विभिन्न किम्वदंतीहरुमा ‘योग’ शुत्रको रचयिता भगवान शिवलाई मान्ने गरेको पाइन्छ। हाल संसारभरि लोकप्रिय भएको ‘योग’ को अर्थ जोड्नु हो। ‘योग’ क्रियाले मानिसको आत्मालाई परमात्मासँग जोड्छ।
यो विधिलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ भई रोगरहित जीवनयापन गर्नु हो भन्ने बुझिन्छ। समग्रमा शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ।
योगको उद्गमस्थल नेपाली भूमि नै भएको हाम्रा ऋषिमुनिहरुले प्रमाणित गरिसकेका छन्। आदिकाल खण्डमा योगको विस्तार भयो, मध्यकाल खण्डमा हरायो र अहिले तेस्रोकाल खण्डमा आएर योग प्राकृतिक चिकित्सा शास्त्रसँग जोडिन पुगेको हामी पाउँछौँ।
विकराल देखिने शारीरिक रोग एवं. मानसिक समस्याको निरोध योग व्यायामको नियमित अभ्यासबाटै हुन सक्ने वैज्ञानिकरुपमै स्थापित भैसकेको छ। त्यसैलै आज योग संसारभरि प्रचलित छ।
रोगी भई छिटो मृत्युमा पुग्ने मुख्य कारण नै व्यायाम नगर्नुलाई आज प्रमुख मानिएको छ। शारीरिक र मानसिक रोग बढ्नुको मुख्य कारण नै व्यायामको अभावले हो भन्ने तथ्य विश्व स्वास्थ्य संगठनले समेत स्वीकार गरिसकेको छ। त्यसैले स्वस्थ जीवन जिउनको लागि दैनिक कम्तीमा आधा घण्टा र बढीमा डेढ घण्टा नियमित व्यायाम गर्नुपर्छ।
‘योग’ व्यायाममा श्वास प्रश्वासको उचित अभ्यासले शरीरलाई फूर्तिलो र जाँगरिलो बनाउँछ भने मानसिक रुपमा स्वस्थ र आत्मविश्वासयुक्त बनाउँछ। त्यस्तैगरी उच्च रक्तचाप हुनबाट जोगाउँछ र नियन्त्रण गर्दछ। मानिसको मनोवल बढाउँछ, स्मरण शक्ति बढाउँछ। मन र मस्तिष्क शान्त बनाउँछ।
तनाव कम हुनुका साथै माइग्रेन, अनिद्रा, माशंपेशीमा राहत मिल्छ। ‘सेरोटोननी’ हर्माेनको अधिक उत्पादन गर्दछ, उर्जा स्तरमा वृद्धि ल्याउँछ। ध्यानको कुनै धर्म हुँदैन, सबै विचारधारा मान्नेहरुले यसको अभ्यास गर्न सकिन्छ।
ध्यानले आफूभित्रको सत्यतापूर्ण व्यक्तित्वमा परिवर्तन ल्याउँछ। आफ्नो बारेमा जति जानिन्छ त्यति प्राकृतिक रुपमा स्वयंको ज्यादा गहिराई खोजतलास गरिन्छ कि– म को हुँ।
श्रीमद्भागवत गीतामा वर्णित ध्यान, गौतम बुद्धद्वारा प्रवर्दित ध्यान र ओशोद्वारा प्रतिपादित ध्यानलाई ध्यानको ऐतिहासिक विकासक्रम मानिन्छ।
‘अर्धचेत’का वाधालाई हटाई आफ्नो लक्ष्य समेत अवचेतनामा विजारोपण गर्ने ध्यानको प्रकृयाले मानिसलाई सफलताको समेत प्रत्याभूति दिन्छ।
यस यन्त्रको प्रयोगले जीवनमा आईपर्ने सम्पूर्ण वाधा व्यवधानलाई हाँसी हाँसी पन्छाई अगाडि बढ्ने शक्ति हासिल हुन्छ। जीवनको दिव्य आध्यात्मिक विकासको लागि योगलाई बुझिन्छ।
