भनिन्छ नि, हजुरबुवा हजुरआमा हुन्जेल बालककै र बाबाआमा हुन्जेल आफू युवा नै महशुस हुन्छ रे हरेक व्यक्तिलाई।
चाहे उसको उमेर जतिसुकै होस्। सायद त्यसैले होला आजकाल बालक जस्तै मन रोमान्चित हुन्छ नजिकै आउँदै गरेको हजुरबुवा हजुरआमाको चौरासी पूजा सम्झेर। सोच्छु! हामीमध्ये कतिले चौरासी पूजा लगाउन पाउँला?
अल्छी तिघ्रो, स्वादे जिब्रो,अस्वस्थ कर खानपिन, तनावग्रस्त जीवनशैली, शारीरिक श्रमको अभाव, त्यसैमाथि दिनप्रति दिन बढ्दै गएको सडक दुर्घटना।
ज्यान स्विट्जरल्याण्ड भएर के गर्नू! ध्यान जति मदरल्याण्ड (नेपाल) मै।विशेष गरेर नेपालमा बढ्दै गरेको सवारी दुर्घटनामा।
कञ्चनपुरमा पर्सीपल्ट बेहुली बन्न लागेकी रमिताको टिपरले किचेर निधन भयो। लाखौं सपना किचिए।
कालिकोटका केशर सिंहले सुर्खेतमा टिपरको ठक्करले ज्यान गुमाए। लगत्तै उनकी प्रेमिकाले आत्महत्या गरिन्। उनीहरूको प्रेमलिलाले मुहुर्तरूप लिन नपाउँदै इहलिला समाप्त भयो।
नायिका महिमा सिलवालको दिदीबहिनीकै स्कुटर दुर्घटनामा निधन भयो। चलचित्र क्षेत्रले एउटा उदयीमान नायिका गुमायो।
नेता सिपी मैनाली चढेको गाडी दुर्घटनाग्रस्त भयो। सपरिवारले नै गम्भीर चोट बेहोर्न पर्यो।
यी त प्रतिनिधि घटनामात्रै हुन्। विश्व स्वास्थ्य संगठनबाट प्रकाशित विवरण अनुसार विश्वमा:
- हरेक २४ सेकेन्डमा १ जना व्यक्तिको सडक दुर्घटनाबाट निधन भएको हुन्छ।
- सडक दुर्घटना मानिसको मृत्युको प्रमुख आठौं कारण हो।
- ५ देखि २९ वर्षका मानिसहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटना हो।
- सडक दुर्घटनामा हुने मृत्युमध्ये ५४ प्रतिशत पैदलयात्रु, साइकलयात्रु र मोटरसाइकल यात्रु पर्दछन्।
- कम आय हुने देशमा विश्वको १ प्रतिशत मात्र सवारीसाधन भए पनि सवारी दुर्घटनाबाट मृत्यु हुनेको हिस्सा १३ प्रतिशत छ।
सुर्खेतको रत्नराजमार्गको इत्राम खोलादेखि रेडियो नेपालसम्मको खण्डमा (करिब ५ किलोमिटर) मात्रै यो दुई महिनामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई पाङ्ग्रेमा सवार ५ भन्दा बढी व्यक्तिले ज्यान गुमाए। दर्जन बढी घाइते भए।
हाल नेपालमा हुने गरेका दुर्घटनाको सूचीमात्रै लेख्दा पनि फेहरिस्त लामै होला।
किन बढ्दै छन् सवारी दुर्घटना? सहजै उत्तर आउला।
- बाटो साँघुरो हुनु
- बाटोको गुणस्तर राम्रो नहुनु
- जेब्राक्रसबाट बाटो नकाट्नु
- ट्राफिक प्रहरीले अनुगमन नगर्नु
यी कारण त सहायक कारण मात्रै हुन्। मुख्यकारण चालकको संयमता, होश र ज्ञान नै हो।
रत्न राजमार्गको यही खण्डमा खेलेर हामी हुर्कंदै गर्दा यो बाटो अहिलेको जस्तो फराकिलो थिएन। बाटोमा यति धेरै धुलो उड्थ्यो कि गाडी चालकले पैदल यात्रुलाई र पैदलयात्रुले गाडी चालकलाई देख्न पनि मुश्किल पर्थ्यो।
