२०७२ सालको इन्द्रजात्राका लागि म अलि बढी नै उत्सुक थिएँ। एक त वैशाखको भुइँचालोको केही महिनापछि नै इन्द्रजात्रा थियो। त्यसमाथि इन्द्रजात्रामा तानिने कुमारी, गणेश, र भैरव रथ यात्रामा म पहिलो पटक सहभागी हुँदै थिएँ।
काठमाडौंमा परापूर्वकालदेखि मनाइँदै आएको इन्द्रजात्रामा महिलाहरूले २०६९ देखि मात्र रथ तान्ने अवसर पाएका थिए। त्यसअघि महिलाहरू सहयोगी हैसियतमा मात्र सहभागी हुन्थे। म पनि टाढै बसेर पुरुषहरूले रथ तानेको टुलुटुलु हेर्थें।
महिलाहरूले रथ तान्ने अवसर पाउनुमा दुई व्यक्तिको ठूलो भूमिका छ। इन्द्रजात्रा व्यवस्थापन समितिका सल्लाहकार स्व. मोहन कृष्ण डंगोल र महिला स्वयंसेवीहरूकी संयोजक नानीहिरा महर्जन।
महिलाहरूले रथ तान्ने अधिकार प्राप्तिका लागि समुदायमा बृहत् छलफल गर्नु परेको थियो। अधिकांशले यसका समर्थन गर्नुभयो।
इन्द्रजात्राको अन्तिम दिन, नानिचायामा महिलाहरूले रथ तानेपछि यो जात्रा पुरुषको मात्र रहेन। महिलाको पनि भयो। र, कुमारी रथयात्रा इतिहासमा नयाँ पाटो थपियो।
२०६९ देखि अहिलेसम्म सयभन्दा बढी महिला समूहका प्रतिनिधि कुमारी रथयात्रामा सामेल छन्।
मेरो पहिलो कुमारी रथयात्रा २०७२ को भुइँचालोले तहसनहस बनाएका काठमाडौका पुराना गल्लीबाट सुरु भयो। मजस्तै अरु महिलाले पनि त्यो साल रथका पाङ्ग्रा अघि बढाए। भुइँचालोले कमजोर बनाएका घरहरू टेकोले अड्याइएका थिए। साना गल्लीलाई टेकोले झन् साँघुरो बनाएको थियो।
बाटो सानो भए पनि, भुइँचालोमा सबै भत्किए पनि रथ तान्ने उत्साह र जोश भत्किएको थिएन। हामीले तमाम अवरोध पन्छाउँदै रथ अगाडि बढायौं। मैले भने रथयात्राका लागि भीड पन्छाउन सिट्ठी बजाउने जिम्मा पाएको थिएँ। सिट्ठी रथको अगाडि गएर बजाउनु पर्थ्यो। रथका लागि बाटो बनाउनु मेरो काम थियो। अत्यास लाग्दो भीड सामु मलाई घरिघरि डर पनि लाग्थ्यो। तर डर लुकाएर अनुहारमा पहिलो चोटि रथायात्रामा सामेल भएको खुसी झल्काउन चाहन्थेँ।
यसअघि रथयात्राको दर्शक मात्र बनेकी म त्यस दिन आफैं सहभागी भएर उत्साहित हुँदै रथलाई दिशा दिइरहेकी थिएँ।
त्यसयताका इन्द्रजात्रामा म कुमारी रथयात्रामा भाग लिइरहेको छु। गणेश, भैरव, र कुमारी गरी तीनैवटा रथ तानिसकेँ।
रथका पाङ्ग्रासँगै आफ्ना टोलका दिदीबहिनीसँगको सम्बन्ध पनि गुड्न थाल्यो। विभिन्न कारणले उनीहरूसँग खासै भेटघाट हुँदैन थियो। रथ तान्ने बहानामै म उनीहरुसँग झन् नजिक भएको महशुस गर्दैछु।
टोलटोलमा भक्तजनहरू भेटी लिएर कुमारीको आशीर्वाद लिन आउँछन्। रथयात्राका सहभागीलाई समयबजी दिन्छन्। ससाना नानीलाई रथयात्राले लोभ्याएको छ। उनीहरु जात्रामा रमाइरहेका भेटिन्छन्। जात्राहरुले हाम्रो संस्कृतिलाई गतिशील बनाइरहेको छ।
