कुनै चमत्कार नभएमा अवको केहि दिनमा नै नेपालका दुइ प्रहरी संगठनले नया आइजीपी पाउने छन l शान्ती सुरक्षाको विश्वसनीयता कस्तो छ भन्ने आधारमा मुलुकका सवै क्षेत्रको सफलता वा असफलता निर्धारण हुने हुनाले प्रहरी संगठनको नेतृत्व छनोटको विषय सार्वजनिक चासोको विषय हुने गरेको छ र त्यसो हुनु स्वाभाविक पनि छ l
अहिले भएका आइजीपी सहित भएका सवै प्रशासनिक एआइजीहरु समेत एकै दिन सेवा निवृत हुने हुनाले भएका डिआइजीहरु मध्यबाट वरियता , कार्यसम्पादन मुल्यांकन, नेतृत्व गर्न सक्ने क्षमता लगायतका गुणहरु हेरेर सरकारले प्रहरी प्रमुखको छनोट गर्नु पर्ने हुन्छ l भ्रष्टचार गर्दिन , सवैको मुल्यांकन योग्यता क्षमता अनुसार गर्छु भन्ने अडान सार्वजनिक गर्दै रहनु भएको प्रधानमन्त्री देखि प्रहरी संगठनलाइ अहिले भन्दा राम्रो बनाउछु भन्ने गृहमन्त्रीको दावी समेतलाइ ख्याल गर्दा आगामी प्रहरी प्रमुख जनअपेक्षित नै हुनसक्ने देखिन्छ l यद्धपि आइजीपी नियुक्तीको संघारमा पुग्दै गर्दा संचार माध्यममा आएका कतिपय समाचारहरु , त्यसैको आधारमा सामाजिक संजालमा आएका प्रतिक्रियाहरु देखि पढे-सुनिएको विचौलियाको दौडहरुले एकप्रकारको अन्योल देखिएको छ l वास्तवमा भन्ने हो भने यो समयमा प्रहरीमा कस्तो अधिकृत आइजीपी हुने भन्ने वहस हुनुपर्ने हो तर यहाँ त कुन अधिकृत हुने वा नहुने भन्ने ढंगको वहस चल्दै रहेको जस्तो देखिन्छ l यो वा त्यो अधिकृत आइजीपी हुने पक्का भएको वा सम्भावना देखिएको भन्ने अनुमान सहित लेखिने समाचारहरुसम्म त ठिकै हुन्थ्यो होला यहाँ त सरकारले आइजीपी छनोटको निर्णय गरेझैं आफु अनकुल वा निकट अधिकृतहरुलाई बधाई नै दिने कामको थालनी समेत भएको देखिएको छ l
सरकारले प्रहरी संगठनको आइजीपी भएका प्रतिस्पर्धीहरु मध्यबाट एकै जनालाइ बनाउछ , त्यसरी बन्नेले बधाई र शुभकामना मात्रै नभएर सवैको साथ र समर्थन पाउनु निजको निम्ती समेत अनिवार्य हुन्छ , तर नियुक्तीपुर्व नै दिइएका वधाई र शुभकामनाहरुले भने कसैको हित गर्दैन l असमयमा दिइने बधाई र शुभकामानाले भविष्यमा अन्यथा भयो भने सम्वन्धित अधिकृतमा नैरास्य उत्पन्न हुने , हुने प्रति असहयोगको भावना पैदा हुने जस्ता कुराहरु हुनेछन जसले गर्दा विगतमा जस्तै अव हुने प्रहरी माहानिरिक्षेक समेत आफ्नै संगठन भित्रको असहयोगको सिकार हुने सम्भावना रहन्छ भने त्यसो हुँदै गर्दा प्रहरी संगठन फेरी पनि कम्जोर नै हुनेछ l हो सुरक्षा जस्तो संवेदनशील क्षेत्रको नेतृत्व छनोट हुँदै गर्दा त्यसको नेतृत्वमा कस्तो योग्यता , क्षमता र गुण भएका व्यक्तिको चयन हुनुपर्छ भन्ने ढंगको वहस छलफल अनिवार्य हुन्छ र हुनुपर्छ l कुनै अमुक व्यक्तीलाइ दिमागमा राखेर हैन देश , जनता , प्रहरी संगठनको समग्र हितलाइ ध्यानमा राखेर गरिने वहस र त्यसले निकाल्ने निष्कर्षले को आइजीपी हुने भन्दा कस्तो आइजीपी हुने भन्ने विषयको निधो गर्नेछ l त्यसो हुनाले आइजीपी को हैन कस्तो हुनुपर्छ भन्ने वहस गरिनुपर्छ l
