म सानो हुँदा हाम्रो सानो परिवार काठमाडौं, भिमसेनस्थानमा भाडामा बस्थ्यो। खानेपानी लिन मन्दिरछेउको ढुंगेधारा जानुपर्थ्यो। साँझ परेपछि हामी वसन्तपुर डबलीमा बल खेल्न जान्थ्यौं।
हामी भिमसेनस्थानबाट कोटेश्वर सर्दा म दुई कक्षा थिएँ। कोटेश्वर पुराना र नयाँ मिसिएको बस्ती थियो। खुला चउर नै चउर। हामीलाई बल खेल्न सजिलो। घरछेउकै चउर अहिले पेरिसडाँडा भनेर चर्चित छ। त्यहाँबाट हानेको बल खोज्न तीनकुने पुलसम्म पुग्नुपर्थ्यो।
हामी मीनभवन ओरालोमा ट्रली आएको देखेपछि दौडँदै तीनकुने पुगेर चढ्थ्यौं। ट्रलीको अन्तिम सिटमा सूर्यविनायक पुगेर फर्कन्थ्यौं।
त्यसपछि बिक्रम टेम्पोको युग सुरू भयो। त्यो टेम्पो मीनभवनसम्म मात्र आउँथ्यो। न्यूरोड जानुपरे हिँडेर मीनभवन पुग्थ्यौं अनि टेम्पो चढ्थ्यौं।
त्यो बेला कोटेश्वर सहरमा गनिएकै थिएन। कोटेश्वर घर भन्दा मान्छेहरू 'बानेश्वरबाट कता' भनेर सोध्थे। विस्तारै सहर बढ्दै गयो। खुला ठाउँ हराउँदै गए। कुलोहरू बाटोमुनि पुरिए। हामी बल खेल्ने चउरमा या त घर बने या सडक।
मैले देख्दासम्मै तीनकुनेदेखि माइतिघरसम्म सडकका दुवैतर्फ पैयुँका बोट थिए। तीनकुनेदेखि सूर्यविनायकसम्म लहरै पिपलका बोट। बीचमा राजनीतिक परिवर्तनहरू भए। सडकले पनि सायद परिवर्तन माग्यो। चौडाइ बढ्यो। पैयुँका बोट र पिपल बोट साफ पारिए।
बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि त सडकमा क्रान्ति नै भयो। भित्र भित्रका सडकले पनि नयाँ रूप पाए। तर खै किन हो, बटुवाका लागि न फुटपाथ बन्यो न सुस्ताउने ठाउँ। भित्री सडकका कतिपय ठाउँमा त बनेका फुटपाथ पनि ठाउँ-कुठाउँ पुच्छरजस्तै टुंगिन्छन्।
सडक भनेको गाडी कुदाउन मात्र हो, बिरूवा र बटुवाका लागि त हुँदै होइन जस्तो पो भयो।
बाबुराम आफैं इञ्जिनियर थिए। सहरी सडकको डिजाइन कस्तो हुनुपर्छ पक्कै बुझेका थिए। किन बुझ पचाए? बटुवाका बारेमा बहस गर्ने भनेको क्रान्तिको बेला मात्र हो सायद। सत्तामा पुगेपछि आफू सुकिलोमुकिलो, चासो पनि सुकिलामुकिलाकै!
