उतिबेला महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए- ‘यदि मेरो देशमा साम्यवाद भएको भए म यसरी उपचार नपाएर मर्नुपर्ने स्थिति आउने थिएन।’
यतिबेला महान तथा कृतिमानी खेलाडी हरि रोकाया फेसबुकमा स्टाटस लेखिरहेछन्- ‘खेलाडी भएर देशको लागि मरिमेटेँ। आज यसरी बिरामी अपहेलित भएर बस्नुपरेको छ। यदि म कुनै पार्टीको खेलाडी भएको भए मैले धेरै सहयोग पाउथेँ होला। विदेशमा उपचार हुन्थ्यो होला।’
यी दुबै महान व्यक्तित्वको गुनासोमा समान आशा भेटिन्छ। त्यो हो एउटा सुन्दर राजनीतिक व्यवस्थाको व्यग्र प्रतिक्षा। दुवैमा तिव्र आवेग भेटिन्छ त्यो हो- वर्तमानको राजनीतिक व्यवस्था। जुन उनिहरु दुवैले आ-आफ्नो समयमा भोगे।
माथिका भनाइहरूको तात्पर्य हो देशका महान व्यक्तित्वलाई आपतको बेला समेत राज्यले हेरेन।
वर्तमानको राजनीतिक व्यवस्थालाई एक वाक्यमा टिप्पणी गर्दा भन्न सकिन्छ- यो क्रोनी क्यापिटालिजम (आसेपासे पूँजिवाद) हो। यसकारण वर्तमानको राजनीतिक व्यवस्थाले देशको लागि महत्वपूर्ण योगदान गरेको व्यक्तित्वलाई भन्दा बढी आफ्ना आसेपासेलाई हेर्छ।
क्रोनी क्यापिटालिजम बारे थुप्रै उदाहरण दिन सकिन्छ।
पछिल्लो समय विभिन्न पत्रपत्रिकाले समाचार छापेका छन् ओलीको उपचार खर्च १८ करोड नाग्यो:-सबै खर्च राज्यको।
ओलीले पटक पटक गरि १७ करोड ६६ लाख ६७ हजार चार सय २ रुपैयाँ सरकारी ढुकुटीबाट लिएको विवरणले देखाएको छ। उनले २०५४ देखि २०७२ सम्म सरकारबाट लिएको रकम सार्वजनिक भएको छ।
ओलीले २०५४ असार १५ गते २० लाख २५ हजार, ०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय, ०६४ साउन ६ गते २७ लाख १२ हजार १ सय, ०६८ भदौ १३ गते ३५ लाख ७३ हजार, ०७१ कार्तिक १७ गते ९ करोड २२ लाख १३ हजार, ०७१ चैत ५ गते ३७ लाख ७३ हजार, ०७२ कात्तिक ९ गते २ करोड १२ लाख ३ सय, ०७२ फागुन ३ गते ४ करोड ९८ लाख १३ हजार २ रुपैयाँ लिएका छन्।
त्यसपछि पनि ओलीको उपचारको सिलसिला रोकिएको छैन। उनको उपचार खर्च सबै राज्यले नै व्यहोरेको छ। कति व्यहोरेको छ? त्यो चाहिँ बाहिर आउन बाँकी नै छ। ओलीमात्र होइन राज्यकोषबाट उपचार खर्च पाउनेहरूमा अहिलेसम्मका प्रधानमन्त्री, मन्त्री सबै छन्।
गिरिजाप्रसाद कोइराला, प्रचण्ड, देउवा लगाएतका नेताहरू सानासाना रोगको उपचार गर्न पनि विदेश गएको खबर बेलाबेलामा मिडियामा आएका हुन र आईरहेका छन्। गिरिजा पुत्री सुजाताले स्तन क्यानसरको उपचार गराउन राज्यकोषबाट ५० लाख पाएको र प्रचण्ड पुत्रले सगरमाथा चड्न सरकारसँग दुई करोड माग गरेको आम नागरिकले भुलेका छैनन्।
