छोरी दुई वर्ष पुग्नै लागी। ऊ जन्मिँदा नयाँ सरकार भर्खरै बनेको थियो। यतिमै ऊ 'हिँड्न' थालिसकेकी छ।
दुई वर्षमा हिँड्ने हुन उसले धेरै चरण पार गरी। बस्न सिकी, बामे सरी, आमाको हात समातेर उभिई, मुश्किलले पाइला चाली। कहिल्यै हिँडेको अनुभव नहुने पनि यति समयमा हिँड्न सक्छ भनी प्रमाणित गरी देखाई।
हिँडाइसँगै उसका मनपर्ने कुराहरू पनि थपिए। त्यसको फेहरिस्त लामो छ। तर हरेकलाई केहीबेर मनपराएर बिर्सिन्छे। कुनै एक चिज वा मान्छेले उसलाई लामो समय बराल्न सक्दैन।
उसलाई धेरै कुराको लोभ छैन। भए पनि लामो समय टिक्दैन। ऊ लोभलाई पनि बिर्सिन्छे।
नबिर्सिनेहरू त्यही कुरामा लोभी हुन्छन्। उनीहरूलाई गुमाउन डर लाग्छ। नपर्ने कुरा र मान्छेको छायाबाट निस्किने त सोच्छन् तर निस्किन पाउँदैनन्। केहीसमयको संगतमा ती नबिर्सिने बानी बनिसक्छन्। उनीहरू आफूले चाहेकै चिजबाट सम्मोहित हुन्छन्। त्यसैमा बिलाउँछन्।
छोटो समय सम्झिनेलाई यस्तो मोहले समात्न भ्याउँदैन।
छोरीसँग शक्तिको लोभ छैन। न त कमाउने लोभ नै छ। उसले कसैका लागि केही गरिदिनुपर्दैन। ऊ 'ऊ' भइदिए मात्र पनि वरपर हुनेहरू खुसी भइहाल्छन्। उसलाई समयको सानो सानो हिस्सा आफूमा बटुलेर हुर्किनु छ। साना-साना अक्षर चालेर हिँड्नु छ। छोटा छोटा पाइला हिँडेर पढ्नु छ।
ऊ पाउनाघरलाई घर बनाउने लोभमा छैन।
उसलाई मोबाइलमा भिडिओ हेर्न मनपर्छ। तर त्यसलाई घरमै छोडेर भर्खरै मसँग गाई हेर्न निस्किएकी छ। चप्पल आफैं बोकेर ल्याएकी हो। घरबाहिर बाटोमा जानुभन्दा पहिला 'चप्पल' लगाउनुपर्छ भन्ने उसलाई थाहा छ।
+++
'क्वारेन्टिन'मा बस्नुपरेको यो समय चाँडो कटोस् भनेर सबैले प्रार्थना गरिरहेका छन्। तर उसका लागि यो अरू बेलाजस्तै साधारण समय हो। न यो समय चाँडै कटोस् भन्ने लागेको छ, न पछिसम्म रहोस् भन्ने नै। ऊ यही समयसँगै हुर्किरहेकी छ। उसका उमेरलाई यो समयको हिस्सा पनि चाहिएको छ।
उसलाई यो समयबाट कुनै 'लाभ' उठाउनुछैन।
चाँडो कटोस् भनेको समय ढिलो र ढिलो कटोस् भनेको समय चाँडो कट्छ भन्ने उसलाई थाहा छैन। नहोस् भनेको कुरा हुँदा समय कट्दैन भन्ने थाहा छैन। नसुन्नु परोस् भनेको कुरा सुन्नु पर्दा समय कट्दैन भन्ने पनि थाहा छैन। उसलाई यो समयको बारेमा धेरै कुरा थाहा छैन।
यो समय कटोस् भनेर प्रार्थना गरिरहेकाहरू समयसँग डराएरभन्दा पनि समयका लागि भएको 'तयारी' देखेर डराएका हुन् भन्ने पनि थाहा छैन।
उसलाई वर्तमानको जोखिम थाहा छैन। त्यो जोखिमको प्रभाव कति परसम्म पुग्छ भन्ने पनि थाहा छैन। त्यसैले उसले 'यति'बेला नआत्तिए पनि हुन्छ। ऊ यसलाई बेवास्ता गरेर ऊ भइरहे पनि हुन्छ।
