‘ए सुन त डा. केसीका माग पुरा भए नि।’ हो र सर! एसSSS। हो सबै माग पुरा भए। साउन ११ गते दस कक्षाका विद्यार्थीलाई अर्थशास्त्र पढाउँदै गर्दा मैले भनेको थिएँ।
विद्यार्थीहरू निकै खुसी थिए। उनीहरूले एसSSS गर्दा दुबै हातका मुठ्ठी कसेर दुबै हातलाई अगाडिबाट जोडले पछाडिसम्म खिचेका थिए।
एक साता अगाडि उनीहरूले डा. केसी किन अनशन बसिरहेका छन्? भनि प्रश्न गरेका थिए। त्यसैले म उनिहरूलाई यो सन्देश बाँडिरहेको थिएँ।
डा. केसीको जुम्ला अनशनका सात वटा माग मैले उनीहरूलाई सुनाइदिएको थिए। राम्रो नराम्रो आफैं छुट्याउनु भने।
सबैले ठिक हो भने। ‘हामीले पनि सक्यौं भने त डाक्टर पढ्न पाउछौं है सर?’, अनु खत्रीले पश्न गरेकी थिईन्।
उसको प्रश्नको ठोस जवाफ मसँग थिएन। मैले केवल यत्ति भने पैतिस लाख रूपियाँ सम्मको सिमारेखामा पढाउनुपर्ने डा. केसीको माग हो। अहिले डाक्टर पढ्न ६० लाखसम्म तिर्नुपरिरहेको खबर आएको छ। उनीहरू अलि निराश देखिए।
पुजन नेपाली बोल्छ ‘पैतिस लाख पनि त महङ्गै हो नि सर। यती रूपियाँ पनि हामी कहाँ पाउला त? ऊ कक्षामा सधै तेस्रो हुने विद्यार्थी हो।’
मैले फेरि भने, ‘तर सजिलो भने के छ भने गरिबहरुले पनि सजिलै डाक्टर पढ्न पाउने बाटोको विषयमा डा. केसीले बोलेका छन्। राम्रा विद्यार्थीलाई यो अवसर हुनेछ।
यदि माग पुरा भयो र सरकारले इमानदारीपूर्वक विना पक्षपात सहमति कार्यान्वयन गर्यो भने पाईन्छ।
उनले गरिब र जेहेन्दारलाई पूर्ण छात्रवृत्तिको कुरा उठाएका छन्। निराशहरु अलि खुसि देखिए। पछि हामी विषयवस्तुतिरै लाग्यौं।
यतिवेला सरकारले डा. केसीका माग पुरा गर्ने सहमति जनाएको छ। डा. केसीले पनि अनशन तोडिसकेका छन्।
सुरूको दिन असार १६ डा. केसी र उनका समर्थकलाई जुम्लामा प्रहरी प्रशासनले धरपकड गरिसकेपछि साँझ हामी प्रमुख जिल्ला अधिकारीकहाँ भेट्न गएका थियौं। हामीले कवर्ड हलजस्तो फोहोर ठाउँमा डा. केसीलाई नराखी गतिलो ठाउँमा राख्न सुझाव दियौं।
केही समयको छलफलपछि निस्कनै लाग्दा प्रजिअले डा. केसीको समर्थन गर्नेले अहिलेको सरकारलाई पहिलाको जस्तो नसम्झिन सुझाए। उनले सरकार दुई तिहाईको भएकोले ऊ निरंकुश बन्न सक्ने भनि सांकेतिक रूपमा धम्कि दिएका थिए।
हरेक सरकारको चरित्र निरंकुश हुन्छ। उसँग सेना, प्रहरी, गुप्तचर, कर्मचारी सबै हुन्छ। बनिबनाउ संयन्त्र हुन्छ। अथाह शक्ति हुन्छ। उसले यी सबैलाई आफ्नो अनुकुल प्रयोग गर्छ। सत्ता दमन गर्ने औजार पनि हो। यति मात्र नभई उसँग लठैतहरु र गुन्डाहरुसमेत हुन्छन्। सबभन्दा बढी त कार्यकर्ता हुन्छन्। नेताले भनेको जे पनि सहि भन्दै हिड्ने र गर्दै हिड्ने। आलोचनात्मक चिन्तनसम्म नराख्ने।