ओली सत्तामा विराजमान भएदेखि गएको असारसम्मको पाँच महिनामा राज्यकोषबाट उपचार खर्च तथा आर्थिक सहायताको नामा बाँडिएको रकमको फेहरिस्त लामै छ। सरकारले फागुन महिनामा २ करोड ३० लाख २६ हजार, चैत महिनामा १२ करोड ६० लाख ९२ हजार, वैशाखमा १ करोड १० लाख ५ हजार, जेठमा १ करोड ५ लाख र असारमा ३ करोड ४३ लाख २ हजार गरी कुल २० करोड ४९ लाख रुपैयाँ राज्यकोषबाट बाँडेको छ। यहि अवधिमा १२ करोड ३३ लाख रुपैयाँ विदेश भ्रमणमा खर्च भयो।
सरकारले जेठ २० गते मात्र एकै दिन चारजनालाई ४३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गर्यो। त्यसमा खगेन्द्र चुडाललाई १५ लाख, डा. मिमाङ तेम्वे मालापथलाई १२ लाख, श्रीचन्द्र शर्मालाई १० लाख र नरेन्द्रराज पोखरेललाई ६ लाख रुपैयाँ औषधी उपचारबापत आर्थिक सहायता उपलब्ध गराउने कुरा छ।
ओली भन्दा अगाडिका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नौ महिनामा २९ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेर आफ्नो कर्मकाण्ड पुरा गरेकै हो।
प्रधानमन्त्रीका रुपमा ओलीको पहिलो कार्यकाल (२०७२ असोज २४ देखि २०७३ साउन १८ सम्म)मा १२ करोड २५ लाख १३ हजार ६ सय ३५ रुपैयाँ आर्थिक सहायताका नाममा वितरण भएको थियो।
मुस्ताङ गाडी चडेर लोकप्रियता कमाएका बाबुराम भट्टराईको एक दिनको चियापान खर्च सार्वजनिक भएपछि लोकप्रियता एकाएक गुमेकै हो।
असार मसान्तमा मात्र विकासको नाममा झण्डै २८ अर्व बढी रकम एकैपटक निकासा भयो। यो कसका लागि भयो? एक वर्षसम्म विकास बजेट खर्च गर्न कस्ले रोक्यो? अघिल्लो दिन बनेको सडक भोलिपल्ट बिग्रदा निर्माणको जिम्मा लिने कन्ट्राक्टरहरूलाई किन कारबाही भएन? यसको सजिलो उत्तर छ यी सब सरकार निकट व्यक्तिहरू हुन्। सरकारले आफ्नो कोडी (कुष्टरोगी) सुपाले तोडी गरिरहेकै छ।
हालको सरकारले आयातलाई कम गर्ने र निर्यात बढाउने कुनै कार्यक्रम अघि सारेको छैन। आयात गर्ने जो व्यापारीहरू छन्, तिनैलाई खुशी पार्नका लागि यो सरकारले काम गरिरहेको छ। यसलाई भनिन्छ दलाल पूँजीवाद। सरकार दलाल पूँजीवादको संरक्षण गरिरहेको छ।
आज राजनीतिक नेतृत्वले आफ्ना कार्यकर्ताहरू, समर्थकहरू र व्यापारीलाई संरक्षण हुने किसिमका कानूनहरू बनाइदिने र ती कानूनहरू लागू गरेर पूँजी कमाउनेधन्दा चलाइरहेको छ। यसलाई भनिन्छ, क्रोनी क्यापिटालिजम (आसेपासे पूँजीवाद)। सरकार आसेपासे पूँजीको नेता बनेको छ।
जसरी शिक्षामा, स्वास्थ्यमा स्वार्थ समूहहरू छन्, बाटोघाटो आदिमा कन्ट्राक्टरहरू छन्, यी सबैको अनुकूल बनेको छ, सरकार। त्यसैले सरकार आसेपासेका हितका लागि न्याय माग्ने जो सुकैसँग लड्न तयार छ।
जसले स्वास्थ्य क्षेत्रमा लगानी गरेर अकूत कमाउन खोजिराखेका थिए, उनीहरूकै पक्षमा लागेर ओली सरकार डा. गोविन्द केसीको विरुद्धमा लड्यो र अरु थुप्रैसँग लडिरहेको छ।
