यतीबेला सारा मनुष्य जगत कोरोना भाइरसको त्रासले आक्रान्त छ। चिकित्सा विज्ञानको लागि पनि नितान्त नौलो र चुनौतीपूर्ण देखिएको यो महामारीले हजारौँ मानिसको ज्यान लिईसकेको छ भने लाखौं मानिसहरू प्रत्यक्ष रूपमा पीडित छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार उक्त 'कोरोना भाइरस' भाइरसहरुको एउटा समूह हो जसले सामान्य रुघा लाग्नेदेखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउन सक्छ। जनावरबाट मानिस अनि मानिसबाट मानिसमा यस्तो भाइरस सर्न सक्छ। यसले मानिसमा ज्वरो आउने, खोकी लाग्ने, सास फेर्दा कठिनाई हुने र निमोनियाको संक्रमण हुनसक्छ। कोरोनाभाइरसको भ्याक्सिन अहिलेसम्म बनेको छैन। तथापी सुरूआतकै चरणमा उपचार गर्नसकेमा निको हुने बताइएको छ।
जानकारहरूका अनुसार कोरोना भाइरसबाट उन्मुक्ति पाउन सबैभन्दा प्रभावकारी विधि भनेको मानिसहरू सेल्फ क्वारेन्टाइनमा बस्नु हो। फलस्वरूप सामाजिक भेटघाट, सभा सम्मेलन एवं अन्य यावत प्रकारका जमघटलाई खारेज गरेर व्यक्तिव्यक्ति बीचमा पनि कम्तीमा १.५ मिटर दूरी कायम राखी सकेसम्म घरमै बस्न संसारभरीका सरकारहरूले आफ्ना नागरिकलाई आव्हान गरेका छन्।
कोरोना भाइरसकै कारण यतीबेला विश्वका देशहरू एकापसमा सम्बन्ध बिच्छेदको अवस्थामा पुगेझैँ लाग्दछ। अत्यावश्यक उडान बाहेक सम्पूर्ण हवाई सेवा, जलमार्ग एवं सडक यातायतबाट आन्तरिक एवं बाह्य सम्पर्क करिबकरिब टुटाइएको छ। जसका कारण मानिसहरू आफ्नै निवासमा थुनिएको अवस्थामा छन्। मानव जगतकै अस्तित्वमा चुनौतीका रूपमा आएको यस महामारीबाट बच्न यस्तो गर्न आवश्यक भएको भनिएको छ। जसले मानिसहरूको सम्बन्ध र सम्पर्कको माध्यम भनेकै संचार माध्यम, सामाजिक संजाल र टेलिफोन मात्रै भएका छन।
कोरोनाको कहरले विश्वभर जति मानिसको स्वास्थमा प्रभाव पारेको छ, त्यति नै आर्थिक क्षति पनि भएको छ। स्वास्थ्यका समस्याले भौतिक असर देखाउँछ भने आर्थिक ह्रासले मानसिक असर देखाउने त स्वभाविक नै भयो। यसरी मानिसहरू बन्दी अवस्थामा कति लामो समयसम्म बस्नु पर्ने हो, कुनै यकिन छैन।
एकातिर महामारीको त्रासले बिक्षिप्त उनीहरू अर्कातिर गाँस, बाँस र कपासको जोहो गर्न परेको समस्याबाट आक्रान्त छन्। कोरोना भाइरस विरूद्ध जुद्दाजुद्दै भोकमरीले अर्को महासंकट निम्त्याउन सक्ने संभावना बढेर गएको छ। तत्कालका लागि भोकमरी लागि नसकेको भएपनि घरमै बन्दी हुनाका कारण मान्छेहरूमा खुसी छरिएको छैन, उनीहरू ज्यादा चिन्ता, अन्योलता र संभावित ठूलो संकटका कारण बढी नै निरास देखिन्छन्।
मान्छेहरूमा देखिएको यो निराशाले भोलि अर्को संकट निम्त्याउन सक्छ। त्यसैले यतीबेला उनीहरूले आफूलाई सम्हालेर सकेसम्म खुसी रहन सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ।
खुसी कसरी रहने ?
