पछिल्लो समयमा संसारभरी नै बौद्ध धर्म र दर्शनको महत्व बढ्दै गएको छ । नेपाल लगायत एशियाली देशहरुमा भन्दा पनि बढी पश्चिमा देशहरुमा बौद्ध धर्म र दर्शनको अध्यताहरु, अनुयायीहरु र सो प्रति सौहार्दता राख्नेहरुको संख्या बढ्दो छ । भगवान् बुद्धले दिनु भएको शान्ति, अहिंसा, परोपकार, सदाचार, अपरिग्रह, निर्मोह जस्ता सद्गुणहरु मनव मात्रको लागि महत्वपूर्ण रहेको छ । मानिसहरुको भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःख उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नु पर्दछ भन्ने नै बुद्ध धर्मको सार हो । भगवान् बुद्धले आफ्नो उपदेशमा चार आर्य सत्यको कुरा गर्नु भएको छ । ती मध्ये पहिलो आर्य सत्य हो, दुःख अर्थात यो संसार दुःख मय छ । दोश्रो आर्य सत्य हो, दुःख समुदाय एवं दुःखहरुको कारण । तेश्रो आर्य सत्य हो, दुःख निरोध अर्थात दुःखहरुको अन्त्य हुन्छ । चौथो आर्य सत्य हो, दुःख निरोध मार्ग अर्थात दुःखहरुको नाश गर्ने मार्ग । यसैगरी भगवान् बुद्धले मानिसमा उत्पन्न हुने तृष्णालाई क्षय गर्दै दुःख नाश गर्ने अष्टाङ्गिक मार्ग (सम्यक संकल्प, सम्यक दृष्टि, सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायम, सम्यक स्मृति र सम्यक समाधि) पालन गर्नु पर्ने समेत बताउनु भएको छ । यी अष्टाङ्गिक मार्गहरुलाई प्रज्ञा, शिल र समाधि गरी तीन भागमा विभाजीत गरिएको छ ।
कपिलवस्तु राज्यको राजकुमारको रुपमा ईस्वी संवत् शुरुहुन भन्दा ६२३ बर्ष पहिले जन्मिएका सिद्धार्थ गौतम जीवनको २९ बर्ष दरवारमा विताएर राजपाठ, परिवार, विलासी जीवन सबै त्यागेर बैराग्यमा गए भन्नेहरुलाई भगवान् बुद्धले ज्ञान प्राप्ति पछि चोटिलो जवाफ दिनु भएको छ । अद्धितीय र अलौकि बालकको रुपमा जन्मिएका राजकुमार तत्कालीन समाजमा व्याप्त विकृति, विसङ्गती, दुःख, मृत्यू, रोग, हिंसा, युद्ध जस्ता समस्याबाट मुक्ति दिलाउने उपायको खोजी गर्दै ज्ञान र शान्तिको मार्गमा लाग्ने प्रण गरेर सिद्धार्थ गौतमले दरवार छाडेकोमा दूई मत छैन । कठोर तपस्या, कष्ट, आलोचना र दुव्र्यवहार समेत सहेर सिद्धार्थ गौतमबाट वहाँ गौतम बुद्ध बन्नु भयो । सिद्धार्थ गौतमले आफूलाई न त भगवान् हो भन्नु भयो न त वहाँको शिक्षालाई धर्म नै । वहाँले प्रतिपादन गर्नु भएको ज्ञान, करुणा, स्नेह, दया, क्षमा, अहिंसा, सत्यको मार्ग सर्बस्वीकार्य हुँदै गयो र कालान्तरमा बुद्ध धर्मको रुपमा परिणत भयो । फलस्वरुप वहाँको सम्झनामा स्तूप, चैत्य, गुम्वा, छोर्तेन, विहार, मन्दिरहरु बन्दै गए र तीर्थस्थलको रुपमा विकास हुँदै गए ।
