रसियामा विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता चलिरहेको छ। हरेक ४ वर्षमा आउने यो महामेलाले कयौं खेलाडीलाई हिरो बनाइदिन्छ। कयौं खेलाडी जिरो बन्छन्। हुन त यो टिम गेम हो। तर, कहिलेकाहिं व्यक्तिगत प्रदर्शनले ठूलो अर्थ राख्छ। ३२ राष्ट्रले खेल्ने ६४ खेल र सहभागी सयौं खेलाडी सबैका लागि यो ठूलो अवसर हो। जसले जसरी पनि आफूलाई प्रमाणित गर्न सक्छन्। तर, अर्को हिसाबले दुई महान खेलाडी मेस्सी र रोनाल्डोको भिडन्त पनि हो यो विश्वकप।
हाम्रो युगको दुई महान खेलाडीमा यिनीहरुको नाम आउँछ। कसैले मेस्सी नम्बर एक भन्लान्, कसैले रोनाल्डो। यसमा आ–आफ्नै तर्क होलान्। तथ्य पनि जगजाहेरै छन्। दुर्भाग्य यी दुवै खेलाडीले अलिहेसम्म विश्वकप उचाल्न पाएका छैनन्। मेस्सीले एउटा फाइनल (२०१४) खेल्न पाए। रोनाल्डोले त त्यही पनि पाएका छैनन्। आफ्नो देशका लागि मुख्य खेलाडीको रुपमा उनीहरु दुवैको अहिले चलिरहेको विश्वकप सम्भवतः अन्तिम हो। त्यसकारण पनि यिनीहरु विश्वकपसम्मको दौडका लागि अति नै लालायित छन्।
यसपालिको विश्वकप यी दुईमध्ये जसले उचालेपनि समर्थकलाई भन्न सजिलो हुनेछ कि हाम्रो युगको एक नम्बर खेलाडी को र दुई नम्बर को भनेर। अन्यथा युरो कप २०१६ को उपाधि आफ्नो देशलाई दिलाएका कारण र रोनाल्डो अघि गइसकेका छन्। मेस्सीले आफ्नो महादेशमा भएको ठूलो प्रतियोगिता कोपा अमेरिकामा दुईचोटि फाइनल खेलेपनि कप उचाल्न सकेनन्। तीबाहेक यिनी दुईसँग क्लब फुटबलमा उपाधि उचाल्न बाँकी केही पनि छैन। सबै जितिसके। मेस्सी बार्सिलोनाबाट १३ वर्षदेखि खेलिरहेका छन् भने रोनाल्डो रियल मड्रिडबाट ८ वर्षदेखि खेलिरहेका छन्।
अझै चर्चा गरौं यी दुईमध्ये सर्वोत्कृष्ट को ? यही विश्वकपमै जाउँ। रोनाल्डोको टिम पोर्चुगलले समूह चरणको पहिलो खेलमा २०१० को विश्व च्याम्पियन र लगातार दुईपटक युरो च्याम्पियन बनेको स्पेनलाई भेट्यो। विश्वभर नै समूह चरणको सबैभन्दा खतरनाक र फाइनलकै झल्को दिने खेलका रुपमा यसलाई हेरे। हुन पनि एउटा पूर्व युरो च्याम्पियन अर्को वर्तमान च्याम्पियनबीचको खेल किन कम चर्चाको हुन्थ्यो र ! यो खेल निकै नै रोमाञ्चक बन्यो। ९० मिनेटको खेल धेरैजसो स्पेनकै नियन्त्रणमा थियो। तर, खेल भावनाले जित्ने होइन, यहाँ त नतिजा चाहिन्छ। अन्ततः रोनाल्डोको ह्याट्रिक मद्दतले पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोक्यो। खेल स्पेनले हारेको थिएन। तर, खेल सकिदा स्पेनका सबै खेलाडीको चेहरा मलिन थियो, मानौं उनीहरुले विश्वकप फाइनलमा हार ब्यहोरेका छन्।