पैदलयात्रुको प्राथमिकतामा इञ्जिनियरहरूले त चासो दिएनन् दिएनन्, सवारी चालक र बाटोमा खट्ने ट्राफिक प्रहरीलाई पनि मतलब भएन। सरकार ठूल्ठूला मुद्दामा अलमलिँदै गए, बटुवा फराक सडकको गञ्जागोलमा जेलिँदै।
आज बटुवा लाचार छन्। यिनका लागि बोलिदिने कोही छैन। बाटो काट्ने ठाउँ छैन। फुटपाथ छैन। भएका फुटपाथ व्यापार गर्ने ठाउँ बनेको छ। कहीँ कहीँ बाइकहरू कुद्छन्। व्यापारिक केन्द्रअगाडिका फुटपाथ त मोटरसाइकल रोक्ने अाधिकारिक ठाउँ भइसके। अझ मोटरसाइकलबाट नओर्लिकनै किनमेल गर्नुको मजै बेग्लै।
बटुवाकेन्द्रित पूर्वाधार नभएको बहानामा सवारी चालकको मानसिकता पनि क्रूर हुँदै गएको छ। अगाडि जेब्राक्रस छ भन्ने थाहा हुँदाहुँदै हुत्तिँदै आउँछन्। जेब्राक्रस आधा ढाकेर गाडी रोक्छन्।
नयाँ पुस्तालाई सडकमाथि पहिलो हक बटुवाको हो भन्दा ताज्जुब मानेर सुन्छन्। मेरो सानो छोरालाई समेत फुटपाथमा मोटरसाइकल कुदाउन हुँदैन भन्दा अचम्म लाग्ने भइसक्यो।
सडकमा सरकारको प्रतिनिधित्व गर्ने भनेका ट्राफिक प्रहरीले हुन्। तिनको व्यवहार क्रूर शासकको भन्दा कम छैन।
पैदलयात्रुले बाटो काट्न कम्तीमा ७ देखि १० मिनेट कुर्नुपर्छ तर दुईतर्फी सवारी कहिले कुनै चोकमा रोकिँदैनन्। ट्राफिक प्रहरीहरू बटुवाको मर्का विचार गर्दैनन्। समूहमा दायाँबायाँ हेरेर बाटो काट्नु भनेर उनीहरूले आफ्नो काम सजिलो पार्न खोजेझैं देखिन्छ।
सामाजिक सञ्जालमा उपस्थिति देखाउने सरकार पनि छ- हेलो सरकार। गत माघ महिनामा मैले हेलो सरकार र प्रहरीका ट्विटर अकाउन्टमा काठमाडौं उपत्यकामा पैदल हिँडदाका चुनौती जानकारी गराएको थिएँ।
एक महिनामा करिब ५० वटा गुनासा पठाउँदा कुनै एउटामा मात्र कारबाहीसहितको फोटो पाएँ। अन्य सबैमा धन्यवाद भन्ने जवाफबाहेक कुनै कारबाही भएन।
काठमाडौं सहरको यस्तो क्रूरता अन्य सहरले पनि सिक्दै छन्। ठूला फराकिला बाटो बन्दै छ तर फुटपाथ साँधुरा।
बटुवा हिँडेरै सबै ठाउँ पुग्न सक्दैनन्। सबैभन्दा राम्रो विकल्प साइकल हो। तर साइकलका लागि न बाटो छ न साइकल चढ्नेको सम्मान।
साइकल नभए बस चढ्नपर्यो। तर सार्वजनिक यातायात व्यवस्थापनमा कसैले विचार गरेको छैन। यात्रुहरू बिसौनीमा समेत कुदेर बस चढ्नुपर्छ। सार्वजनिक बस रोक्दा सडक जाम हुन्छ भनेर केही सेकेन्ड पनि रोक्न दिइन्न। रोक्यो कि ट्राफिकले सिठी फुक्न थालिहाल्छ। रत्नपार्कजस्तो व्यस्त ठाउँको वरिपरि 'पिक एन्ड ड्रप' लागू गरिएको छ। बस चढिसकेपछिको अनुभव त थप चेपुवामा छँदैछ।
खासमा कुनै पनि सहरले पैदल, साइकल र बस यात्रालाई पहिलो प्राथमिकता दिनुपर्ने हो। हामीकहाँ भने कार, मोटरसाइकलजस्ता निजी सवारी बढी प्राथमिकतामा छन्।
जनमुखी शासनमा सडकमाथिको पहिलो अधिकार पैदलयात्रुको हुन्छ। जबसम्म शासकले पैदलयात्रुका बारेमा सोच्दैनन्, उनीहरू कहिल्यै जनमुखी हुन सक्दैनन्।
सरकार/शासक तत्काल बटुवामैत्री हुने देखिँदैन। हिँडने सहर बनाउँदा फाइदा हुन्छ भन्ने बुझाउन पनि सकिहाल्ने देखिँदैन। अझ भनौं, नागरिक सहजसँग हिँडडुल गर्ने विषय प्राथमिकतामै पर्ने देखिँदैन।
अब हामी बटुवा नै सजग र संगठित पो हुनुपर्ने हो कि?