आफ्नो दाह्री आफैं काट्नुस, छोराछोरीलाई समय दिने बेला यही हो उनीहरूसँग समय बिताउनुस् दिन त यसै बित्छ त।
कही जान नपाएपछि पट्यार सबैलाई लाग्छ, दिक्दार सबैलाई हुन्छ तर ज्यानभन्दा ठूलो कुरा अरू केही पनि होइन, हामी जहाँ जसरी भए पनि आफू सुरक्षित रहेर समाज र परिवार अनि सिंगो देशलाई सुरक्षित बनाउनु छ।
यो अभियानमा सबैको साथ जरूरी छ। काम नभएर होइन काम निकाल्न नसकेर दिन बिताउन सकस भएको हो। फेसबुकमा स्टाटस लेखेर दिक्दारी पोख्नुभन्दा घरका महिला पात्रलाई सघाउने काम गर्नुस् न दिन कति चाँडो बित्छ ...!
दिनभरि घरमा बस्ने आइमाइको के काम छ र ? श्रीमानले कमाइहाल्छन् त्यही खान पकाउने काम त हो नि भन्ने महोदयहरूलाई थाहा भयो होला नि घरमा बस्ने काम पनि सजिलो रहेनछ भन्ने कुरा।
पुरूषहरू काम नपाएर दिन कटाउन नपाएर हैरानी पोख्ने, महिलाहरू फुर्सद नपाएर दिक्क हुने अवस्था नआओस्।
जस्तोसुकै परिस्थिति होस् तर आफ्नो मनस्थिति ठीक हुनुपर्छ। दिन दिक्कार भएर होइन उपलब्धीमूलक भएर बिताउन सिक्नुस्, तपाईले लेखेका स्टाटसले आफ्नै श्रीमतीको हृदयमा चोट नपुगोस्।
घरको कामले लखतरान परेकी श्रीमती, आमा, दिदी बहिनीका सामुन्ने सुत्दा पनि दिक्क लाग्यो भन्ने स्टाटस लेख्दा त्यसको महत्व र प्रभाव पनि ख्याल गर्नुस्!