यति भन्दैमा सत्तामा बस्नेले जे पायो त्यही गर्न सक्दैन। सरकार दुई तिहाइको हुने बित्तिकै जायज कुरालाई दमन गरेर अघि बढ्न सक्दैन। संसार जित्न हिँडेको हिटलरलाई रूसी सेनाले रोक्यो कहिले सूर्य नअस्ताउने बेलायती साम्राज्य एउटा कुनामा सिमित हुनुपर्यो।
अमेरिकी राष्ट्रपति समेतले कति पटक साना कारणले राजीनामा दिनुपरेका उदाहरण छन्। त्यसैले सरकार चाहे कांग्रेसको होस् या कम्यूनिस्ट सबै निरंकुश हुन्छन्।
डा. केसीको अनशन यता प्रधानमन्त्रीका निकै छुद्र अभिव्यक्ति आए। उनले डा. केसी र उनका समर्थकलाई निरन्तर प्रहार गरिरहे।
जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र महतले दुई तिहाईको सरकारलाई केसी आन्दोलनले छुन नसक्ने अभिव्यक्ति दिए। सत्ताधारी पार्टीका कार्यकर्ताहरुले ठाउँ पाएसम्म डा. केसीको हात धोएर विरोध गरिरहे।
केही अनलाइन र पत्रपत्रिकाले डाक्टर केसीको विरोधमा निरन्तर लेखिरहे। त्यही समाचारलाई खुबसित झ्यालि पिट्ने काम नेकपाका कार्यकर्ताहरूले गरे।
जजस्ले जेसुकै बोले पनि अन्ततः सरकार आफ्नो अडानबाट पछि हट्यो। डा. केसीका माग पुरा भए। माग पुरा गरेपछि सरकार हारेन बरू जित्यो। डा. केसीले भनेजस्तै ‘माफिया र डनहरुले’ हारे। सरकारले जित्नु जनताले जित्नु हो।
बरू डा. केसीलाई जित्नु र हार्नु थिएन। उनी जनताको जित हुनेछ भन्दै दृढताका साथ अनशन बसेका थिए।
डा. केसीको समर्थनमा कांग्रेस, विवेकशील साझा, नयाँ शक्तिलगाएतका पार्टीहरू लागे पनि जुम्लामा समर्थन गर्नेलाई हेर्दा फरक दृश्य देखिन्थ्यो। महिलाहरू कुनै राजनीतिक पार्टीको आयोजना विनै सडकमा आएका थिए।
हुनत काठमाडौंमा पनि पूर्वप्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीसम्म सडकमा आएर डा. केसीको समर्थन गरे। १४ वटा राष्ट्रिय दैनिक तथा अनलाइन पत्रिकाका सम्पादकसमेतले डा. केसीको आन्दोलनमा ऐक्यबद्धता जनाए।
कतिपयले यसरी प्रधान न्यायाधीश, पूर्वप्रधानमन्त्री सडकमा आउनु तथा सम्पादकहरूले ऐक्यबद्धता जनाउनु गलत भने।
कतिपयले यहाँ ठिक र बेठिक भन्न नहुने भन्दै स्वभाविक ठाने।
जुम्लाका महिला सडकमा आउनु गलत वा सही भनि टिप्पणी गर्न नसकिने स्थिति हो। उनीहरूको बुझाईमा डा. केसी गरिब जनताको लागि अनशन बसे भन्ने थियो।
गोठिचौर गाउँपालिका वडा नं १ कि सुमन बस्नेतको बुझाईमा डा. केसीका माग उनका आफ्ना निजी माग नभएको गरिब, दुःखी, असाय र कर्णालीका जनताका माग हुन्। पैसा नहुनेले पढ्न पाउनुपर्छ भन्ने हो।