सामान्य अवस्थामा खुसी रहन मान्छेका अनेकौँ उपायहरू हुन सक्छन्, तर संकटको घडीमा पनि खुसी रहनु ज्यादा चुनौतीपूर्ण हुन्छ। तैपनि समय र परिस्थितिअनुसार मिल्ने पद्धती एवं जीवनशैली अपनाएर मानिसहरूले आफ्नो मुहारमा मुस्कान, हृदयमा प्रेम र मनमा खुसी उत्पन्न गर्न सक्छन्। जुन कुरा तत्काल संभव छैन, त्यही कुराको खोजीमा अल्झिएर खुसी प्राप्त हुन सक्दैन।
त्यसो त आध्यात्मिक चेतना र साधनाले मान्छेको जीवनमा खुसी ल्याउन सक्छ भन्ने कुरामा विश्वास गर्नेहरूको संख्या पनि कमी छैन। तर त्यस्तो चेतना हरेक मनुष्यको जीवनमा कसरी प्रवाहित गर्ने भन्ने सवाल पनि उत्तिकै असजिलो विषय हो।
भगवान बुद्धका अनुसार मान्छे खुसी हुन नसक्नुको कारण भनेकै आफूसँग भएको नदेख्ने र आफूसँग जे छैन त्यसको अधिक चाहना गर्ने स्वभाव हो। ऊ आफ्ना सारा खुसी बिर्सिएर केबल दुख र अभावले मात्रै आफूलाई घेरेको अनुभूती गर्छ। मान्छे आफ्ना सन्तुष्टिका पक्षहरू देख्दैन, सम्झदैन अनि केबल मृगतृष्णाका रूपमा रहेका चाहना उपर लोभलालच देखाउँछ।
मानिसहरूको यस्तो खालको असन्तुष्टिले कोरोना भाइरसजस्ता महामारीसँग जुध्न तागत पैदा गर्दैन, बरू यस्तो किसिमको नैराश्यताले सिर्जित कमजोर स्वास्थ्य र जीवन उपर झन शंकट पैदा हुनसक्छ। जानकारहरूका अनुसार कोरोना र अन्य हरेक प्रकारका रोगहरूसँग जुध्न शरीरमा रोग प्रतिरोधक शक्तिको विकास गर्नुपर्छ जुन हरदम खुसी एवं सन्तुष्ट हुने व्यक्तीले तुलनात्मक रूपमा सजिलै गर्न सक्दछ।
भनिन्छ, खुसी हुनका लागी शारीरिक व्यायम, योग-सधना, खानपिन तथा जीवनशैलीले पनि महत्वपूर्ण भूमिका खेल्दछ। चिकित्सा विज्ञानका अनुसार मानव शरीरमा रहेका ईण्डोर्फिन, डोपामाईन, सेरोटोनिन र अक्सीटोसिन नामक हर्मोनहरू क्रियाशिल भएको अवस्थामा मानिस खुसी हुने गर्दछ। किनकी यी हर्मोनले उसको मस्तिष्क र स्नायू प्रणालीलाई सकृय बनाउँछ।
कोरोना माहामरीको यो समयमा बाहिर हिँडडुल लगायतका शारीरिक क्रियाकलापहरू निस्कृय भएपनि घरभित्रै योगाभ्यास, व्यायम्, रमाइला कुराकानी, हाँसो ठट्टा आदिले मनलाई प्रफूल्ल तथा शरीरलाई क्रियाशिल राख्नुपर्छ ताकी यस्तो अभ्यासबाट ईण्डोर्फिन नामक हार्मोन सकृय हुन पुगोस्। यो हर्मोन सकृय हुनासाथ तनाव कम हुन पुग्नुका साथै मुटु र रक्तचापका बिरामीलाई समेत लाभ पुग्ने बताइन्छ।
यसका साथसाथै मानिसहरू भावनात्मक एवं मनोवैज्ञानिक रूपमा खुसी रहन डोपामाईन सकृय हुनुपर्छ। एकापसमा प्रशंसा गर्ने, सकारात्मक सोचका साथ जीवन बिताउने, आफूले आफैँलाई चिन्ने अर्थात विपश्यना ध्यान गर्ने एवं आफ्ना गल्ती कमजोरीहरूलाई आत्मसाथ गर्ने बानी बसाल्ने, हल्का व्यायम गर्ने लगायतका क्रियाकलापले डोपामाईन हर्मोन सिर्जना गर्न सकिने चिकित्सकहरूको राय छ।
सकरात्मक तथा रचनात्मक सोचले उत्पादन गर्ने सेरोटोनिन एवं अक्सीटोसिन हर्मोनलाई त विज्ञहरू खुसी बाँड्ने रसायन समेत भन्ने गर्छन। यदी यस्ता हर्मोनहरू शरीरमा यथेष्ठ भयो भने मान्छेहरू हरदम खुसी रहन मद्दत पुग्छ। त्यसो त खुसीको मापन कुनैपनि परिभाषाले गर्न सक्दैन। बरू आफूलाई कस्तो कर्म एवं क्रियाकलापले निरन्तर खुसी दिनसक्छ भन्ने कुरामा भने चनाखो रहनु पर्छ।
ओशोले जीवन र मृत्युको अन्तराललाई खुसी भनेका छन् भने दलाई लामाले मान्छेको कर्मबाट प्राप्त हुने फललाई खुसी भनेर परिभाषित गरेका छन्। चाहे जेहोस्, मान्छेले आन्तरिक एवं बाह्य संकटबाट मुक्ति पाउनको लागि खुसीलाई प्रमुख साधनको रूपमा प्रयोग गर्ने गरेका छन्। जब मानिस खुसी हुन्छ, उसमा हर प्रकारका समस्यासँग जुध्ने प्रतिरोधक शक्ति पैदा हुन्छ, अर्थात् ऊ शक्तिशाली बन्छ।
