सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी वा हालको कमलामाई नगरपालिकाको सानो बजार क्षेत्रबारे चित्रण गर्न चाहन्छु।
सिन्धुलीमाढी एउटा सानो उपत्यका हो। उत्तरतिर सिन्धुलीगढी हुँदै अाएको बिपी राजमार्ग पूर्वको डाँडो चेपिँदै दक्षिण बर्दिवासतिर निस्कन्छ। ग्वाङखोला र लौब्दा खोलाको किनार बस्ती र सहर बसेको छ।
ग्वाङखोला र लौब्दाको दोभानमा बसपार्क छ। छेउमा शौचालय र एउटा सानो बगैंचा। बगैंचाअगाडि नगरपालिका भवन। नगरपालिका भवनसँगै जोडिएको कृषि उपज किनबेच केन्द्र। र, यो सबैको केन्द्रमा एउटा गुलमोरको बोट।
यो बोट केही साताअघि राताराता उखलेर हटाइयो।
सिन्धुलीमा २०६२/६३ को लोकतान्त्रिक आन्दोलनले सफलता पाएको दिन यो बोट रोपिएको थियो। त्यो रूख उखलेर अहिले यहाँ सिमेन्टको ‘मोनोमेन्ट’ अर्थात् जुनारको प्रतिस्वरुप बनाइँदैछ।
सिन्धुलीलाई जुनारको जिल्ला भनेर चिनिन्छ। तिनकन्या, रतनचुरा, वासेश्वर, जलकन्या, भुवनेश्वरी, मझुवा, बितिजोर व्यावसायिक जुनार खेती भएका मुख्य स्थान हुन्। यी ठाउँ अहिलेको भौगोलिक सीमांकनअनुसार कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका र सुनकोसी गाउँपालिकामा पर्छन्।
सिन्धुलीका सबै गाउँपालिका र नगरपालिकामा जुनार खेती हुन्छ। त्यसैले होला, सिन्धुली जिल्लाले जुनारको राजधानीको उपमा पाएको छ।
बिपी राजमार्गले सिन्धुलीलाई जोडेसँगै जुनार व्यापार पनि बढेको छ। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जुनार सुपरजोन कार्यक्रम लागू गरेको छ। जुनारलाई विशेष रूपमा प्रशोधन गरी देश-विदेश पुर्याउने लक्ष्य लिएर खोलिएको जुनार प्रशोधन केन्द्र भने सञ्चालनमै अाउन सकेको छैन। यो प्रशोधन केन्द्र गुलमोरको बोट भएको ठाउँबाट चार किलाेमिटर मात्र पर छ।
सरकारले जुनार उत्पादन बढाउन, ब्रान्डिङ गर्न र जुनारबाट जुस, वाइन तथा गुदी र बोक्राबाट जाम र क्यान्डी (चकलेट) तयार गर्ने योजना ल्याउनुपर्थ्यो। चीन र भारत निर्यात गर्नमा जोड दिनुपर्थ्यो। जबकि, यी सबै काम छाडेर जुनारजस्तै देखिने सिमेन्टको डल्लो बनाएर पर्यटकीय अाकर्षण बढाउन नगर र नगरका व्यापारीहरू लागिपरेका छन्।
अब बन्ने जुनारको प्रतिस्वरुप अगाडिको सानो बगैंचा प्रवेश गर्न शुल्क लाग्नेछ। वाइफाइ भने नि:शुल्क गरिएको छ। बगैंचानजिकै शौचालयको अवस्था नाजुक छ। सँगै बगेको ग्वाङखोला सरसफाइमा नगरले ध्यान दिन सकेको छैन। बजार क्षेत्र पैदलयात्रुमैत्री हुने कुरै भएन। कतै फुटपाथ छैन।
म यही चोकबाट तीन किलोमिटर पर बस्छु, जहाँ जान टेम्पोमा कोचिएर यात्रा गर्नुपर्छ। व्यवस्थित नगर बस छैन। हिँडेर जाउँ भन्दा फुटपाथ छैन। राजमार्गमा फुटपाथ बनाउने योजना पनि सुनेको छैन। साइकलमैत्री हिसाबले बाटो तय गरिएका छैनन्। यो योजनामा छ कि छैन थाहा छैन। सहरमा डिजेलबाट चल्ने टेम्पो चार सयभन्दा बढी छन्। यिनै टेम्पो यहाँका सार्वजनिक यातायात हुन्।
व्यापारिक क्षेत्रमा गमलामा केही बोट रोपिएका छन्। यो सम्भवत: सरकारको वातावरणमैत्री स्थानीय शासन अभियानअन्तर्गत होला। तर नगरका पदाधिकारीले सहरलाई कसरी वातावरणमैत्री बनाउन सकिन्छ भनेर छलफल र पहल गरेको देखिँदैन। सहर भनेको कंक्रिट विकास हो भन्ने मानसिकता व्यापक छ। भर्खरै सिद्धबाबा डाँडामा भ्यूटावर ठड्याउने योजना अघि बढेको छ।
यो एउटा उदाहरण मात्र हो। प्राय: सबै सहर तथा सहर उन्मुख गाउँहरूमा विकासको परिभाषा केवल कंक्रिट हो भन्ने व्याप्त छ।
एकोहोरो कंक्रिट विकासले स्वच्छ पानी र हावा मासिँदै जान्छन् र सहरहरू बस्नलायक हुँदैनन् भन्ने बुझाउने कसले?