संघीय राजधानी काठमाडौंमा हर्न बजाउन पाइँदैन। तर कान फुट्ने गरी आएको हर्नको आवाजले म चकित छु।
सरकारले जे बोल्छ त्यो गर्छ भनेको कुरा मेरा कानमा हर्नभन्दा चर्को गुञ्जिरहेको छ। बोलेका कुरा पूरा नभए पनि सरकार बोल्न भने छाडेको छैन।
आश्वासनका पोका बाँड्न नेताहरूलाई कसले सक्छ र? यस्ता नियम बने, लागू भएनन्।
समृद्ध नेपाल, सुखी नेपाली देखि भ्रष्टाचारका शुन्यसहनशिलता हुँदै ‘बेटी पढाऊ बेटी बचाऊ’सम्म नारा राम्रा छन्।
तर नागरिकले अपेक्षा गरेअनुसार काम पो भएको छैन। सरकार बोलिरहन्छ उकुसमुकुस हुनेगरी सुनिरहेर जनता ताली ठोकिरहन्छन्। आश्वासन र झुठमा विश्वास गर्ने जनता यही देशमा रहेछन्!
यस्तो भनौं न- अरू देशमा नेताले जनतासँग चामलसँग पीठो साँट्दा हुन्, हाम्रामा नेताले पीठोसँग चामल साटिरहेकै छन्।
हेर्नुस् न मौसम फेरिएझैं आश्वासन आउँछ। नयाँ नियमहरू बनाइन्छन्। कहिले मोटरसाइकलमा बस्ने दुबै जनाले हेलमेट लगाउने भन्छन् कहिले इम्बोस्ट नम्बर काम छैन फेर्नुपर्छ भन्छन्। चर्चामा आउँदै सेलाउँदै गरेका छन् यस्ता नियमका कुरा।
अँ साँच्चै, कुरैकुरामा भुलेछु। आज म तपाईंहरूलाई सिन्डिकेट तोडिएको काठमाडौंको यात्राअनुभव सुनाउँछु।
यहाँ गाडी चालकको मात्रै दोष छैन। आकासेपुल छन् तर बटुवा सडकबाटै बाटो काटिरहेछन्। म कलन्की जाँदै थिएँ- निकैबेर भइसक्यो गठ्ठाघरको पुलमुनि उभिएको। बस कतिबेर आउने हो? एउटा बस छुटेपछि अर्को आउन झण्डै आधा घण्टा कुरेँ होला।
मानिसहरू बसमा यात्रा गर्दा प्राय: मास्क र चस्मा लगाउन छुटाउँदैनन्। मैले पनि बोकेको छु नि! मास्क र झिल्के चस्मा। के गर्ने विरामी भए सरकारले हेर्दैन, त्यसैले काठमाडौंको धुलोबाट जोगिन मास्क र चस्मा चाहिन्छ नै।
बल्ल बस आयो- आउनुस् कोटेश्वर, वालकुमारी, सातदोबाटो धोवीघाट, बल्खु र कलंकी भन्दै। यात्रु भने खचाखच भरिइसकेका रहेछन्।
खचाखच छ त? मेरो कुरा भुइँमा खस्न नपाउँदै सहचालकले भने, ‘एकैछिनमा खाली भइहाल्छ चढ्नुस् दाइ बस।’
एकछिनपछि त उल्टै अल्ली पर सर्नुस् ब्रो पो भन्न थाल्यो। मान्छे भेट्यो कि बसमा चढाइरहने, पैसा नै त रहेछ आखिर . . .।
यात्रु खचाखच भएपछि पो सम्झिए झोलाको ल्यापटप त फुट्यो होला। मनमा चिसो पस्यो। झन् बसभित्रको डण्डीमा फ्याट्ट ल्यापटप ठोक्कियो। फुट्यो कि? हेरौं भने हेर्न मिल्ने छैन। खचाखच यात्रु छन्।
एउटा दाइ झरे। यस्तो भिड थाम्न सक्दिनँ भन्दै थिए। उनी झरेपछि केही खुकुलो भयो। म गुरूजीछेउ उभिएँ।
तैपनि मेरा दु:ख हराएनन्। एकजना दिदीले करप्पै हुने गरी खुट्टा कुल्चिदिइन्। आत्थु! कालो पोलिस गरेर टल्काएको जुत्ता धुलाम्मे पारिदिइन् नि!
