सामाजिक संजालभरि थुप्रै बाबुआमाले छोराछोरीलाई एसईईमा धेरै जीपीए ल्याएकोमा बधाई दिइरहनुभएको थियो। कोही तस्वीरसहित थिए त कोही तस्वीरबिहीन बधाई। यस्तो देख्दा लाग्यो की आफ्ना सन्तानको प्रगति प्रति अभिभावक कति खुसी हुन्छन् भन्ने, साथसाथै मलाई पनि आफ्नो एसएलसीको याद आयो ।
गाउँको सरकारी विद्यालयबाट करिब १५ वर्ष एसएलसी दिएको थिएँ । समय संकटकालको थियो । गाउँमै एस एल सी दिने अवस्था थिएन । सुरक्षाको कारण देखाउँदै सरकारले सदरमुकाममै एस एल सी दिनुपर्ने व्यवस्था गरेको थियो । गाउँबाट २ दिनभन्दा बढी बाहिर बसेको भनेको त्यही परीक्षाको समयमा थियो । घरबाट २ घण्टा हिंडेर सदरमुकाम दिनदिनै पुग्न पनि कठिन भएकोले बुवाआमाले सदरमुकामको होटलमै बस्ने व्यवस्था गरिदिनु भएको थियो । बिहानै सात बजे परिक्षा केन्द्र पुग्नुपर्ने अनि सुरक्षाकर्मीको कडा खानतलासीले केही विद्यार्थी हतोत्सहित पनि भएको प्रष्टै देख्न सकिन्थ्यो । केही विद्यार्थी त कसो कसो गरी चिट पनि परिक्षा हलसम्म पुर्याइहाल्थे तर सुपरीवेक्षकले खोसिहाल्थे । खैर , परिक्षा हलसम्म पुग्दा विद्यार्थीलाई सुरक्षाका कारण भन्दै त्यो हदसम्म खानतलासी लिनु अशोभनीय अनि अनावश्यक थियो जस्तो लाग्छ ।
जमाना कस्तो,‘एस एल सी फलामको ढोका हो’ भन्ने मानसिकताले हाम्रो दिमाग मज्जाले ताल्चा लगाईदिएको थियो । डर अनि कलेज पढ्ने आशाकासाथ एस एल सी दिईयो । तीन महिना खाली भईयो । के गर्ने त भन्दा कम्प्युटर सिक भनेर दाइले सम्झाउनु भयो । रिजल्ट आउने बेला भयो । संकटकाल भएकोले अहिले जस्तो मोबाइल त परै जाओस ल्यान्डलाइन पनि थिएन । मात्र एक साधन पाल्पाबाट संचालित एक एफ एम थियो । रिजल्ट भएको कुरा हावासरी फैलिइहाल्यो । ढुकढुकी बढ्दै थियो , करिब १०/१२ जना साथी एउटा एफ एम रेडियो वरिपरी बसेका थियौ । आफू त प्रथम श्रेणीमा पास पनि भइयो । तर आफूसँगै परिक्षा दिएका साथी पनि सँगै एफ एम सुन्दै थिए , विचरा अनुत्तीर्ण भएछन । मेरो खुसीसँगै उनको पीडाले गर्दा पूरै रमाउन सकिन । एउटै स्कूलमा एउटै किताब पढेर पनि हामी फेल पास भयौ । समयक्रमले आज हामी फरक फरक ठाउँमा छौ । मलाई त मेरो आमाबुवाले बधाई दिनुभयो , तर त्यो साथी ३ दिनसम्म घरबाट बाहिर निस्केन । ऊ मानसिक तनाबमा पुग्यो ।
त्यो त एउटा घटना मात्र थियो , तर आज बुझ्दै जाँदा एस एल सी त सुरुवात मात्र रहेछ । यो फलामको ढोका भनेको त जिन्दगीमा भोग्ने परिक्षा पो रहेछ । जिन्दगीमा पास हुनु एस एल सी पास हुनुभन्दा निकै गाह्रो ! सिक्नु पर्ने कुरा त जिन्दगी जिउने कसरी हो भन्ने रहेछ । म कुनै मनोविश्लेषक होइन तैपनि थोरै अंक ल्याउने विद्यार्थीहरुको मनोभाव बुझ्न सक्छु । यो समयमा विद्यार्थीले बुझ्नु पर्ने कुरा के हो भने सफलता र असफलता भनेको परिक्षामा भईराख्ने कुरा हुन । यसलाई हामीले स्वीकार गरेर अघि बढ्नु पर्छ । आधारभूत ज्ञान जस्तै भाषा, संस्कृति र समाज त अनिवार्य हो तर अंक बढी ल्याउनु पर्ने विद्यार्थीलाई बाध्यता र अनिवार्यता हुनुहुन्न । आज यो उमेरमा विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा आएर मैले यो सिक्ने अवसर पाएँ कि पढाइ मात्र कागजी सर्टिफिकेट होईन यो त कसरी जीवनयापन गर्ने भन्ने कला पनि हो ।
