योमरि पूर्णिमाको साँझ भक्तपुर दरबार क्षेत्र झकिझकाउ थियो। सन्ध्याकालीन सम्पदा यात्राको औपचारिक तयारी हुँदै थियो।
म एक महिनाअघि पनि पूर्णिमाकै साँझ भक्तपुर पुगेको थिएँ। प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष पूर्णिमालाई नेपालभाषी समुदायले 'सकिमना पूर्णिमा' मान्छन्। त्यस दिन साँझ भक्तपुर नगर क्षेत्रका टोलटोलमा एक किसिमको प्रतिस्पर्धा नै चलेको थियो। भुटेका गेडागुडी र मिठाइ एवं रोटीका परिकारबाट कलाकारिता प्रदर्शन गर्ने अनौठो प्रतिस्पर्धा।
हिन्दु धर्मावलम्बीहरूले मान्ने प्रमुख एकादशीमध्ये हरिबोधनी एकादशीको पाँच दिनपछिको पूर्णिमा नेपालभाषीहरूका लागि अतिमहत्वपूर्ण छ। यस पूर्णिमालाई नेपालभाषी समुदाय सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) भन्छन्।
हाम्रो यात्रा रोचक भइरहेको थियो, पथप्रर्दशक रिता सुवालले सुनाउँदै गरेका कथाहरूले।
त्यस दिन राति नेपालभाषी समुदायको देवगुठी, दाफाभजनले आ–आफ्नो टोलमा रहेका देवदेवीको मन्दिरअगाडि भजनकीर्तन गर्छन्। त्यस क्रममा भुटेका गेडागुडी तथा मिठाइ र रोटीबाट उक्त देवदेवीको पूर्ण कदको मूर्ति वा प्रतीक चिह्न बनाउनु यस पर्वको प्रमुख विशेषता हो।
भुटेका गेडागुडीमा यस दिन विशेषतः मकै, कालो भटमास, गहुँ, केराउ, चना, बकुला र मिठाइ तथा रोटीमा माल्पुवा र स्वारी प्रयोग गरेर स्थानीय कलाकारले आफ्नो कलाकारिता प्रदर्शन गर्छन्।
भक्तपुर सहर मेराे लागि नियमित सम्पदा यात्राकाे सहर हाे। तर, साँझकाे नाैलाे कथाले यात्रामा बेग्लै मजा थपेकाे छ।
एक महिनापछिको योमरी पूर्णिमाको सम्पदा यात्रा थप विशेष थियो। दुवै यात्रा सकेपछि मलाई कोटेश्वर घर फर्कन भने अलि हम्मेहम्मे परेको थियो। बस पाउन हिँडेर सूर्यविनायक आउनुपर्यो। निकै समयपछि मात्र बस पाइयो।
ट्रली बस चल्ने बेला भक्तपुरबाट राति ११ बजे पनि आरामले फर्किएको मलाई सम्झना छ। म धेरैपटक साथी को घरमा भोज खाएर राति बस चढेरै कोटेश्वर फर्किएको छु। आजभोलि भने अलि गाह्रो छ।
घर फर्किने सार्वजनिक यातायातको राम्रो व्यवस्था हुने हो भने उपत्यकाका सम्पदा क्षेत्र साँझ परेपछि बेग्लै रमाइलो हुन्छ। म पाटन दरबार क्षेत्र प्राय: साँझ साइकलमा जान्छु। निकै भिडभाड भएकाे बेला मलाई मेरा साथी सगुनले दरबार क्षेत्रबाट गाेल्डेन टेम्पलपछाडिकाे गल्ली हुँदै पाटन ढाेका निकाल्छन्। पुराना र कलात्मक निजी घरहरूकाे बैग्लै कथा छ यहाँ। यी गल्लीहरू दिनमा त हराइएलाजस्ता छन्, झन् साँझ त एक्लै पत्ता लगाउनै गाह्रो पर्छ।
साँझकाे सम्पदा यात्राकाे मजा लिन वसन्तपुर, स्वयम्भु, पशुपति, बाैद्ध सँगसँगै जनकपुरजस्ता सम्पदा सहररू घुम्नैपर्छ।
नेपालमा रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्न हाम्रा सम्पदा सहरहरू उपयुक्त देखिन्छन्। नेपाल भ्रमणमा आउने पर्यटकलाई अहिले पनि विशेष चाडपर्वका उत्सवहरूमा सम्पदा सहरहरूले आकर्षण गरिरहेका छन्। पशुपति र जनकपुरमा हुने आरती, इन्द्रजात्रा, कात्तिक नाच यसका केही उदाहरण हुन्।
अन्य सामान्य समयमा पनि साँझ सम्पदा सहरहरूमा हुने दैनिक जनजीवनले पर्यटकलाई आकर्षण गर्न सक्छ।
पर्यटन वर्ष २०२० को मौका पारेर सन्धाकालीन सम्पदा यात्राको सुरूआत गर्न खोजिँदै छ। यसका लागि पर्यटन व्यवसायी र स्थानीयबीच सहकार्य जरुरी छ। साँझसम्म स्थानीय व्यवसाय खुल्ने वातावरण बनाउनुपर्छ। यात्राका बाटोहरू पैदल यात्रामैत्री बनाउनुपर्छ। बाटो र सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था गर्ने र सुरक्षाको जिम्मेवारी स्थानिय नगरपालिकाहरूले लिन सक्नुपर्छ।
साँझ पर्यटकहरूलाई आकर्षण गर्न सके स्थानीय परिकारको स्वाद चाखाउन पाइन्छ। स्थानीय उत्पादनको बिक्री वितरणमा समेत टेवा पुग्नेछ। स्थानीय रोजगारी र अर्थतन्त्रमा योगदान हुन्छ।
सम्पदा क्षेत्रबाट अबेर साँझ पनि घर र होटल फर्कन सक्ने गरी सार्वजनिक सवारी तथा साइकलको व्यवस्था गर्न सके मजस्ता आन्तरिक पर्यटकहरूले पनि साँझको सम्पदा यात्राको मजा लिन पाउने थिए।