आर्काइभबाट
आजभन्दा १५ वर्ष अगाडि २०६० सालको घटस्थापनाको बिहान हामी दुई इन्स्पेक्टर (हाल एसपी पोषराज पोखरेल) को परिवार (श्रीमतीसहित) प्रहरीको गाडीमा गाईघाटस्थित चुरियामाई दर्शनमा जाँदै थियौं। गाडी मैले ड्राइभ गरेको थिएँ। उदयपुर-सप्तरीको सीमा नजिक जंगल छेउ प्रहरीको एक टुकडी सुरक्षा जाँचमा तैनाथ थियो। मैले गाडी रोकेँ। टुकडीको कमान्डर (असई) मेरै स्कुले साथी (क्लासमेट) पूर्ण गिरी ‘जय नेपाल सर’ भन्दै मेरो साइडमा उभियो। उसलाई देखेर म खुसी भएँ।
श्रीमतीलाई चिनाएँ-‘ऊ मेरो स्कुलको क्लासमेट पुर्णे (हामी स्कुलमा त्यही नामले बोलाउँथ्यौ)’,अचम्म ऊ स्वभाव बिपरित उत्साहहिन अनि निराश देखिन्थ्यो। मैले सोधे- ‘के छ पूर्णे? तिमीलाई ठीक त छ?’, उसले बेपर्वाह जवाफ दियो, ‘यस्तै हो’ लाग्यो- उसलाई केही समस्या परेको छ, अर्थात ऊ निराश छ, तब मैले राम्ररी सुरक्षा जाँच गर्नु भनि माथि जंगलतिर गाडी अगाडी बढाएँ। करिब ७ किलोमिटर चुरेको त्यो जंगल सुरक्षाको दृष्टिकोणले संबेदनशील थियो। चुनौती थियो तर दशैंको बेला बेलायतबाट आएकी श्रीमतीलाई मन्दिर दर्शन गराउने अनि गस्ती पनि हुने सोँचेर हामी त्यता लागेका थियौं।
चुरेमाई मन्दिरको दर्शन गरेर हामी सदरमुकाम गाईघाट फर्कियौं। फर्किँदा फर्किदै देखेँ-पूर्णे गिरीको कमान्डको प्रहरी टोली सुरक्षा जाँचमा व्यस्त थियो।
दशैंको शुरुवातको दिन घटस्थापनाको छुट्टी थियो, बिहानको खाना खाएपछि हामी सपरिवार तल गाईघाट बजारको हलमा नाटक हेर्न झर्यौं। समसामयिक द्वन्द्वमा नै आधारित सो नाटकमा जिल्ला सुरक्षा अधिकारीहरु सिडिओ, डिएसपी,नेपाली सेनाका क्याप्टेन, राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर, अनि नेपाल प्रहरीका हामी इन्स्पेक्टरहरु अतिथिको रुपमा माथि मन्चमा थियौं। हाम्रो परिवार तल अरू दर्शकसँगै फ्लोरमा बसेर नाटकको आनन्द लिइरहेका थिए।
नाटक ‘क्लाइमेक्स’ मा थियो, पर ढोका छेउबाट नगर प्रहरीको इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) ले मलाई इशारा गरिरहेको देखेँ, मैले बुझिनँ, मेरो बडीगार्ड दौडेर आयो अनि कानमा खुसुक्क केही कुरा भने- म एकछिन अक्क न बक्क भएँ, सिडिओ, डिएसपी, क्याप्टेन अनि सबै दर्शकको ध्यान सबै मतिर थियो। म जुरुक्क उठेँ, डिएसपी सा’बलाई रिपोर्ट गरेँ- ‘उदयपुर सिमेन्ट कारखाना, देउरी जलजलेको अघि बिहानको त्यही पूर्णे गिरीको कमान्डको प्रहरीको सुरक्षा जाँच टोलीमाथि नै माओवादीको आक्रमण भएकोले दोहोरो भिडन्त भइरहेको छ।’