अभिभावकले विद्यार्थीले थोरै अंक ल्याएकोमा हकार्नु पनि गलत बाटो हो I वढी अकं ल्याएकोमा प्रशंसा गर्नु र हौसला प्रदान गर्नु राम्रो हो तर सामाजिक संजालमै राख्नु उपयुक्त नहोला कि । विश्वविद्यालयको पढाईमा फेल हुनेहरु पनि विश्व चर्चित भएको इतिहास छ । प्राय गरेर अहिले एस ई ई दिने विद्यार्थी भनेको कलिलै उमेरका हुन्छन उनीहरुलाई सामान्य कुराबाट पनि बढी प्रभाव पर्न सक्छ । उनीहरुले यही एस ई ई नै अन्तिम गन्तव्य हो भन्ने नबुझुन । हरेक अभिभावकले बुझ्नु पर्ने कुरा यो हो की आफ्ना बालबच्चाले बाँकी जीवनका समस्या समाधान गर्न आफैँ सक्षम हुन्छन की हुँदैनन् । कतै यो परिक्षालाई नै अन्तिम गन्तव्य मानेर हार खाई जीवन अन्त्य गरिदिए भने ! बरु उनीहरुको ईच्छा अनुसारको बिषय पढ्नका लागि प्रेरित गरौँ । जुनसुकै क्षेत्रमा पनि अध्ययन , अनुसन्धान र योग्यता प्राप्त गर्न सके भविष्य राम्रो छ । डाक्टर, पाईलट,ईन्जिनीयर बन्नु पर्छ भनेर दबाव पनि नदिउँ । यी पेशामात्र मर्यादित र अब्बल हुन्छन् भनेर कहीँ लेखिएको छैन र हुन्नन पनि ।
नेपालको शिक्षा प्रणालीमा परिवर्तनका बाछिटाहरु देखिदैँ छन् । एस ई ई मा कोही पनि फेल नहुने प्रणाली स्वागतयोग्य छ र विद्यार्थीले आफ्नो क्षमता अनुसार पढ्न पाउनु पर्छ । वास्तवमा बर्षभरी पढेर ३ घण्टामा जे लेख्यो त्यही नै विद्यार्थीको असली क्षमता होईन । नेपालका एक जना पूर्व प्रधानमन्त्रीले एक सार्वजनिक समारोहमा ‘ विद्यार्थीले किताब हेरेर परिक्षा दिन पाउनुपर्छ’ भन्दा सामाजिक संजालमा यसलाई मजाकको विषय बनाईयो । तर यो गम्भीर विषय हो र यो र यस्तै परिष्कृत पद्दति मार्फत हामीले परिक्षा संचालन गर्नुपर्छ । विद्यार्थीलाई घोकन्ते विद्यातिर धकेल्नुभन्दा उनीहरुलाई आफ्नै विचार प्रस्तुत गर्न तर्फ प्रेरित गर्नुपर्छ । हुन त हामीले परिक्षा दिने बेला प्रश्नपत्रको सिरानमै ‘मौलिक उत्तरलाई प्राथमिकता दिईनेछ’ भनेर लेखिएको हुन्थ्यो तर अकं बढी उसैको आउँथ्यो जसले हुबहु घोकेर लेखेको हुन्थ्यो । विद्यार्थी किताब हेरेरै लेखोस तर उसको राय के हो त त्यो कुरालाई जोड दिईयोस् । उसको तार्किक क्षमतालाई आँकलन गरियोस् । यसो गर्दा उसको दिमाग सिर्जनशील हुन्छ । उसले आफ्नो उत्तरलाई थप प्रमाणसहित तर्क दिन सकोस् त्यसले नै विद्यार्थीमा नयाँ विचार प्रस्फुटन गर्छ । विश्वका प्रतिष्ठित विश्वविद्यालयमा हरुमा यो पद्दति लागू भईसक्यो र सफल पनि भएको छ ।
अर्को पक्ष भनेको बास्तबमा हामीले उत्पादन गरेका होनहार विद्यार्थी अहिले कहाँ के गरिराखेका छन् त्यसको लेखाजोखा कसै सँग छैन । अहिले धेरै अंक ल्याउने विद्यार्थीहरु विदेश पलायन भएको देखिन्छ । उनीहरुको विदेश मोह यस्तो बढेर आएको छ की उनीहरु एस ई ई पास हुने बित्तिकै बिदेशको सपना देखिहाल्छन् । पहिले धेरै जी पी ए प्राप्त गरेका विद्यार्थी कतै अमेरिका र अष्ट्रेलियाको पि आर ल्याएर उतैको नागरिक त बनेका छैनन ? के साच्चिकै उनीहरुलाई आफ्नै देशमा रोजगारीको सम्भावना नभएर विदेश पलायन भएका हुन त ? यस्ता कुराहरुमा सरोकारवालाहरुले गम्भिर भएर सोच्नु पर्ने बेला आएको छ ।
हाम्रो शिक्षा भनेको खाली कोरा किताबी ज्ञान मात्र भयो । त्यसलाई हामी जीवनोपयोगी बनाउने बारे हिजो पनि सोचेनौ र अहिले पनि ढिलो गर्दैछौ । हाम्रो शिक्षाले हाम्रै दैनिक जीवनलाई सरल बनाउन सकेन, नयाँ नयाँ खोज गर्न सकेन भने त्यो ज्ञान निरर्थक छ । हाम्रो सीप र ज्ञानले कसरी समाजलाई परिवर्तन र जीवनयापन गर्न सघाउ पुर्याउन सकिन्छ भन्ने पनि हो । कागजी सर्टिफिकेट भनेको लेखक जगदीश घिमिरेले अन्तर्मनको यात्रामा भनेजस्तो ‘नक्कली दाँत’मात्र हो,जो हुँदा राम्रो हुन्छ ।
-लेखक अहिले Australian National University मा अध्ययनरत छन् ।