गत जेठमा अछामको तुर्माखाँद गाउँपालिकाकी १८ वर्षीया पार्वती बुढाको छाऊगोठमा सुतिरहेको बेलामा सर्पले डसेर निधन भयो। एक महिनाको अन्तरालमा अस्तिमात्र सुर्खेतमा अर्की एक युवतीको छाऊगोठमा सुतिरहेको अवस्थामा सामुहिक बलात्कार भयो। यस्ता कतिपय समाचारहरु प्रकाशमा आउँछन् कतिपय आउँदैन फरक यतिमात्र हो छाऊपडीको धङधङी कम भएको छैन। युवतीहरु महिनावारी भएको बेलामा घरभन्दा अलग्यै खुला छानोमुनी रात कटाउनुपर्ने बाध्यताका कारण कहिले विशालु जानवर त कहिले विशालु जनावररुपी मान्छेको डसाइबाट यातना सहन र मृत्युबरण गर्न बाध्य भइरहेका छन्।
नेपालको खासगरी सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास अहिलेसम्म पनि कायम छ। यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ, जुन गोठलाई ‘छाउपडी’ गोठ भनिन्छ।
छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो। यो प्राचीनकालदेखि नै चलिआएको परम्परा हो। मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरा लगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा यद्यपी कायमै छ। सुदूरपश्चिमी भेगमा चर्चा भए पनि यो प्रथा देशैभरी प्रत्यक्ष र परोक्ष रुपमा कायमै छ।
राजधानी शहर होस् या अन्य शहरी भेगका साथै ग्रामीण भेगमा यो प्रथा कायमै छ। भलै शहरमा अलग्यै कुटी बनाएर राखिदैन फरक यतिमात्र हो। महिलाहरुको वर्षभरीको पाप पखाल्ने नाममा हरेक वर्ष सरकारले ऋषिपन्चमीको दिन विदा नै दिने गरेको थियो जुन विदा वर्तमान सरकारले कटौती गरेको छ।
महिलाहरुले धार्मिक आस्था र विश्वासको नाममा कतिपय रूढीवादी र कुसंस्कारलाई अगाल्न बाध्य भएका छन्। यसको दोष जहिले पनि पुरुषमाथि लगाउने गरिन्छ।
हो विगतको हाम्रो संरचना पुरूषवादी चिन्तनबाट ग्रस्त थियो, धार्मिक ग्रन्थहरुमा पुरुषवादी स्वर भेटिन्छन्, हाम्रो समाज नै पिृतसतात्मक सोचको उपज मान्न सकिन्छ। विगतको इतिहासलाई सरापेर मात्रै महिला अधिकार प्राप्ती हुँदैन त्यसको लागि स्वयम् महिलानै जागरूक हुनुपर्छ, पुरूषको आलोचना गरेर होइन उनिबाट साथ र सहयोग लिएर आफूलाई सक्षम, सवल र आत्मविश्वासी बनाउन सक्नुपर्छ।
छाऊपडी गोठमा बस्नको लागि सबैभन्दा पहिले युवतीलाई कस्ले बाध्य पार्छ? पक्कै पनि उसकी आमाले, हजुरआमाले वा भाउजु, माइजुहरू जो आफुभन्दा ठूला महिला छन् उनीहरूले नै हो। घरकी आमा हजुर आमाले अडान लिएर मेरी छोरी , नातिनी वा बुहारीहरू महिनावारी भएको बेलामा अलग्यै गोठमा बस्न जाँदैनन्, घरको एउटा कोठामा बस्छन् भन्न सक्ने हो भने कुनै पनि पुरुषले जर्वजस्ती लखेटेर आफ्ना छोरी, बुहारीलाई गोठमा बस्न पठाउँदैनन्। हुन त हामी सधैभरी पुरूषका कारण यस्तो भयो उस्तो भयो भन्छौँ तर आफ्नो कमीकमजोरी औँल्याउने प्रयत्न गर्दैनौँ।
घरमा छोरीको प्रत्यक्ष कुराकानी, दुःखसुख शेयर हुने भनेको महिलापात्रसँग बढी हो। महिनावारी भएको बेलामा बार्नैपर्छ भन्ने कुरा कही नलेखिएको कुरा धर्मका ज्ञाता नै बताउँछन। महिनावारी पाप हुँदो हो त मासिक धर्म किन भनियो? महिनावारी पाप हुँदो हो त श्रृष्टी कसरी चल्दो हो? महिनावारी भएका महिला साँच्चिकै पापी हुन् भने उनिहरूले नै जन्माएका सन्तान महापुरुष भएका छन्, विश्व हल्लाएका छन्, ठूला ठूला धर्मशास्त्रका ज्ञाता भएका छन् यो कुरा कसरी सम्भव भयो?
