नेपालमा दुईपांग्रे सवारीको लाइसेन्स लिने उमेर १८ वर्ष। मैले भने यो प्रयास उमेर पुगेको दस वर्षपछि गरेँ। योभन्दा अगाडि आवश्यक नै भएन। पैदल हिँड्ने वा सार्वजनिक सवारी चढ्नेलाई लाइसेन्स बनाउने चासै भएन। आवश्यक भएपछि भने चासो राख्नैपर्यो।
भर्खरै लाइसेन्स लिएकी एक साथीलाई सोधेँ– लाइसेन्स लिन के गर्नुपर्छ?
‘यातायात कार्यालयको वेबसाइटमा जाऊ, अनलाइन फारम भर अनि जाँच देऊ। ट्रायल पास गर्न चाहिँ गाह्रो छ है। एकैपल्टमा निकाल्न त मुश्किलै हुन्छ। भर्खर स्कुटी चलाउन थालेकी छौ। भर न फारम, ३ चोटीसम्म मौका पाइन्छ,’ उनले सुझाइन्।
साथीको सल्लाहअनुसार यातायातको साइट खोलेँ, खुलेन। अर्को दिन पनि प्रयास गरेँ, खुलेन।
त्यही दिन सहकर्मी साथीले ‘यातायातको साइटमा समस्या, सेवाग्राही मर्कामा’ शीर्षकको समाचार लेखे। त्यसको केही समयमै साइट खुल्यो तर फारम 'सबमिट' भएन। फेरि अर्को तनाव।
यो विषयबारे समाचारको फलोअप अरू मिडियाले पनि गर्दै रहेछन्। यातायातमा बिचौलियाको बिगबिगी छ। दिनमा पाँच सय फारम मात्र भर्न पाइन्छ, जुन बिचौलियाले राति नै उठेर भरिसक्छन् र सर्वसाधारणले भर्दा समस्या देखिन्छ भन्ने खालको समाचार आइरहेको थियो। यो समाचार सुनेपछि बिचौलियाले फारम भर्ने बेला नै भरेर बाठी हुन खोजेँ। राति २ बजेसम्म बसेर अनलाइन फारम भर्ने प्रयास गरेँ। फेरि पनि भएन। बिहान, दिउँसो, बेलुका, राति गरी ३ दिनसम्म फारम भर्न निरन्तर प्रयास गरेँ। भएन।
सुन्नमा आयो– बिचौलिया र यातायातका कर्मचारीको मिलेमतोमा यस्तो हुन्छ। साइट कुन दिन कति बजे खुल्छ, त्यो बिचौलियालाई थाहा हुन्छ र भटाभट भरिहाल्छन्। हामीले भर्दा हुँदैन।
अब मेरो केही नलाग्ने जस्तो लाग्यो। यातायात कार्यालय पुगेँ। पुग्न नपाउँदै ‘अनलाइन फारम भर्ने हो’ भनेर सोध्नेहरूको घुँइचो लाग्यो। त्यो दृश्यले विभाग र बिचौलियाको मिलोमतो नै रहेछ भन्ने कुरा पुष्टि गरेजस्तो लाग्यो।
सोध्न आएकामध्ये एक जना बिचौलियालाई २०० रुपैयाँ दिएँ र फारम भरिदिन आग्रह गरे। भोलिपल्ट नै फोन आयो, ‘तपाईंको सम्पर्क मिति यति गते परेको छ है बहिनी, यो कार्ड म प्रिन्ट गरेर राखिदिन्छु, यता आएर लिनुहोला।’
सम्पर्क मितिको दिन एकान्तकुना पुगेँ, त्यो दिन चाहिँ सजिलै काम भयो। भोलिपल्ट बिहान ८ बजे लिखित परीक्षा दिन यातायात कार्यालय बोलाइयो। अफिस पुग्न ढिला नहोस् भनेर बिहानका सबै काम थाति राखेर सातै बजे एकान्तकुना पुगेँ।
कार्यालय बाहिर परीक्षा हुने सबैको नाम टाँसिएको थियो। मेरो नाम हेर्न सहयोग गर्दै एक जनाले भने, ‘बहिनी लिखितको रिजल्ट हेर्न भरे यतै आउनुपर्छ। त्योभन्दा त तपाईंलाई आउन जान–लाग्ने गाडीभाडा (३० रुपैयाँ) मलाई दिनुस्, म फोन गरिदिन्छु।’
‘मैले हाँस्दै भने, तपाईंलाई मैले कसरी विश्वास गरौं त दाइ?’