करिव तिन दशक प्रहरी सेवामा काम गरिसकेका र हाल ऐन , नियमको केहि व्यवस्थाको आधारमा आफुलाइ पनि आइजीपीको प्रतिस्पर्धी मध्यको हुँ भन्ने ठान्ने , आफैं उत्कृष्ट र अव्वल छु भन्ने लाग्ने र त्यस अनुसार दावी प्रस्तुत गर्दै हिड्ने काम हुनुलाई पनि अन्यथा मानिनु हुदैन बरु स्वाभाविकनै मान्नुपर्छ l त्यसैले नै होला सायद अहिले प्रतिस्पर्धा गर्न योग्यता पुगेकाहरु आफ्नो दावी प्रस्तुत गरेर निर्णयमा प्रभाव पार्न सक्नेहरुलाइ प्रभाव पार्नमा व्यस्त रहेको सुनिएकै छ l धन्न अहिलेसम्म चाहिं विगतमा जस्तो कपोलकल्पित समाचारहरु बनाएर आफ्ना प्रतिस्पर्धीलाइ बद्नाम बनाउने र आफ्नो सपना पुरा गर्ने खेल खेलिएको देखिएको छैन l यद्धपि लिखित रुपमा नआएको भएपनि आफ्नो दावी प्रस्तुत गर्दै गर्दा आफु बाहेक सबैलाइ नालायक , अनैतिक , भ्रष्ट लगायतका उपमा दिने काम त चलेकै छ l प्रतिस्पर्धीहरुलाइ उछिनेर बढुवामा अग्रता पाउन खोज्नुलाइ त गलत मान्न मिल्दैन तर कसैको मान मर्दन गरेर अगाडी बढ्ने विषयलाइ किमार्थ गतिलो मान्न मिल्दैन , र अर्काको बदनामी र असफलतामा आफ्नो सफलता खोज्ने सोच भएकाले प्रहरी संगठनलाइ अग्रगती दिन नसक्नेमा पनि दुइमत हुन सक्दैन l प्रहरी प्रमुख हुनको निम्ती यो वा त्यो ढंगले आफु योग्य रहेको भन्दै प्रतिस्पर्धामा रहेका अधिकृतहरु सक्रिय रहेको, अनि त्यस्तो सक्रियताले सफलता नै पाएको झैं वधाई र शुभकामनाको लहर नै चलेको वर्तमानमा फलानो आइजीपी हुनुपर्छ भन्ने ढंगले चर्चा गर्नु अवाञ्छित र अनुचित हुनेछ तर प्रहरी प्रमुख हुन आवश्यक गुणहरुको बारेमा भने चर्चा हुनैपर्छ l विद्धमान ऐन , नियम , सम्मानित अदालतले तय गरेका मार्ग निर्देशक सिद्धान्तहरुको सम्मान हुने योग्यताका अलावा प्रहरी प्रमुख हुनेहरुसंग निम्न गुणहरु हुँदा त्यो जनताले खोजे जस्तो आइजीपी हुने मात्रै नभएर सफल आइजीपी पनि हुनेछ :
१. प्रहरी प्रमुख हुनको निम्ती सवै भन्दा पहिला प्रहरी संगठनमा व्यापक स्वीकार्यता कमाएको हुनुपर्छ l त्यस्तो हुनको निम्ती सम्वन्धित अधिकृतले आफ्नो पेशागत जीवनमा सेवारत रहेका स्थानहरुमा काम गर्दा लोभ, लालचले प्रेरित नभएर प्रहरीको घोषित नीति र कार्यक्रम अनुसार कार्यसम्पादन गर्ने गरेको व्यवहारमा देखिएको हुनुपर्छ l र त्यस्तो कुरो आइजीपी हुने हुने समयमा मात्रै गरेकोले हुदैन , सेवा प्रवेश देखि हालसम्मनै त्यसको निरन्तरता भएको हुनुपर्छ l