अहिलको जस्तो बीचमा आइलेन बनाइएको चार लेनको फराकिलो पिच बाटो त हाम्रो कल्पनामा पनि थिएन।
रत्न राजमार्ग नाम मात्रको राजमार्ग थियो। एकसरो धुले गार्बेल गरिएको। यो राजमार्ग साइल, मोटरसाइकल, गाडी, राँगाले तान्ने गाडा, घोडाले तान्ने टांगा र पैदलयात्रु एकमेसै हिँड्ने राजमार्ग मात्र थिएन, हामी चिचिलाहरूको खेल्ने ठाउँको छेउछाउ पनि थियो।
डण्डीबियो खेल्दा सुइय.. बियो उडेर सडक पारि जान्थ्यो। दौडेर सडक पारिबाट बियो लिएर आउथ्यौं। पिट्टु खेल्दा मोजाको भकुण्डो सडकको बीचमा जान्थ्यो। गाडी रोकिन्थ्यो, हामीले भकुण्डो लिएर आउथ्यौं। पछि पछि हामी हुर्किंदै गर्दा ब्याटमिन्टनको कर्क, भलिबल पनि कति टिपेर ल्यायौं,ल्यायौं सडक बीचबाट।
हाम्रा लागि ट्राफिक प्रहरी र जेब्रा क्रस त किताबमा पढ्ने विषयमात्र थिए तर पनि त्यति दुर्घटना हुँदैन थिए जति धेरै अहिले हुन्छन्। गाडीहरू आफ्ना गोठमा पालेका चौपाया जस्तै लाग्थ्यो। सुधा छन् हान्दैनन्। अहिले आएर सोच्दा लाग्छ कति होसियार र संयमित चालकहरू।
हाम्रो हुर्काइ सँगसँगै रत्न राजमार्गको क्रमिक विकास हुँदै गयो। अनि ती दिन हाम्रा जीवनमा दोहरिँदै गए। जुन दिनहरूमा ड्याडी हतार हतार खुट्टामा बिजोड चप्पल घुसाएर के भो के भो भन्दै राजमार्गतिर दौडिने, पछि पछि ममी राम राम भन्दै दुई पाइला अगाडि एक पाइला पछाडि गर्दै हिँड्ने। सबभन्दा पछाडि हामी तीन बैनी गुटुटुटु.... घरबाट निस्कँदा सबैभन्दा पछाडि घटनास्थल पुग्दा सबैभन्दा अगाडि।
मोटरसाइकलले साइकललाई ठक्कर दिएछ। मोटरसाइकल र मोटरसाइकल ठोक्किएछन्। गाडीले मोटरसाइकललाई हानेछ। गाडीले पैदलयात्रुलाई यसो हानेछ मात्र। धन्नले.......
आज यो लेख लेखिरहँदा हाम्रो पालाको 'धन्नले' भन्ने शब्द सजिलै र 'हानेछ' भन्ने शब्द मारेछमा रुपान्तिरत भैसके।
सडक दुर्घटनामा मान्छे मर्ने विषय पनि सामान्य भैसकेको छ। मार्यो भन्ने शब्द पनि बैना मार्यो, बाजी मार्योभन्दा पनि सस्तो भएको छ। धुले राजमार्ग गार्बेल, पिच, हुँदै आइलेनसहितको चार लेनको पिच बाटो भएपछि सवारी चालकहरूको जोश बढेको छ तर होश घटेको छ।
बाटोको विकास भएको छ तर चेतनाको र ज्ञानको अभाव देखिएको छ। ट्राफिक नियम आफ्नो लागि भन्दा पनि ट्राफिक प्रहरीको लागि हो भन्ने सोचिएको छ। पदैलयात्रु हौं या चालक वा अरु,ट्राफिक नियम उल्लङ्घन गर्न सक्यौं भने आफूलाई महान सम्झने प्रवृत्ति बढेको छ।
यही फागुन १८ गते हाम्रो घर अगाडि मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमा नै मृत्यु र एक जनाको गम्भीर अवस्था भन्ने समाचार पढ्दा सारै दु:ख लाग्यो।
