बाल्यकालमा लाउन नपाएका धेरै चिजहरूमा एउटै कुरा थियो, ‘मित’। घरमा मित नलगाउने म मात्र थिएँ।
स्कुलका किताबमा पृथ्वीनारायण शाहले मित लगाएका कहानी पढ्दा, आफूपनि मित लगाएको कल्पना गर्थें। उनले मित लगाएर देशहरूसँग सम्बन्ध स्थापना गर्थे भन्ने लेखिएको हुन्थ्यो। जुन ठाउँमा गए त्यो ठाउँमा मित लगाइहाल्थे रे। त्यसले उनलाई आक्रमणको डर त हुन्न थियो नै, एकीकरण अभियानलाई पनि साथ दिन्थ्यो। त्यसले मलाई रोमान्चित बनाउँथ्यो। मित लगाइहाल्न मन लाग्थ्यो। आफूले पनि कतै दौत्य सम्बन्ध राखूँ जस्तो लाग्थ्यो।
त्यस्तैमा सुनील दाजुले मित लगाउनुभयो। दाजुले मित लगाउने कुरा कहाँबाट निस्कियो भन्ने प्रसङ्ग रमाइलो छ। आमाले सुनाउनुभएको।
आमा देउरालीको उप-स्वास्थ्य चौकीमा काम गर्नुहुन्थ्यो। हाम्रै स्कुलमा पढ्ने लक्ष्मण दाइ त्यहाँ जाने र उहाँलाई भेट्ने गर्नु हुँदोरहेछ। नियमित आइरहने र केहीबेर बसेर गफ गरिरहने केटो। आमालाई बोलाइला मान्छे मनपर्ने। एक दिन लक्ष्मण दाइलाई आमाले नै जिस्काउँदै ‘सुनीलसँग मित लगाउँछस्’ भनेर सोध्नुभएछ। प्रश्नले लक्ष्मण दाइ लजाउनुभएछ।
त्यही प्रश्नबाट सुरु भएको मित लगाउने कुरा पछि अगाडि बढ्यो। हाम्रो हजुरबुबा र तीर्थ मामा भएर सुनील दाइ र लक्ष्मण दाइको मित लगाइदिनुभयो। हामी केटाकेटी खुसी भयौं। लक्ष्मण दाइसँगै उहाँका दाजु बलराम र भाइ अर्जुन दाजु थपिनुभयो। हामीलाई जिस्काएर 'पाण्डव' पनि भन्न थालेका थिए। भाइटिका लगाउने संख्या थपियो। घर थपियो। आमाबुवा थपिनुभयो। मावल थपियो। धेरै नयाँ सम्बन्ध थपिए।
तर दाजुले मित लगाएको कुराको यो सिधा 'भर्सन' हो। यो 'भर्सन' आमा तर्फको हो। दाजुको मितेरी साइनोमा योबाहेक अर्को कहानी पनि छ। यो मेरो 'भर्सन'।
अलिक अगाडिबाट सुरु हुन्छ।
त्यो बेला हाम्रो स्कुल प्राथमिक तहसम्म मात्र थियो। पछि निम्न माध्यमिक भयो। म तीनमा पढ्दा सुनील दाजु ५ मा पढ्नुहुन्थ्यो। स्कुलमा त्यस बेला मित लगाउने फेसन नै थियो। धेरैजना टिफिनमा खेल्न गएर मित-मित भएर फर्किने समय थियो। सुनील दाइको साथी मिलन दाइले पनि त्यसरी नै सिताराम दाइसँग मित लगाउनुभएको थियो। मिलन दाइले मित लगाउँदा त हामी सानातिना भुरा पनि सँगै गएका थियौं। मितले साटासाट गरेको दालमोठ खाएका थियौं।
सुनील दाइ र लक्ष्मण दाइले मित लगाउनुभन्दा पहिलाकै कुरा। स्कुलमा सानोतिनो 'ग्याङ फाईट' हुन्थ्यो। विशेषगरी पाँचवटा गाउँका केटाकेटी पढ्ने स्कुल थियो हाम्रो। गैह्रीगाँउ, सिमलटार, सुनखानी, बाउनगाँउ र सार्कीगाँउ। सबैतिर झगडा गर्न सिपालु थिए। स्कुलमा दिनहुँ कसै न कसैको झगडा पर्थ्यो। कुनै व्यक्तिगतरुपमा परेर सकिन्थे, कुनैमा भने गाउँ नै सहभागि हुन्थ्यो।
