झन्डै दुई महिना पछि गैर आवासीय नेपाली सङ्घ,अन्तर्राष्ट्रिय समन्वय परिषद ( एनआरएन- आइ सी सी) ले अमेरिकाको स्यानफ्र्यान्सिसको सहरमा पहिलो पटक 'विज्ञ भेला' को आयोजना गर्दैछ। विश्व भरिका विभिन्न क्षेत्रहरूमा सो भेलाको आयोजना हुनेछ र ती क्षेत्रहरूबाट छानिएका उम्दा विज्ञहरूलाई अन्तिममा आगामी अक्टोबर महिनामा नेपालमा हुने ग्लोबल विज्ञ भेलामा समावेश गराइने छ।
सैदान्तिकरुपमा एनआरएन- आइ सी सिको वर्तमान कार्यसमितिले यो भेलाबाट नेपाल भन्दा बाहिर रहेका 'विज्ञ'हरूको पहिचान गरी उनीहरूको क्षमतालाई नेपाल सँग जोड्ने उद्देश्य राखेको छ - जो अत्यन्त उपयोगी र नेपालको दीर्घकालीन विकासका लागि सहयोगी कदम हो। यो प्रयासमा आउने धेरै चुनौतीहरूलाई सहजै पार लाउन सके एनआरएनको यो कार्यलाई मुलुक भित्र र बाहिर रहेका समस्त नेपालीहरूले सम्मान गर्ने छन्। एनआरएन साँचो अर्थमा नेपालको साथी बन्नेछ।
मानवीय स्वभाव हो- आफ्नो प्रशंसा सुन्न रुचाउनु। आफूलाई धेरैले 'राम्रो र जान्ने मानिस हो' भनेर चुनिन भन्ने कामना हामी धेरैको छ - जुन स्वाभाविक हो। हामी, गैर आवासिय नेपालीहरू, मा यो स्वभाव अझ बढी पाइन्छ। सामाजिक संस्था मार्फत वा व्यक्तिगत तवरले गरेका साना देखि ठुला कार्यको इति वृतान्त सहितका समाचार र सामाजिक संजालहरुमा आफ्नो वर्णन सहितका स्ट्याटसहरु नियमितरुपमा प्रकाशन हुनुले हाम्रो स्वप्रचारको मोह झल्काउँदछ। यो मोहले समाजलाई कुनै हानी त गरेको छैन, हामीहरूमा स्वप्रचारको मनोरोग भने बढाएको छ।
क्षमता भएर अथवा गतिलो उपलब्धि प्राप्त गरेर गरिएको प्रचार सायद समाजलाई पाच्य हुन्थ्यो पनि। तर, 'नामिच्चने पिङ्गको सय झट्का' झैँ सानो वा अरूको जीवनमा खासै अर्थ नराख्ने प्रचार मनोरोग कै उपज हुन् - जुन रोगबाट विदेशमा रहेको नेपाली समुदाय ग्रसित छ। पर्चारको भोकले ग्रस्त मनोरोगीहरुले नेपाली अमेरिकन सामुदाईक संस्थाहरूमा राम्रै हिस्सा ओगटेका छन्।
एनआरएनको आगामी विज्ञ सम्मेलनमा पनि स्वप्रचारको मनोरोगले व्याकुल तथाकथित 'विज्ञ'हरूको बोलवाला हुने होकी भन्ने चिन्ता अमेरिकाको सचेत नेपाली समुदायमा अहिले देखिएको छ।
संस्थाको उद्देश्य अनुसार नेपाल बाहिर रहेका विज्ञ र उनीहरूको दक्षतालाई नेपालको हितमा प्रयोग गर्नका लागी यी भेलाहरू आयोजना गरिन लागेका भए पनि हाल सम्मको एनआरएनको विज्ञ सम्मेलन तयारी हेर्दा लाग्छ - कतै यो 'हात्ती आयो, हात्ती आयो फुस्सा ' त हुने होइन। अमेरिकामा हुने भेलाको मिति नजिकिँदै गर्दा यो आलेख तयार पारुन्जेल सम्म कुनै पनि औपचारिकरुपमा विज्ञहरूलाई सार्वजनिक रूपमा आह्वान गरिएको छैन। हाल सम्म भेला र सो भेलामा प्रस्तुत गरिने कार्यपत्रको विधि र ढाँचा सार्वजनिक भएको छैन। यी तथाकथित विज्ञहरूले प्रस्तुत गर्ने 'आइडिया' लाई नेपालको हितमा के र कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कुनै पनि सार्वजनिक छलफल भएका छैनन्।
यधपी एनआरएनले आन्तरिक रूपमा यी र यो लागाएत अन्य विषयमा छलफल गरेको हुन सक्ला, तर सार्वजनिक सहभागिता र सूचना बिना हुने उपलब्धिलाई जायज मान्न सकिँदैन। यो विषयमा सार्वजनिक छलफल र सहभागिता आवश्यक छ।
उद्देश्य अनुसारको उपलब्धि आवश्यक हो भने एनआरएनले यो भेलालाई मात्र गफ गर्ने भेलामा परिणत हुन रोक्नु पर्छ। त्यो तब मात्र सम्भव छ, जब भेलामा सहभागी विज्ञहरूले आफूले जानेको विषय मात्र नभई नेपालको वर्तमान परिप्रेक्षलाई ध्यान राख्दै, नेपालको आर्थिक स्तिथिको सही लेखाजोखा गर्दै, समय र माटो सुहाउदो र सम्भव परिकल्पना प्रस्तुत गर्छन्।
नेपाललाई 'नयाँ आइडिया' को आवश्यक छैन। 'आइडियाको कुनै कमी छैन नेपालमा। कुनै एनआरएन नामक संस्थाले कोही एक 'विज्ञ' लाई खोजेर उसले दिने 'लेक्चर' को पनि आवश्यकता नेपाललाई छैन। नेपाललाई 'के' भन्दा पनि 'कसरी' गर्ने भन्ने विषयमा ज्ञान भएका विज्ञको आवश्यक छ। नेपालको आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक पक्षहरूलाई केन्द्रबिन्दुमा राखेर सम्भव हुने 'इनोभेटिब' र 'प्र्याकटिकल' सोचको आवश्यक छ नेपाललाई।
विज्ञ कहलिनका लागी कुनै विश्वविद्यालयको 'डिग्री' आवश्यक छैन। यधपी एनआरएनको विज्ञ सम्मेलनमा धेरै डिग्रीधारी, खास गरी पिएचडी, हरूको सहभागिता बढी हुने शङ्का धेरैले गरेका छन्। एनआरएनले साँचो अर्थमा आफ्नो उद्देश्य प्राप्तिका लागी लाग्ने हो भने डिग्रीधारी मात्र विज्ञ हुन्छन् भन्ने सोचबाट मुक्त हुन आवश्यक छ। सम्बन्धित विधामा 'ब्रेक-थ्रु' गरेको मानिसका लाई विज्ञ भन्न कुनै डिग्री आवश्यक छैन।
मौका पाए पछि आफुलॆ न्वारान देखि जानेको सबै एकै सासमा सकाउने अमेरिकामा 'आइड़ेन्टिटी क्राइसिस' भएकाहरुले एनआरएनको यो पवित्र उद्देश्यमा तुषारापात नगरुन भन्ने कामना धेरैको छ। सबैको चाहना छ - विद्वता 'शो -अफ' गर्ने मञ्च मात्र नबनोस एनआरएनको विज्ञ सम्मेलन।