त्यो समाचारले दर्शकमा भागदौड नमच्चियोस् भनेर मैले स्वाभाविक ब्यवहार देखाउँदै हलबाट बाहिर निस्किएँ, यति कि त्यही अगाडि भएको श्रीमतीलाई पनि केही थाहा दिइनँ।
अनि गाडी चढ्दै सेटमा सुबेदार मेजरलाई आदेश दिए- एक्सन टोली तयार गर्नू म आउँदैछु। २-३ मिनेटभित्रै अफिस पुगेँ, टोली लगभग तयार रहेछ। मैले युनिफर्म लगाउनेतिर लागेर समय खेर फाल्न चाहिनँ नाटकको कार्यक्रममा जस्तो लुगामा गएको थिएँ, त्यही लुगामा राइफल समातेर गाडीको अगाडिको सिटमा बसेर साइरन बजाउदै जतिसक्दो भिडन्तस्थलमा पुग्न चाहेँ।
मेरो साथी पुर्णे गिरिसँगको बिहानको सम्बाद सम्झिदै अनि हाम्रो प्रहरी जवान केटाहरुको अनुहार सम्झिदै त्यहाँ पुगेँ। भिडन्तस्थलमा ४-५ जना प्रहरी साथीहरु ढलिरहेको, एक जना प्रहरी जवान रामचन्द्र राइले बीरगति पाइसकेको देखेँ। सँगै एउटी तराईबासी सामान्य महिला (बसकी यात्रु पनि माओवादीको गोलीबाट) ढलिरहेको देखेँ।
निहत्था ट्राफिक जवान रमेश पोखरेल कराउँदै थियो-‘शिवजी सर, म मरे म मरेँ। उसलाई हतार हतार प्रहरीको गाडीमा नै चढाएँ। ऊ रगतले लतपत भएको, चिच्याउँदैछ- ‘सर, यो के गरेको?’ एम्बुलेन्स कुर्नुभन्दा आफ्नै गाडीमा पठाउन खोजेँ।
अनि कमान्डर पूर्ण गिरीलाई देखिनँ, मलाई देखेपछि अरु जवानहरू एक एक गरेर आडबाट पोजिशन लिदै बाहिर निस्किदै आए। केटाहरुले भने असइ सा’बलाई छातीमा गोली हानेर पेस्तोल खोसेर उहाँलाई लखेट्दै तलतिर लगेको छ।
हेर्छु-जताततै रगत, लतपथिएको छ, म गोलीको आवाज आएको तिर लागे, पूर्ण त्यही तल घारीमा ऐया ऐया गर्दै घोप्टो परेर लडिराखेको रहेछ। मलाई देखेर आशापूर्ण नजरले हेर्यो अनि भन्यो, ‘म मर्छु होला सर’, मन थाम्न सकिनँ। ‘तिमीलाई केही हुँदैन पूर्ण’, भन्दै उसलाई आफैंले बोकेर ल्याएँ।
त्यतिखेरसम्म एम्बुलेन्स पनि आइपुगिसकेछ। त्यसमा चढाएर जिल्ला अस्पतालमा पठाएँ। साथीको रगत देखेँ। उसको अवस्था देखेँ। अब मलाई युद्वको भुत चढ्यो। म त्यही ३-३ राइफल कक् गरेर माओबादी भिडन्त गर्दै भागेको जंगलतिर लागेँ। देख्छु माओवादी भागिरहेछ। मैले उनीहरुलाई ताक्दै फायर गर्दै अगाडि बढेँ। साथमा मेरो बडीगार्ड छ, अरु साथीहरु अलिक पछाडि छुट्दै गए। पछाडिबाट आवाज आइरहेछ, ‘सर, धेरै अगाडि नजानुस्, धेरै अगाडि नजानुस्’ जोश र पीडामा मलाई यी कुराहरुले केही फरक पारिरहेको थिएन। म कुनै पर्वाह नगरी माओवादीलाई पिछा गर्दै थिएँ। निकै तल जंगलमा पुगेपछि ठूलो स्वरमा एउटा सुपरिचित आवाज सुनेँ।