हरेकपटक महिला हिंसाको कुरा उठ्दा ललितपुरमा घरेलु हिंसाबाट ज्यान गुमाएकी ती सहकर्मीको याद आउँछ। २०४३ सालमा अस्पतालको बेडबाट असहाय अवस्थामा टुलुटुलु हेरिरहेका एकजोडी आँखाले मलाई लखेट्छन्।
त्यसको १० वर्षपछि, काठमाडौंको मैतीदेवीमा बोक्सी आरोपमा कुटिएर हत्या गरिएकी सरस्वती अधिकारीको मुर्दाघर अगाडि लडाइएको अहिले जुरुक्कै उठ्लिन् जस्तो शरीर आँखाबाट हट्दैन।
ती दुर्घटना भएको एक जुग भैसक्यो।
पहिलो दुर्घटनाबेला, म नेपाल राष्ट्रबैंकको जागिरे थिएँ। देशमा पञ्चायती व्यवस्था थियो। ती सहकर्मी श्रीमानबाट ज्यादै पीडित थिइन्। बन्द समाज थियो। महिलाले जे जस्तो भए पनि सहनुपर्छ भन्ने मानसिकतामा समाज हिँडिरहेको थियो।
तर पनि ती सहकर्मीले आफ्नै हिसाबले त्यो हिंसात्मक जीवनबाट आफू र आफ्ना नाबालिग दुई छोरीलाई मुक्त गराउने योजना बुन्दै थिइन्। मैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने प्रयास गरेकी थिएँ तर उनलाई बचाउन सकिएन। एकदिन, स्टोभ पड्किएको बहानामा उनको शरीरको तल्लो भाग ४०% भन्दा बढी जलेको अवस्थामा अस्पताल ल्याइयो। स्टोभ पड्किँदा कम्मरभन्दा माथिल्लो भाग किन जलेन भनेर सोधिने 'अनुसन्धान' गरिँदैन थियो। अस्पताल राखेको तेस्रो दिन उनको मृत्यु भयो।
घुइरो घुइरो सुनियो- 'उनीमाथि मट्टितेल खन्याएर आगो लगाई, ढोका थुनिदिइएको थियो।'
उनलाई नजिकबाट चिन्नेलाई थाहा थियो, उनी श्रीमानबाट हरेक दिन प्रताडीत थिइन्। उनी 'ठूला' की छोरी र 'इज्जतदार' घरकी बुहारी थिइन्। त्यसैले 'इज्जत' जोगाउन सबै कुरा सामसुम रह्यो।
दोस्रो घटनाका साक्षी त अहिलेका धेरै अधिकारकर्मी छन्।
सरस्वती अधिकारी उनका श्रीमान, आमा र घरबेटीसम्मले कुटपिट गर्ने, बोक्सी आरोप लगाउने लगायत अमानवीय काम गर्थे। सरस्वतीमाथि जुन घरमा अत्याचार भइरहेको थियो, त्यही घरमा नाम चलेका 'कलमजीवी'हरू पनि बस्नुहुन्थ्यो। के कारणले हो, उहाँहरू आफैं माथिल्लो तलामा उक्लिएर दुर्घटना हुन नदिन हस्तक्षेप गर्नुभएन।
पछि पत्रकार शोभा गौतम, माधवी सिंह राणा, प्रतिभा सुवेदी र यो पंक्तिकारको पहलमा कमलपोखरी प्रहरी कार्यालयका प्रहरीको सहयोगमा सरस्वती अधिकारीलाई अस्पताल र उनका दुई बच्चाहरूलाई 'सिविन' पुर्यायौं।
माथिका जस्ता दुर्घटना आज पनि हाम्रो समाजमा जिउँदै छन्।
यिनबारे संयुक्त आवाज हिजो पनि उठेको थिएन। आज पनि उठ्दैन।
महिला तथा बाल-बालिकामाथि हुने हिंसाको जिम्मा 'महिला अधिकार'का बारेमा आवाज उठाउनेहरूले मात्रै लिनुपर्ने जस्तो ठान्छन् हाम्रा जिम्मेवार निकाय। हिंसा घटना साार्वजनिक हुने बित्तिकै आफ्नो ठाउँबाट सक्ने आवाज नउठाई किमन 'कथित महिला अधिकारवादी र डलरको खेती गरेर भ्रम सिर्जना गर्नेहरू कुन दुलोमा छन्' भनेरमात्रै प्रश्न उठाइन्छ?
भोलि कुनै दिन यस्ता घटना आफ्नै घर परिवारमा पर्यो भने? त्योबेला पनि 'डलरवादी कता गए' भनेर बस्न सक्लान्?