त्यो बेला के कारणले हो गैह्रीगाँउ र हाम्रो सुनखानीको झगडा परेको थियो। लक्ष्मण दाइ झगडा नगर्ने मान्छे। उहाँ राम्रो विद्यार्थी पनि। तर त्यो झगडामा कसरी हो, उहाँ पनि मुछिनु भयो। हाम्रो गाउँबाट सुनील दाइ र मिलन दाइ लगायत अरू सबै लछ्छे (लक्ष्मण दाइलाई साथीहरुले भन्ने नाम) लाई कुट्ने हो भन्दै स्कुल छुट्टि भएपछि समी रुखको फेदमा तयार बस्थे। तर लक्ष्मण दाइको हेडसरसँग राम्रो सम्बन्ध भएको तथा उहाँ पढ्नमा अब्बल भएकाले सबै हच्किन्थे। स्कुल बिदा भएपछि कुट्न भनेर पर्खिनेहरू तब तितरबितर भए जब लक्ष्मण दाइ हेडसरको कोठामा बसेर ढिलो स्कुलबाट निस्किनुहुन्थ्यो। कुट्ने कुरा उहाँलाई पनि थाहा भएको हुनुपर्छ। उहाँ र हेडसरसँगै ओरालो झरेको देखेपछि कुट्न बसेकाहरू भाग्थे। हेडसरसँग आँखा जुधाउने हिम्मत कसैको हुँदैन थियो।
लक्ष्मण दाइलाई कुट्ने त्यही योजनाकै बीच आमाले उता सुनीलसँग मित लगाउँछस् त भनेर सोध्नुभएको रहेछ। अनि जसै मित लगाउने कुरा भयो, लक्ष्मण दाइसँग गाउँकै सम्बन्ध सुध्रियो। उहाँलाई कुट्ने योजना पनि कता हरायो कता। सुनीलकै मित भइसकेपछि मिलन दाइले दुस्मनी मोल्ने कुरै भएन।
त्यो घटनापछि भने मलाई पृथ्वीनारायण शाहको कहानीमा विश्वास लाग्यो। हाम्रो स्कुलको सानोतिनो ग्याङ फाईट रोक्न सक्ने मित सम्बन्धले उनलाई पनि पक्कै फाइदा गर्यो होला भनेर मैले पत्याएँ।
दाइले मित लगाएपछिका हरेक सम्बन्ध बहुमूल्य छन्।
मित दाइको घर नौबिसे बेसीमा पर्थ्यो। त्यहाँ जाने भनेपछि म जहिल्यै खुसी। खोला नजिकै। हामी माथि गाउँमा बस्ने भएकाले खोला जान १ घण्टाभन्दा धेरै ओरालो हिँड्नुपर्थ्यो। भोजपुर सदरमुकाम जाँदा तर्न पाउनेबाहेक खोला जाने कुरा सोच्न पनि पाइँदैन थियो। सँगै पढ्ने धेरै साथीको घर खोला नजिकै थियो। उनीहरू खोलामा नुहाएको र माछा मारेको कुरा सुनाउँथे। त्यो सुन्दा आफ्नो पनि घर खोला नजिकै भइदिए जस्तो लाग्थ्यो।
दाजुले मित लगाएपछि त्यो रहर पूरा भयो। शनिबार खोला जाने लोभले शुक्रबार धेरैपल्ट स्कुलबाट घर नगइ नौबिसे झर्न पाइयो। शनिबार दिनभर खोला गयो। नुहायो, पानी खेल्यो। ढुङ्गामा सुत्यो र फर्कियो। आइतबार स्कुल जान उकालो हिँड्नुपर्थ्यो तर पनि खोलामा खेलेको खुसीले जहिल्यै जित्थ्यो। लक्ष्मण दाइको भाइ अर्जुन दाइले खोला लैजानुहुन्थ्यो।
नौबिसेमा बयर र भुइँकटहर धेरै फल्थे। सिजन सुरु भएपछि त झन् नौबिसे झर्न बहाना खोज्दै झरिन्थ्यो। कहिले अर्जुन दाइले कर गर्नुभएको त कहिले लक्ष्मण दाइले। भोलिपल्ट घर फर्किँदा भन्ने बहाना तयार पारेर नौबिसे झर्थ्यौं। पुगेपछि ठूलो बयरको बोटमा पुगेको मान्छे साँझसम्म बयर टिपेको टिप्यै। बिहान पनि चाँडै उठेर बयरकै बोटमा पुग्ने। बयर स्कुल लगेर मन लागेकालाई बाँड्न र रिस उठेकालाई देखाइ-देखाइ खान कम्ता रमाइलो हुँदैन थियो। अझ मित आमाले पिसेर राखेको बयरको धूलो पनि दिनुहुन्थ्यो। घरमा आमाले त्यो धूलो सख्खरको रसमा पकाएर गुलियो अचार हाल्नुहुन्थ्यो। आहा त्यो स्वाद!
