‘सर, डाङ्रे…’
हाम्रो ग्रुपमा भएको एक विद्यार्थी रूखको हांगातिर देखाउँदै भने।
मैले त्यो नाम पहिले सुनेको थिइनँ।
नयाँ चरा रहेछ कि भनेर हतार गर्दै दूरबिनबाट हेरें।
हांगामा थियो- सारूङ।
सारूङ? मैले उसलाई सोधें-त्यही रूखमा भएको चराको कुरा गरेको हैन?
‘हो सर, हाम्रोतिर डाङ्रे भन्छन्।’
त्यही चरालाई मैले सारूङ सारौं (जुन हाम्रोतिर भन्छन्), मैना (जुन तेसको कमन (साधारण नाम) हो, सरौटे र रूपी (पूर्वतिर) सुनेको थिएँ।
डाङ्रे मेरो लागि नयाँ नाम थियो। पछि थाहा भयो गुल्मीतिर सरी पनि भनिने रहेछ।
ग्रुपमा भएका सल्यानका विद्यार्थीले ‘हाम्रोतिर सरौटे भन्छन् सर’ भने।
धेरै ठाउँ होलान् जहाँ यही चरालाई अरू नामले बोलाइन्छ। यस्तो नामलाई हामी स्थानीय नाम भन्ने गर्छौं। यसरी स्थानीय रूपमा दिइने नाममले वैज्ञानिक हिसाबमा धेरै गडबडी ल्याउन सक्छ। वैज्ञानिकमा नि जान पर्दैन, इको-पर्यटनको हिसाबले पनि यो महत्वपूर्ण हुन्छ।
यही समस्या देखेर १८ औं शताब्दीमा स्विडिस वनस्पतिशास्त्री कर्लस लिनेयसले नामाकरण गर्ने वैज्ञानिक विधिको अविष्कार गरेका थिए। जसलाई ‘बाइनोमियल नोमेन्केल्चर (Binomial Nomenclature) विधि भनिन्छ।
जसलाई सामान्यतः वैज्ञानिक नाम (Scientific name) पनि भनिन्छ।
वैज्ञानिक नामका दुइटा पाटा हुन्छन्। पहिलो नामलाई ‘जिनस’ (Genus) भनिन्छ भने दोस्रोलाई ‘स्पिसिज’(Species) वा प्रजाति नाम भनिन्छ।
जिनसले साधारण रूपमा त्यो जीवको प्रकार बताउँछ (जस्तै- सर्पका प्रकार) भने प्रजाति नामले तेसको विशेष प्रकार बताउँछ (जस्तै- गोमन)। प्रजाति नाम फरक हुने जनावर भिन्न प्रजातिको मानिन्छ।
वैज्ञानिक नाम आफैंमा गाह्रो हुन्छ। धेरैजसो वैज्ञानिक नाम ल्याटिन भाषाबाट आउँछन् र तिनको अर्थ हुन्छ। जस्तै; ओफियोफेगस ह्यानाह (Ophiophagus hannah), राजा गोमनको वैज्ञानिक नाम। जहाँ ओफियोफेगस को ‘ओफियो’ ले सर्प जनाउँछ भने ‘फेगस’ भनेको खानु हो। अरू सर्प खाने भएकाले राजा गोमनलाई ‘सर्प खाने’ भनेर नामाकरण गरिएको हो।
यस्तै गरी धेरै जनावरको नाममा अर्थ हुन्छ। जस्तै- हिप्पोपोटामस याम्फिबायस (Hippopotamus amphibious)।
हिप्पोपोटामस जिनस दुइटा ग्रिक शब्द मिलेर बनेको हो। हिप्पोस भनेको घोडा र पोटामोस भनेको पानी हो। वैज्ञानिक नामअनुसार यसको जिनसको अर्थ हुन्छ पानीमा बस्ने घोडा।
प्रजातिको अर्थ याम्फिबायस भन्नाले दुई प्रकारको जिन्दगी जिउने भनेर बुझिन्छ, जुन जल गैंडा वा हिप्पोको केसमा पानीभित्र र पानी बाहिर हो।
