पूर्विय दर्शनमा सुनिदैँ आएकाे रामराज्य पश्चिमी सभ्यतामा भेटियाे भन्दा अचम्म लाग्ला ! मान्छेको इमानदारीताको कसी नाप्ने कुनै मेशिन अझसम्म बनेको छैन। तर इमान र जमान भन्ने चिज नापिनेभन्दा पनि कर्तव्यबोध अनि विश्वासमा अगाडि बढ्दो रहेछ। कुरो अस्ट्रेलियाको सिड्नीबाट करिब पाँच सय किलोमिटरको दूरीमा रहेको एउटा ग्रामीण क्षेत्र न्यारामाइनको हो।
मुलुक चिनाउने महत्वपूर्ण माध्यमका रूपमा खेलकुदलाई पनि लिइन्छ। त्यसमाथि, क्रिकेटप्रेमी अस्ट्रेलियनहरूको लागि ग्लेन म्याकग्राथको गाउँ भनेपछि पर्यटनको केन्द्रनै बनेको रहेछ न्यारामाइन।
यस पटक बिदा मनाउन अस्ट्रेलियाको ग्रामिण इलाका घुम्ने रहरले हामीलाई पनि सिड्नीबाट ६ घन्टाको ट्रेन र एक घन्टाको गाडीको यात्रापछि न्यारामाइन पुगियो। करिब पाँच हजार जनसंख्या भएको सुन्दर ग्रामीण बस्ती रहेछ। त्यहाँ पुग्दा मुख्य चोकमै चर्चित क्रिकेटर ग्लेन म्याकग्राथको बडेमानको बलिङ गरिरहेको सालिक देख्यौं ।
जनताको आवश्यकताको रूपमा मानिने सबैखाले सुविधा, स्कूल, हस्पिटल, बैंक लगायत सरकारी कार्यालय रहेको न्यारामाइन शान्त र सुन्दर रहेछ। बाहिरका मान्छे कमै देखिने र भेटिने सो स्थानमा आगन्तुकलाई सम्मान गरेको पाएँ। तर कुरोको चुरो भनेको त्यहाँ देखिएको एउटा पसलले मेरो तन र मनलाई एकपटक सोच्न बाध्य बनायो।
हामी न्यारामाइन घुमेर एक किलोमिटर वर आउँदै थियौं , टेबलमा खरभुजा, काक्रो,मौसम लगायतका केही स्थानीय उत्पादनहरू राखिएको सानो पसल देख्यौं। हामीलाई लाग्यो, यत्रो घुम्न आइयो, केही लोकल उत्पादन किनेर लगौं। लोकल फार्मका उत्पादनहरू मीठो र स्वादिलो हुने कारण पनि हामी गाडी रोकेर पसलमा गयौं। पसल भनेको एउटा टेबल थियो र टेबल माथि सामान। न साउजी न तोलमोल। अकबक्क परे। हरेक सामानमाथि त्यसको मूल्य तोकिएको थियो र छेउमा एउटा फलामे खुत्रेके।
मलाई लाग्यो एकछिन बाहिर गएको होला आउँछ र किनौलो भनेर। छेउमा अर्को एउटा अस्ट्रेलियन सरर गाडीमा आए। सामान गाडीमा हाले र पर्सबाट नोट निकालेर खुत्रुकेमा खसाए अनि हिडे। म हेरेको हेरै भएँ। मैले सोधे उनलाई हाउ क्यान आइ वाइ दिस थिङ्स भनेर। उनले भने ह्वाट एभर यु वान अ बाइ, यु ह्याभ टु पुट मनी इन बक्स भनेर हिडे।
लाग्यो इमान र जमानले चलेको रहेछ दुनियाँं। न साउ न तोलमोल,न कबोल। सामान लिउ, तोकिएको पैसा बक्सामा हाल्देउ।
हामीले पनि एउटा बडेमानको खरबुजा, एक ब्याग मौसम र काक्रो उठायौ अनि अप्ठारो मान्दै पाँंच ,दस र तिन डलरको तोकिएको कुल १८ डलर बक्सामा हालेर गाडीमा डब्बो तिर लम्कियौं।
साच्चिकै विश्वास अनि इमान र जमान विकासको पनि पूर्वाधार रहेछन्। इमानदार राज्य र नेता भएको देशमा नागरिक पनि इमानदार हुँदा रहेछन् भन्ने लाग्यो। हामीलाई घुमाउन लगेका डब्बोका भाइ सुरेस घिमिरेले भने , अब एक डेढ सय डलरको समान बेच्न दिनभर बस्नु पर्ने अनि कुर्नु पर्ने एउटा कारण र अर्को इमान र जमानमा टिकेको विश्वास हो यो।
मलाई लाग्यो हामीले कल्पना गरेकाे राम राज्य यस्तै थियाे हाेला। गोराहरूको बस्ती भएका उत्तरी सिड्नीका सबै ट्रेन स्टेशन खुला छन्। त्यसमा न ढोका न बार। तपाई आफैँ गएर कार्ड ट्याप गर्नुपर्छ। लाग्यो राज्य जनतासँग जवाफदेही भए जनता पनि राज्यसँग इमानदार हुँदा रहेछन्।