उनले जवाफ फर्काए, ‘फोन नम्बर लानुस् न, मेरो कामै यही हो। गरिहाल्छु नि।’ उनले मलाई यसो भन्दै गर्दा मजस्तै भित्तामा आफ्नो नाम हेर्दै गरेको साथीले पनि पैसा दिइरहेको देखेँ।
यो पनि ठीक छ ल भन्दै ब्यागबाट ३० रुपैयाँ झिकेर उनलाई दिएँ। फोन नम्बर टिप्न खोजेँ। त्यतिबेला उनी अरुको नाम भित्तामा हेर्न व्यस्त थिए। त्यत्तिकैमा पछाडिबाट आवाज आयो, ‘लाइन लामो भैसक्यो रे साथीहरू छिटो जाऊँ।’
हतार हतार म पनि फोन नम्बर नलिई दौडिएँ त्यही भिडमा। त्यहाँ ४० जना जति लाइनमा थिए।
म पछाडि उभिएँ, त्यतिबेला ७ः३० भैसकेको थियो। उठ्नेबित्तिकै केही खाने बानी, भोक पनि लाग्यो। लाइनमा सबैभन्दा पछाडि भएका २ जना म जस्तै केटीहरूसँग परिचय गरेर नजिकैको क्यान्टिनमा ५ मिनेटमा खाजा खाएर आउँदा लाइन आँखाले नभ्याउने गरी टाढा पुगिसकेको थियो। ८ नबज्दै लगभग १५० जनाको लामो लाइन। म त्यही ४१ नम्बरमै छिरे।
बिहान साढे ६ बजेदेखि लाइन लागेकाहरू १० बज्न लाग्दा आत्तिन थालेका थिए। कसैलाई अफिस जान हतार, कसैलाई कलेज छुटेको चिन्ता, कसैलाई घरमा छोराछोरी रोएको चिन्ता, कोहीको सासू-आमालाई औषधि खान दिनुपर्ने पीर।
म पनि हतारमै थिएँ। लाइनको अगाडि कुर्सीमा बसेका एकजना कर्मचारीलाई सोधेँ, ‘८ बजे हुने भनेको परीक्षा कैले सुरु हुन्छ, सर?’
उनले झर्किंदै जवाफ दिए, ‘परीक्षा लिने हाम्रो मान्छे नआउँदै कसरी हुन्छ परीक्षा? पर्खिनुस् न एक छिन भैहाल्छ नि।’
तपाईंको मान्छे आउने टाइममै बोलाउँदा हुन्थ्यो नि हामीलाई पनि, ३ घन्टा भैसक्यो भन्दै म फेरि लाइनमा आएँ।
११ बजे परीक्षा सुरु भयो। परीक्षाका नियम सुनाइयो। ३ बजे पछाडि रिजल्ट यातायात कार्यालयमा टाँसिने र यातायातको साइटमा पनि हेर्न सकिने जानकारी गराइयो। मैले रिजल्ट हेरिदिन भनेर दिएको ३० रुपैयाँको माया लाग्यो र आफ्नै मूर्खतासँग मनमनै हासेँ।
बेलुकाको ६ बजिसक्यो। न त साइट अपडेट छ, न त ३० रुपैयाँ लिनेको नै फोन आयो। बिना लाइसेन्सको स्टुटर कुदाएर एकान्तकुना पुगेँ। मेरो नाम पास हुनेको सूचीमा थियो।
भोलिपल्ट ट्रायल दिन १० बजे बोलाइएको थियो। रातिदेखि नै परेको ठूलो पानीका कारण ट्रायल नहुने पो हो कि भन्ने शंका मनमा परेकाले यातायातमा २० चोटी बुझ्ने प्रयास गरेँ। फोन उठेन। मेरो फारम भरिदिने बिचौलियालाई फोन गरेर सोधेँ। उनले जवाफ दिए, ‘भटाभट भैराछ बहिनी, तपाईं अझै आउनुभाको छैन?’
झसंग भएर दौडिएँ पानीमा भिज्दै ट्रायल दिने ठाउँमा। पानीका कारण त्यो दिनको ट्रायल भोलिपल्टलाई सारिएको रहेछ । म पुग्दा त्यहाँ मजस्तै ट्रायल दिन गएकाहरू पानीमा भिज्दै प्र्याक्टिस गरिरहेका थिए। म पनि भिजिसकेको थिएँ। प्र्याक्टिस गरेरै फर्किने विचार गरेँ। त्यो ठाउँमा सिकेको १ राउन्डको १ सय रुपैयाँ। १५ मिनेटको ३ सय रुपैयाँ। आधा घन्टाको ६ सय। १ घन्टाको १२ सय रुपैयाँ रहेछ।
३ सय रुपैयाँ तिरेर सिक्न गएँ। १५ मिनेटमा त्यहाँ भएका ६ वटा स्कुटर चलाइ हेरेँ। कुनैको ब्रेक नलाग्ने, कुनै हुत्तहुत्त जाने। कुनैको ह्यान्डल नै बाङ्गो। कुनै भने नयाँ र सजिला पनि भएको जस्तो लाग्यो।
त्यहाँ भएका एकजनाले भने, ‘नयाँ स्कुटर मिलाइदिनु उहाँलाई (त्यहाँ भएका एकजनालाई देखाउँदै)। २ हजार रुपैयाँ तिर्नुपर्छ। मैले पनि मेरी श्रीमतीको लागि भर्खरै तिरेँ। (ट्रायल सिक्दै गरेकी एकजना महिला देखाउँदै) ऊ हेर्नुुस् उनी मेरी श्रीमती हुन्। उनको नि भोलि छ। तपाईंको त हाइट पनि अग्लो छ। ह्यान्डल गर्नुहुन्छ मज्जाले। तर पैसा चाहिँ तिर्नुस्। किन रिस्क लिने।’
उनले देखाएको मान्छेसँग मैले परिचय गर्दै कुराकानी गरेँ। म पत्रकार भएकाले मलाई त्यो पैसा नलाग्ने भयो। थोत्रो स्कुटर भए के हुन्थ्यो थाहा छैन तर भोलिपल्ट जाँदा नयाँ स्कुटरमा ट्रायल दिएर पास गरेँ।
ट्रायल त पास गरियो। लाइसेन्स हात पार्न कति समय लाग्ने हो पत्तो छैन। यसको लागि पनि बिचौलिया नै खोज्नुपर्ने हो कि!