यसरी वैज्ञानिक नाम जनावरको बानी, बेहोरा वा उसले रूचाउने खाना, उसले बस्न मन पराउने वातावरण हेरेर राखिएको हुन्छ। र धेरैजसो त्यही नामको आधारमा उसले एउटा कमन नाम पाउँछ।
वैज्ञानिक नामको प्रजाति नाम भने त्यस जनावर पहिलोपल्ट पत्ता लगाउने वा पत्ता लागेको देशको आधारमा नि राखिन्छ।
जस्तै कि नेपालमा मात्र पाइने भनिने काँडेभ्याकुरको वैज्ञानिक नाम टुर्डोइडेस निपालेन्सिस (Turdoides nipalensis) हो।
त्यसको प्रजाति नाम, नेपालमा मात्र पाइने भएकोले निपालेन्सिस भएको हो।
त्यसै गरी नेपालमा पाइने तनकम्प खञ्जरीको वैज्ञानिक नाम फोएनिकुरस हज्सनी (Phoenicurus hodgsoni) हो, जसको प्रजाति नाम हज्सन नामको वैज्ञानिकबाट उनले पहिलो चोटि त्यो चराको व्याख्या गरेको भएर आएको हो।
जीवजन्तुको वैज्ञानिक नाम राखिएन भने धेरै समस्या आउन सक्छ। एउटै प्रजातिलाई धेरै ठाउँमा विभिन्न नामले बोलाउने हुँदा प्रजातिको संख्या अनुमान गर्न गाह्रो हुन्छ।
संसारभरि जता गए नि वैज्ञानिक नाम भने एउटै प्रयोग हुन्छ। तर वैज्ञानिक नाम आफैंमा अप्ठेरो हुने भएकोले सहज पार्न साधारण वा कमन नामको प्रयोग गरिन्छ। जुन सजिलो हुन्छ र विश्वव्यापी हुन्छ। जसले गर्दा एउटै प्रजातिलाई विभिन्न प्रजाति भनेर झुक्किने वातावरण बन्दैन।
गोमन सर्पलाई नि संसारभरि विभिन्न नामले चिनिन्छ।
बंगलादेशमा गोमनलाई गोक्सुरा भनिन्छ, भारतको पश्चिम बंगालमा केउटे भनिन्छ, इजिप्टमा थाबन, बोसेक्का, गोलो, नचिर भनिन्छ।
यसरी सबैतिरको विभिन्न नामले वैज्ञानिक प्रक्रिया होस् वा वन्यजतु पर्यटन सबै पाटामा अप्ठेरा हुने भएकोले नै वैज्ञानिक नामजस्तै विश्वव्यापी हुने गरी साधारण नाम वा कमन नामको चलन चलेको हो।
माथि भनिएका वैज्ञानिक नाम र तिनको अर्थअनुसार नै जनावरहरूको कमन नाम बस्न जान्छ।
जलगैंडाको नाम हिप्पोपोटामसबाट हिप्पो भएको हो। अर्थ भएकोले यस्तो नाम दिइएको हो।
वैज्ञानिक नामले विभिन्न क्षेत्र वा देशबीचमा जनावरको नाममा हुने भ्रम मेटाउन सहयोग गर्छ।
अब कुरा गरौं, गैंडाको।
गैंडाको वैज्ञानिक नाम ‘राइनोसेरोस युनिकोर्निस’ (Rhinoceros unicornis) हो। यो नाम ग्रिकबाट आएको हो।
राइनोसेरोसको ‘राइनो’ले नाक भन्ने बुझिन्छ भने, ‘सेरोस’ केरासबाट आएको हो जसले केराटिनलाई जनाउँछ।
केराटिन एउटा संरचनात्मक प्रोटिन हो जसले हाम्रो कपाल, नङ आदि बनाउँछ। गैंडाको सिङ वा खाग पनि त्यही प्रोटिनले बनेको हुन्छ।
केराटिनले बनेको नाक भएको जनावर भएकोले गैंडाको नाम राइनोसेरोस भएको हो।