सम्राट अशोकले बौद्ध धर्म ग्रहण गरी धर्म प्रचारको लागि उनी जहाँ जहाँ पुगे, ती स्थानहरुमा अभिलेखसहितका सम्पदाहरु समेत निर्माण गरे । कालन्तरमा ती स्थलहरु बौद्ध तीर्थ स्थलको रुपमा परिणत भए । बौद्ध धर्मावलम्विहरुमाझ तीर्थयात्राको ठूलो महत्व रहेको छ । तीर्थ स्थलहरुको भ्रमण गर्नाले जीवनको लक्ष्य पुरा हुने, प्रज्ञा प्राप्त हुने, ऐश्वर्य र बैभवले परिपूर्ण दुर्लभ मनुष्य शरीर पाउने, विशुद्ध शील प्राप्त गर्ने, अज्ञानरुपी अन्धकार नाश भएर जाने, मानसिक अशान्ति र पीडाबाट छुट्कारा पाउने वश्वास रहेको पाइन्छ । प्रमुख धार्मिक तीर्थस्थलको रुपमा रहेको लुम्विनीको अस्थित्व बचाउने काम मौर्य सम्राट अशोकको इशापूर्व २४९ को तीर्थ यात्रा र उनले खडा गरेको अशोक स्तम्भले नै गरेको पाइन्छ । उनले सो स्तम्भ खडा नगरेका भए लुम्बिनी, लुम्बिनीको रुपमा आज हुने थिएन होला । युनेस्को लगायत संसारलाई थाहा छ भगवान् बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् । भगवान् बुद्धको जन्मभूमी लुम्बिनी, ज्ञान प्राप्त गरेको स्थान बोधगया, बुद्धत्व हाँसिल गरेपछि पहिलो पटक ज्ञानको प्रवाह (धर्मचक्र प्रवर्तन) गरेको स्थान सारनाथ र मुक्ति (महापरिनिर्माण) स्थल कुशीनगरलाई अति नै पवित्र तीर्थ स्थलको रुपमा लिने गरिन्छ । ती मध्ये पनि लुम्बिनीको स्थान सबैभन्दा माथि रहेको छ । संयुक्त राष्ट्रसंघले समेत बैशाख पूर्णिमाको दिनलाई “लुम्बिनी डे” को रुपमा समेत मनाउने गरेको छ ।
लुम्बिनीलाई मागी खाने बनाउने कि गरी खाने बनाउने, लुम्बिनी कै कारण संबृद्ध नेपाल बनाउने कि नबनाउने भन्ने कुरा अझै प्रष्ट भएको छैन र लक्षित कार्यक्रमहरु सक्रियता पूर्वक कार्यान्वयन हुन सकेको छैनन् । हालसम्म लुम्बिनीलाई मागी खाने नै बनाउने काम भएको पाइन्छ । लुम्बिनीकै नाममा भत्ता खानेहरु, ब्यवशायको नाममा आम्दानी गर्नेहरु, भगवान् बुद्ध र लुम्बिनी त हाम्रोमात्र हो भन्नेहरुका कारण लुम्बिनी पछि परेको छ । यसका साथै भारत भौगोलिक एवं साँस्कृतिक रुपमा नेपालसँग धेरै अर्थमा समानता भएकौ देश भए पनि कितावहरुमा लेखेर होस् वा सिनेमामा विवादित अंश राखेर, नयाँ कपिलवस्तु खडा गरेर होस् वा पर्यटकहरुलाई गलत व्याख्या गरेर भारतले पनि भगवान् बुद्ध र लम्बिनीमाथि राजनीति गर्दै आएको छ । त्यसको प्रतिवाद न त सरकारले गरेको छ न त बुद्ध भनेको हाम्रोमात्र हो भन्नेहरुले । अस्थिर सरकार र चरम राजनैतिक हस्तक्षेपका कारण विश्वको उच्च कोटिको तीर्थस्थल एवं पर्यटकीय स्थल लुम्बिनी विकासका आधारमा