देवकोटाले साम्यवादी व्यवस्थालाई एउटा सुन्दर व्यवस्था माने। उनले मर्नेबेलामा उपचार पाएनन्। खर्च अभावमा। उनका अमुल्य कृतिहरू कौडीको मोलमा पनि बिकेनन्। रोकायाले वर्तमानको पक्षपाति राजनीतिक व्यवस्थाको कारण खर्च अभावमा तड्पिनुपर्ने नियति प्रष्ट्याएका छन्। उनको आवेग अहिलेको क्रोनी क्यापिटालिजम (आसेपासे पूँजीवाद) प्रतिको हो।
देवकोटाले भनेजस्तो राजनीतिक उद्देश्य बोकेको पार्टी अहिले सकारको नेतृत्व गरिरहेको छ। ठीक यही समयमा एउटा महान खेलाडी बिरामी परेका छन्। उनले राज्यबाट कुनै पनि खालको सुविधा पाएका छैनन्। तर आसेपासेहरूले भने अनेकौं सुविधा पाएका छन्।
सरकारले बाँडेको उपचार खर्च तथा आर्थिक सहायता पाउनेमा पूर्वसांसद, पूर्व र बहालवाला मन्त्री, भ्रष्टाचारको अभियोग लागेका, प्रहरीको मोष्ट वान्टेड सूचीमा परेका, आफ्ना निकट आसेपासे कार्यकर्ता, उनीहरूले खोलेका संघ संस्था, पहुँच भएका काँग्रेस तथा नेकपा सबैका कार्यकर्ता लागाएत भुटानीहरू समेत छन्। पत्रत्रिकाले निकालेको लामो सूचीमा कृतिमानी धावक हरी रोकायाको नाम पुछारमा पनि अटाएको छैन।
कम्युनिस्ट पार्टीको अन्तिम लक्ष्य भनेको साम्यवाद हो। मार्क्स, एंगेल्सले साम्यवादमा शिक्षा, स्वास्थ्य, रोजगारी सब राज्यको दायित्व हुन्छ नै त्यसका अतिरिक्त योग्यता अनुसारको काम, काम अनुसारको ज्याला र आवश्यकता अनुसारको वितरण, गाउँ र सहर बीचको भेद हट्ने, राज्यले सँधै एउटा वर्गलाई दबाउने हुनाले राज्यको उन्मुलन गर्ने लगायत विज्ञान र तर्कसम्मत तथ्यलाई प्रष्टयाएका छन्। यो महान लक्ष्य प्राप्तिका लागि सरकारले एक पाइला चालेको छैन। केवल आसेपासेका हितका लागि न्वारानदेखिको बल लगाइरहेको छ।
समग्रमा विश्वविद्यालय, शिक्षण संस्था, स्वास्थ्य, व्यापार, राजनीति त्यस्तो कुनै क्षेत्र छैन जुन क्रोनी क्यापिटालिष्टले ग्रस्त नभएको। यीनै हुन क्रोनी क्यापिटालिजम (आसेपासे पुँजीवाद) का उदाहरहरू।
यदि कसैले प्रश्न गरेर हरि रोकाया को हो? भन्यो भने त्यसको सजिलै उत्तर दिन सकिन्छ। हरि रोकाया १५ वर्षको उमेरदेखि नै धावन यात्रा तय गरेका एक कुशल खेलाडी हुन्। एभरेस्ट म्याराथनमा ह्याट्रिक गर्दै विश्व कीर्तिमान राख्ने एक अद्भुत क्षमतावान व्यक्तित्व हुन। कर्णाली अञ्चललाई पहिलो पटक मेडल दिलाउने एक प्रतिभावान व्यक्ति हुन्।
१३ वटा राष्ट्रिय तथा २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका जुम्लि सपुत हुन।
जुम्ला बजारबाट बिहान दौडिएर मुगुको रारा ताल पुगेर फेरि साँझ जुम्ला बजार।आइपुग्न सक्ने अहिलेसम्म पनि एक व्यक्ति रोकाया नै हुन। (जुम्लाबाट रारातालसम्मको दूरी ४९ किलोमिटर छ।)