तर दाजुभाउजूलाई त्यो छुट छैन। संकटका बेला 'अभिभावक' ले जे होला भनेर छोराछोरी छोड्दैनन्।
यी सबै कुरा उसले बुझ्दिन। तर नागरिकता र पासपोर्टमा भएको फोटोले बुझ्छन्। उनीहरूलाई यस्तै बेला आफ्नो अभिभावक चाहिन्छ। उनीहरू यस्तै बेला अभिभावकले के बोल्छन् र के गर्छन् पढ्न/सुन्न चाहन्छन्।
छोरीलाई पढ्न आउँदैन।
नत्र उसले यो बेला छापिएका समाचारका हेडलाइनलाई भविष्यतिर जाने डरलाग्दो मुख भएको 'सुरुङ' देख्ने थिई। त्यसको 'ट्र्याक' मा सुतिरहेका मान्छेको अनुहार देख्ने थिई। परबाट दौडिएर आइरहेको रेललाई रोक्न हात उठाउने थिई।
बाहिर निस्किनुपर्ने रेल मुखबाट भित्र गइरहेको देखेर झल्याँस्स बिउँझिने थिई। उसलाई पसिना आउने थियो।
आफूभित्रको पोखरीमा डुबेका अनुहारहरूले उसलाई तर्साउने थिए। र सबै थोक थाहा पाएर र बुझेर पनि चुपचाप बस्न बाध्य हुने थिई।
थाहा पाएर पनि थाहा नपाउनुपर्ने समयमा ऊ छैन। उसलाई यस कठिन समयको काँडाले घोचिहालेको छैन। ऊ त्यसरी हुर्किएको मलाई ठीक लागिरहेको छ। ऊ थाहा नपाएरै ढुक्कले हुर्किरहेकी छ।
हामी गाई भएको ठाउँमा पुगेका छौं। यति बेला ऊ भर्खरै जन्मिएको गाईको बाच्छोलाई हात दिएर बोलाइरहेकी छे। गाईको बाच्छो पनि आफ्नै खुट्टामा उभिएर उतिरै हेर्दैछ।
बाच्छो र ऊ उस्तै छन्।
+++
तर हावा उतिर पनि आइरहेको छ।
दाजुले भर्खरै ल्याएको सिलिन्डरमा आधा मात्र ग्यास भरिएको छ। महँगोमा किनेर ल्याएको तरकारी हुँदै कोरोना भाइरस कुनै पनि बेला उसलाई भेट्न आउन सक्छ। छिमेकी देशमा बलेको मैनबत्तीको उज्यालो भित्रिएझैं अन्धकार पनि भित्रिन बेर लाग्दैन।
ऊ वरपर हिँड्ने हरेक मान्छे उसका लागि खतरनाक छन्। तर ऊ त खतरा चिन्दिन।
उसलाई खतरा के हो थाहा छैन, त्यही भएर चिन्दिनँ। यहाँ त खतरा सँग लड्छु भन्नेहरू नै पनि आफ्नै आँखा नजिकै बसेका खतरा चिन्दैनन्। आफूभित्रै बसेको खतरा चिन्दैनन्। आफ्नै बोली कुनै दिन खतरा हुनसक्छ भन्ने पनि बुझ्दैनन्।
यति बेला ऊ बिरामी हुनु अपराध हो। उसलाई ज्वरो आउनु हुँदैन। देशमा भएका सबै निजी अस्पताल, जुनमध्ये एकमा ऊ जन्मिएकी हो र जहाँ उसले नियमित जाँच गराउने गरेकी थिई, ती सबै उसका लागि बन्द नै छन्। उजस्तै अरूका लागि पनि बन्द छन्।
एम्बुलेन्सको साइरन अस्पताल छिर्न डराइरहेको छ।
खुल्नुपर्ने बेलामा नखुलेका ढोका वास्तवमा ढोका हैनन्। तर त्यसरी बन्द भएका ढोकाल ढकढक्याउनुपर्ने देशका मूल हातहरू अचम्मैसँग चुपचाप छन्। यस्तो लाग्छ तिनलाई कसैले बेस्सरी बाँधेको छ। वा हुनसक्छ ती आफू नै आफूबाट बाँधिएका छन्।
उसँग त उपाय छैन। उपाय भएकाहरू उपायसँग किन डराएका?
