गुगल म्यापले बजार पिटेको छ तेही मेसोमा बाइकमा जबरजस्ती मोबाइल ठुसेर हिडिँयो। पत्ता लाउन पर्ने ठाम चाँहि बंगलादेश दूतावास थियो जुन बसुन्धारामा रहेको छ।
ठमेलबाट झरेर सजिलो होला भनेर मोबाइल डाटा अन गरी हुँइकाइयो म्याप अनुसार। बसुन्धारा आइपुगेपछि त्यसले भित्रको बाटो जान सुझायो। यस्तो भित्र त नहुनु पर्ने भन्दै उसकै लहलहैमा अगाडि गइयो। झण्डैझण्डै टिचिङको पछाडिबाट झर्ने बाटो तिर पुर्याएर देब्रे मोडाउँदै फेरि बाहिर रिङरोड मै ल्याएर मर्यो।
अनि करिब सय मिटर जतिमा दाहिने तिर दूतावास रहेछ। म्याप गलत त थिएन तर सिधा बाटोलाई नागबेली बनाउन लगाएर काम गराएकोमा झोंक चल्यो अनि देशाँ यस्ता म्यापको प्रयोग नगर्ने प्रण गरियो।
यत्रो बेलिविस्तार लगाउन खोजेको गुगल म्यापलाई बदनाम गर्न होइन न त यस्का प्रतिस्पर्धी अन्य म्यापहरुलाई उकास्नलाई नै हो। हाम्रा तिर म्याप भन्दा पनि तगडा, मोबाइल र डाटासमेत नचाहिने जहिले मन लाग्यो वा सहयोग चाहियो हाजिर हुने अर्को अचुक उपाय छ ‘दाइ’। कतै बाटो झुक्किए अलि नम्र भएर दाइ बोलाए पछि वरिपरिका केही थान टाउकाहरु सम्वोधन गर्नेका तिर मोडिन्छन्।
धेरै अवस्थामा ती सबै टाउकाधनीहरु तपाईँहरुका अगाडि समस्या समाधान हेतु सेवामा हाजिर हुन्छन्।
उमेर कम भएकाले दाइ किन भनिस् भन्दैनन् उल्टै दाइभाई वा दाइबहिनीका सम्बन्धसँग नतमस्तक हुँदै मुस्कुराउँदै, मस्किदै प्रस्तुत हुन्छन्। यो ठाउँ कहाँ निर छ दाइ सोध्यो कि गुगल म्याप नपुगेका ठाउँमा समेत दाइका इन्टेलिजेन्स सित्तैमा प्रयोग गर्न पाइन्छ।
कुनै ठाउँका बारेमा एक दाइ जानकार नभए अर्का दाइहरु तम्तयार हुन्छन् आफ्ना विज्ञता बाँढ्न। सजिलो पनि कति भने डाटाका पैसा नि जोगिए अनि पैसाले किन्न नसकिने एक नयाँ दाइसँग कम्तिमा सम्बन्ध जोड्न पनि सकियो भलै आफूले जान खोजेको ठाम् पत्ता लागोस् नलागोस्।
बच्चादेखि लागेको बानी कहिल्यै नजानी। आइयो विदेश सात समुद्र पारी। अनि हाम्रा गामतिर काम बिराउने गुगल म्याप एता ठ्याक्क कति बेला मेट्रो आउने, कतापट्टिको चढ्नु पर्ने सबै देखाउने। एता त गाडीमा जानपर्ने कता स्ट्रीट नम्बर दाबे पछि पुर्याउने जिम्मा उस्कै बस आफूले आज्ञाकारी भएर उसका आदेश माने पुग्ने।
दाइ एता मोबिलमा थन्किएछन्। आफूलाई भने ती दाइहरु मिस भयो जो आवाज सुन्ने बित्तिकै आइपुग्थे, आफ्ना ज्ञान बाँढ्न लालायित हुन्थे।
साथीले सुझायो विदेशमा दाइ हैन ब्रो चल्छ। यो ब्रो भनेसी यहाँ नि कसो दाल नगल्ला। अनि फेरि पुरानो यात्राको फ्लासब्याक भो। कैयन् मित्रहरुलाई नगएको शहरमा गुगलको सहायताले अब यो ठाम यति समयमा पुगिन्छ यो बाटो जानपर्छ भन्यो, टेक्नोलोजीसँग धेर अभ्यस्त नभएर हो वा दाइ मिस भएर म्यापका कुरो सिरोधार्य गर्न गाह्रो गाह्रो पर्ने। सायद मनमा म्याप गलत भो भने के गर्ने डर वा यसले सबै ठीक सँधै देखाउला त भन्ने शंका।
अनि यता पनि दाइ खोजियो, ब्रदरका रुपमा। एक्सक्युजमी ब्रदर वी वान्ट टु गो दिस प्लेस क्यान यु हेल्प अस। कुरो धेरै सुन्न नचाहने। सुने नि झन्झट कहाँबाट आइपरो भन्ने भाव देखिने। देशाँ दाइहरु तछाडमछाड गरेर हैरान सेवा दिन यता ठाउँ जस्तै मान्छे नि चिसा। यी ब्रदर/ब्रोहरुले सम्बन्धलाई यसरी भित्तामा टाँसिदिए कि भाईहरु त निस्सासिने नै भयौ।
यिनलाई के थाहा हामी यस्तो मूलुकबाट आएका हम् जहाँ अकासतिर हात उठाएर उभिदा पनि सय भन्दा त अलि बढि होला दश चाँहि घेरा हाल्न आइपुग्छन्।
हो तकनिकमा साथीहरुले दूनियाँ हल्लाएका छन्। मोबाइलमा सबै समेटिएको छ, किनमेल, यात्राका बन्दोबस्ती र धेरै अन्य दैनिकीका अंगहरु। यी सबैका बीच सम्बन्ध पनि मोबाइल मै झाङ्गिएको छ। मोबाइल बाहिरकालाई बैरी देखेका छन्। घण्टौं च्याटमा समय ब्यथित गर्नेसँग प्रत्यक्ष साथी आउँदा दश मिनेटको फुर्सद छैन।
बुढाले बुढीलाई एउटै छतभित्र बस्दा पनि जन्मदिन, विवाह वार्षिकोत्सवको शुभकामना यही मोबाइल मार्फत दिन्छ। यही मोबाइलमा भेटिएको एउटा कुरा याद आयो। मोबाइल आयो क्यालकुलेटर, घडी, डायरी, क्यामरा सबै बिस्थापित भए सम्बन्ध चाँहि नहोस्।
कता कता दाइको नियास्रो लाग्यो बिरानो मूलुकमा। दाइ नै ठीक ब्रो काम लागेन।