बिहानै ६ बजेको जहाज समात्नु सजिलो पटक्कै थिएन। ४ बजे उठ, क्याबलाई ४.३० मा बोलाउ अनि पुग एअरपोर्ट। अनि सबैभन्दा महत्वपूर्ण भनेको राति जति अबेर होटल पुगे पनि नबिर्सी विहानलाई वेकअप कल अनि क्याब बोलाउने अनुरोध कुनै हालतमा गरिछाड्नुपर्ने। यो चटारोमा ब्रिसबेन पुग्नुपर्ने तेसमाथि सिड्नीको फ्लाइट छुटेर पाँच घण्टा एअरपोर्ट मै रन्थनिनु परेको २ दिन अघिको आलो अनुभव भएर नि होला, अल्छी रत्ति गरिएन उठ्न भलै सुताई पावर न्याप चाँहि बनाइयो।
हो यही लठारोमा ल्यापटप छुटेछ। एअरपोर्ट पुगेर झोला खोल्दा पत्तो लाग्यो, फर्किन संभव थिएन। अनि होटेलमा फोन गरेर ब्रिसवेनको होटलमा पठाइदिन अनुरोध पनि गरेँ। अनि झल्यास्स अघिल्लो दिनको कुराकानी याद आयो। जिस्केरै कोन्सेलो जसले हाम्रो कार्यक्रमको ब्यवस्थापन गरेकी थिइन् उनलाई आफ्नो ल्यापटप लग्न अनि कार्यक्रमका लागि सेट गर्न भनेको थिएँ र उनले पनि यो हराएमा आफू अर्को दिन नसक्ने बताइन् बढो मीठो पारामा।
हतारहतार मैले उनको बोसलाई फोन गरेर कोन्सेलो आउँदैछिन्, संभव छ भने होटलबाट ल्यापटप ल्याइदिन भन्न अनुरोध गरे। पछि भेट्दा उनले भनिन् जब उनकी बोसले उनलाई बाटाबाट फर्केर सिटी गई होटेल जान भनिन् उनलाई लाग्यो रे मैले ल्यापटप होटल बिर्सेर आएँ। कोन्सेलो थिइन् स्पेनिस जो फिलिपिन्समा हुर्किइन् अहिले बस्छिन् सिड्नीमा। उनलाई हामीले काम दिएको कम्पनीले सिड्नी र ब्रिसवेनको कार्यक्रम संयोजन गर्ने जिम्मा दिएको थियो। उनले सिड्नीका मुख्य ट्राभल एजेण्ट्स चिन्थिइन् जसको कारणले नै उनलाई यो जिम्मा दिइएको हुनुपर्छ।
सिड्नीमा हाम्रो कार्यक्रममा सोचेभन्दा कम रक्सी खपत भएछ। यसको कारण पनि मज्जाले सुनाइन् कोन्सेलोले, ‘यी साथीहरुलाई नभेटेको केही वर्ष भएछ र धेरैजसो आफ्नो अन्य कामबाट रिटायर्ड नि भएछन् तेही भएर अहिले कम पिउँदा रहेछन् ’। हुनत मलाइ पत्रकार पनि रिटायर्ड हुन्छन् र भनेर यिनलाई सोध्न मन थियो तर उनको कानमा भने तपाईँ मलाई अनुमति दिनुहुन्छ भने एउटा ब्यक्तिगत प्रश्न सोध्छु है। हुन्छ उनी फेरि मुस्काइन्। तपाईँको उमेर कति भयो। छोरी मान्छेका उमेर र छोरा मान्छेका तलव सोध्नु हुँदैन भनेर थाहा छैन भनेर धेरै साथीले यस्तो प्रश्न टारिदिएकाछन,् उनले एकपटक मलाई हेरिइन् अनि कानमा विस्तारै भनिन् सिक्टीसेभेन।
५८ मा रिटायर्ड अनि ६० टेक्नै नपाउँदै तीर्थ भनेर रटान लाउने सिनियर सिटिजनको मूलुकबाट आएको भएर हुनपर्छ मैले उनको उत्तरमा मुस्कान कम अचम्म भएको भाव प्रस्तुत गरेँ अझ प्रस्ट भन्दा त्यो भाव स्वत आएको थियो। घरमा ६६ वर्षको वुवालाई छोडेर आएको मलाई उनका उमेर सुन्दा आफू बुढो भइएछ लाग्यो। कोही ज्ञानीले भनेका थिए उमेर भनेको संख्या न हो जबसम्म मन जवान हुन्छ।