२. प्रहरी प्रमुख हुनेले संगठनका सवै सदस्यहरुलाइ उनीहरुको गुण दोषको आधारमा मात्रै मुल्यांकन गर्ने दृढता राख्न सक्नुपर्छ l अनि आफ्नो मातहतको को राम्रो वा को नराम्रो छ भनेर सार्वजनिक अभिव्यक्ति दिनु भन्दा आन्तरिक मूल्यांकनमा राम्रोलाई पुरष्कृत , नराम्रोलाइ सुध्रिने मौका र नसुध्रिए कारवाही गर्ने दृढता राख्ने र त्यो दृढताको प्रयोग व्यवहारले पुष्टि गर्नु पर्दछ l आग्रह पुर्वाग्रह पालेर , आफुसंगको व्यक्तीगत निकटतालाइ नै मुल्यांकनको आधार बनाएर अगाडी बढ्ने चिन्तन बोकेका र विगतमा सोहि अनुरुप काम गर्दै आएकाबाट प्रहरी संगठनको कुशल नेतृत्वको आशा गर्नु निरर्थक
हुनेछ l
३. कुनै पनि संगठनको नेतृत्व गर्छु भन्नेले आफुले बोलेका कुरालाइ व्यवहारमा लागु गर्न सक्नुपर्छ , झन् प्रहरी संगठनको नेतृत्व गर्छु भन्नेले त त्यस मान्यतालाइ सम्झौताहीन ढंगले लागु गर्नुपर्छ किनकि बोल्ने तर नगर्ने भएको खण्डमा निजको विश्वसनीयतामा कमी आउँछ र त्यसले सिङ्गो संगठनमा निराशा छाउने खतरा रहन्छ जुन प्रहरी जस्तो संगठनका निम्ती घातक सावित हुन्छ l
४. समस्याहरुको पहिचान मात्रै गर्नु ठुलो कुरा हैन तर नेतृत्व गर्छु भन्नेले देखिएका समस्याहरुको समाधानको उपाय पनि खोज्न सक्नुपर्छ l सवैलाइ थाहा छ शान्ती सुरक्षा कायम राख्न क्रियाशील हुनुपर्ने प्रहरी संगठनका निम्ती समस्या र चुनौती कुनै पनि समय आउन सक्छन , त्यस्तो अवस्थामा नेतृत्वले समस्या समाधानको उपाय खोज्ने क्षमता राख्दैन भने नेतृत्वसंगै संगठननै असफल हुन पुग्छ , र दुर्भाग्यवस त्यस्तो भएमा देशले त्यसको मुल्य चुकाउनु पर्छ भन्ने विगतका कतिपय घटनाहरु समेत साछी छन l
५. फौजी संगठन भएको हुनाले आफ्नो निर्णय प्रतिको अडान प्रहरी प्रमुखले राख्नुपर्छ तर आफ्नो निर्णय वा सोच गलत छ भन्ने प्रष्ट हुँदा-हुँदै पनि मैले मात्रै सवै जानेको छु , मैले भनेपछि भनें भनें भन्ने खालको चिन्तनले कतिपय अवस्थामा नेतृत्वलाइ असफलता तिर लान्छ त्यसैले प्रहरी प्रमुख लचकता सहितको अडान भएको व्यक्ती हुनुपर्छ l साथै प्रहरी प्रमुख हुनेले अग्रजको सम्मान र आफु मातहतलाइ माया गर्ने विषयलाइ संस्कार बनाएको हुनुपर्छ l
६. अहिलेको विश्व्यापिकरणको यथार्थमा प्रहरी प्रमुख हुने व्यक्तीमा केहि हदसम्म कुटनितिक गुण पनि आवश्यक हुन्छ l इन्टरपोलको सदस्य राष्ट्र , संयुक्त राष्ट्रसंघको शान्ती मिशनहरुमा व्यापक जनशक्ती उपलव्ध गराउने राष्ट्रको प्रहरी हुनुका साथै बिभिन्न तालिम र स्रोत साधनको निम्ती विदेशीको मुख ताक्नु पर्ने अवस्थाको प्रहरी संगठनको प्रमुख हुनेसँग कुटनीतिक क्षमता र अनुभवको अभाव हुने हो भने त्यसले आगामी दिनमा संगठनलाइ अप्रत्यक्ष रुपमा असर गर्ने सत्य इन्कार गर्नु हुदैन l