+++
ऊ मान्छेलाई 'आऊ आऊ' भन्दै बोलाउँछे। गेटबाहिर भएपनि बोलाउँछे। झ्यालभित्र भए पनि बोलाउँछे। बाटोमा हुनेलाई पनि बोलाउँछे। छतमा हुनेलाई पनि बोलाउँछे। उसका लागि सबैतिर भएका मान्छे समान हुन्।
बोलाएका सबै मान्छे उसलाई भेट्न नआउन सक्छन् तर पनि बोलाउँछे। उसको बोली सुनेर ती हाँस्दै जान्छन्। ती हाँसेको उसलाई मनपर्छ। ऊ हाँसेको तिनलाई पनि मनपर्छ।
उसलाई सबै मान्छे आफन्त लाग्छन्। ती कहाँबाट आएका हुन् भन्ने कुरा उसलाई उत्ति वास्ता छैन। ऊ कसैको हैसियत हेरेर भेदभाव गर्दिन। ऊ मान्छे आएको 'बाटो' हेरेर भेदभाव गर्दिन।
उसलाई पानीसँग खेल्न मनपर्छ। पानी कसरी बन्छ थाहा छैन। पानी बगेर कहाँ जान्छ थाहा छैन। उसलाई पानीसँगको सामीप्य मनपर्छ।
पानीमा अक्सिजन र हाइड्रोजनको संयोजन छ। उसलाई त्यो कुरा थाहा छैन। थाहा हुनेहरू पनि हाइड्रोजनले थुनेका अक्सिजन सिलिन्डरहरूलाई चिन्दैनन्। ती हाइड्रोजनको सुरक्षाको लागि अक्सिजनलाई 'महाकाली' पारि नै थुनिरहेका छन्।
अक्सिजनको विस्फोट कस्तो हुनसक्छ तिनलाई थाहा छैन।
हाइड्रोजन र अक्सिजन हल्लिएर यस बेला पानी धमिलिएको छ। छोरीलाई धमिलो पानीमा माछा किन मारिन्छ थाहा छैन।
अरूलाई जस्तै उसलाई धेरै थोक थाहा छैन। विश्वास गर्न नसकिने आवाज 'विश्वास' गर भनेर किन कराइरहन्छ थाहा छैन। तयारी नगरेको मान्छे तयार छौं भन्न किन 'तयार' छ भन्ने थाहा छैन।
उसैको धागोमा उडेर आकाशमा पुगेको चंगा लट्टाइलाई किन कमजोर सोचिरहेछ थाहा छैन।
ऊ यस बेला पिपलको बोटमा बसेको चरा हेरिरहेकी छे। एकैछिनमा चरा उडेर अर्को रूखमा गएको छ। चराको प्वाँखले उसको 'बडी' लाई सजिलै उडाएको छ। चरा प्रकृतिको नियम मान्छ।
चरालाई मान्छेको नियम प्रकृतिको नियमभन्दा कति उल्टो चलिरहेको छ थाहा छैन।
छोरी र चरा पनि उस्तै छन्।
+++
ऊ आजको हामी र भोलिको ऊको बीचमा हाँस्दै उभिएकी छे।
आज हामीले गरेका हरेक कामको असर उसको मुस्कानमा पर्नेछ। यसलाई थाहा पाएर नभोगे पनि भोगेको थिएँ भन्ने भोलि थाहा पाउनेछे। आज प्रश्न गर्न कति गाह्रो थियो भन्ने थाहा पाउनेछे।
ऊ एकदमै उत्सुक छे। हरेक चिजलाई ओल्टा-पल्टाइ गर्छे। बिस्तारै प्रश्नहरू सोध्न थाल्नेछे। ती प्रश्नहरू अहिलेका छोटा-छोटा शब्दभन्दा बलिया हुँदै जानेछन्। तिनले भविष्यको कुनै मञ्चमा उभिएर यो वर्तमानलाई प्रश्न सोध्नेछन्।
त्यसको जवाफ हामीले कसरी दिन्छौं भन्ने कुरा आजले फरक पार्नेछ।
ऊ यस बेला घरको गेट खोलेरभित्र छिरेकी छे। गेटको आवाज अहिले शान्त छ। तर कतिन्जेल शान्त हुन्छ? गेटहरू कतिन्जेल बन्द भइरहन्छन्?
गेट लगाउनेहरू कतिन्जेल भित्र बसिरहन्छन्? यी गेटहरू कुन कुन गेटसम्म पुगिरहन्छन्?
के सधैंभरी यस्तै नै हुन्छ?
छोरीका बारेमा लेख्न थालेर छोरीका बारेमा नलेखी लेखिसकाएको छु। यही प्रश्न बारम्बार घुमिरहेको छ।
के अझै पनि यस्तै नै भइरहन्छ?