जुम्ला आचार्यबाडाकी ६१ वर्षकी कृमिला खत्री पनि निएमित आन्दोलनमा आउने एक हुन्। अग्लो जिउ, पातलो शरीर, कालो वर्ण, मुजा परेको अनुहार, गुन्यू चोलो, निधारमा दुईटा टीका, गलामा पँहेलो, हरियो र रातो मिश्रित पोते, बिज र पुरानो एकगेडेको माला लगाएकी कृमिला मुखबाट फिँज आउन्जेल स्वर सुक्ने गरी बोलिरहेकी थिइन्।
उनी बोल्दा घाँटीका नसा तनक्क तन्किएका हुन्थे। बोलिमा तिव्र आवेग मिसिएको हुन्थ्यो।
कृमिला महिला स्वास्थ्य स्वयंसेकिका समेत हुन्। असार २९ गते रिपोर्ट बुझाउन आएपछि डा. केसी जुम्लामा अनशन बसेको थाहा पाइन्।
अस्पतालमै भएकोले डा. केसीलाई भेटिन् र भनिन्, ‘हामी महिला स्वास्थ्य स्वयंसेविका हौं, हामी केही गर्न सक्छौं। हाम्मो पुनि साथ छ। हजुरले सुरु गरेको आन्दोलन हाम्मो (हाम्रो) हो। हामी सक्दो प्रयास गर्छुं।’
एकदम धन्यवाद छ बहिनी भन्दै डा. केसीले उनलाई हाँसेर बिदा गरेका थिए।
‘डा. केसी कर्णाली अञ्चल जुम्लाको लागि आउनुभएको हो। मो बजार गइछिया छियाँ। अस्पतालमा हुलदंगा गरिरहेका छुन् भन्ने सुन्याँ (सुने) । डा. केसीन तिनुका (उनका) माग पुरा नगरी लिन्या हुन् भुन्या हाम्मा छातिउनो गोली ठोकुन्, अनि लेउन् भुनि अस्पताल गया हुँ। गोली खान्थे बरू, सहन्थे त्यहीँ बलिदान हुन्थेँ तर क्या गर्नु त्याउना मान्छे जति सबैन स्याउलिसोत्तर पारिकन (कुटेर) डा. केसीन लैग्याछुन्,’ यति बोल्दासम्म पनि उनका रिस मरेका थिएनन्। उनले साउन ३ गतेको घटनालाई सम्झदै बोलिन्।
औंला ठाडो गर्दै, हात चलाउँदै, स्वर ठूलो बनाउँदै उनी बोल्दै गइन् ‘डा. केसीका माग पुरा नहुन्जेलसम्म हामी शान्त हुनुहुन्न है। हामीलाई सुविधा चाहिएन? नेताको छेराछोरी विदेश जाने पढ्न, घुम्न विदेश जाने। आफू विदेश गैकन उपचार गरी आउन्या। जनताकान सुबिधा चाइनैनुन्? भुन्यावेला देश बनाउँछु भुन्या अहिले अस्पताल वजड्न्या (भत्काउने)? सरकारले क्या खोज्याछ? क्या हाम्मा कान बुजियाछुन्? हामी थाहा पाउनैनु? ती प्रधानमुन्त्री ओख्क्तो (उपचार) गन्न विदेश गया कोइ जन्ताले थाहा पाएका छैनुन्?’ आवेशमा प्रश्नको उभार ल्याएकी थिइन्।
‘डा. केसीको जीवन रक्षा गर,’ ‘डा. केसीको माग हाम्रो हो' जस्ता नारा लगाउँदै सडकमा आउनेहरूमा चना ६ की ६६ वर्षकी बिजु रावल पनि हुन्।
उनी स्वास्थ विज्ञान प्रतिष्ठानमा डाक्टर पढाई भएपछि जुम्लीका छोराछोरीहरू पनि सजिलै डाक्टर हुन्छन् भन्ने सोचेर सडकमा आएको बताइन्।
उनीसँगै आउने ५५ वर्षकी दुबै आँखा नदेख्ने उमा रावललाई उपचारमा पैसा नलाग्ने र सस्तो हुनाले डा. केसीलाई साथ दिनुपर्ने लाग्छ।
