केही दिनअघि त्रिविको समाचार देखेर केही लेख्न मन लाग्यो। सिन्धुपाल्चोकको विकट गाउँबाट २०५७ सालमा भक्तपुरको बोडे माविमा कक्षा ६ मा भर्ना भएँ। २०६१ सालमा राम्रै प्रतिशतमा एसएलसी पनि पास गरें।
विद्यालयमामा एक मिहिनेती र जेहेन्दार छात्रमै गनिन्थे। त्यसपछि २०६४ सालमा प्लस टु र २०६७ सालमा आदर्श क्याम्पसबाट स्नातक उत्तिर्ण गरें।
पढाइमा अब्बल नै थिएँ। त्यसैले कुनै ब्याक नलागी लगातार पढाइ अघि बढ्दै गयो। स्नातकोत्तरको लागि शंकरदेव क्याम्पसमा भर्ना भएँ।
पढाइ चलिनै रहेको थियो। पढाइको साथसाथै काम पनि गर्थें। काठमाडौंमा टिक्नको लागि कामको पनि खाँचो थियो। पढाइ त प्राथमिकता भइनै हाल्यो। परीक्षा नजिकिन थालेपछि भने अफिसमा एक महिना बिदा लिएर तयारी गर्न थालें।
मिहिनेत गरेर तयारी गरेकोले मैले आफ्नो तर्फबाट परीक्षा राम्रै दिएको थिएँ। तर जब नतिजा निस्कियो म छाँगाबाट खसेजस्तै भएँ।
त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित नतिजामा मेरो नाम रद्द नामावलीमा आएको थियो। जाडो चिसो नभनी जसरी नि उच्च शिक्षा हासिल गर्नुपर्छ भनेर लागेको म त्यो नतिजाले विक्षिप्त बनें।
आजसम्म जिन्दगीमा दिएको कुनै पनि परीक्षामा मैले चिट चोर्ने र कुनै अमार्यदित काम गरेको छैन। मैले गरेको मिहिनेतको फल र समय खर्चेको नतिजा शून्य आयो। केही दिन के गरुँ के गरुँ भएँ। विश्वास नै लागिरहेको थिएन।
नतिजा आएको केही महिनामै मौका परीक्षा आइसकेको थियो र साथैमा दोस्रो वर्षको परीक्षाको तयारी पनि गर्नुपर्ने थियो। नसोचेको नतिजा आएपछि समाधानको लागि भौतारिएँ। कलेजमा बुझ्दा परीक्षा दिएको केन्द्रमा बुझ भने। त्यहाँ बुझ्दा यहाँ केही हुन्न सबै टियूमा बुझ्नुस् भने! त्यहाँ जाँदा यहाँ केही छैन नतिजा रद्दमा छ अमर्यादित काम गरौ होला भनेर नमीठो जवाफ पाएँ। कति धाए कहाँ कहाँ धाए तर केही भएन।
दिक्क भएर म आउने परीक्षा नदिने मनस्थितिमा पुगें। तपाईंहरूलाई टियूको प्रशासनिक काम र कर्मचारीको व्यवहार कस्तो छ भनेर बुझाउनु पर्दैन होला। म कुददा कुददा थाकिसकेको थिएँ।
जागिरे मान्छे,व्यस्त दैनिकी। बिदा मिलाउन मुश्किल पर्ने अनि परीक्षा पनि दुवै वर्षको दिनुपर्ने!
साथीभाइ र परिवारको हौसलाले परीक्षा दिने मनस्थितिमा त पुगें,तर पहिलाकोजस्तो तयारीबिनै। बिनातयारी बाबजुद २ वर्षको परीक्षामा जम्मा २ विषयमात्रै अनुत्तिर्ण भएँ। पछि ती दुई विषय पनि उत्तिर्ण गरेँ। केही वर्षअघि नै सकिने परीक्षाको मौका परीक्षा दिनु पर्दा र नतिजा आउँदा मेरो २/३ वर्ष अतिरिक्त लागि सकेको थियो। एउटा गलत नतिजाले मैले धेरै मौकाहरू घुमाएँ। बिनागल्ती दु:ख भोक्नु पर्यो।
जब यत्रो मिहिनेत र दु:ख गरेर स्नातकोत्तर उत्तिर्ण गरें।केही महिना अघि घुस दिएर गोल्डमेडल पाएको समाचार नि पढें। अनि केही दिन अघि कापी साटफेर गरेर राम्रो दिएको समाचार पनि। अनि लाज लाग्यो देशको जेठो विश्वविलालयको यस्तो हालत देखेर, शिक्षित जनशक्ति उत्पादन गर्ने शिक्षालाय र त्यहाँको प्रशासनिक व्यथिति देखेर।
जे जे गर्नुस् गर्नुस्, कृपया आफ्नै मिहिनेत र दु:खले विश्वास गरेर समय र पैसा खर्च गरेका विद्यार्थीहरूको मिहिनेतलाई लात नहान्नुस्।
मलाई जस्तो दु:ख कसैले नदिनुस्। कि त प्रमाण दिनुस् रद्द लिस्ट आउनुको कारण। सबै त भन्दिनँ तर बिना गल्ती यस्तो कसैलाई नगर्नुस्।
स्नातकोत्तर सकिएपछि करिब ३ वर्षदेखि युएईमा काम गरिरहेको छु। मेरो पढाइ र मेरो पेशासँग कुनै सम्बन्ध छैन। मैले कहिल्यै नपढेको क्षेत्रमा काम गरिरहेको छु। कहिलेकाहीँ मैले स्नातकोत्तर गर्न लगाएको मिहिनेत, समय र खर्च देखेर आफैंलाई पछुतो लाग्छ।
ती १/२ वर्ष बिनागल्ती टियूले बर्बाद नगरिदिएको भए मेरो अर्को कुनै सपना पूरा गर्ने समय पाउँथें। सायद म अहिले विदेशमा हुन्न थिएँ होला।
मजस्ता कति साथीभाइको पनि यस्तै कथा होलान् सम्झिन्छु अनि चित्त बुझाउँछु।