त्यति नै खेर रोनाल्डो र पोर्चुगलका सबैको चेहरामा उत्साह र खुसी थियो। किनकि उनीहरुले गुमिसकेको खेल बराबरीमा ल्याएका थिए। उनीहरुले के भन्नु रोनाल्डोले ल्याएका थिए। किनकि खेलमा पोर्चुगलका तर्फबाट भएका सतप्रतिसत गोल उनैले गरेका थिए। अझ खेल सकिनै लाग्दा उनले हानेको फ्रिकिकले यति मज्जाले जाली चुम्यो कि त्यसको तुलना कमैमात्र फ्रिकिकसँग गर्न मिल्छ। उनले पहिलो गोल पनि पेनाल्टीमार्फत गरेका थिए। खेलको तेस्रो मिनेटमा नै पेनाल्टी एरियामा उनैलाई लडाएका थिए स्पेनी रक्षकले। दोस्रो गोलमा पनि स्पेनी किपरले ठूलो गल्ती गरे। हातमा परेको बल चिप्लाएर जालीतर्फ पठाए।
अर्को खेलमा अर्का सर्वोत्कृष्ट मेस्सी क्याप्टेन आर्मब्याण्डसाथ आइसल्याण्डसँग भिड्न किस्किए। आइसल्याण्ड यो विश्वकपमा पहिलोपटक सहभागी टिम हो। २० वटा विश्वकप संस्करणमा नामसम्म लिन नपाएको आइसल्याण्डले दुईपटकको विश्वविजेता र डिफेण्डिङ रनर्स अप अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकिदियो। आइसल्याण्ड जनसंख्याको हिसाबले फिफा विश्वकपमा सहभागी सबैभन्दा सानो राष्ट्र हो। करिब ३ लाख ५० हजार जनसंख्या भएको यो देशले २०१६ मा पहिलोपटक युरोकप खेलेको थियो। त्यसबेला युरोपको एउटा महारथि इङ्ल्याण्डलाई हराएर सनसनी मच्चाएको आइसल्याण्डले क्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो। यसपालि पनि उसले पहिलो विश्वकपमै अर्जेन्टिनालाई बराबरीमा रोकेर तहल्का पिट्यो। ठ्याक्कै स्पेनको हालतमा अर्जेन्टिना देखियो। यसमा पनि खेल अर्जेन्टिनाले हारेको होइन। तर, बराबरी नै हार समान भयो। खेलपछि आइसल्याण्डले ताली पिट्दै मैदान चहार्दा मेस्सी र उनको टिम अर्जेन्टिनाले मुहारमा कान्ति ल्याउन सकेन।
लक कि परफरमेन्स ?
फुटबलमा लक लाग्छ कि लाग्दैन ? यो प्रश्नको जवाफ सजिलो छैन। फेरि लक भनेको के हो ? यसको जवाफ पनि ठ्याक्कै दिन सहज छैन। अर्थको हिसाबले लक भनेको भाग्य हो। भाग्यमा सबैले विश्वास गर्छ भन्ने पनि छैन। भाग्य हुँदैन भन्नेले यसलाई संयोग भन्दा पनि हुन्छ। यहाँ अर्थतिर ज्यादा नजाउँ। फेरि दुवै खेलमा नै हेरौं। पहिलो खेलमा स्पेनविरुद्ध रोनाल्डोले गरेका तीन गोल कस्ता थिए। पहिलो पेनाल्टी, दोस्रो सामान्य प्रहारमा किपरको गल्ती र तेस्रो फ्रिकिक। रोनाल्डोका विरोधीले यसरी नै व्याख्या गरेका छन्। अर्थात रोनाल्डोलाई लक लाग्यो र सबै जु¥यो।
पेनाल्टीसम्मलाई लक भन्न पनि मिल्ला वा संयोग। किनकि पेनाल्टी आफ्नो बलबुताले पाउने होइन। संयोगले विपक्षी खेलाडीले पेनाल्टी एरियामा फउल गरेपछि पेनाल्टी पाउने हो। दूरीका हिसाबले किपरको निकै नजिक (११ मिटर) हुने भएकोले गोल हुने सम्भावना बढी नै हुन्छ। तर, प्रतिशतमा हेर्ने हो भने गोल हुने वा नहुने ५०–५० नै हुन्छ। पेनाल्टी हानेपछि स्वाभाविकरुपमा किपरले डाइभ मार्छ। संयोगले कहिलेकाहिं बल जता जाँदै छ, डाइभ त्यतै परिदिन्छ। रोनाल्डोको प्रहारमा संयोग यस्तो परिदियो कि किपरको डाइभ एकातिर बल अर्कोतिर। नतिजा गोल। दोस्रो र तेस्रो गोलमा रोनाल्डोको करिब १५ वर्षको अनुभव र उनको विशेष क्षमता नै देखियो। त्यति राम्रो फ्रिकिक सायदै अब देखिएला।