दाइले मित लगाएपछि थपिएका ती हरेक मिठा सम्बन्धले मेरो मित लगाउने रहर हरेकपल्ट बढाउँथे। तर को सँग र कसरी लगाउने? म अल्झिन्थेँ। कहिलेकाँही मेरो मित को हुन सक्ला भनेर वरपरका साथी सोच्थेँ। दाजुले जस्तै ‘मितज्यू’ भनेको र उसको घर गएको सम्झिन्थेँ। फेरस सोच्दै गर्दा मनमा आएका साथीलाई मित लगाऊँ भनिहाल्न पनि अप्ठ्यारो लाग्थ्यो। फेरि अर्को मनले मित भएपछि ‘तपाईं’ भन्नुपर्ने कुराले रोक्थ्यो। सँगै कक्षामा बस्ने साथीलाई पनि कसैले तपाईं भन्छ? साथै मित लगाएपछि केही दिनसम्म स्कुलमा ‘मितमित’ भनेर जिस्काउँथे पनि। त्यसरी जिस्काएको सहने कुराले पनि पछाडि पार्थ्यो।
बरु आमाले नै लक्ष्मण दाइजस्तै कोही मान्छे भेटेर मित लगाइदिए हुन्थ्यो जस्तो हुन्थ्यो। त्यस्तो संयोग जुरेन। मित लगाऊँ भन्ने कोही मान्छे मैले भेटिनँ, मलाई पनि कसैले भनेन।
घरमा आमाबुवाको पनि मित हुनुहुन्थ्यो। बुवाको मितको कहानी त झन् पृथ्वीनारायण शाहसँग मिल्ने। हजुरबुबा हेदाङ्नामा पढाउन जाँदा उहाँलाई पनि लिएर जानुभएको रहेछ। त्यहाँका एक जना राई थरका मान्छेका छोरासँग मित लगाइदिनुभएको रहेछ। हजुरबुबालाई छोराको मित लगाइदिन पाए गाउँमा साथी बढ्छन् भन्ने लागेको रहेछ। बुवा भन्नुहुन्थ्यो ‘उहाँले मित लगाओ भनेपछि हामीले खुसी भएर लगायौं।’
पछि बहिनीले पनि मित लगाइन्। म खाँदबारीमा पढ्न बस्दा कोठा भाडा लिएर बसेको घरकी बहिनीसँग। मलाई माया गरेर तरकारी खुवाउने आन्टी मित आमा भएकोबेला पनि म खुसी भएको थिएँ। त्यता पनि मित बहिनी सँगै दुईजना भाइ थपिए। आमा सँगै घर थपियो।
मैले भने अझै मित लगाउन पाइनँ। दाजु र बहिनीले मित लगाइसक्दा पनि मेरो पालो आएन। यसपालिको इन्द्रजात्रासम्म पनि आएन।
+++
विकास उद्यमीमा काम गर्न थालेको लगभग ३ महिनापछिको कुरा।
अफिसमा नयाँ सर आउने भन्ने खबर आयो। 'नेपाल इन डाटा पोर्टल' लञ्च भइसकेको थियो। त्यसको कार्यक्रम संयोजक भएर नयाँ आउने मान्छे भन्ने हल्ला केही दिन अगाडिदेखि नै चलेको थियो। सन्तोष सरले नेशनल कलेजको सर हो भन्नुभएको थियो। सर भनेपछि मैले आफूभन्दा उमेरले सिनियर कोही आउने होला भन्ने सोचेँ। केही दिनपछि अफिस पुग्दा त आफ्नै उमेरको एक जना हँसिलो मान्छे आएको देख्छु। हाम्रो परिचय भयो। उहाँ महेश्वर गिरी हुनुहुँदो रहेछ। ‘म सुरज सुवेदी,’ मैले हात मिलाउँदै भनेँ।
त्यसरी परिचय भएको लगभग ६ महिनापछि गएको इन्द्रजात्राको दिन पारेर हामीले मित लगायौं।
[caption id="attachment_137699" align="alignnone" width="931"]
लेखक सुवेदी आफ्ना मित महेश्वर गिरीसँग।[/caption]