भैरवको रथ गणेश र कुमारीको रथ बीचमा पर्छ। त्यसैले ठाउँठाउँमा कुर्नुपर्ने हुन्छ। यस्तोबेला रथ रोकेको ठाउँमा पुलुकिसी (हात्ती) को पोशाकभित्र बसेका भाइहरूले आफ्नो स्मार्टफोन झिक्न भ्याइहाल्छन्। सायद, पोसाक भित्रै उनीहरू विभिन्न पोजमा फोटो खिच्छन् होला।
गणेश भगवान भनेको त स्वभाव नै चुलबुले। अझ इन्द्रजात्राको गणेश त सानो बालक। रथ रोकेको ठाउँमा रातो मोजामा सजिएर खुट्टा हल्लाउँदै बस्छन्।उनलाई हाइ आएर हो वा हाच्छ्यूँ गर्नु परेर हो, परिचारकहरूले ठूलो हाते पंखाले मुख छोपी दिन्छन्। उसो त गणेश भगवानलाई गर्मी नहोस् भनी ब्याट्रीले चल्ने सानो पंखा चलाएको पनि देखियो। कुमारी रथयात्रामा यस्ता रोचक दृश्य कमी नै हुँदैन।
रथयात्रामा सामेल भएको प्रभाव इन्द्रजात्रामा मात्र सीमित रहन्न। मैले पूर्वकुमारी मतिना शाक्यको रथ तानेकी थिएँ। गत साल उनले आफ्नो पदभार सकेर सामान्य जीवनमा प्रवेश गरिन्। यो वर्ष तृष्णा शाक्य छन्।
महिलाहरुले भाग लिने दिनमा कुमारी रथयात्रा व्यवस्थापन खास गरी सुरक्षाकर्मी र रथ तान्ने काममा पोख्त पुरुष स्वयंसेवीको सहयोगमा हुन्छ। प्रहरीले रथ तान्ने महिलाका लागि बाहिरी घेरा दिन्छन्। यसले भीडमा केही होला भन्ने हाम्रो पीर घटाउँछ। पुरुष स्वयंसेवीले अप्ठ्यारो पर्दा मद्दत गर्छन्। पानी ल्याइदिन्छन्। रथ मार्ग भरी प्रोत्साहन दिन्छन्। यसो हँदाहुदै पनि केही समस्या त आइपर्छन् नै।
एकपटक हनुमानढोका नजिकै मसँगैको बहिनीको कपाल कसैले पछाडिबाट धेरै बेरसम्म तानी रह्यो। कुमारीको रथ तान्ने समयमा केही अघि तीजको बिदा पर्छ। यही कारणले रथ तान्न अफिसले आधा छुट्टी दिन समेत आनाकानी गर्छ। बिदा सुविधा नपाएकोले कति चोटि रथ तान्ने कार्यक्रममा म ढिला पुग्नु परेको छ।
बाल्यकालदेखि हेर्दै आएको चाडमा यसरी प्रत्यक्ष भाग लिन पाएका पल अविस्मरणीय छन्। सानोमा झ्यालमा बसेर निकै बेरसम्म गणेश रथलाई कुरिन्थ्यो। जात्रामा सामेल भएका बाजा र नृत्य टोली, लाखे, पुलुकिसी हेर्दै बस्दा एक्कासि गणेशको रथ आइपुग्थ्यो। भैरव र कुमारीको रथ हेर्दाहेर्दै आँखाबाट ओझेल हुन्थ्यो। रथ हेर्ने धोको नपुग्दा म खिन्न हुन्थेँ।
अरु कुनै घरको झ्यालमा गई फेरि रथ हेरम् हेरम् लागिरहन्थ्यो। त्यस बेलाको दुई मिनेट भए पनि रथ यात्रा हेर्न पाउने भोक अहिले यसरी इन्द्रजात्राका तीनै रथसँग नगर परिक्रमा गरेर पूरा गर्न पाउँदा मन तृप्त भएको छ ।
(लेखक स्वतन्त्र अनुसन्धाता हुन्।)