महिला अधिकारको सन्दर्भ 'डलर'सँग मात्र जोडिन्छ। महिलाको कुरा गर्नै भनेर, कुरा उठ्ने बित्तिकै दिइने 'डलर'को स्रोत के हो? यसबारेमा पनि ती जानकारी दिए अझ सजिलो हुने थियो
नेपालको संविधान २०७२ को धारा ३८ (३) मा लेखिएको छ, 'महिला विरुद्ध , धार्मिक, सामाजिक, साँस्कृतिक, परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोबैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।
तर हरेकपटक जसो, महिला तथा बालबालिकामाथि हुने हिंसाका मुद्दा दर्ता गराउनै गाह्रो हुन्छ। दवाव दिनुपर्छ। जुलुस र धर्ना गर्नुपर्छ। बल्लबल्ल मुद्दा दायर हुन्छ, अदालत नपुग्दै प्रमाण नपुगेको आधारमा मुद्दा खारेज हुने सम्भावना रहन्छ।
कतिपय घटनामा उल्टो पीडितलाई नै 'उसकै हर्कतको दोष' भनिन्छ।
घरमा तीन वर्षदेखि छोरी सरह पालेर राखेको बच्चीलाई घरमूलीले बलात्कार गर्दासमेत 'बलात्कारको बारदात (घटना भएको) मितिपछिको अवधि र पीडितले बोकेको गर्भको आकार नमिलेको भन्दै जिल्ला अदालतले कसुर स्थापित नहुने फैसला' गरिदिन्छ। त्यतिबेला कतै पैसा ख्वाएर
पीडितलाई झनै पीडा थपेको कुरा उठ्दैन।
उटा स्वस्थ र सम्मानित समाज स्थापनाकf लागि हरेक व्यक्तिले पीडित महिला र बालबालिकालाई न्याय दिलाउन मैले पनि सहयोग गर्नुपर्छ भनेर आत्मसात हुनुपर्छ।
यो सन २००२ को मे महिनाको कुरा हो, साउथ अफ्रिकाको केप टाउनमा एउटा काठको बाकसमा एउटी महिलाको सुरक्षित राखिएको गिदी, यौनअंग र अस्थिपन्जरलाई साउथ अफ्रिकाको झन्डाले बेरेर छ जना अफ्रिकन 'खोइसन' आदिवासी बच्चीहरुले घेरेर सम्मानसाथ केप टाउनको विमानस्थलमा ल्या। ती महिलाको मृत अंगलाई सम्मान प्रदान गर्न स्थानीय पदाधिकारीहरु कुरिरहेका थिए। ती महिलाको नाम सार्तजी बार्ट्म्यान थियो, जसलाई छोटकरीमा सेरा बार्ट्म्यान पनि भनिन्थ्यो।
सेरा बार्ट्म्यान, साउथ अफ्रिकाकी एउटी युवा 'खोइसन' आदिवासी महिला थिइन्। उसलाई सन १८१० मा एक जना बेलायतीले किनेर (जुनबेला कालाजातीलाई दास/दासी रुपमा किनबेच गरिन्थ्यो) युरोपमा प्रदर्शनका लागि लगेका थिए। उनलाई लन्डनको पिकाडेलीमा सार्वजनिक रुपमा
विना लुगा पिँजडाभित्र राखेर प्रदर्शन गरिएको थियो। उनलाई पिँजडाबाट बाहिर निकालेर परेड गर्न लगाइयो, दर्शक सामु उठ्न र बस्न लगाइयो। उनको अस्तित्व कुनै मानवको जस्तो मानिन्थेन। यो हेर्न मानिसहरु टिकट किनेर जान्थे।
उनको शारीरिक बनौटको प्रदर्शन फ्रान्समा पनि भयो। करिब पाँच वर्षसम्म प्रदर्शनकी साधन बनेकी सेराको २६ वर्षमै मृत्यु भयो। मृत्युपछि पनि उनको शरीरले मुक्ति पाएन। त्यतिखेरका शासक नेपोलियन बोनापार्टका सर्जनले उनको शरीर छिन्नभिन्न बनाएर उनको गिदी, यौनांग र अस्थिपन्जरलाई पेरिसको एउटा संग्रहालयमा प्रदर्शनमा राखे।
यो घटनाको एक सय बयान्नव्वे वर्षपछि भने उनलाई स-सम्मान घर भित्र्याइयो। यही क्रममा साउथ अफ्रिकाको वेष्टर्न केप राज्यका प्रिमियर पिटर मारियासले भनेका थिए,'यो एउटा व्यक्ति घर फर्किएको मात्रै क्षण होइन, यो एउटा राष्ट्रकै घर फर्किएको क्षण हो।'
सेरामाथि भएको अत्याचारको थोरै भए पनि यो प्रायश्चित थियो।
यो कालक्रम सकिएको दुई सय वर्ष नाघिसक्दा पनि महिलालाई हेर्ने नजर बदलिएको देखिन्न। तरिका उस्तै नहोला तर नियतमा केही फरक छैन।
हामी दिनप्रतिदिन फरक तरिकामा महिलामाथि हिंसा भएको सुन्छौं। आफू केही बोल्दैनौं। अरुले बोलेनन् भनेर गाली गर्छौं। दोष लाउँछौं।
दुई-चार जनाको आवाज न्याय दिलाउनेको कानसम्म पुग्दैन। पुगे पनि सायद सुन्दैनन्।
हाम्रो समाज दुई सय वर्षअघिकी सेरा बार्टम्यानले भोगेको समाज होइन।
त्यसैले देख्ने-सुन्नेले आवाज उठाऔं। नचाहने वा नसक्नेले आवाज उठाउनेलाई सहयोग गरौं। आरोप-प्रत्यारोपको जालोमा महिला हिंसाका दुर्घटनालाई नफसाऔं।
महिला हिंसा घटना जति बढ्छन्, हाम्रो सभ्यता र स्तर उति नै घट्छ।