धेरै पछाडि परेको छ । १५ बर्षमा सक्ने गरी तयार पारिएको लुम्बिनी गुरुयोजना बनेको ४० बर्षमा पनि झण्डै ७५ प्रतिशतमात्र काम हुनु विडम्बना नै भएको छ । शान्तिका अग्रदूत बुद्धभूमि नेपालमा न त शान्ति छाउन सक्यो न त विकासका गतिला कार्यक्रम सफल पार्न राजनैतिक दलहरु तथा सरकार नै लागे । लुम्बिनी विकास कोषलाई राजनैतिक भर्तिकेन्द्रको रुपमा विकास गर्ने र आसेपासेहरुलाई नेतृत्वमा ल्याएर फाइदा लिने काम मात्र भएका छन् ।
निहित स्वार्थको लागि लुम्बिनीमाथि गरिदै आएको राजनीति बन्द गर्दै असंख्य संभावनाहरु भएको लुम्बिनी र नेपाली पर्यटकीय आकर्षणहरुलाई गुणस्तरीय उचाइमा पु¥याउन सकेमा समग्र देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष धेरै फाइदा हुन सक्दछ । नेतृत्वको दृढ इच्छा शक्तिको कमी र हरेक ठाउँमा राजनीति गर्ने परिपाटीले गर्दा योजनाविद र विज्ञहरुको सोच र कार्यक्रम भन्दा राजनैतिक लहडमा गरिने अनावश्यक कामले विश्वमा व्राण्डका रुपमा रहेका अद्भूत सम्पदा लुम्बिनीको यथोचित विकास हुन सकेको छैन । बुद्ध जन्मभूमी लुम्बिनी वरीपरी १६० भन्दा बढी भगवान् बुद्धको जीवनीसँग जोडिएका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक स्थानहरु रहेका छन् । यी स्थलहरुको संरक्षण, विकास र प्रवद्र्धन गर्दै आन्तरिक परिपथ निर्माण गर्न जरुरी छ । त्यतिमात्र होइन भगवान् बुद्धको जीवनीसँग जोडिएका स्थानहरु नेपालको लुम्बिनी, भारतको बोधगया, सारनाथ, कुशीनगर, तिब्बत, कोरीया, जापान, भुटान, म्यानमार, थाईल्याण्ड, श्रीलंका, पाकिस्थान लगायत अफगानिस्थानको बानियान प्रान्तसम्मको क्षेत्रलाई जोडेर अन्तराष्ट्रिय बौद्ध परिपथ निर्माण गर्ने र लुम्बिनीलाई केन्द्रविन्दू बनाउने हो भने नेपालले कल्पना गरेको भन्दा निकै धेरै पर्यटकहरु भित्र्याउन सकिन्छ । लुम्बिनी विश्वका डेढ अरव भन्दा बढी बौद्ध धर्माबलम्वीहरुको प्रमुख तीर्थस्थल, डेढ अरव भन्दा बढी हिन्दूहरुको आस्थाको केन्द्र, अन्य धर्माबलम्वीहरु र पर्यटकहरुको प्रमुख आकर्षक गन्तव्य हो र यसलाई अझ व्यापक बनाउन अन्तराष्ट्रियरुपमा प्रचारप्रसार तथा यसको महत्व विश्वसामु प्रस्तुत गर्न जरुरी छ । भगवान् बुद्धको जन्मदिनको शुभ अवसरमा सबैमा सकारात्मक सोचको विकास भई त्यो आस्थाको धरोहरको विकास होस् भन्ने कामनाको साथै विकास तथा निर्माणका कार्यमा हातेमालो गर्दै विचाररत्मक, भावनात्मकआदि रूपमा एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता हो ।
(घिमिरे धार्मिक पर्यटन र लुम्बिनी विषयका विज्ञ हुन्।