-इन्स्पेक्टर सा’ब, अगाडि नजानुस्, अब अगाडि नजानुस्, फ्रेन्डली फायर हुनसक्छ। तपाईँ सिभिल ड्रेसमा हुनुहुन्छ’, तब झसंग झस्किएर आफूलाई हेरेँ। म त अघि त्यही प्रोग्रामकै ड्रेसमा छु।
त्यो फ्रेन्डली फायरको सतर्कता दिलाउने आवाज थियो- नेपाली सेनाका क्याप्टेनको। मैले मेरो लुगा तलदेखि माथिसम्म हेरेँ काँध र छातिमा रगतै-रगत अनि ट्राउजर (पाइन्ट) भरि सालको चोप। म होशमा आएँ- तर मन त मानिरहेको थिएन। तब सेनाको टोली र हाम्रो टोलीले कर्डन एण्ड सर्च गर्न थाल्यो। सिडिओ सा’ब अनि डिएसपी सा’ब पनि आफैं फिल्डमा आइपुग्नु भो।
घाइते टोलीको उपचारको ब्यवस्था र बीरगति प्राप्त गरेको प्र.ज. रामचन्द्र राई र सिभिल महिलाको लाश ब्यबस्थापनतिर लाग्यौं।
एकछिनमा हेलिकप्टर आइपुग्यो, पूर्ण गिरी र रमेश पोखरेललाई बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान पठाइयो। ती साथीहरु बोल्दै बोल्दै हेलिकप्टरमा गए।
ती सिभिल महिलाको आफन्तलाई बोलाउने कार्य भयो, लाश बुझाउने प्रक्रिया शुरु भो। सबैभन्दा चुनौतिपूर्ण कार्य त्यतिखेर भो, बीरगति प्राप्त प्र.ज.रामचन्द्र राई की श्रीमती (जो त्यही गाईघाटमा डेरामा बस्थिन्), उनलाई श्रीमानको अबस्था थाहा दिन जानुपर्ने भो।
यो अत्यन्त कठिन कार्यको जिम्मेवारी म माथि नै आइपर्यो। ‘बिहान उठेर ड्युटी गएका तपाईँका श्रीमान् माओवादीबाट मारिए’, भन्नु जस्तो कठिन ड्यूटी अरु के हुनसक्छ? बरु हिजो रुकुममा माओबादीसँग भिड्न जान हिच्किचाइनँ, इन्डियाबाट कमान्डो गरेर आएपछि सशस्त्र प्रहरीको कमान्डो टोलीलाई सशस्त्र प्रहरी महाविद्यालय (डाँडापाखर) मा प्रशिक्षण दिएर डेढ सयको टोलीलाई आफैंले कमाण्ड गरेर अपरेशनमा जाँदा खुट्टा कमाइनँ, तर ‘तपाईँको श्रीमान्, माओवादीसँगको भिडन्तमा मारियो’, भनेर अमर प्रहरीको श्रीमतीलाई भन्न जाने बेलामा मेरो खुट्टा थरथर काम्यो। मन चरक्क चर्कियो, तर परेपछि गर्नैपर्ने रहेछ। बजारभरी हल्ला व्यापक भइसकेको थियो। तर, मैले त्यहाँ कसैलाई पनि नभन्नु भनेँ।
अनि त्यहाँ गएर कसरी परिस्थितिलाई नियन्त्रणमा लिने भनेर पूर्व योजना बनाएँ, मेरी श्रीमती अनि अर्की इन्स्पेक्टरको श्रीमती (बहिनी), महिला प्रहरीहरू, अनि परिपक्क्व अनुभवी प्रहरी अधिकृत साथमा लिएर गएँ। भर्याङ्गबाट माथि उक्लिएँ। ओहो! अबस्था त सोचेको भन्दा कहाँ हो कहाँ बिकराल... ।