सामान्य भाषामा भन्नुपर्दा योग, प्रणायाम अनि ध्यानबाट जीवन स्वस्थ भई सकारात्मक उर्जा यापन गर्दछौँ। यी तीन साधना हामीले दैनिक जीवनयापनमा रुटिङ बनाई समावेश गरियो भने हामीमा सन्तुलन, पुनर्जीवन एवं दिव्य जागरण प्राप्त भई अन्ततः पूर्णताको प्राप्तितर्फ अग्रसर हुन्छौँ। योग साधनाले शरीर निरोगी बनाउने मात्र होइन, विचारको सुद्धीकरण पनि गर्दछ।
हाम्रो जीवनको महत्वपूर्ण अमृत नै हामीसँग छ, त्यो हो मन। यो मनलाई जस्तो बनायो जीवन त्यस्तै हुन्छ। सकारात्मक मोडमा ल्याए हामी खुसी हुन्छौँ भने नकारात्मकतिर लागे हामी दुःखी हुन्छौँ। त्यसैले जीवनको महत्व बुझौँ। जीवनको महत्व र सारतत्वलाई बुझी जीवन अगडि बढाउने प्रयास गरौँ। जीवनलाई योग, प्रणायाम र ध्यानमा केन्द्रित गरौँ जसले भोलिका दिनहरु सहज बनुन्।
योगले मोटोपन घटाउँछ, पेटको अलावा शरीरको अन्य भागका अतिरिक्त बोसो घटाई शरीरमा सुन्दरता अनि निखारता ल्याउँछ। शरीरको अलग अलग भागको बोसो घटाउन अलग अलग आसन गर्न सकिन्छ। पूर्णतः स्वासप्रश्वास अनि धैर्यताका साथ योग अपनाउनु जरुरी छ।
शारीरिक स्वास्थ्यको साथै योगले हाम्रो छाला र कपालमा पनि सुन्दरता ल्याउनमा महत्वपूर्ण योगदान दिन्छ। योग, प्रणायामहरुले भयावह दिर्घकालीन रोगहरु पनि निर्मूल भएकोे समचार पाउछाैँ, जुन सत्य र प्रमाणसहित सावित भएका छन्।
तसर्थ, सफल जीवन जिउनको लागि शरीरको सकारात्मक उर्जा एवं मानसिक शक्तिको लागि हामीले नियमित योग गर्नु जरुरी छ। जुन योगमा शारीरिक व्यायाम, प्रणायाम र ध्यान समावेश गरिएको छ यी क्रियाकलापहरुलाई हाम्रो जीवनमा नसाको रुपमा प्रयोगमा ल्याइयो भने आफू, आफ्नो परिवार, समाज अनि राष्ट्रलाई नै स्वस्थ बनाउन सकिन्छ।
हामी स्वस्थ रह्यौँ भने राष्ट्र नै उन्नतिको शिखरमा लम्कने छ। योगले चेतनायुक्त भएर बाच्न सिकाउनुको साथै खानपान र रहनसहनमा पनि अनुशासन कायम राख्दछ। तसर्थ, हामीले योगलाई नारामा मात्रै सीमित राखेर होइन, व्यवहारमा लागू गरेर जीवन सुसंस्कृत बनाउनुपर्दछ।
योग सम्वन्धी कार्यक्रमहरु हरेक घरआँगनमा पुर्याउन अति जरुरी छ। पत्रपत्रिका, पाठ्यक्रम, रेडियो टेलिभिजन लगायत सामाजिक सञ्जालबाट पनि योगसम्वन्धी सन्दर्भ सामग्रीहरु, प्रेरक प्रसङ्गहरू, योगले जीवन बद्लेका मानिसहरुको जीवन कहानीहरुलाई हरेक व्यक्तिमाझ फैलाउन काम गर्नुपर्दछ। विकृत र भ्रष्ट मानसिकता, जीवनदेखि विरक्त लागेर मृत्यु अँगाल्न खोज्नेहरु साथै असाध्यै रोगी व्यक्ति पनि योगमा लागेमा उसको जीवन बदलिन सक्छ।
यिनै सन्देशहरु हरेक व्यक्तिको मानसपटलमा पुर्याउन सकियो भने योग शिक्षाको अनुशरण हुन थाल्नेछ। एवं हरेक वर्ष मनाइने योग दिवस सार्थक ठहरिने देखिन्छ।