प्रसंग १: बाटो काट्नका लागि जेब्रा क्रसको साइडमा उभिएँ। हरियो/ रातो बत्ती बल्ने खम्बा कता छ?
दायाँ बायाँ हेर्दै थिएँ कम व्यस्त बाटो भएकोले होला त्यहाँ खम्बा देखिनँ,सायद थिएन कि!
म अलमल गर्दै गर्दा ४/५ वटा गाडी अलि वरै रोकिएर चालकहरूले मलाई बाटो क्रस गर्न हातले इसारा गर्दै थिए। पैदल यात्रुलाई यति सम्मानित व्यवहार गरेको देख्दा खुसी लाग्यो।
प्रसंग २: मर्निङ वाकमा पार्कमा निस्किएँ। त्यहाँ अरु मानिसहरू पनि आएका थिए। तीमध्ये केही मानिसहरूले एउटा हातले कुकुर डोर्याउँदै अर्को हातमा झोला बोकेका थिए। कुकुरले दिसा गर्ने बित्तिकै सानो औजारले दिसा टिपेर झोलामा राखे र दिसा गरेको भुइँमा खै के स्प्रे छरे। 'यो हो नि तरिका' मेरो मुखबाट अनायासै निस्कियो।
प्रसंग ३: डिपार्टमेन्टल स्टोरमा किनमेल सकेपछि पैसा तिर्ने लाइनमा उभिएँ। लाइन अलि लामो थियो। ८० वर्ष उमेर पुगेकी जस्ती वृद्धा देखेपछि मैले उहाँलाई मेरो ठाउँ छाडेर सबभन्दा अन्तिममा गएँ। ती वृद्धा पछाडि नै आएर तिमी अगाडि आएकी हौ तिमी नै अगाडि जाऊ मलाई पछाडि नै ठीक छ, मलाई हतार छैन भनिन्। म दंग परें।
हाल स्विट्जरल्याण्ड बसाइँका क्रममा यहाँको जनजीवनसँग घुलमिल हुँदै गर्दा देखेका यी प्रसंग त प्रतिनिधि उदाहरण मात्र हुन्।
हाल म एकातर्फ यहाँको जनजीवन बुझ्दै छु भने अर्कोतर्फ नेपालको हालखबरसँग अपडेट हुनु त छँदैछ।
नेपालमा मर्निङ वाकको बहानामा कुकुरलाई बाटोमा लगेर आफ्नो टाउको बायाँतर्फ मोडेर दायाँतर्फ कुकुरलाई दिसा गराउने संस्कार, गाडी चालकले पैदल यात्रुलाई मान्छे नै नगनेर जेब्रा क्रसबाट बाटो काट्दै गरेको यात्रु देख्दा देख्दै गाडी हुइँकाएर अगाडि बढाउने संस्कार, अर्काको पालो मिचेर आफू अगाडि जान सक्यो भने ठूलै सफलता हासिल गरे झैं मख्ख पर्ने संस्कार देख्दै भोग्दै आएको मलाई यहाँको संस्कारबाट यति धेरै मन छोयो कि धेरै वर्षको अन्तरालपछि लेख लेख्ने मेरो जाँगरलाई पुनजागृत नगरी धरै पाइनँ।
वास्तवमा विकास चिल्ला गाडी, सफा बाटा, ठूला घर एवं सुविधासम्पन्न जीवनशैलीमात्र नभएर असल संस्कारको विकास पनि हो।
आम नागरिकको रूपमा गर्व गरेर बाँच्न सक्ने हैसियतको निर्माण पनि हो।
विकसित देशका प्रधानमन्त्रीहरू समेत साइकलमा यात्रा गरेको तथा सार्वजनिक सवारी साधनमा यात्रा गरेको हामीले नसुनेको र नपढेको होइनौं। तर हामीले नेपालमा यी व्यवहार र विषयहरू लागू गर्दा हामी सानो हुन्छौं भन्ने संस्कारमा हुर्किएका छौं।
हामी चौतारीमा दुई चारवटा भाषण गर्दैमा, स्टेजमा दुई चारवटा गीत गाउँदैमा आफूलाई यति ठूला सम्झन्छौं चाहे सार्वजनिक स्थलमा होस् या एयरपोर्टमा हामी विशेष सम्मान एवं चाकडीको अपेक्षा राख्छौं।
पञ्चायत कालमा राजा रानीलाई एयरपोर्टमा सुरक्षा जाँच गरिँदैन थियो। उनीहरूलाई कानुनभन्दा माथि राखिन्थ्यो। चाकडी प्रथा व्याप्त थियो। पञ्चायतबाट हालसम्म आइपुग्दा राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र आदि धेरै तन्त्रहरू परिवर्तन गरिसक्यौं। तर तन्त्र अगाडिको उपसर्ग बाहेक अरु फेर्न सकेनछौं।
हामी सामान्य नागरिकता तथा पासपोर्ट बनाउने कार्यदेखि अन्य कार्य गर्दा समेत प्रणाली र पद्दती के छ भन्दा पनि चिनेको मानिस को छ भन्नेतर्फ लाग्छौं।
यो हाम्रो चाकडीतन्त्रको संस्कारको प्रतिविम्ब होइन र?