उनी त भर्खर सुत्केरी भएकी रहिछिन्, न्वारान समेत गर्न नपाएको अवस्थाको शिशु काखमा लिएर भुईँमा श्रीमानलाई कुरेर बसिराखेकी रहिछिन्।
महिला प्रहरीले मलाई उनीसँग चिनाइन्- हाम्रो इन्स्पेक्टर सा’ब उनी नमस्ते गर्दै बलजफ्ती उठ्न खोजिन्, हामीले बस्न अनुरोध गर्यौ। उनले शंका गरिन्- आज सबै आउनु भएको छ, केही भयो कि? उहाँ कहाँ हुनुहुन्छ?, हे भगवान, यसको जवाफ कसले दिने? भिडन्तको कुरा त उहाँले सुनिसक्नु भएको रहेछ, हामीले कुरा लुकायौं।
उनी घाइते भएर उपचारमा छ, सम्झायौ, बुझायौ, तर....। पछि सत्य कुरा बतायौं।
त्यसपछि के भयो, कसरी थाम्यौं? अहिले पनि एउटा कुरा राम्ररी सम्झिन्छु उनले एक हप्ताको सानो शिशु (छोरा)-लाई हेर्दै चिच्याउँदै भनेकी थिइन् –‘ए जन्मदै टुहुरा, थाहा पाइस्? तेरो बाउ मारियो नि....’ त्यतिखेर नरूने को हो र? तर जस्तै परे पनि आफू सम्हालिनु र परिस्थिति सम्हाल्नू नै थियो।
दुई दिनपछि अर्को खबर आयो- मेरो साथी असई पूर्ण गिरीले पनि धरानमा बीरगति प्राप्त गरेछ। ट्राफिक जवान रमेश पोखरेललाई थप उपचारको लागि काठमाडौं लिएर गएछ।
फेरि पूर्ण गिरीको घरमा उस्तै परिस्थिति व्यहोर्न ऊ साथी भएकोले पनि आफैं अगाडि सर्नु पर्यो। उनको घर त्यही गाउँमा थियो। टोलीसहित गयौं। हामी पुग्दा भाउजु (असइ साहबनी)ले सबै कुरा थाहा पाइसक्नुभएको रहेछ। बालबच्चा परिवारजनसहित गाउँलेहरुको रुवाबासी, के हेरिसक्नु थियो र? लाश आइपुग्यो, कर्म पुर्याएर सतगततिर लाग्यौं।
मेरो साथी पूर्णे, वीरगति प्राप्त अमर प्रहरी पूर्णे गिरीको लाश मैले काँध हालेँ, खोला पुगुन्जेल मनमा कुरा खेलिरह्यो- जुन दिन घटना भएको बिहान उसको निराश कुरा अनि फ़ुङ्ग उडेको अनुहार सम्झिएँ, अनि मनमनै सोचेँ- उसलाई कतै पूर्व आभास त थिएन आज मर्दैछु भन्ने? किनकी, उसले अस्वाभाविक अनि निराशापूर्ण ब्यबहार देखाएको थियो।
खोलामा लाश जलाउने सबै कर्म सकिएपछि उसको घर आइपुग्यौं। मलाई देख्ने बित्तिकै भाउजु झन् भक्कानिएर रून थाल्नुभो। रुदै रुदै भन्न थाल्नु भो-‘सर को (मेरो) कुरा उहाँ (पूर्ण) ले मानिदिएको भए आज हामीले यो दिन देख्नुपर्ने थिएन नि।’