स्मरणिय छ, कोरोना भाइरसजस्ता संकटलाई मान्छेको इच्छाशक्ती र प्रतिरोध क्षमताले परास्त गर्नसक्ने स्वयं विज्ञहरू बताईरहेकै छन्। त्यसैले समग्रमा खुसी एउटा जीवन जिउने कला रहेछ। हाम्रो जीवनका कर्म र सम्बन्धलाई कसरी खुसीमा परिणत गर्ने भन्ने सम्बन्धित मान्छेको कलामा निर्भर गर्न हुँदो रहेछ। मर्यादित, अनुशासित व्यवाहार, मीठो बोली, सजगता, शुद्ध आहार एवं सकरात्मक सोचले खुसी प्राप्त गर्न सकिन्छ।
प्रकृतीसँग जन्मेको मानिसलाई प्रकृतीसँग तादम्यता मिलाउन सकियो भने प्राकृतिक संकटको घडीमा पनि खुसी प्राप्त हुन सक्ने रहेछ। मूलतः यस्ता विषम् परिस्थितिमा हामीसँग जे छ, त्यसमा खुसी बन्न सक्नुपर्छ। असल मित्र, सुन्दर परिवार, स्वास्थ्य शरीर, भण्डारमा खाने कुरा, सुरक्षित बासस्थान, प्रेम बाँड्ना सक्ने हृदय खुसी निर्माणका आधारशिला हुन्।
चाहिनेभन्दा बढी चिन्ता लिनु वा अधिक महत्वाकांक्षा पाल्नु खुसी निर्माणका बाधक तत्त्व हुन्। त्यसैले कुण्ठा र दमनबाट हृदयलाई मुक्त गरिदिने हो भने घर होस् वा झुपडी खुसी अपरम्पार छ।
समय र परिस्थितिअनुसार खुसी विभिन्न तहमा प्राप्त हुन सक्दछ। कोही परोपकारमा खुसी होलान् त कोही धन सम्पत्ती आर्जन गर्दा, कोही दुई छाक मिठो मसिनो खान र एक सरो वस्त्र लगाउन पाएमात्रै खुसी होलान् त अरू कोहीलाई भ्रमण गर्दा खुसी मिल्ला। तर मानिसले भुल्न नहुने कुरा के हो भने उसको सबैभन्दा ठूलो खुसी भनेको उसैको पूर्णस्वास्थ्य एवं सुन्दर शरीर हो।
हिजोआज प्रविधिको अधिक प्रयोग एवं भौतिक सम्पन्नताले हाम्रो खुसीलाई अधिक खुम्च्याईदिएको छ। सारा कुरा बिर्सिएर पनि एकछिन सामाजिक संजालमा भुल्न पाएनौँ भने हामी बेचैन हुन पुग्दछौं। प्रविधिको सकरात्मक उपयोग पनि खुसी निर्माणको आधार स्तम्भ हुनसक्छ।
मान्छेहरूमा भौतिक सम्पन्नता एवं प्रविधिको प्रायोगले जीवनलाई सजिलो र सुविधा सम्पन्न त बनाएको होला तर आत्मियता भने हराउँदै गएको छ। परिवारमा सँगै रहेपनि सदस्यहरू फुर्सद हुनासाथ विभिन्न सामाजिक संजालमा व्यस्त हुन पुग्छन्। एकले अर्काको कुरा सुन्ने फुर्सद नै हुँदैन। त्यसैले हिजो र आजको खुसीको रूप फेरिएको छ।
हिन्दूहरूको धर्मग्रन्थ गीतामा भनिएको छ- वास्तविक खुसी त्यो हो जो हरदम आफैसँग रहन्छ र आफ्नो खुसीलाई अर्काको खुसीसँग तुलना गर्दैन। त्यसैले हाम्रो दैनिकीमा बिहानदेखि बेलुकासम्म गरिने हरेक क्रियाकलाप उपर स्वयं ध्यान दिने हो भने आफूलाई अरूसँग तुलना गर्ने फुर्सद पनि हुँदैन र प्रकान्तरणले त्यो बानी हराएर जान्छ।
आफैंसँग खुसी रहने, सकरात्मक सोचाईमा व्यस्त राख्ने, करूणादायी स्वभाव राख्ने, तनाव र कलहलाई बेवास्ता गर्दै योग तथा ध्यान गर्ने बानीले खुसीलाई प्रस्फुटन गराउँछ। त्यसैले हामीले बाहिर खोज्ने खुसी र हामी आफैँभित्र विद्यमान खुसीबीच स्पष्ट हुन जरूरी छ। हामीभित्रको विशाल सम्पदाको पहिचान हुनुपर्छ। हो, त्यहाँ नै लुकेको हुन्छ खुसी।
बाहिरी संसारमा देखिएका खुसीले हाम्रो अभाव पूर्ती गर्न सक्दैन। त्यसैले खुसी घरभित्रै, आफैँभित्र समग्रतामा खोजिनु पर्छ जुन जीवन जिउँने एउटा महत्वपूर्ण कला बन्न सकोस्। कोरोना कहरको यो संकटमा घरमै खुसी हुने मान्छेको रहर पुरा होस्, यही शुभकामना छ।