प्रजाति नाममा भएको युनिकोर्निसको युनीले ‘एउटा’ जनाउँछ। अर्थात् एकसिङे गैंडा।
अफ्रिकामा पाइने कालो गैंडा जसको दुइटा सिङ हुन्छ त्यसलाई डाइसेरोस बाइकोर्निस को वैज्ञानिक नाम दिइएको छ। त्यसमा भएको डाइले दुइटा जनाउँछ भने सेरोसले केराटिन भएको, बाइले फेरि दुइटा जनाउँछ भने कोर्नले सिङ।
सामान्य रूपमा भन्दा दुई सिंङे गैंडा जसरी नेपालको एक सिङे गैंडालाई एक सिङे भनेर भनिएको थियो।
वैज्ञानिक नामको आफ्नै अर्थ हुन्छ- त्यो जनावर कस्तो छ, त्यसको प्रकार कस्तो छ भन्ने हेरेर।
गैंडाको नेपाली नामको सम्मान नगरेर राइनो भनिएको होइन, त्यो जनावरको नाम नै राइनो भएर भनिएको हो।
संसारभरि सबैले राष्ट्रवादी भएर आफ्नै स्थानीय नाम लिने हो भने जनावरको अध्ययनमात्र नभएर जनावर हेर्न जानेहरू पनि धेरै भ्रममा पर्थे, वैज्ञानिक अनुसन्धानमा हुने अप्ठेरोको त कुरै छोडिदिउँ।
वैज्ञानिक रूपमा होस् या औपचारिक रूपमा राइनोलाई गैंडा भनेर हुन्न, राइनो नै भन्नुपर्छ।
अझ नेपालमा पाइने एक सिङे गैंडाको कमन नाम त झन् ‘ग्रेट इन्डियन राइनोसोरस’ हो।
संसारले त्यही नामले चिन्छ। त्यसो भन्दैमा नेपालको गैंडालाई किन इन्डियन भनेको भनेर फेरि अर्को विवाद आउला।
नेपालमा मात्रै पाइने भएको भए नि दाबी गर्नहुन्थ्यो, वा नेपालमा पहिलो पटक वर्णन गरिएको भए स्वत: नाम नेपाली राइनो हुन जान्थ्यो होला।
यस्तै तर्कका आधारमा नाम राख्ने हो भने त नेपालमा पाइने बाह्र हाते बाघको कमन नाम ‘बेङाल टाइगर’ हो। बेङाल टाइगरमा अरू देशको नाम जोडियो, राष्ट्रियता झल्किएन भनेर चितवनमा पाइने बाघलाई चितवन बाघ, पर्सामा पाउने बाघलाई पर्सा बाघ भन्न सुहाउला?
नेपाल जैविक विविधतामा धनीमात्र नभएर धेरै जनावरहरू पनि पाइने ठाउँ हो।
के नामले बोलाउने भन्दा पनि तिनको प्रचारमा बरू धेरै समय खर्च गर्न सके देशलाई फाइदा पुग्थ्यो होला।
अफ्रिकाले जैविक विविधताको उपयोग राम्रोसँग गरेको छ। सफारी गर्न नै पर्यटक त्यहाँ अफ्रिका पुग्छन्।
उनीहरूले सिंहको आफ्नै स्थानिय नाम राखेका होलान्। संसारले सिंहलाई लायन नै भनेर चिनेको छ। वर्तमान सन्दर्भमा राइनो भन्ने वा गैंडा भन्नेजस्तो बेअर्थको बहसमा अल्झिनुभन्दा बरू भएका राइनोबाट २०२० को भिजिट नेपाललाई कसरी राम्रोसँग प्रचार गर्न सकिन्छ भनेर सोच्ने कि?
अनि नेपालमा राइनो नै हेर्न भनेर आउने पर्यटकलाई त्यतिबेलाचाहिँ यो राइनो हो, यसलाई हाम्रो देशमा के-के भनिन्छ र अरू ठाउँमा के-के भनेर चिनिन्छ भनेर सिकाएर, रोमान्चित गरेर, खुसी बनाएर फर्काउने कि?