भएको के थियो भने- पूर्णको अलिक पिउने बानी रहेछ, तर मैले कडा गर्ने भएकोले ऊ मसँग डराउथ्यो रे, त्यसैले ऊ मसँगै जिल्ला प्रहरी कार्यालयमा बस्न चाहदैनथ्यो रे। ऊ जान चाहन्थ्यो अहिले खटिएको ठाउँमा, तर भाउजु चाहनु हुन्थ्यो। ऊ मसँगै बसोस्, जसले गर्दा अलिक कन्ट्रोल हुनेछ। मैले पनि पूर्णलाई भने-तिमी मेरो स्कुले साथी,स्कुले दिन सम्झेर रमाइलो गर्न पनि पनि तिमीलाई सँगै राख्न मन छ, तर ऊ मानेन।’ ऊ भन्न थाल्यो ‘हजुर हुँदा पनि मैले त्यहाँ जान नपाउनू?’ स्कुले साथीको मन के दुखाउनु? मैले पठाइदिए ऊ त्यहाँ गयो, तर यसरि गयो कि फेरि फर्केरै आएन।
मैले सम्झिरहे-हामी ओखलढुंगा स्कुलमा पढ्दा साथी-साथी बीच एकापसमा प्रश्न सोधासोध खेल्थ्यौ - एउटा प्रश्न हुन्थ्यो ‘कुन गिरी अग्लो?’ यदि जवाफमा कसैले धवलागिरी भन्यो भने हामी, हैन पूर्णे गिरी भन्थ्यौं, किनकी ऊ हामीभन्दा निकै अग्लो थियो। अब साच्चै ऊ धवलागिरी भन्दा पनि अग्लो भएर माथि माथि गयो।
उता उपचारको लागि काठमाडौं लगिएको ट्राफिक जवान रमेश पोखरेलले पनि २ महिना अस्पतालमा बिताएर बीरगति प्राप्त गरेछ। यसरी हामीले त्यो घटस्थापनाको दिन ३-३ जना बिर प्रहरीहरुलाई गुमायौं अनि अर्को निर्दोष महिलालाई।
जब जब घटस्थापना आउँछ, प्रत्येक साल यो घटना झल्झल भएर मेरो अगाडि आउँछ अनि ती अमर आत्माहरू। अब त ती रामचन्द्र राईको टुहुरा छोरा पनि १५ वर्षे लक्का जवान भयो होला। पूर्णको छोरा-छोरी त झन् ठूला थिए, अनि रमेशका बच्चाहरु पनि।
अब त सोच्दा हुन् -के का लागि हाम्रा ‘बा’ हरू मारिए? बेला बेला टिभीमा समाचार हेर्दा हुन् अनि गृहमन्त्रीका भाषण पनि सुन्दा हुन्, अनि हिजो राज्य सत्ताको पक्ष र बिपक्षमा उभिएर बिचमा प्रहरीलाई राखेर लडेका शक्तिहरु आज सँगसँगै उभिएका देख्दा कन्फ्यूज हुँदा हुन्। अनि सोच्दा हुन्-हिजो पनि यसरी नै सँगै उभिदिएका भए हाम्रा बाबा आज हामीसँगै हुन्थे होलान् नि!
चुक्चुकाउँदा हुन्। फेरि आशा गर्दा हुन्, जे भो, भो हाम्रा ‘बा’ बलिदान नै हुनु भो, तर अब त देशले एउटा बाटो त लेला कि! तर, फेरि हिजोसँगै एउटै पार्टीमा बसेर युद्वको मोर्चामा बसेर लडेकाहरु एउटा सत्तामा बसेर समात्ने आदेश हाम्रा ‘बा’ का साथीहरुलाई दिने अनि अर्का चाँहि लडाईको तयारीमा लागेर पक्राउ खाइरहेका दृश्य टिभीमा देख्दा झसक्क झस्किँदा पनि हुन्-कतै भविष्यमा हामी जस्तै अर्कै कुनै निर्दोष फेरि टुहुरा हुने बाटोमा देश त जाँदै छैन भनेर?
(लेखक नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक हुन्।)