महिनावारी प्राकृतिक चक्र हो भन्ने कुरा थाहा नभएका मानिस त सायद कोही छैनन् होला तर पनि यो विषय किन यति पाप र धर्मसँग जोडिन्छ?
वर्षेनी कलिला छोरीहरू यही पापबाट चोखिन गोठमा सुतेको सुत्यै हुन्छन्? कयौँ चेलीहरु पापबाट मुक्ति पाउन गोठमा बसेको बेलामा बलात्कारको शिकार हुन्छन्? यो पाप धर्मको विषय भन्दा पनि धेरै हाम्रो मानसिकताको द्योतक हो।
राजधानी लगायतका नेवार समुदायका छोरीहरू पहिलोपटक महिनावारी हुँदा गुफा राख्ने चलन छ के यो छाउपढीको नमुना होइन र?
शहरी भेगमा छोरीहरू पहिलोचोटी महिनावारी हुँदा २२ दिनसम्म भान्सामा पस्न दिइदैन, पुरूष सदस्यको मुख हेर्न हुँदैन भनेर आफन्तको घरमा लगेर राख्ने गरिन्छ के यो छाउपढी होइन र?
दुर्गमको विकृति, अन्धविश्वास, कुसंस्कार हुने शहर वा सुगम भेगको असल संस्कार हुन्छ? यस्ता विषयमा खै त बहसपैरवी? गुफा बस्ने, छाउपढी गोठमा बस्ने र आफन्तको घरमा गएर बस्नेको बिचमा के फरक छ?
पात्र जहाँ जे जस्ता भए पनि सारतत्व एउटै हो महिनावारी मासिक चक्र होइन यो पाप नै हो भन्ने बुझाइ छ देशैभरी अनि सुदूरपश्चिमको मात्रै आलोचना गरेर यो प्रथा हट्दैन।
पुरूषलाई गाली गरेर, आलोचना गरेर, दुईचार दिन आन्दोलन गरेर, गैरसरकारी संस्थाका अगुवाहरु गाऊँमा पुगेर छाऊगोठ भत्काएको जस्तो गरेर केही परिणाम निस्कनेवाला छैन। खास जड हाम्रो मनमा गडेको छ मनको छाऊगोठ नभत्काएसम्म, मनको कालोमैलो नपखालेसम्म बाहिरी आवरणमा सफाइ गरेर, चिरच्याट पारेर केही फरक पर्दैन।
राजधानीमै छोरीहरु महिनावारी भएको बेलामा अलग्यै शौचालय प्रयोग गर्ने गरेको, अलग्यै कोठामा बसाएको, पूजाकोठा र भान्सामा पाँच दिन नभइकन पस्न नदिएको दृष्टान्तहरु जगजाहेर हुँदाहुँदै सधैभरी सुदूरपश्चिमको कुरामात्रै उचालेर यो प्रथा निमिट्यान्न हुँदैन।
सुदूरपश्चिमी भेगमा मात्रै होइन नेपालका हरेकजसो घरघरमा यो प्रथा जिउँकातिऊँ छ कही बढी देखिन्छ कही कम मात्रामा फरक यतिमात्र हो।
मान्छेको धार्मिक आस्था र विश्वास भत्काउन सकिदैन तर धर्मको नाममा कथित विश्वास र आस्थाको नाममा आफ्ना कलिला छोरी चेलीको जिन्दगी सकाउने गरी बनाइएका कुप्रथाहरुको जरो उखेल्नैपर्छ।
यसको लागि सबैभन्दा पहिले महिलाहरु नै जागरुक हुनुपर्छ। आमा समूहको पहलमा, महिला सांसद, मन्त्रीहरु र सरोकारवाला महिलाहरुले यसबारेमा बोल्नुपर्छ, गाऊँठाऊँमा गएर जनचेतना फैलाउनुपर्छ।
छाउपडी प्रथा भएकै ठाउँमा पनि कतिपय महिलाहरू यसको विरुद्धमा लागेका छन यस्ता महिलाहरुले टोलभरी नै यस्ता जागरणका कुराहरु फैलाउन सक्नुपर्छ। आफ्ना छोरी बुहारीको जिन्दगी ठूलो कि धर्म?