यिनको कुरो एकछिनमा जोड्छु। यही एअरपोर्टको गुडाइमा हाम्रा सारथी दाजैलाई भेटियो जो पोर्चुगलबाट आएका थिए सिड्नी। उनले आफै गफका क्रममा भने म ७३ को भएँ तर मलाई आफै कमाउन मन लाग्छ तेही भएर ट्याक्सी चलाको अनि यहाँको मध्य जाडोमा विहान चारै बजे हामीलाई लिन आइपुगे। पहिले यिनी दाजु के भन्नु बा ले क्याटरिङको ब्यवसाय गर्थे रे अनि अहिले चाँहि गाडी चलाउँदा रहेछन्।
हेर्नुुस त कामको महत्व। घर छोडेर बाहिर बसेर कामका अनेकथरी गिट्टी कुट्नेले त यसको चुरो कुरो बुझेका होलाउँ तर घरमा चाँहि काम ठूलो र सानो अझै छ। भाँडा माझेर, भुइँ पुसेर सन्तानका लागि कमाउन आउने ती तमाम नेपाली कै कारण रेमिट्यान्स भन्न पाइएको छ, घरका चुला बलेका छन्, बच्चा बोर्डिङ पढेका छन्।
अष्ट्रेलियामा चीन र भारत पछि अन्तराष्ट्रिय विद्यार्थी पठाउने तेस्रो ठूलो मूलुक नेपाल भएछ। कलेजले काम गर्न दिएको समयलाई पूर्णरुपले र कहिलेकाँही अलि बढी पनि गरेर, घरका ऋण अनि आफ्नो ट्युुसन फी तिर्ने यी नेपाली विद्यार्थीले नि मज्जाले काम चिने र कामले उनीहरुलाई चिनायो। देशमा अझै काम ठूलो छ, सानो छ, इज्जतिलो छ, इज्जत गुमाउने छ। काम पनि सायद पानी जस्तै पो रहेछ भाँडा सँगै जसरी पानीले आकार लिन्छ, कामले पनि बुझ्नेका दिमाग अनुसार रुप लिए–ठूलो र सानो।
अष्टे«लिया यात्रा भरी कुरो देशमा युवा कसरी टिकाउने भयो साथीहरु बीच। हुनत हाम्रा चिन्तनले धेरै अर्थ त राख्दैन, राख्नेकामा हाम्रा सोच पुग्दैन, पुगे पनि मनन हुँदैन। यस्ता ठाउँ आउँदा र प्रगति देख्दा गम खान चाँहि मन हुने। काठमाण्डौंका धुलामा फुस्रिएको जुता निरन्तर चम्किएको छ। रेमिट्यान्सका पैसाले अर्थतन्त्र धानेको मूलुकमा कामलाई हामीले आफ्नो कन्भिनेन्स अनुसार मात्र बुझ्यौ, बुझायौं।
६७ वर्षे कोन्सेलो मनमा छिन्। ब्रिसवेनबाट नेपाल फर्किने तयारी गरिराख्दा उनको लगन र ब्यवसायिकता झलझली आइरहेको छ। प्रविधिका कुरा अलि अप्ठेरो लाग्दो हो तेही भएर ल्यापटप जोड्ने र प्रोजेक्सन गर्न मलाई गुहार्थिन, ६ बजेको कार्यक्रमलाई ४ नै बजे पुगेर सब ठीक गर्नलाई सम्झाइरहन्थिइन्। हाम्रो सम्बन्ध यो कार्यक्रमसम्मलाई मात्र हैन है भन्दा तिमीले मलाइ तिरेको पैसा यो कार्यक्रमका लागि मात्र हो, यो पछि म नेपालको हैन भन्थिन् ब्यवसायिक लवजमा। बृद्घभत्तामा राजनीति गर्ने नेताहरुलाई यी सिनियर सिटिजनको सदुपयोग गर्ने चेत कहिले खुल्ने हो। कोन्सेलोसँग कार्यक्रम पश्चात बिदा हुँदा यही मात्र दिमागमा आइरह्यो गोन्ना मिस यु योङ लेडी।