रोकायाकै नाममा हामी जुम्लीहरुलेपनि फुर्ती लगाउने थुप्रै ठाउँ छन्। अन्नपूर्ण सर्किट सबभन्दा छिटो (२४ घण्टा ५ मिनेट)मा सम्पन्न गर्ने कीर्तिमानी व्यक्तित्व उनै हुन। थुप्रै रेकर्डहरू तोड्ने, आफ्नै रेकर्डसम्म तोडेका, सन् ८० दशकको उत्तरार्धदेखि ९० को दशकभर नेपालमा भएका लामोदूरीका लगभग सबैखाले दौडहरू जितेका र एक गर्विलो इतिहास बोकेका खेलाडी भनेर। जसको नामैले सारा कर्णालीबासीको छाती चौडा गराइदिन्छ।
उनले आफ्नो खेल जीवनमा सबैभन्दा ठूलो सफलता एभरेष्ट म्याराथनमा हात पारे। सन् १९९३ देखि एभरेष्ट म्याराथनमा सहभागिता जनाए र त्यसको ४ वर्षपछि सफल पनि भए। तर, त्यो विश्व रेकर्ड भने थिएन। २ वर्षपछि सन् १९९९ मा रोकायाले हाई अल्टीच्यूडको उक्त प्रतियोगितामा रेकर्ड बनाए, फाष्ट रनरको। उनले एभरेष्ट म्याराथन ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा पूरा गरेका थिए। एभरेष्ट म्याराथनमा कम समयमा दौड पूरा गरेपछि उनको नाम गिनीज बुक अफ वल्र्ड रेकर्डमा समावेश भयो।
उनी आफैंले आफ्नो पहिलो रेकर्ड धेरै समय टिक्न दिएनन्। एभरेष्ट म्याराथन सन् २००० को संस्करणमा रोकायाले ३ घण्टा ५० मिनेट २३ सेकेन्डमा पूरा गर्दै गिनीज बुकमा रहेको आफ्नै रेकर्ड तोडे ।
रोकायाले आफ्नो खेल जीवनको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मेडल जितेका छन्- बैङ्ककमा भएको इन्टर कप प्रतियोगितामा ५ र १० किलोमिटरको दौडमा प्रथम भएर।
रोकायाको एभरेष्ट म्याराथनको ह्याट्रिक रेकर्ड अहिलेसम्म कसैले ब्रेक गर्न सकेको छैन। यहि हो हरि रोकाया महान मानिनुको राज। यसैबाट नै उनले देश चिनाएका छन्। त्यो भन्दा बढी देश चिनाउने उत्तराधिकारी तयार पारेका छन्। विश्वरुपा बुढा, सुनमाया बुढा, पूर्णलक्ष्मी न्यौपाने, दुर्गा बुढा, रेजिना भण्डारी सबै रोकायाका उत्तराधिकारीको रूपमा उदाएका छन्।
उनीहरू विदेशी भूमिमा चन्द्र सूर्य अंकित झण्डा फहराई रहेका छन्। यीनै कारण हुन् रोकायालाई भित्रैदेखि सलाम गर्न मन लाउने। गर्वानुभूति गराउने।
झण्डै २५ वर्षसम्म नेपाली राष्ट्रिय एथ्लेटिक्स संघको खेलाडीका रुपमा रहेका रोकायाले २०६० सालमा भएको एभरेष्ट म्याराथनबाटै आफ्नो सन्यास लिएको घोषणा गरे। उक्त प्रतियोगितामा रोकायाले ४० वर्ष उमेर समूहभन्दा माथिको समूहमा दौडिएका थिए। त्यहीबेला उनी म्याराथनको बीचमै बिरामी भए। जसले गर्दा उनी चाहेर पनि दौडिन सकेनन्।
त्यसयता पनि उनि चुप लागेर बसेनन्, दौदिन छोडेनन्, आफ्ना उत्तराधिकारीलाई कठिन भिरपाखामा दौडाउन लागे। परिणाम आज राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छाप बसाउन सफल खेलाडीहरूको जन्म भएको छ।
