आज बिहानैदेखि फेसबुकमा आफूलाई जीवनमा सही मार्ग देखाउने, शिक्षा दिने गुरूहरूको सम्झना गर्दै कसैले फोटो त कसैले उहाँहरूलाई नमन र स्मरण गरिरहेको पोस्टहरू देखेँ।
त्यसमा मसँगै विद्यालयमा पढेका मित्रहरूको समेत पोस्टहरू देखेँ, मलाई खासै उत्साह लागेन उनीहरूले विद्यालयका शिक्षक वा शिक्षिकाहरूप्रति आदर दर्शाउने पोस्टमाथि।
तपाईंहरू सोच्दै हुनुहुन्छ होला यो त नास्तिक नै रहिछे, कस्ती विद्यार्थी गुरूप्रति सम्मान वा आदर नै नदर्शाउने।
तर के गरूँ मैले विद्यालयमा हप्काउने, पिट्ने, बेइज्जत गर्ने शिक्षकहरूभन्दा फरक नै पाइनँ।
आज सबैले आ-आफ्ना विद्यालयको गुरुहरूको फोटो राख्दै स्मरण नमन गर्दै हुनुहुन्छ तर मैले देखावटीकै लागि किन नहोस् लेख्न चाहेर पनि सकिनँ फेसबुकमा आदर र सम्मान पोस्ट्याउन।
विद्यालयका धेरै यस्ता क्षणहरू हुन्छन् जसलाई प्रत्येक व्यक्ति अलिक पछि याद गर्न चाहन्छन् तर म सायदै त्यसमध्ये एक छु होला जसले याद राख्ने त्यस्तो केही छैन।
विद्यालयमा खास गरी पहिलो, दोस्रो, तेस्रो र चौथौ बेञ्चपछि नै बस्न पाउँथ्यौं हामी किनभने ती चारवटै बेञ्चमा शिक्षकहरूको नजरमा ‘ट्यालेन्ट’ मानिएका विद्यार्थीहरू मात्रै बस्न पाउँथे।
अरु बीच/बीचका विद्यार्थी त पाँचौ, छैंठौ बेञ्चमा बस्थे। हामी कहिल्यै अगाडि बस्न पाएनौं र पढाउन आउने शिक्षक/शिक्षिकाले समेत कहिल्यै मतलब गर्नु भएन।
कक्षा ९ को कुरा हो, हाम्रो संकट मोचन सामुदायिक विद्यालयमा हामीमध्ये जो अनिवार्य गणितमा कमजोर हुन्थे,उनीहरू प्रायः अर्थशास्त्र विषय रोज्थे र जो अनिवार्य गणितमा ठीकठाक थिए, उनीहरू ऐच्छिक गणित रोज्ने गर्दथे।
त्यसमध्ये म पनि एक थिए जो थोरै ज्ञान भए पनि ऐच्छिक विषयमा गणित नै लिने निधो गरेकी थिएँ र लिएँ पनि।
कक्षा ९ मा हामीलाई एक जना सरले अनिवार्य र ऐच्छिक दुवै गणित पढाउनुहुन्थ्यो।
उहाँ कक्षा कोठामा प्रवेश गर्नुभयो हामी सबै उठेर अभिवादन गर्यौं। सरले अचानक ममाथि औंला देखाउँदै भन्नुभयो, ‘ए केटी उठ त।’
मेरो त पूरा जिउ नै सिरिगं भयो।
अनि गणितकै प्रश्न गर्नुभयो, मलाई त्यसको उत्तर आएन।
उहाँले भएभरको कुरा सुनाउनुभयो,‘सधैं लास्ट बेञ्चमा बस्छेस्, सोध्दा केही आउँदैन्, विषय किन रोजेको अर्थशास्त्र रोज्नुपथ्र्यो नि!’
यति सुनाएपछि हप्काएकै स्वरमा ‘बस्’ भन्दै पढाउन सुरू गर्नुभो र कक्षा सकिएपछि मेरा साथीहरूले भने जिस्काउन सुरू गरे।
भुस्कौल (पढ्नमा कमजोर) किन विद्यालय आउँछिन् होली,यो/त्यो, उनीहरू मलाई हेर्ने बित्तिकै के के बोल्थे बोल्थे। सायद त्यतिबेला अहिलको जस्तो हुन्थे भने फ्याट्ट साथीहरूको मुखमै बोल्थें, ‘तिमीहरूको गणित राम्रो छ भने मभन्दा तीन गुणा भुस्कौल तिमीहरू नेपाली, सामाजिक विषयहरूमा छौं तर सरको उक्त हप्काइपछि न त म राम्ररी बोल्न सकें न त जवाफ नै दिन सकें।
सरको त्यो हप्काइपछि लगभग २ महिना क्लास जानै बन्द गरें।
सायद साथीको हेपाइ र सरको हप्काइ सुन्ने डरले।
फेरि यो प्रवृत्ति एउटै शिक्षकमा भने थिएन प्रायः शिक्षकको व्यवहार त्यस्तै थियो, किनभने मेरा प्राय साथीहरू अंग्रेजी, गणित र विज्ञान विषयको विद्यालयका शिक्षकहरूसँगै ‘ट्युशन’ पढ्थे। जसकारण उनीहरू शिक्षकसँग घुलमिल थिए।
तर घरको आर्थिक स्थिति कमजोर भएका मलगायतका केही अन्य साथीहरू भने ट्युशन पढ्दैन्थ्यौं त्यसैले होला सायद केही शिक्षक/शिक्षिका बाहेक अहिले पनि सायद नै चिन्छन् होलान् मलाई।
सबै विद्यार्थी अंग्रेजी, गणित वा विज्ञान विषयमै राम्रो हुनुपर्छ भन्ने होइन कसैको नेपाली विषय राम्रो हुन सक्छ कसैका लागि सामाजिक शिक्षाका राम्रो विषय हुनसक्छ तर हाम्रा शिक्षक/शिक्षिकहरूले उक्त विद्यार्थीहरूको खासै मूल्यांकन गर्नुहुन्न।
अहिले मेरो भतिज ३ कक्षामा पढ्दै छ। ठीक–ठीकै छ ऊ पढ्नमा। हुनसक्छ कुनै एक विषयमा ऊ पनि कमजोर होला र ऊ पनि मजस्तै विद्यालयमा शिक्षकको हप्काइ र साथीको हेपाइ सहेर रमाइलो मानिने विद्यालय जीवन तीतो र हिनताको भावनासहित पार गर्दै होला।
म आफ्ना शिक्षकहरूका लागि राम्रो विद्यार्थी बन्न सकिनँ कि उहाँहरू मेरा लागि राम्रो शिक्षक बन्न सक्नुभएन त्यसको मूल्यांकन म अहिले पनि गर्न सकिरहेको छैन। तर जसरी म‘भुस्कौल’ को उपमा लिएर स्कुले जीवन बिताउन बाध्य हुनुपर्यो, त्यो उपमा अहिलेका नानीबाबुहरूलाई नदिइयोस् भन्ने मेरो चाहना हो।
र, अन्त्यमा यो पनि भन्न चाहन्छु कि हाम्रा विद्यालयका ऊ बेलाका शिक्षक अहिले पनि अध्यापन गराई नै राख्नुभएको छ भने कृपया सर/ म्याडम आफ्नो पढाउने शैली अब पनि सुधार गर्ने प्रयास गर्नुहोला किनभने तपाईहरूको एक सकारात्मक बोलीले जस्तोसुकै विद्यार्थीले सफलता हासिल गर्न सक्छ। अन्त्यमा गुरू पूर्णिमाको हार्दिक शुभकामना!