मित लगाएपछि नाम काढ्नु हुँदैन भनिएअनुसार मित लगाएको दिनदेखि नै एकअर्कालाई 'मितज्यू' भन्न बानी लगायौं। तर सर भनिरहने बानी भएकाले नाम र सर बेलाबेला निस्किइहाल्थ्यो। अहिले भने मितज्यू बानी भैसक्यो। हामीलाई मात्र हैन अफिसका साथीलाई पनि।
उहासँग मित लगाएको प्रसङ्ग रमाइलो छ।
हामी खाजा खान जाने पाटनढोकाको वर्षा मोमो पसल पुग्न केही समय हिँड्नुपर्छ। कम्तीमा १० मिनेट जाँदा र १० मिनेट फर्किँदा। अफिसबाट खाजा खान जानेहरू हामी सबै विभिन्न विषयमा गफ गर्दै त्यो बाटो पार गर्थ्यौं। अफिसभन्दा बाहिरी विभिन्न विषयमा कुरा गर्ने समय त्यही हुन्थ्यो। हरेक दिन विषय फेरिएसँगै गफ पनि फेरिन्थे। कहिले इतिहास, कहिले फिल्म, कहिले गीत, कहिले राजनीति अनि कहिले बाल्यकालका संस्मरण।
एक दिन बाल्यकालको प्रसङ्ग सुनाउनु थियो। महेश सरले स्कुल पढ्दाका रमाइला फट्याँइ सुनाउँदै हुनुहुन्थ्यो। त्यसबेलै मित प्रसङ्ग पनि आयो। मैले मित लगाउन मन भएको तर सानोमा नलगाएकाले मित नभएको सुनाएँ। उहाँको कथा पनि मिल्दोजुल्दो निस्कियो। मित लगाउने रहर भएर पनि लगाउन नपाएको हाम्रो कुरा सुनेपछि सुबुनाले जिस्काउँदै भनेकी थिइन् ‘दुइटै उस्तै परेछौ, अहिले लगाए भैगो त।’
हामीले त्यसलाई सुन्यौं, वास्ता गरेनौं। झट्ट सुन्दा 'अब बुढेसकालमा कहाँ मित लगाउने' भन्ने लाग्यो।
त्यसको केही समयपछि हामी अफिसका साथीहरू सुन्दरीजल हाइकिङ गयौं। सुन्दरीजलबाट बुढानिलकण्ठसम्म हिँड्दै जानुपर्ने रुट थियो। आस्ना बहिनीलाई हिँड्न गाह्रो भएको थियो। त्यसैले उनलाई भुल्याउँदै हिँडाउन महेश सर र म गीत गाउन थाल्यौं। दुबैजना गीत गाउन मन गर्ने तर स्वर नभएका तथा शब्द पनि नआउने। लगभग ६ घण्टाको हिँडाइमा अधिकांश समय हामीले गीत बनाउँदै गाएर बितायौं। ‘दुई जना उस्तै उस्तै परेछन् मित त लगाइदिनुपर्ने नै भयो,’ सुबुनाले फेरl पनि जिस्काइन्। अरु साथीले पनि।
विकास उद्यमीको वार्षिकोत्सव आयो। नगरकोट जाने सल्लाह भयो। त्यो बेला पनि जाँदा गाडीमा अन्ताक्षरीदेखि लिएर त्यहाँ बस्दा र खाँदा समेत हामीले गीत गाउन छोडेनौं। 'लिरिक्स' बनाउने नजिर त छँदै थियो। हाम्रो सहकार्य त्यता पनि जारी भएपछि जिस्काउनेहरूले फेरि मौका पाए। 'अब त लौ यिनीहरूलाई यतै मित लगाइदिनुपर्ने भयो' भनेर सिधै पेलान आउन थाल्यो। तर त्यति हुँदा पनि मित लगाइहाल्ने कुरा भएन।
त्यसपछिको एक दिन त्यसैगरी खाजा खाएर फर्किँदै गर्दा कुरैकुरामा मित नभएको कुरा फेरि निस्कियो। 'कि मित लगाउने हो' भन्ने कुरा भयो। त्यो कुरा यति छिटो भयो कि मित लगाउने भनेर मैले पहिला भनेँ कि महेश सरले थाहा छैन। तर एकै छिनमा दुबैजना तयार भयौं। समय उहाँले नै जुराउनुभयो र भन्नुभयो ‘हाम्रो घरभन्दा माथि इन्द्रदह छ। त्यहाँ इन्द्रजात्राको दिन मेला लाग्छ। त्यहाँ गएर मित लगाऔं।’