प्रसिद्ध भूगोलविद डा. हर्क गुरुङ जुम्ला आउदा घण्टी बाँधिएको भाला र हुलाकी झोला बोकेर हरेक बिहान ५ किलोमिटर दगुर्दै अर्को केन्द्रसम्म हुलाक पुर्याउने हुलाकीलाई सम्झदै भनेका छन्-'पहाडका जवान हुलाकीलाई अलिकति मात्र पसकाउने हो भने अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको म्याराथन दौडमा नेपालले जित्ने राम्रो सम्भावना छ।’ झण्डै ५२ वर्षअघि गुरुङले गरेको कल्पनालाई रोकायाले हकिकतमा बदलिदिएका छन्। डाँडापाखामा केटाकेटी दैडाएर।
आफ्नो पुरै जीवन खेल क्षेत्रमा समर्पित गरेका रोकाया जस्तो खेलाडी बिरामी पर्दा राज्य उदासीन हनुले, नयाँ ऊर्जाका साथ खेल क्षेत्रमा आउने खेलाडीको उमंगलाई ब्रेक लगाउने काम हुनेछ।
अहिले पनि कैयौं खेलाडीहरू खेल जीवनबाट टाढिएपछि विदेश पलायन भएका छन्। रोकायासँगैका कतिपय साथीहरू अहिले विदेशमा छन्। उनलाई पनि विदेशबाट प्रस्ताव नआएका होइनन्। तर, देशको सम्मानका लागि पनि पलायनको सोच नराखेका उनी र उनीजस्तै खेलाडीलाई जीवनको उत्तरार्धमा निरास बनाउने काम सरकारले गरिरहेको छ।
रोकाया बिरामी हुँदा उनको उपचारका लागि विभिन्न क्षेत्रले सहयोग गरे । राष्ट्रिय खेलकुद परिषद(राखेप) र कर्णाली प्रदेशले १,१ लाख दिए, जुम्लाको चन्दननाथ नगरपालिकाले ५० हजार, एक जना उनका शुभचिन्तकले ३० हजार र भेट्रान खेलाडी संघले १० हजार सहयोग गरेको छ। उनले त्यसलाई आफ्नो उपचारमा खर्च गरेका छैनन्। नयाँ खेलाडीलाई उत्प्रेरित गर्न र उनिहरुलाई समस्यामा परेको बेला खर्च गर्न भनि राखेका छन्। तर देशको केन्द्रीय सरकारले भने उनको उत्प्रेरणा मारेको छ।
सरकारले त हरेक क्षेत्रमा लागेका नागरिकलाई उत्प्रेरित गर्नुपर्छ। उनीहरू जुन क्षेत्रमा क्रियाशिल छन् त्यसमै लागिरहुँ भन्ने भावनाको विकास गराउन सक्नुपर्छ। खेलाडीलाई पनि सोही अनुसारको उप्रेरणा दिने हो। एउटा खेलाडीलाई दिएको हौसलाले सिंगो खेल जगतलाई उत्साहित हुने वातावरण मिलाउनुपर्छ।
भर्खरै सकिएको फिफा विश्वकप फुटबल २०१८ को बेला आफ्ना खेलाडीलाई क्रोएसियाका राष्ट्रपति कोलिन्दा ग्रावरले दिएको उत्प्रेरणाले त्यस देशको खेल क्षेत्र थप उचाइमा पुग्ने आशा गरियो। संसारले निरंकुश मानेको प्रजग कोरियाका सर्बोच्च नेता किम जङ उनले प्रत्येक खेलाडी मेस्सि जन्माउने भनि घोषणा गरे। यी र यस्ता गतिविधिले खेलाडीको उत्प्रेरणा ह्वात्तै बड्छ।
तर हाम्रो सरकारको कुनै उत्प्रेरणा बिना नै देशको शिर उचो बनाउने एक खेलाडी हरि रोकाया बिरामी भै पिडाले छटपडाउँदा समेत कुनै प्रतिक्रिया दिएन। सरकारले न एक पटक अवस्था बुज्यो। न उपचारको कुनै चाँजोपाँजो नै मिलायो।