आफ्ना छोरीको भविष्य ठूलो कि आस्था? छात्राहरु महिनावारी हुँदा स्कुल नजाने, शिक्षिकाहरु महिनावारी हुँदा पढाउनै नजाने यो त धर्मको नाममा कलंक हो।
महिनावारी भएका छात्राको लागि शौचालयको राम्रो व्यवस्था नहुने, शिक्षिकाहरु नै आत्मगलानीको शिकार भएपछि प्रजनन स्वास्थ्यको बारेमा कस्तो शिक्षा देलान शिक्षिकाले? कस्तो शिक्षा पाउलान् छात्राहरुले? स्वास्थ्य शिक्षा पढाउने शिक्षिका र छात्राहरुलाई थाहा होला ती पुस्तकमा कही पनि छाउपढी गोठमा बस्नुपर्छ भनेर लेखिएको छैन भन्ने कुरा।
आस्था र धर्म जोगाउन छानो मात्रै भएको खुला गोठमै जानुपर्दैन घरकै एउटा कोठामा आफ्ना छोरीचेलीलाई महिनावारी भएको बेलामा राखौं, पोसिलो खानेकुरा खान दिऔं, सरसफाइमा ध्यान दिन लगाऔं, प्रजनन अधिकारको विषयसँग पनि यो विषय जोडिएकोले छोरीहरु महिनावारी हुँदा पापको भारी थपिएको होइन जिम्मेवारी थपिएको गर्विलो महशुस गराऔं।
दाजुभाइ बुबा, अंकलले घरका महिला सदस्यलाई छोइछिटो गर्ने होइन सहयोग गरौं। यस्ता सकारात्मक कुराहरुको सञ्चार हुने हो भने भोलिका दिनमा सर्पले डसेर, विच्छीले डसेर, बाघ भालुको शिकार भएर, वा आपराधिक मानसिकता बोकेका पुरुषको डसाइबाट कोही पनि छोरी बुहारीहरु अनाहकमा ज्यान गुमाउने छैनन्।
छाउपडी प्रथाजस्तो भेदभावपूर्ण व्यवहारका विरूद्घ सम्मानित सर्वोच्च अदालतले नेपाल सरकारका नाममा २०६२ साल वैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरि यो प्रथा अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागू गर्न आदेश जारी गरिसकेको छ।
सरकारले पनि यो कुप्रथाको विरोध गरेको छ, जर्वजस्ती छाउगोठमा बस्न बाध्य पार्ने उपर कारबाही गर्ने भनिएको छ तर कुनै पनि छोरीहरू आफ्ना परिवारका सदस्य उपर कारवाही गर्दैनन् बरू छाऊगोठमै प्राण त्याग्छन्।
पढाउने शिक्षिका स्कुल छोड्छन्, छात्राहरू विद्यालय जाँदैनन् तर धार्मिक आस्था र विश्वास गुम्न दिदैनन्, गुमाउन चाँहदैनन्।
त्यसैले भौतिक रूपमा ठडाएका गोठहरु होइन मानसिक रुपमा वर्षौदेखि ठडिएका मनका गोठहरु भत्काऊँ। प्राकृतिक चक्रलाई पापधर्मसँग दाँज्ने कुचेष्टा नगरौँ। यो प्रथा एकैचोटी पुरै निमिट्यान्न नभए पनि धेरैहदसम्म किशोरीहरुको ज्यान जोगाउने माध्यम बन्न सक्छ।