७. . प्रहरी प्रमुख हुने व्यक्तीसंग गलत गर्नेलाइ नछोड्ने दृढता त चाहिन्छ नै तर त्यसका साथै मान्छेबाट गल्ती हुन्छ अनि आफ्नो गल्तीबाट पाठ सिकेर अगाडी बढने अवसर सवैले पाउनु पर्छ भन्ने प्रष्टता पनि हुन जरुरी हुन्छ l संगठनमा रहेर काम गर्ने दौरानमा कसैले जानी नजानी गल्ति गरेछ भने उसलाइ गल्ती अनुसारको सजायँ दिने तर यदी त्यसपछि उसमा सुधार आयो भने उसलाइ थप जिम्मेवारी दिन कन्जुस्याई नगर्ने र जिम्मेवारी वहन उत्कृष्ट ढंगले गर्दा पुरष्कृत गर्न पनि तयार हुने दृढता पनि प्रहरी वा कुनै पनि संगठन प्रमुखमा अत्यावश्यक गुण हो भने अवको प्रहरी प्रमुखले कसैको मुल्यांकन गर्दा निजको सम्वन्ध आफ्नो प्रतिस्पर्धी अधिकृतसंग कस्तो छ भन्ने आधारमा गर्न बन्द गर्ने पर्छ l आफ्नो प्रतिस्पर्धीसंग रहेर काम गर्ने वित्तिकै त्यो खराव हुन्छ अनि आफु प्रति वफादार रहदैन भन्ने गलत चिन्तन अवको आइजीपीले राख्नु हुदैन l
८ . प्रहरीको आइजीपी हुनेले राजनीतिक वा प्रशासनिक शक्ती केन्द्रसंग पनि प्रष्टसंग आफ्नो अडान राख्न सक्नुपर्छ, अगाडी पर्दा हुन्छ-हुन्छ ,हस-हस भन्ने अनि पछाडी यो वा त्यो ढङ्गले राजनीतिक नेताहरु वा प्रशासकहरुको तजावोध गर्ने कामले इज्जत बढाउने हैन घटाउने काम गर्छ l अझै राजनीतिक नेतृत्वको सार्वजनिक रुपमा अपमान गर्दा आफ्नो उचाइ बढछ कि झैं गरेर व्यवहार गर्ने प्रवृति प्रहरी प्रमुखमा हुनै नहुने गुण हो , त्यो अराजकता हो l यो राजनीतक नेतृत्वका सवै आदेश मान्न सकिन्न र मान्नु हुदैन तर त्यसको मतलव उनीहरुसंग संवादहिन हुने भन्ने पक्कै हैन l छोटोमा भन्दा प्रहरी प्रमुखको अराजक हुने वा वहुरुपी हुने हुनुहुदैन l
९ . नेतृत्व गर्नेसंग जोखिम मोल्न सक्ने साहस हुनुपर्छ , र जसले जोखिम मोल्ने साहस राख्छ उसले चल्दै आएका तर ठिक बेठिक के हो भनेर पहिचान नभईसकेका चलनहरुमा परिमार्जन गर्ने हिम्मत राख्दछ l अवको प्रहरी प्रमुखले प्रहरीमा विगत देखि चल्दै आएको कतिपय चलनहरुको उपयोगिता र सान्दर्भिकतामाथि प्रश्न उठाउने हिम्मत गर्न आवश्यक छ l जस्तै बढुवा गर्दा केवल वरिष्ठताको राग अलापाईलाइ चुनौती दिनुपर्छ , खासगरी माथिल्लो दर्जामा कार्यरतहरुले योग्यता, क्षमतामा चाहिं सुधार नगर्ने अनि उनीहरुलाइ सेवा प्रवेशमा अगाडी भएकै कारणले वरिष्ठ मान्न्दै रहने र सोहि कारणले अयोग्यहरुको मातहतमा योग्यहरु बसिराख्नु पर्ने कुरा अव मान्ने हुनुहुदैन l त्यस्तै सवैले क्षमता प्रदर्शनको मौका पाउनु पर्छ तर मौकाको उपयोग गरेर उत्कृष्टता प्रदर्शन गर्नेहरु र मौका पाउँदा पनि काम देखाउन नसक्ने नालायकहरुलाइ उही नियम लगाउदै गरिने अहिलेको आवधिक सरुवा नीतिमा बदलाव ल्याउन जरुरि छ l पालो पुर्याउने नाममा अयोग्यहरुले अवसर पाउने अनि अयोग्यहरुलाइ पालो पुर्याउन योग्यहरु थन्किएर बस्नु पर्ने संस्कृतिमा सुधार जरुरी छ , र यसमा सुधार हुनुपर्छ l अवको प्रहरी प्रमुख यस्ता कर्मकाण्डी प्रथाहरु विरुद्ध खडा हुने खालको हुनुपर्छ जसले नया परिवेशमा नया ढङ्गले संगठन चलाउन सकोस l
