‘हतारमा हुने माथि गइसके’, ट्रक वा गाडीको पछाडि यस्तै लेखेको हामीले पढेकै होला। हतारको काम लतार। जति भने नि हतार दैनिकी भइसक्यो।
ब्यवस्थापनमा क्वाड्रेन्ट टु मेनेजरको चर्चा गरिन्छ। त्यो भनेको हतार नभएको तर महत्वपूर्ण काम। ब्यायाम गर्ने, नियमित शरीर जाँच गर्ने जस्ता कुरा।
यस्ता कुरा प्राथमिकतामा कम पर्ने, परिहाले नि छिट्टै उत्रिहाल्ने। नयाँ वर्षको मौसम छ। यो वर्ष गर्ने र नगर्नेका लिस्ट तयार छ हाम्रा। अलि पछि त्यही लिस्ट नौलो लाग्छ, नौ दिनमा नौलो, बीस दिनमा बिर्सियो अनि तीस दिनमा तर्सियो। अनि हतारले छोप्न थाल्छ।
पत्रमित्र बनाउने लहडको पनि जमाना थियो कुनै बेला, अहिले कहानी जस्तो लाग्छ। मेसेन्जरमा साथीले पढेको अनि उत्तर नदिएको अवस्था कम कहालिलाग्दो हुन्न आजभोलि, यही विषयमा धेर ट्रोल बनेको छ।
पत्र लेख्यो साहित्यिक पारामा, खाममा हाल्यो, हुलाक गई टिकट टाँसी पठायो। पुग्ने कुराको कुनै ग्यारेण्टी छैन, जब पत्र प्राप्त हुन्थ्यो त्यो कुनै तक्मा पाए भन्दा कम हुँदैनथ्यो। हुलाकीले पत्र बोकेर आउँदा उसका कुरा सुन्नु, चिया खुवाउनु, यो सबै त्यही नाथे पत्र पाउनलाई नै त थियो।
हुलाकी भग्वान हुन्थे, सन्देशबाहक–सन्चो बिसन्चोको खबर ल्याउने। यो भयंकर कथा अहिले किबोर्डको ठ्यास ठ्यासमा सकिएको छ। प्रविधिले चिज सजिलो मात्र बनाएन, कथालाई ठेलेर हुत्यायो, अधैर्य पनि बनायो।
हतार दैनिकी। आफ्नै गतिमा आरामले हिँड्ने, हुँइकिनेलाई काम नभएको, फुर्सदिलो बुझिन्छ। त्यही भएर हतार नभए पनि देखाउने होड चलेको छ। कार्यक्रममा ढीलो गरि आउने अनि हलि हतार छ भनेर आफ्नो कुरो सकी टाप कस्ने भिआइपीका पहिचान प्रमाणित गर्ने कसी बने, समाजका ठालूका सिग्नेचर स्टेप्स।
यही मेसोमा नभएको हतारलाई विधिवत रुपमै विशिष्ट स्थान दिइएको छ अनि हतारकर्तालाई विशेष गनिएको छ।
सडकमा अरूलाई स्पेस दिएर हिँड्ने अनि गुड्ने दुवै थरि मर्कामा छन्। नागबेली हुँइकेर आउनेलाई ईज्जत मात्र मिल्दैन, चाहेको दिशामा लस्किने छुट पनि मिल्छ किनभने उसको गति ट्राफिकको सिट्ठी भन्दा बेगवान हुन्छ। उता आफ्नो लेनमा बस्नेका दिन कहिले आउँदैन, जामले नि यिनलाई नै पाता फर्काउँछ।
अनि फेरि बम डिस्पोजल टोलीका रफ्तारमा सडकमा चलायमान युवाहरुका यो गतिका पछाडिका कारण फगत फ्रेस हुन, टाइम पासका लागि वा साथीहरुसँगको रेस आदि हुन्छन् जसले कुनै अर्थमा त्यो बेगको सामना गर्न सक्दैन।
देश विकासको एउटा महत्वपूर्ण सूचक सडक अनुशासन हो। विकसित विश्वमा सडकमा अनुशासन र काममा गति भेटिन्छ, हाम्रा संसारमा गति सडक मै मात्र।