त्यसपछि भने मित लगाउने दिन आयो। म अघिल्लो दिन महेश सरसँगै उहाँको घर गएँ। हजुरबुबा, हजुरआमा, अङ्कल, आन्टी, म्याम र बहिनीलाई भेटेँ। भोलिपल्ट बिहान महेश सरसँगै उकालो चढेँ। महेश सरसँग गएको म, मित लगाएर 'मितज्यू' सँग फर्किएँ। घरमा हजुरबुबा हजुरआमा, बुवा आमा, मितिनीज्यू र बहिनीसँग बिदा भएर अफिस आएँ।
+++
मित लगाएको प्रसङ्ग त छुटाउनै भएन नि हैन?
हामी दहचोकको खहरेबाट मित लगाउन उकालो लाग्दा पाँच बजेको थियो। धेरै मानिसहरू उकालो लागिरहेका थिए। केही ओरालो पनि झरिरहेका थिए।
‘उ त्यहाँ पुग्नुपर्ने हो। फटाफट हिँड्नेलाई डेढ घण्टा लाग्छ,’ महेश सरले माथि डाँडामा बलेको बत्ती देखाउँदै भन्नुभयो। उहाँले त्यति भनेपछि डेढ घण्टाभन्दा ढिलो गर्नु फटाफट हिँड्न नसक्ने भनेर प्रमाणित हुनु थियो।
हामी माथि पुग्दा घाम लाग्न थालिसकेको थियो। मानिसहरू इन्द्रदहमा नुहाउन ठिक्क पर्दै थिए। भजन बजिरहेको। निक्कै परसम्म लाइन बसेका मानिसहरू। ‘यहाँ भक्तपुरदेखि मान्छे आउँछन्,’ महेश सर भन्दै हुनुहुन्थ्यो। नजिकै खानेकुरा पाक्दै गरेका पसलहरू लहरै थिए। जेरी पनि पाक्दै थियो। मैले मुख मिठ्याएँ।
‘अब मित लगाऊँ हैन त?’ एक छिन घुमेर फर्किएपछि महेश सरले सोध्नुभयो। मैले 'हुन्छ' भनेँ र मित लगाउने पण्डित खोज्न थाल्यौं। एक जना हँसिला पण्डितको अनुहारमा दुवैको आँखा पर्यो। हामीले एकस्वरमा भन्यौं, ‘गुरूबा मित लगाइदिनुहुन्छ हैन त?’
उनी नजिकैका अर्का पण्डितलाई केही भन्न गए। फर्किएपछि भने, ‘किन नहुनु नि।’
गुरूबाले हामीलाई बसाले। दुईवटा दुनामा सामाग्री तयार पारे। गोदान भन्दै दक्षिणा राख्न लगाए र फटाफट पढ्न थाले। पढ्दा पढ्दै बीचमा यसो गर्नुहोस् र उसो गर्नुहोस् भन्दै दुईवटा दुना यताउता साट्न लगाए। हात जोड्न लगाए। फेरि दुनो साट्न लगाए। सम्पूर्ण विधि पुर्याएपछि भने ‘यहाँहरूको मित्रता यो गङ्गा जस्तै पवित्र होस्।’ फेरि केही भनेर नेपालीमा केही भन्न खोजे। तर त्यो बेला पनि उनको मुखबाट 'यो मित्रता गङ्गा बगुन्जेल रहिरहोस्' नै निस्कियो। अन्तिममा 'आजबाट तपाईंहरू मित मित हुनुभयो' भन्दै अँगालो मार्न र हात मिलाउन लगाए।
हामी मित भयौं।
‘गुरूबाको पनि फोटो खिच्नुपर्यो नि त,’ मैले भनेँ।
‘भइहाल्छ नि’ गुरूबाले उत्पातै खुसी भएर भने।