१०. प्रहरी प्रमुख भनेको सधैं आफुले चाहेजस्तो गर्न पाउने पद हैन, ऐन , नियमले निर्धारित दायरामा बसेर चेन अफ कमाण्डमा रहेर काम गर्नु पर्ने पद हो त्यो l त्यसो हुँदा अप्रिय निर्णय लिनुपर्ने मात्रै नभएर कतिपय अवस्थामा आफुले चाहेको जस्तो नहुँदा पनि मैदान छोडेर नभाग्ने खालको , आक्रोश र उत्तेजनामा नआउने खालको व्यक्ती मात्रै आइजीपी हुनुपर्छ l दुखमा सुखमा सदैव स्थिर रहँदै उच्च मनोवल राखेर काम गराउनु पर्ने प्रहरी प्रमुख आफुले भनेजस्तो नहुँना साथ आक्रोश पोख्दै हिड्ने अनुशासनहिनता प्रदर्शन गर्ने वा गरेकाहरु हुनुहुदैन l अराजकता र अनुशासनहिनता रहित अधिकृत मात्रै प्रहरी प्रमुख हुनुपर्छ l
११ . अन्तिम तथा महत्वपूर्ण कुरा भनेको अवको प्रहरी प्रमुखको काँधमा प्रहरी संगठनको लामो समयसम्म कस्तो हुने भन्ने नीति निर्माण गर्ने गहन काम छ l संघीय प्रहरी ऐन बन्न सकेको छैन , अनि त्यसको मस्यौदाको रुपमा जे जस्ता कुराहरुको चर्चा आइरहेका छन , त्यो प्रहरी संगठनलाइ सवल , सम्वृद्ध र व्यवसायिक बनाउने भन्दा पनि तहगत सरकारको नेतृत्वकर्ताहरुको मर्जीमा चल्ने सेवक संगठन बनाउने खालको मात्रै छ l तसर्थ अवको आइजीपी त्यस्तो व्यक्ती हुनुपर्छ जसले प्रहरी संगठनको भाग्य , भविश्य तय गर्ने प्रहरी ऐन देश , जनता र प्रहरीको हितमा लेख्न विधायकहरुसंग सहकार्य, केन्द्र देखि स्थानीय सरकारहरुसंग समन्वय गर्न सकोस l
थाहा छैन, माथि उल्लेखित गुणहरु भएको अधिकृतहरु प्रहरीमा कति छन् वा को छ तर उल्लेखित गुणहरु भएको व्यक्ती प्रहरी प्रमुख हुँदा चाहिँ प्रहरी संगठन अहिले भन्दा निक्कै सवल, सक्षम , विश्वसनीय हुँदै जानेछ भन्दा चाहिं गलत हुनेछैन l आशा गरौँ , सम्वृद्धिको अवस्था सृजना गराउंदै मुलुकको आमुल परिवर्तन गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने घोषित लक्ष्य लिएर अगाडी रहेको वर्तमान सरकारले लोभ , लालच , अदृश्य खेल , वा विचौलियाहरुको दौडको आधारमा हैन योग्यता , क्षमता , इमान्दारिता र त्यसैको प्रयोग मार्फत आर्जित लोकप्रियताको आधारमा आइजीपी छनोट गरोस l यस्तो अधिकृत आइजीपी बनुन जसले सेवा प्रवेश देखि अहिलेसम्म आफ्नो व्यवसायिकतालाइ स्थिर राख्दै हरेक दर्जामा रहंदा आफुले काम गरेको पद र कार्यलयको समेत गरिमा बढाएर यहाँसम्म आइपुगेका हुन र प्रहरी प्रमुखको रुपमा आफ्नो कार्यकाललाइ नेपाल, नेपाली जनता र प्रहरीको इतिहासकै स्वर्णीम कार्यकाल बनाउन सक्ने योग्यता , क्षमता र दृढता बोकेको होस l त्यसैले हालको निम्ती प्रहरी प्रमुख को होला भन्ने वहस छोडेर कस्तो हुनुपर्छ त प्रहरी प्रमुख भन्ने वहस गरौँ l त्यसो हुँदा ऐन , नियम र अदालतका फैसलाको मर्महरु अनकुल योग्यता, क्षमताको अलावा सफल हुन आवश्यक गुणहरु भएको अधिकृत आइजीपी हुनेछ , निजको नाम वा थर के होला अहिलेलाई त्यसको निधो योग्यता र क्षमताकै जिम्मामा छोडौं l