हिजो छाडि अस्ति मात्र चल्तीको सडकमा एउटा भाइले मोटरसाइकलको अगाडिको पाङ्ग्रो हावामा उचालेर चलाउँदै हुनुहुन्थ्यो। उनको स्टन्टको अभ्यासमा अर्को शहिद हुनु भएन भन्ने कुरोको चुरो हो।
यी हतार र वेथिति सामान्य मानिसदेखि सरकारसम्मै गढेको छ। पानीजहाज कार्यालयको उद्घाटन भएको खबर फुक्ने हतारमा कार्यालयको मुख्य ब्यवस्थापन सम्हाल्ने कर्मचारी भोलिपल्ट नै नभेटिएको प्रसङ्गले सरकारको हतार प्रस्ट्याउँछ।
हुन त सरकार पनि त हाम्रै नियति लिएर बाँचेका केहीको समूह हो तर उनीहरुसँग हाम्रो यही नियति बदल्ने टिओआर चाँहि हुन्छ।
हल्ला नगरी बस्नै नसक्ने, जसरी नि जस पाउनुपर्ने प्रवृति नै यो हतारको जड हो। रातारात सडक सफा हुने वा बन्ने यही हतार भित्रका अंश हुन् जसले समाजलाई कस्मेटिक बनाउँदैछ। अलिक अगाडिको एक घटनामा आगजनी भइराख्दा सेल्फी खिच्ने हात भेटिनु तर आवश्यक हतार र तदारुकताका लागि बढाउने सहयोगको हात हराउनुले समाजको नयाँ रूपलाई देखाएको छ। यो रुप भयङ्कर कुरूप छ, जसले अरुका दुःखमा रमाउने गलत मनोबृति हावी हुँदै गएको देखाएको छ।
अर्को हतार पनि रोचक छ। यो हतारलाई भिसा हतार भन्न सक्छम्। समाजसेवाका काममा सरिक हुने युवाहरुले फलानो समाजसेवा गरेको, सामाजिक कार्यमा भाग लिएको सर्टिफिकेट मागीहाल्दा रहेछन्। जुन संस्थाले यस्तो किसिमको प्रमाणपत्र छाप्ने ब्यवस्था गरेका छैनन् तिनलाई ती युवाहरुले सर्टिफिकेट कुनै हालतमा चाहिने एक किसिमको दबाव दिँदा पनि रहेछन्।
बुझ्दा ती युवाको ध्यान आफ्नो समय समाजसेवालाई भन्ने भाव कम र प्रमाणपत्र पेश गरेर बाहिर जाने भिसा लगाउन बढी केन्द्रित हुँदो रहेछ।
अघि भने झैं राहत बाँडेका, सफा गरेको फोटाहरु सञ्जालमा बढी छाउने सञ्जालमा फोटोको प्रभाव कम हुँदासम्म ब्यवहारमा पनि यो कामको प्रभाव सकिइसकेको हुने भेटिएको छ।
नयाँ हतार। सञ्जालमा अलिक धेर हिउँद खाएका मान्छेका फोटो देख्ने बित्तिकै कतिले रिप लेखिसकेको भेटियो। यो रिप नयाँ शब्द नभएर अंग्रेजीमा बैकुण्ठबास होस् भन्ने कामनाको छोटो रुप हो। अलि संयम चाहिने ठाउँमा समेत रिप लेखिहाल्न हतार हुनु, अरुभन्दा पछि नपरम् भन्ने चेतले काम गरेको हो। अनि सन्देश राख्ने मान्छेले हजुरबुवा धेरै दिनको अस्पताल बसाई पछि जाती भएर घर ल्याइयो भन्ने पोष्टको तल रिपका कमेन्ट नि भेटिन्छन्।
अन्त्यमा आफ्नो हतार। यति हतारको महात्म्य लेखे पछि चाँडै छापियोस्, पढ्न पाइयोस्। यो हतारले नि बिताउँदो रहेछ। जय हतार।