यसो झ्यालबाट बाहिर चिहाएँ। पोलपोलमा राष्ट्रपतिज्यूको फोटो झुण्डिएका रहेछन्। केही पोलमा प्रधानमन्त्रीज्यूका पनि फोटा छन्। लेखिएको छ- समृद्ध नेपाल सुखी नेपाली।
अनि बसभित्र हेरेँ, खचाखच यात्रु छन् कसरी हुन्छ सुखी नेपाली? मनमनै प्रश्न गरेँ। मजस्तै जनता कति आशावादी छन् सरकारसँग। सरकारले जनमुखी काम गर्ला भन्ने पर्खाइ छ।
सरकारले चुनावी घोषणापत्रमा उल्लेख गरेका नाराहरू के पूरा भए? एकपटक सत्तारूढ नेकपा र प्रधानमन्त्रीज्यूले गम्भीर भएर सोच्नुपर्ने हो। तर उहाँलाई फुर्सद मिल्छ/मिल्दैन!
अहिलेकै पाराले देश चल्दैन। सिन्डिकेट तोडियो भने पनि मजस्ता यात्रुले दु:ख पाइरहेका छौं। आरामदायी ढंगले यात्रा गर्न पाएको छैन। ढोकामै उभिनुपर्ने हो भने त के काम सिन्डिकेट तोडिए पनि नतोडिए पनि!
बसमा आमाहरू पनि छन्। काखमा बच्चा बोकेका। मलाई त एक्लो ज्यान थाम्न गाह्रो परिरहेको छ उनीहरूलाई? म सोच्न पनि सक्दिनँ कति दु:ख भइरहेको होला भनेर।
जामपछि जाममा बसेर वाक्क भएका गुरूजी केही खाली सडक देखे भने बस हुइक्क हुक्याउथे अनि झ्याप्प ब्रेक लगाइदिन्थे। बसभित्रका यात्रु हुत्तिएर एकअर्काबीच टाउको ठोकिन्थ्यो।
बसभित्र कस्तो भीड हुन्छ भने नि, साग किनेर झोलामा राख्नुभयो भने झर्नेबेला गुन्द्रुक भइसक्छ। हुलमुलमा कतिपयले आफ्ना सामान हराउँदा रहेछन्। खाल्डाखुल्डीमा बसका पाङ्ग्रा पर्दा उस्तै दु:ख हुन्छ।
म धेरैपछि बस चढेको थिएँ। सोचेको थिएँ सिन्डिकेट हटेको चर्को नारापछि सार्वजनिक यातायात सुध्रियो होला। तर होइन उस्तै रहेछ।
प्रधानमन्त्रीज्यूले मन्त्रीका काम हेर्न नम्बर पनि दिने गरेको सुनेको हुँ। कसैको ९० प्रतिशतसम्म कार्यप्रगति भएको छ रे। अनि यातायात हेर्ने विभागीय मन्त्रीजीले सिन्डिकेट खारेजीलाई कार्यान्वयनमा जोड दिनुपर्ने होइन? सडक विभागले सडकका खाल्डा टाल्नुपर्ने होइन? जनतालाई आँखामा छारो हाल्नेमात्रै काम गर्ने हो भने चुनावमा त्यसको फल जनताले दिनेछन्!
अर्को पाटो पनि छ। ट्राफिक नियम पालना नगर्नेलाई ट्राफिक प्रहरीले किन कडा कारबाही गर्दैन? कारबाही गर्नेको संख्या सार्वजनिक हरेक दिन गरिन्छ तर सवारी चालक उस्तै छन्। क्षमताभन्दा बढी यात्रु बोकिरहेछन्। तैपनि ट्राफिक प्रहरी चुप! अचम्म।
कारबाही गरिएकै छ भन्नुहोला। मेरा कुरा नपत्पाए साँझपख चोकमा उभिएर सार्वजनिक बस चिहाउने हिम्मत गर्नुस् सत्य के हो आफ्नै आँखाअघि देखिन्छ। अन्त देख्नुभएन भने कोटेश्वर-भक्तपुर सडकमा आउनु है, निम्तो नै भयो।