रोकायालाई 'गुलिएन-बेर्रे सिन्ड्रोम (जिबिएस)' भएको छ। यसले शरीरको प्रतिरक्षा प्रणाली हातखुट्टातिर प्रवाह हुने स्नायुलाई आक्रमण गर्छ। हातखुट्टाको चाल, दुखाई, तापक्रम र स्पर्श संवेदना नियन्त्रण गर्ने स्नायु अवरुद्ध हुन्छ। जसले शरिरका मांशपेशीहरू कमजोर र लाटा हुन्छन्। सम्भावित जटिलताको समय मै उपचार भएन भने प्यारालाईसिस हुन सक्छ। सुखद संयोग मान्नुपर्छ समयमै समस्याको उचित उपचार, स्याहार र फिजियोथेरापी माध्यमबाट उनी निको निको हुने चरणमा छन्।
पछिल्लो समय दैनिक फिजियोथेरापी गराईरहेका रोकायाको अवस्था सुन्ने बित्तिकै २०७१ फागुन ६ गतेको मिति झलझली याद आउछ। जुन दिन पंतिकारका बाबु रोकायाकै जस्तो समस्याले थला परेको थिए। उपचार गराउँदा गराउँदै २०७२ साउन २५ गते पंतिकारले बाबु गुमायो। त्यो दुखद क्षणको सम्झनाले कतै..... भन्ने लागिसकेको थियो। तर समयमै उपचार पाएपछि सम्भावित जोखिम टरेको छ।
आज रोकायालाई आफ्नो उपचारको भन्दा बढी चिन्ता आफूले तयार पारेका खेलाडीहरूको मनोभावना र उत्प्रेरणाको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा अब्बल हुँदै आएका उनका खेलाडीहरूमा यसरी एकाएक कमजोर भएका गुरूलाई समेत राज्यले बेवास्ता गरेको देखेर उनको प्रेरणामा दौड प्रशिक्षणमा लगनशील युवायुवतीमा डर पस्ने पो हो कि? अभिभावकले नै उनीहरूलाई दौडिन निरुत्साहित गर्ने हुन् कि? वा भावी पुस्ताका खेलाडीमा खेलप्रतिको रुचि घट्ने पो हो कि? भन्ने चिन्ता बढी छ।
रोकायाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका म्याराथन जित्न अल्टिच्युडले असर पार्ने बताउँदै आएको लामो समय भयो। त्यसैले उनी जुम्ला जस्तो अग्लो स्थानमा हाई अल्टीच्युड ट्रेनिङ सेन्टर खोलेर थुप्रै खेलाडीहरू तयार पार्ने सपना बोकेर लागेका छन्। यस्ता ठाउँमा ट्रेनिङ गरेमा सबै प्रकारका खेल जितिने र खेलाडीहरूबाट उपलब्धि हात लाग्ने उनको अनुभव हो। तर आजसम्मका सबै सरकारले उनको यो योजनालाई प्राथमिकतामा राखेनन्। प्रदेश सरकारले आशा देखाएको छ तर बजेट छुट्याएर प्रक्रिया अगाडि बढाएको छैन।
खेल क्षेत्रबाट देशको शिर उचो पार्न आफ्नो पुरै जीवन लगाएका रोकायालाई उनको दुखमा सरकारले साथ दिन सकेन। सरकारले एउटा सुनौलो अवसर गुमायो। उनको उपचार खर्च बेहोरेर उनलाई सम्मान गर्नु सारा खेल जगतलाई सम्मान गर्नु हुन्थ्यो। बारम्बार यस्ता अवसर आउँदैनन्। सरकारको लागि एउटा अवसर अझै बाँकी छ। त्यो हो रोकायाको सपना, हाई अल्टीच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने। यो अवसर नगुमाई देशमा सरकार भएको अनुभुती सरकारले दिलाइदेओस र सरकारले पनि खेलाडीको निम्ति केही गर्दैछ भनि उत्प्रेरणा देओस। अन्यथा क्रोनी क्यापिटालिजम विरुद्धको लडाइँमा खेलाडीहरू नै अग्रपंक्तिमा आई सत्ता गुमेको अवस्थामा पछुतो बाहेक केही बाँकी रहने छैन।