मित लगाउन थाल्नुअघि उनले केही कुरा गरेका नजिकका पण्डितलाई बोलाएर उनैले फोटो खिच्न लगाए। मैले खिचिएका फोटा जाचेँ। एकदुइटा अलिअलि हल्लिए पनि बाँकी राम्रा आएछन्। ‘गुरूबाको फेसबुक छ भने, मित लगाउन परेमा उहाँ गुरूलाई सम्झिनुहोला भनेर फोटो हालिदिन्छु’ फोटो हेर्दै मैले भनेँ।
‘बनाएको छैन, अब बनाउनुपर्ने छ’ गुरूबाले भने। हामी हाँस्यौं।
अघि पाक्दै गरेको जेरी खाएर ओरालो लाग्दा घाम लागिसकेको थियो।
+++
अब मित बा भएको कुरा।
एक दिन मितज्यू अफिसबाट चाँडै निस्किनुभयो। के भयो भनेर सोध्नै नपाई भन्नुभयो ‘केही पर्यो भने भन्छु। अस्पताल जानुपर्ने भयो।’
मितिनीज्यू गर्भवती हुनुहुन्थ्यो। माघको तेस्रो वा चौथो हप्ता यस्तै मिति दिएको थियो डाक्टरले। मितज्यूलाई कुनै पनि बेला फोन आउँछ भन्ने थाहा थियो। उहाँ तयार पनि हुनुहुन्थ्यो। सबैथोक ठीक हुन्छ भनेर म पनि सम्झाउँथे। तर थाहा हुनु र सम्झाउनुमा फरक छ। सुई हान्न लागेको कुरा थाहा भए पनि घोच्ने बेला दुखिहाल्छ। मितज्यूलाई त्यस्तै भएको थियो सायद। उहाँ हिँडेपछि मलाई पनि त्यस्तै भयो।
बेलुका अफिसबाट अबेला घर पुगेर फोन गरेँ। खासै अप्ठ्यारो त रहेनछ तर प्रसुतीगृहमा बेड पाउन समय लागेका उहाँले बताउनुभएको थियो। केही समस्या नभएकाले आउनु पर्दैन भनेपछि म त्यो दिन अस्पताल गइनँ। राती धेरैजना हुँदा भिड हुने ठाउँमा गाह्रै हुन्छ। १० बजेतिर फोन गर्दा बेड मिलेको थाहा भएपछि मन अलि हलुका भयो।
मितिनीज्यूलाई अस्पताल लगेको कुरा सुनाएपछि आमाले पनि के भयो भनेर बेलाबेला फोन गरिरहनुभएको थियो। घरमा आमालाई फोन गरेँ र बेड मिलेको कुरा सुनाएर सुतेँ। राती ३ बजे ब्युँझिएछु। फोन गर्दा मितज्यू सुत्न लाग्नुभएको रहेछ। मैले फोन राख्नासाथ उताबाट आमाले पनि फोन गर्नुभएछ।
यी सबै कुरा एकैपल्ट हुँदै थिए। म पहिलोपल्ट यस्तो अनुभव गर्दै थिएँ। अधैर्य हुनु कति गाह्रो कुरा रहेछ, महसुस हुँदै थियो। धेरै कुरा आफूलाई परेपछि मात्र थाहा हुन्छन्।
दिउँसो अफिस गएँ। दिनभर काम गर्न मन भएन। सिध्याउनै पर्ने केही काम जबरजस्ती सिध्याँए र लगभग साढे ६ बजेतिर अस्पताल पुगेँ। म पुग्दा मितिनीज्यूलाई व्यथा लागिसकेको थियो। मितज्यू, आमा, फुपू र उहाँका छोरीहरू सुस्मा र सुप्रिया बसिररहनुभएको रहेछ। भित्र कोठाबाट फरक फरक चीत्कार सुनिन्थे। मितज्यू मितिनीज्यूको चीत्कार चिन्नुहुन्थ्यो। त्यो सुन्नासाथ उहाँको अनुहारमा अझै रातो थपिन्थ्यो।
म आफन्त बिरामी भएर धेरैपल्ट अस्पताल पुगेको थिएँ। त्यसरी कसैको 'डेलिभरी' हुने समयमा पुगेको रहेनछु। आमा स्वास्थ्यकर्मी भएकाले घरमा धेरै डेलिभरी गराउनुभएको याद थियो। त्यो बेला पनि धेरै चीत्कार सुनिन्थे। तर ती चीत्कारको महशुस यति नजिकबाट गरेको थिइनँ। अझ भनौं श्रीमतीको चीत्कारले एक श्रीमानको अनुहारमा कसरी फरक फरक रङ पोत्छ भन्ने प्रत्यक्ष देखेको थिइनँ। मितज्यूको अनुहारले मलाई ती सबै महशुस पढाउँदै थिए।