विदेशको एयरपोर्टमा जति हतार भए पनि घडी, मोबाइल, ज्याकेट, बेल्ट सबै फुकालेर जाँच गर्न दिने तर नेपालमा नियम बमोजिम सामान्य सुरक्षा चेक जाँच गराउन पनि हतारको बहाना गर्नुपर्ने! किन हामी नागरिकको कर्तव्य निर्वाहको संस्कार पूरा गर्न नसक्ने?
हामी सर्वप्रथम देशको नागरिक हौं, त्यसपछि मात्र अर्को परिचय होला।
आफूलाई ठूलो प्रमाणित गर्न अरुलाई होच्याउने हाम्रो संस्कारलाई जाति, लिंग, काम विशेषलाई होच्याएर बनाइएका उखान टुक्का एवं शब्दहरूले मलजल गरेकै छन्।
यसलाई परिवर्तन गर्न हामीले किन नसक्ने? किन हामी आफूलाई बडप्पनको संस्कारबाट माथि उठाउन नसक्ने? यो संसारमा कोइ पनि ठूलो एवं सानो हुँदैन।
सबैका आ-आफ्ना क्षमता र भूमिका हुन्छन्।
सबैलाई सम्मान गरेर बाच्ने र बोल्ने संस्कार हामीकहाँ कहिले आउने? तुच्छ बोली व्यवहारको घटना देशव्यापी भैरहँदा लाग्छ हाम्रो बडप्पनको संस्कार नै हाम्रो समग्र विकासको बाधक हो।
स्विट्जरल्यण्डमा प्रधानमन्त्री बन्न त्यतिधेरै रस्साकस्सी हुँदैन जति नेपालमा वडाध्यक्ष बन्न हुन्छ। वडाध्यक्ष बन्नको उद्धेश्य सेवा भाव भन्दा पनि आफूलाई ठूलो बनाउने एवं घरमा पालेको कुकुरलाई अध्यक्षको कुकुर भनाउने रहर एवं संस्कारले बढी जरो गाढेको छ। राजनीतिक नेतृत्वले नेपाललाई स्विट्जरल्याण्ड बनाउने कुरा मैले बाल्यकालदेखि नै सुन्दै आएको हो तर आजसम्म आइपुग्दा अलिकति पनि बामे सर्न सकेको छैन विशेषगरी संस्कारमा।
ठूला पूर्वाधार विकास गर्न नसक्नुमा त विविध कुरालाई दोष दिउँला तर सामान्य बोली व्यवहार लगायतका असल संस्कारको विकास गर्न नसक्नुमा हामी नै दोषी हो।
अन्तमा विभिन्न काम एवं भ्रमणको शिलशिलामा विभिन्न मुलुकको भ्रमण गरेर नेपाल फर्किने सबैलाई यो अनुरोध गर्दछु कि विदेशको विकासलाई सुटकेसमा प्याक गरेर लैजान नसके पनि असल संस्कारलाई मस्तिष्कमा सेट गरेर लगौं र व्यवहारमा लागू गरौं। नेपाललाई सभ्य एवं असल संस्कार सहितको विकसित राष्ट्र बनाउन हातमालो गरौं।