गत वर्ष यही ठाँउमा प्रवेशपत्र छुटेर परीक्षा हलबाट घरमा प्रवेशपत्र लिन जाँदा मोटरसाइकलको गति अनियन्त्रित भएकोले एक जना परीक्षार्थीले ज्यान गुमाएका थिए। यिनी मेरा छिमेकी दाजुभाइहरूले मादक पदार्थ सेवन गरेर सवारी नचलाएको भए, एउटा मोटरसाइकलमा ३ जना नबसेको भए, मोटरसाइकलको गति अनियन्त्रित नभएको भए न त हजुरबुवा/हजुरआमा भन्दा पहिले नातिहरूले यो संसार छोड्नु पर्थ्यो न त जिन्दगी भरिनै अपांग भएर बाँच्नु पर्थ्यो।
हतार र हतास मनस्थितिमा सवारी चलाउनु, मापसे गरेर सवारी चलाउनु, ट्राफिक नियमको पालना नगर्नु, जोशमा होश गुमाउनु, चालकहरू अनुशासित नहुनु आदि कारणहरूले गर्दा कैयन् मानिसहरूले अकालमा ज्यान गुमाएका छन्। कैयनले अपांग भएर बाँच्नु परेको छ।
चालकले नै सवारीको सही निर्देश एवम् सम्पूर्ण यात्रुको जिम्मा लिने भएकाले नै चालकलाई गुरुजी भनेर सम्मानित शब्द प्रयोग गरिएको होला।
यदि चालकले सावधानीपूर्वक सवारीसाधन चलाउँछन् भने सवारी साधनलाई दुर्घटना हुनबाट त जोगाउँछन् नै दुर्घटित सवारी साधनबाट पनि यात्रु एवम् आफूलाई सकुशल बचाउन सक्छन्।
उदाहरणका लागि कुनै कारणवस् कुनै सवारीको ब्रेक फेल भयो र सवारी साधन दुर्घटना भयो। त्यस्तो अवस्थामा चालकले सावधानीपूर्वक कुनै रुख, खम्बा वा भिरतिर लगेर आफू एवम् यात्रीको ज्यान सकुशल जोगाउन सक्छन्। हरेक चालक होसियार हुँदा अन्य सवारी पनि दुर्घटना हुनबाट बचाउन सहयोग हुन्छ र सडक दुर्घटना न्यूनीकरण हुन्छ।
चालकले होशियारी एवम् संयमतापूर्वक सवारीसाधन चलाउने वातावरण तयार गर्नका निम्ति सवारी साधनमा यात्रा गरिरहेका यात्रु, पैदलयात्रु, ट्राफिक प्रहरी सबैले आ-आफ्नो कर्तव्य पालना गर्नु पर्दछ।
सवारी साधनमा यात्रा गरिरहेका यात्रुले चालकको ध्यान बिथोलिने गरेर होहल्ला गर्ने, चालकलाई गति छिटो गराउन अनावश्यक दवाब दिने, पैदलयात्रुले जथाभावी बाटो काट्ने गर्नु हुँदैन।
ट्राफिक प्रहरीले ट्राफिक नियम, सवारी साधन, सडकको अवस्था लगायत दुर्घटना गराउने सम्भावित अन्य पक्षलाई समेत नियमित अनुगमन गरी सुधार गर्न सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गरी अघि बढ्नु पर्दछ।
सुर्खेतलगायत देशैभरि दिनप्रति दिन बढ्दै गएका यस्ता सडक दुर्घटना न्यूनीकरण गर्न चालक,ट्राफिक प्रहरी, यात्रु, नागरिक समाज, सरकार सबै समयमै जागरूक हुन सकेमा मात्र आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सकिएला। अन्यथा यस्ता दुर्घटना दोहरिनै रहने छन्।
हाम्रो हातखुट्टाको महत्व हातखुट्टा गुमेपछि मात्र थाहा हुने अवस्था नआओस्। अनाहकमा अकालमै कसैले ज्यान गुमाउनुपर्ने अवस्था नआओस्। जीवनसाथी एक्लो, लालाबाला टुहुरा र आमाबाबाको काख रित्तो नहोस्। हामीले हाम्रो जिन्दगीलाई यति सस्तो नबनाऔं।
यो अमूल्य जीवन सुन्दर छ। एक रात बाँचे नौ लाख तारा देखिन्छ!