बिहान साँझ खेतमा मल बोक्नेदेखि बजारमा चिया पसल गरि बस्ने महिलासम्म आफ्नो अनुकुलता मिलाई जुलुस गर्न आउने सबैको बुझाई लगभग एउटै हो।
डा. केसीका माग पुरा भए भने गरिबले पनि डाक्टर पढ्न पाउँछन्। उपचारमा सबै जनताको सहज पँहुज हुन्छ।
डा. केसीको १५ औं अनशनले मेडिकल शिक्षाबारेको तथ्यपरक बहसलाई तल्लो तहसम्म पुर्यायो। सरकारी प्रतिनिधिका झुठा तर्कको खण्डन गर्न पर्याप्त प्रमाण फेला परे। एउटा मात्र उदाहरण काफी हुन्छ।
नेकपाका नेता योगेश भट्टराईले चिकित्सा शिक्षामा बेथिति अन्त्य गर्ने उद्धेश्यका साथ प्रतिवेदन तयार पार्ने माथेमा स्वयम्ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छँदा निजी क्षेत्रलाई मेडिकल कलेज सञ्चालनका निम्ति अन्धाधुन्ध पारामा सम्बन्धन दिएर बेथिति निम्त्याएको आरोप लगाए।
अध्ययनले देखायो केदारभक्त माथेमा अगस्ट १९९१ देखि जनवरी १९९५ सम्म त्रिभुवन विश्वविद्यालयका उपकुलपति थिए। त्यति बेलासम्म त्रिभुवन विश्वविद्यालयले एउटा पनि निजी मेडिकल कलेजलाई सम्बन्धन दिएको थिएन।
सन् १९९८ मा आएर मात्र त्रिभुवन विश्वविद्यालयले पहिलोपटक भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सलाई सम्बन्धन दिएको थियो।
डा. केसी अनशनको २७ दिन भित्र मेडिकल शिक्षाको विषयमा नेपाली मिडिया यति धेरै खोजमुलक बन्यो जसले सारा तथ्यहरू जनस्तरमा पुर्याएका छन्।
क्युवाको नि:शुल्क मेडिकल शिक्षा, इटालीको स्तरीय चिकित्सा सेवा, भारतको पश्चिम बंगालमा सरकारी मेडिकल कलेजहरूले १ लाखमा तयार पार्ने जनशक्ति, संसारभरमा शिक्षा र स्वास्थमा राज्यले गर्ने लगानी आदिको विषयमा मिडियाले तथ्यसहितको समाचार सम्प्रेषण गरे।
यतिमात्र नभई प्रधानमन्त्री स्वयंले मेडिकल शिक्षाको नाममा अर्बौ रकम विदेश गैरहेको अवस्थामा नेपालमै मेडिकल कलेज खोल्नुपर्ने बताइरहँदा नेपालमा खोलिएका मेडिकल कलेजको कोटा खालि भएको तथा विदेशबाट डाक्टरको प्रमाणपत्र लिएर आएकाहरु मेडिकल काउन्सिलले लिएको अनुमतिपत्रको परीक्षामा समेत उतिर्ण हुन नसकेको पनि संचार माध्यममा आयो।
यी सबै कुरा जुम्ली महिलाहरूले फिटिक्कै थाहा नपाए पनि उनीहरूले थाहा पाएको कुरा भनेको उपचार सस्तो र गरिबका छोराछोरीले सजिलै डाक्टर पढ्न पाउँछन् भन्ने हो।
यतिबेला डा. केसीको माग पुरा गर्ने सहमति भइसकेको छ। उनीहरूको मन हर्षले पुलकित भएको छ।