अर्कोतिर आइसल्याण्डविरुद्धको खेलमा मेस्सीले पनि उस्तै अवसर पाए। रोनाल्डोले जस्तै उनले पनि पेनाल्टी प्रहारको अवसर पाए। फ्रिकिक पनि उस्तै एंगलबाट पाए। तर, मेस्सी दुवैमा चुके। मेस्सीको पेनाल्टी दमदार थियो। फ्रेममा पनि थियो। तर, संयोग यस्तो परिदियो कि किपरले दाया डाइभ मारिदिए, मेस्सीको बल पनि त्यतै गयो। नतिजा गोल भएन। मेस्सीको फ्रिकिक फ्रेममै गएन। उनका कयौं अरु प्रहार पनि फ्रेममा गएन। फिफाकै लाइभ कमेन्ट्रीमा मेस्सीको सट एक्कुरेसी ३३ प्रतिशत मात्रै देखिन्थ्यो। मेस्सीको पेनाल्टीमा लक वा संयोगले काम नगरेको भनौंला। मान्न सकिन्छ। तर, अरुमा मेस्सी चुकेकै हुन्। विश्वका सर्वोत्कृष्ट खेलाडीले देखाउनुपर्ने क्षमता उनले देखाउन सकेनन्। खेल सदैव भावनाले मात्रै अघि बढ्दैन। यो युद्धको मैदान हो। यहाँ विपक्षीविरुद्ध हावी भएर मात्रै युद्ध जितिन्छ। पहिले को के थियो भन्ने कुराको यहाँ अर्थ हुँदैन।
अब के ?
मेस्सी र रोनाल्डो दुवैको टिम १–१ अंकमा छन्। दुवैले समान १ खेल मात्रै खेलेका हुन्। उस्तै नतिज, उत्तिकै अंक हुँदा पनि पोर्चुगल विजयी र अर्जेन्टिना पराजित मानसिकतामा छ। दुवैका लागि विश्वकपसम्मको यात्रा उत्तिकै कठिन छ। तर, असम्भव छैन। माथि चर्चा गरिएजस्तै यी दुवैसँग विश्वकप उचालेर आफूलाई सर्वकालीन महान् खेलाडी बनाउने अवसर अझै छ। विगतमा पेले, म्याराडोना, रोनाल्डो(ब्राजिल), जिनेदिन जिदानलाई महान् खेलाडी मानियो। किन ? उनीहरु सबैले विश्वकप उचाले। अझै पेलेले त तीनपटकसम्म (१९५८, १९६२ र १९७०) उचाले। उनले लगातार फाइनलमा गोल पनि गरे। क्लब फुटबलमा माथि नाम लिइएका सबै महान् खेलाडीहरुभन्दा मेस्सी र रोनाल्डोले बढी गरिसके। तर, विश्वकप नउचालेसम्म यिनीहरुलाई महान्को सूचीमा राख्नु सर्वस्वीकार्य हुने छैन। यदि विश्वकप उचाल्न सकिएन भने उनीहरु बाँचुञ्जेल सबैभन्दा खड्किने कुरा पनि यही हुनेछ।
सर्वोत्कृष्ट को ?
अझै पनि यी दुईमा सर्वोत्कृष्ट को भन्ने प्रश्नको सहज जवाफ छैन। अन्तर्राष्ट्रिय व्यावसायिक फुटबलमा दुवैका परफरमेन्स उस्तै छन्। विश्वका सर्वोत्कृष्ट खेलाडीले पाउने बालोन डेओर दुवैले ५–५ पटक यिनै दुईले पाएका छन्। तर, २०१८ को सबैभन्दा ठूलो परफरमेन्स विश्वकप फुटबलले पनि अबको अवार्ड कसले पाउने भन्ने निधो गर्नेछ।
त्यसले यी दुईलाई को सर्वोत्कृष्ट मान्ने भन्नेमा एक आधार थपिदिने छ। कम्तीमा समूह चरणको पहिलो खेलमा देखाएको खेलका आधारमा मेस्सीभन्दा रोनाल्डो धेरै माथि पुगेका छन्। उनले पछिल्लो ४ विश्वकपमा सबैमा गोल गरेका छन्। यसपालि त पहिलो खेलमा बलियो स्पेनविरुद्ध ह्याट्रिक नै गरिदिए। दुवैका सामु अझै ठूला अवसर बाँकी नै छन्। त्यसकारण को सर्वोत्कृष्ट भन्ने कुराको छिनोफानो समयलाई नै छोडिदिउँ।
(लेखक नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष हुन्)