मैले गफ गरेर र हँसाएर उहाँको अनुहारको रातो हटाउने प्रयास गरेँ। तर त्यो रङ हट्नुको साटो बिस्तारै मतिरै सर्दै थियो। भित्र कतै मैले पनि गाह्रो महशस गर्न थालेको थिएँ। भित्र कोठामा बेलाबेला पुगेर फर्किने आमा वा फुपूलाई ‘कस्तो छ?’ भनेर सोध्न मितज्यू उत्सुक भएजस्तै ‘कस्तो रहेछ?’ भनेर मेरो मनले पनि प्रश्न गर्थ्यो। मितज्यू र म एकैपल्ट जवाफ पाउँथ्यौं।
त्यसरी पर्खिएको डेढ घण्टापछि एउटा बच्चा रोयो। ऊ रोएको सुनेर हामी हाँस्यौं। तर मितज्यू हाँस्नुभएन। उहाँका ओठहरू प्राथना गरिरहेका थिए। उहाँले मेरो हात जोडले समाउनुभएको थियो। घरिघरि अँगालो हाल्नुहुन्थ्यो। उहाँ सबैभन्दा कमलो भएको झण हो जस्तो लाग्यो मलाई त्यो। भित्र जन्मिएको बच्चाभन्दा पनि कमलो। म त्यो कमलो मान्छेलाई समाल्ने जिम्मेवारीमा थिएँ।
हामी बाहिर गयौं। उहाँको बोलीमा लामो समयको पर्खाइ सफल भएको खुसी थियो। ज्यादा खुसीमा नमिलिकन निस्किएका वाक्य थिए ती। मैले पनि नमिलाई बुझें। नमिलेका वाक्य त्यति सुन्दर हुँदारहेछन् भन्ने मलाई थाहा थिएन।
हामी फर्किँदा ढोकामा बच्चा बोकेर बहिनीहरू रमाइरहेका थिए। बहिनीहरुले सुनाए, 'छोरा'। बाबुलाई बोक्न दिने भनेर मितज्यू नजिक बच्चा ल्याउन खोजे। मितज्यू पछाडि सर्नुभयो। मैले उहाँलाई समाएँ। उहाँ त रुन पो थाल्नुभयो। बच्चा समाउन नसक्ने जस्तै भएर। मैले ढाडस दिएँ। अनि बच्चा बोक्नुभयो। त्यसपछि मैले बोकेँ। ‘मितबाउले पनि बोक्नुपर्यो नि’ भन्दै बहिनीहरूले जिस्काएको याद छ। मैले बच्चा बोकिरहेको बेला मितज्यूले अँगालो हालेको पनि याद छ।
त्यति भइसक्दा पनि उहाँको अनुहारमा उज्यालो फर्किएन। एकछिनमा भित्र जानुभयो। मितिनीज्यूलाई भेट्न। त्यहाँबाट फर्किएपछि भने बल्ल मितज्यू पुरानै शैलीमा आउनुभयो। उहाँको अनुहारको रातो उडेको थियो। पुरानै 'ट्रेडमार्क' हाँसो फर्किएको थियो।
आफू मित बा भएको समाचार बोकेर म फर्किएँ।
फर्किँदा साढे ९ बजिसकेको थियो। अर्जुन दाइ (सुरुमा बताएको अर्जुन दाइ) लाई म ढिलो आउँछु है भनिसकेको थिएँ। फर्किँदै गर्दा सोचिरहेँ, त्यो मितेरी साइनोबारे। कति सजिलै त्यो परिवारको खुसी आफ्नो भयो। कति सजिलै त्यो परिवारको एउटा भूमिका आफूसँग जोडियो। कति सजिलै त्यो परिवार आफ्नो भयो।
पृथ्वीनारायण शाहले यस्तो भावनात्मक स्वरूपको मितेरी साइनो महशुस गरे कि गरेनन् होला है?