तर कति मान्छेहरू अहिले पनि हर्षित हुन सकेका छैनन्। सुरूदेखि नै डा. केसीको आन्दोलन सही बताउँदै आएका जुम्ला हाँकुका रवि नेपाली भन्छन्, ‘डा. गोविन्द केसीका माग पुरा हुनु कुनै नयाँ कुरा भने पक्कै होइन। १४ पटक डा. केसीका माग पुरा गर्ने भनेर यस अघिका सरकारले सही गरे तर व्यवहारमा भने किहिल्यै लागू गरेनन्। त्यसैले यदि सरकार इमान्दार भएको खण्डमा केसीका माग पुरा हुनेछन् नत्र यसकैका लागि १६ औं पटकको अनशन गर्नुपर्ने अवस्था नआउला भन्न सकिदैन।’
‘डा. केसीको आन्दोलन जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको थियो। उनले माथेमा कार्यदलको रिपोर्ट लागू गर्नुपर्छ भन्ने अडान राखेका थिए। मैले माथेमा कार्यदलको रिपोर्टको मर्म बुझेको थिएँ, साथै यसैको माध्यमबाट नि:शुल्क स्वास्थ्यको आन्दोलनको कुरा उठाउन हामीले डा. केसीलाई सपोर्ट गरेको हौ,’ उनले अगाडि भने।
जुम्ला केन्द्रित गरेर गरिएको डा. केसीको अनशन जनताको पक्षमा थियो। नेपालका सबै क्षेत्रका नागरिक समान छन्। हरेकले राज्यको स्वास्थको अधिकार समान तरिकाले पाउनुपर्छ, स्वास्थ क्षेत्रलाई नाफाकेन्द्रित बनाइनु हुँदैन, काठमाण्डुमा मात्र मेडिकल कलेज खोल्न हुँदैन भन्ने विषय उनका मागमा भएको भन्दै रूपन्देहीका सुर्जन तिवारीले यो आन्दोलनको प्रचार गर्ने, जनसमर्थन जुटाउने र सरकारलाई दबाब दिने काममा प्रत्यक्ष लागेकै बताए। ‘माथेमा कार्यदलको रिपोर्टको आधारमानै काम हुनुपर्ने निर्णय भऐको छ। यसबाट म पनि खुसि छु। खुसि भन्दा पनि सरकारले सहमति कार्यान्वयन नगर्लाकि भन्नेमा सचेत छु।’
दस कक्षामा प्रथम हुने छात्रा बाल कुमारी भण्डारी माग पुरा भइसकेपछि भन्छिन्, ‘हामीलाई एक घन्टा भोक थेग्न कति गाह्रो हुन्छ। तर डा. केसी २७ दिन खाना पानी नखाई अनशन बस्नुभयो। यो कठिन तर साहसिक संघर्ष हो। त्यसैको परिणाम डा. केसीका सबै माग पुरा भए। हामी जस्ता विद्यार्थीका माग पुरा भए। अब हामीले पनि मेडिकल शिक्षा पढ्ने विषयमा लक्ष्य लिन सक्ने भयौ।’
बुझेका मान्छेलाई माग सम्बोधन भए पनि कार्यान्वयन नहोलान् कि भन्ने चिन्ता छ। सबै कुरा थाहा पाई नसकेकाहरू हर्षले उफ्रेका छन्। आज सडकमा पुलिसको लठ्ठी खान आउने र मर्न तयार हुने महिलाका छोराछोरीले मेडिकल शिक्षा पढ्न घुस तिर्नुपर्ने वा पढ्न नपाउने अवस्था आयो भने के होला?
सरकारले उपलब्ध गराउने छात्रवृत्तिमा चरम पक्षपात भई हुने खाने र आसेपासेहरुको मात्र पहुँच भयो भने ती महिलाहरूको मनमा के पस्ला? उनीहरू उचालिए पछारिए झैं हुनेछन्। आजको सब आशा, झुठो सावित हुनेछ।
भारतीय मार्क्सवादी लेखक शशिप्रकाश भन्छन् ‘झुठो आशाले चरम निराशा जन्माउँछ।’